सम्झनामा ७७ साल : महामारीले थला पारेको अर्थतन्त्र कहिले तङ्ग्रिएला ?
काठमाडौं । वर्ष २०७७ कोभिड–१९ महामारी र लकडाउनसँगै भित्रिएको थियो । र हुँदा पनि कोभिडको त्रास उच्च बनाएर बिदा भएको छ । जसका कारण अर्थतन्त्र थला परेको छ । अर्थतन्त्र तङ्ग्रिन अझै कति समय लाग्ने हो यसै भन्न सकिने अवस्था छैन ।
गत वर्षको चैत ११ गतेबाटै शुरु भएको लकडाउनले आर्थिक गतिविधि ठप्प पार्यो । झण्डै साढे ३ महिनापछि अर्थात् २०७७ को असारबाट लकडाउन केही खुकुलो पारिएको थियो । यसले अर्थतन्त्रलाई केही गति दिए पनि आर्थिक गतिविधिमा उल्लेख्य वृद्धि हुन सकेन । २०७७ का ३ महिना आर्थिक गतिविधि पूरै बन्द हुँदा कुल गार्हस्थ्य उत्पादन(जीडीपी)मा राजस्वको अनुपात २३.९९ प्रतिशतबाट घटेर २१.०७ प्रतिशतमा सीमित हुन पुग्यो ।
वर्षको अन्त्यतिर अर्थतन्त्र चलायमान हुन खोज्दै गर्दा फेरि कोभिड–१९को जोखिम उच्च भएको छ र फेरि लकडाउन हुने हो कि भन्ने चर्चा हुन थालेको छ ।
सरकारले आर्थिक वर्ष २०७६/७७ (२०७६ को साउनदेखि २०७७ को असारसम्म) मा ८.५ प्रतिशतको आर्थिक वृद्धि प्राप्त हुने लक्ष्य प्रक्षेपण गरेको थियो । पछिल्ला ३ आर्थिक वर्षमा अर्थतन्त्रको वृद्धिदर औसत ७.३ प्रतिशत रहेकाले उक्त लक्ष्य सजिलै प्राप्त हुन सक्ने सरकारको अनुमान थियो । तर, २०७७ का ३ महिना आर्थिक गतिविधि पुरै ठप्प रह्यो ।
त्यसले गर्दा यो आर्थिक वर्षमा आर्थिक वृद्धिदर ०.६ प्रतिशत रहेको अनुमान राष्ट्रिय योजना आयोगले गरेको अध्ययनले देखाएको छ । यसमध्ये कृषि क्षेत्रको वृद्धिदर २.६ प्रतिशत र गैरकृषि क्षेत्रको वृद्धिदर ०.२ प्रतिशतले वृद्धि भएको अनुमान उक्त प्रतिवेदनमा उल्लेख छ ।
महामारीकै कारण २०७७ मा नेपालमा थप १२ लाख मानिस बेरोजगार भएको र करिब १६ लाख मासिन गरिबीको रेखामुनि पुगेको आयोगको अध्ययन प्रतिवेदनले उल्लेख गरेको छ । गरिबीको रेखामुनि रहेका मानिसको संख्या ५६ लाखबाट बढेर ६८ लाख पुगेको छ । राष्ट्रिय योजना अयोगको १५ औं योजनाले गरिबी १६ प्रतिशतमा झार्ने लक्ष्य रहेकोमा ४ प्रतिशतले बढेको छ । त्यस्तै, कोभिड–१९ ले पारेको आर्थिक क्षतिबाट अर्थतन्त्रलाई पुनरुत्थान गर्न झण्डै साढे ६ खर्ब रुपैयाँ लाग्ने अनुमान गरेको छ ।
सन् २०३० पछिकै ठूलो महामन्दी छाएको अनुमान गरिएको विश्व अर्थतन्त्रको वृद्धि पनि सन् २०२० मा ४.९ प्रतिशतले खुम्चिएको अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) को अनुमान छ ।
आर्थिक वर्ष २०७७/७८ मा सरकारले १४ खर्ब ७ अर्ब ६३ करोडको बजेट बिनियोजन गरेको छ । बजेट कार्यान्वयनबाट ७ प्रतिशतको आर्थिक वृद्धि प्राप्त हुने प्रक्षेपण गरेको छ । तर, फेरि विश्व महामारीको रुपमा देखिएको युके भेरियन्टको कोभिडको नयाँ लरहसँगै वर्ष २०७७ को अन्त्य हुँदैछ । त्यसो हुँदा यो लक्ष्य प्राप्त हुने सक्नेमा पनि विश्वस्त हुन सक्ने आधार नदेखिएको अर्थविद्हरु बताउँछन् ।
तर, २०७७ को साउनदेखि फागुनसम्ममा विप्रेषण आप्रवाह ८.६ प्रतिशतले बढेर ६ खर्ब ४२ अर्ब १४ करोड पुगेको छ । अघिल्लो आर्थिक वर्ष सोही अवधिमा विप्रेषण आप्रवाह जम्मा १.५ प्रतिशतले मात्र बढेको थियो ।
पर्यटनमा ठूलो धक्का
२०७७ मा पर्यटन उद्योगले नराम्ररी धक्का व्यहोर्नुपर्यो । सरकारले पर्यटन उद्योगको विकासका लागि ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने तयारी गरेको थियो । सरकारले २०२० को जनवरीदेखि पर्यटन वर्ष मनाउने तयारी गरेको भए पनि विश्वका धेरै देशमा कोभिड–१९ को माहामारी बढिसकेको थियो । पर्यटन मन्त्रीसमेत संलग्न भएर पर्यटन वर्ष प्रवर्द्धनका लागि नेपाल सरकारले अष्ट्रेलियामा गरेको कार्यक्रमबाट आलोचना खेप्नुपर्यो । पछि सरकारले नै बाध्य भएर भ्रमण वर्षका सम्पूर्ण कार्यक्रम रद्ध गरेको थियो ।
विश्वका धेरै देशमा भइरहेको लकडाउन र चैतबाट नेपालमै भएको लकडाउन कारण अन्तर्राष्ट्रिय उडान ठप्प भए ।
यसले गर्दा नेपालमा पर्यटकको आवागमन शून्य नै रह्यो । पर्यटन क्षेत्रका होटेलका बुकिङ रद्ध भए । रेष्टुरेन्ट, यातायात ठप्प भए । सेवा क्षेत्रको भ्रमण आय शीर्षकमा सरकारले झण्डै १ खर्बको हाराहामीमा राजस्व आम्दानी गर्दै आएकोमा यो घटेर आधामा झर्यो । पर्यटन क्षेत्रका धेरै मजदुरको रोजगारी आंशिक तथा पूर्ण रुपमा कटौती समेत भयो ।
२०७७ सालमा धेरैजसो समय होटलहरुको अकुपेन्सी २० प्रतिशतभन्दा बढ्न सकेन । अर्थात् होटलको कारोबार २० प्रतिशतमा सीमित रह्यो ।
तर, २०७७ को साउनदेखि माघसम्म ७ महिनाको तथ्यांकअनुसार हवाइमार्गबाट नेपाल आउने पर्यटकको संख्या गत वर्षको सोही अवधिको तुलनामा ८७.२ प्रतिशतले कमी आई १८ हजार २० मात्र रहेको छ । अघिल्लो वर्ष २०२० को सोही अवधिमा यो संख्या १ लाख ४७ हजार थियो ।
पूर्वाधार
लकडाउनको अवधिमा निजी क्षेत्रका जलविद्युत् आयोजना जस्ता केही पूर्वाधारको काम नरोकिए पनि सरकारी र समग्रमा पूर्वाधार निर्माण क्षेत्रसमेत अछुतो रहन सम्भव थिएन । लकडाउनका कारण झण्डै ६ महिना पूर्वाधार निर्माणको काम ठप्प प्रायः रह्यो । माथिल्लो तामाकोसी, हुलाकी राजमार्ग, पूर्वपश्चिम रेलमार्ग, डाइभर्सजनलगायत राष्ट्रिय गौरवका आयोजनाको काम समेत ठप्प भयो । यद्यपि, आइसोलेटेड तथा मानव बस्तिबाट टाढा रहेका अरुण तेस्रोजस्ता केही ठूला पूर्वाधार आयोजनाको काम सुचारु पनि रह्यो । २०७७ मा बहु प्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौं उपत्यकामा ल्याउने प्रारम्भिक काम भने उपलब्धीमूलक नै देखिएको छ ।
उद्योग
अधिकांश उद्योग लकडाउनको अवस्थामा बन्द रहे । लकडाउन खुलेर अर्थतन्त्र सुचारु भइसकेपछि पनि कुनै पनि उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको उद्योग मन्त्रालयको अध्ययनले देखाएको छ । २५ देखि ७५ प्रतिशत क्षमतामा मात्रै उद्योगहरू सञ्चालन भएको देखिएको छ । तर, यही अवधिमा नयाँ कम्पनी दर्ताको संख्या भने बढेको छ । २०७७ को ७ महिनामा २२.४ प्रतिशतले कम्पनीको दर्ता बढेको छ ।
व्यापार
२०७७ का पछिल्ला ३ महिनामा चीनतर्फका तातोपानी र रसुवागढी भन्सार नाका ठप्प रहे । आवश्यक वस्तु तथा सेवाबाहेक भारतबाट हुने आयात पनि ठप्प रह्यो । यसले गर्दा अघिल्लो आर्थिक वर्षमा व्यापार घाटामा १६.८ प्रतिशतले कमी आई १० खर्ब ९९ अर्बमा सीमित भएको थियो । तर, २०७७ को असारपछि विस्तार आयात बढ्दै जाँदा ८ महिनामा नै व्यापार घाटा फेरि ८ खर्ब ६३ अर्ब रुपैयाँ पुगिसकेको छ ।
एकपटकको गम्भीर धक्का सामना गरेर फेरि अघि बढ्नै लागेको अर्थतन्त्र कोभिडको जोखिम उच्च भएसँगै थप सशंकित बन्न पुगेको छ । फेरि लकडाउन गर्नुपर्ने अवस्था आए यो क्षेत्रले नराम्ररी धक्का खाने निश्चित छ ।