ब्राजिलमा एकैदिन चार हजार बढी काेराेना संक्रमितको मृत्यु

ब्रासिलिया । ब्राजिलमा गत २४ घण्टामा चार हजार भन्दा बढी काेराेना संक्रमितकाे मृत्यु भएकाे छ ।

ब्राजिलमा कोरोना भाइरस शुरु भएयता यति धेरै संख्यामा व्यक्तिहरुले ज्यान गुमाएकाे यो पहिलो पटक हो । ब्रालिजमा मंगलबार ४ हजार १९५ जनाले कोभिड–१९ बाट ज्यान गुमाएपछि संक्रमणबाट ज्यान गुमाउने व्यक्तिको संख्या करिब ३ लाख ३७ हजार पुगेको छ ।

कोभिड १९ को कारण ज्यान गुमाउने व्यक्तिको हिसाबबाट ब्राजिल अमेरिकापछि दोस्रो स्थानमा पर्दछ ।ब्राजिलको स्वास्थ्य प्रणालीले कोभिड १९ को भयानक तनाव खेपिरेहको छ ।

एस्पिरिटो सान्टो फेडरल युनिभर्सिटीका महामारी विज्ञ एथेल मकिएलले भने, ‘हामी भयानक स्थितिमा छौँ, र हामीले कुनै राज्य वा संघीय सरकारले प्रभावकारी उपाय देखिरहेका छैनौँ ।’

देशको जनसंख्याको १० प्रतिशतले पहिलो चरणको खोप लगाएका र हाल अत्यधिक रुपमा फैलिएको भाइरसको प्रकोपलाई नियन्त्रण गर्नको लागि एक मात्र उपाय कम्तीमा २० दिनसम्म प्रभावकारी लकडाउन भएको उनले बताएका छन् ।

देशमा चलेको राजनीतिको कारण ब्राजिलका यो स्थिति आएको र ठूलो संख्यामा व्यक्तिहरु ज्यान गुमाउनु परेको विज्ञहरुको भनाइ रहेको छ । कोरोना भाइरस नियन्त्रणको लागि विशेषज्ञहरूको सल्लाह नमानेको र देशमा यस प्रकारले स्वास्थ्य संकट निम्त्याउनुमा राष्ट्रपति जाइर बोल्सोनारो जिम्मेवार भएको आरोप लगाइएको छ ।

राष्ट्रपति बोल्सोनारोले अर्को वर्ष फेरि चुनावको लागि तयारी गरेपछि राजनीतिमा उथलपुथलको भएको थियो । गत हप्ता विदेश, न्याय र रक्षा मन्त्रीहरु राजिनामा गरेपछि नयाँ मन्त्रीहरु नियुक्ति भएका थिए । त्यसैगरी सेनातर्फ सेना, नौसेना र वायुसेना कमाण्डरहरुले राजिनामा गरेपछि नयाँ कमाण्डरहरु फेरिएका थिए । (रासस/एएफपी)

प्रतिक्रिया