भाका नागेको ऋण (कविता)
पुर्जा बन्धक राखेपछि
साहुको ऋणी भएको ऊ‚
ऋणसँगै चुक्ताको भाका थियो,
समयको गतिसँगै
अभावको भेल आयो
आज ऋणले भाका नागेपछि,
बारम्बार भाकाले पछ्याएको
अनि निर्दोष संसार बसेर पनि
दोषी भएको थियो ऊ‚
साहुको ऋणले भाका नागेपछि ।
ऋणले भाका नाग्यो,
अनि आफ्नै बोलीले ईमान गुमायो
तर चुक्ता गर्ने साहस भएपनि
चौताराको बाटो हिँड्न छोड्यो
कता कता छलिँदा पनि
साहुले भेटेका थियो
अनि भन्दै थिए तिनै साहुले
ऋणले भाका नाग्यो ?
यस्तै प्रश्नमा अनुत्तरित थियो ऊ
साहु ऋणले भाका नागेपछि ।
साहु घरमा आए सधैं रितो हात
कयौं पटक भोलि भन्यो उसले
साच्चै ऋणको चुक्ता भोलि भयो
अनेकौं जोड जाम गर्यो
तर पनि भाका टार्न सकेन
खेतीबारी कोट्यायो उसले
तर बाली भित्र्याउने बेलामा
असिना आएको थियो
गोठको गाईले साथ दिएन
भैंसी पाल्यो‚ सँधै थारो
अनि पोल्छ उसैलाई
तिनै जलेका सपनाले
त्यही ऋणले भाका नागेपछि ।
संसारले मस्ति देखेपनि उसलाई
आफूभित्रै आफैँ खालि थियो
साहुको ऋणले भाका नागेपछि
आफ्नैसँग तिस्कार पाएको ऊ
माथ्लो घरको आउदा पनि
तल्लो घरको छिमेकी जाँदा
खबर आएको छ साहुको
त्यही ऋणले भाका नागे पछि ।
साहुको ऋणले भाका नागेपछि
झुटो भएको छ दुनियाँमा ऊ
दोषी पनि भयो साहुको नजरमा
अब त इमान नभएको भन्दै थिए ।
आखीर ऋणले भाका नागेपछि ।
अनि भन्दै छ आज दुनियासँग
ऋण लागोस्, दिन नलागोस्
तर भाका भन्ने कहिले ननागोस।