नयाँ स्वरुपको कोरोना गम्भीर छ‚ हेलचक्र्याइँ नगरौँ : सरुवा रोग विशेषज्ञ डा पुन (भिडियोसहित)
काठमाडौं । नयाँ स्वरुपको कोरोना भाइरस फैलिएसँगै त्रास चुलिएको छ । यूकेबाट फैलिएको मानिएको नयाँ स्वरुपको कोरोनाका कारण भारत लगायत देशमा ठूलो मानवीय क्षति पुगेको छ । यसअघिको भन्दा ६४ प्रतिशत बढी घातक मानिएको यो कोरोना नेपालमा पनि देखिएको छ ।
नयाँ स्वरुपको कोरोना भाइरस पहिलेको भन्दा के फरक छ ? यसबाट जोगिन के गर्नुपर्छ ? बालबालिकामा यसको संक्रमण धेरै देखिनुको कारण के हो ? यसअघि कोरोना संक्रमण भइसकेका र खोप लगाएकालाई यसको जोखिम हुन्छ कि हुँदैन ? लगायत विषयमा मकालु खबरकर्मी धनवल राईले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च यूनिटका संयोजक तथा सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनसँग कुराकानी गरेका छन् ।
कम हुँदै गएको कोरोनाको जोखिम फेरि बढ्न थालेको छ । पहिलो चरणको कोरोना र अहिले देखिएको कोरोनाभन्दा के फरक छ ?
भाइरस त कोरोना नै हो । भाइरस भएकोले यसले छिनछिनमै आफ्नो स्वरुप परिवर्तन गर्न सक्ने क्षमता राख्छ । अहिले भएको त्यस्तै हो । सामान्यतया यसलाई भाइरसको स्वरुप परिवर्तन भएको भनेर भन्न सकिन्छ । यो एउटा जेनेटिकल्ली भएको परिवर्तनमात्रै हो । नयाँ भन्नेबित्तिकै के कारणले नयाँ भयो त भन्ने कुरा हो र यसले नयाँ खाले आफ्नो क्षमता विकास गरेको हुन्छ । जसले हाम्रो रोगप्रतिरोधात्मक क्षमतालाई दबाउँछ र आफू थप बलियो बन्छ । स्वरुप परिवर्तन भयो भन्नेबित्तिकै यसले केही न केही नयाँ खालको आफ्नो क्षमता त लिएर आउने नै भयो ।
जहाँसम्म ब्रिटिस भेरियन्ट (स्वरुप) को कुरा छ, यो चाहिँ यूकेमा फैलिँदै जाने क्रममा ‘सिक्वेन्स्ली’ यसमा धेरै परिवर्तन देखिए । फलतः यसलाई न्यू भेरियन्ट भनियो । अनुसन्धानहरुमा देखिएअनुसार यो पुरानोभन्दा ६४ प्रतिशत बढी घातक हो भन्ने देखिएको छ । प्रमाणित भएअनुसार यो भाइरस पहिलेभन्दा घातक पनि हो नै रहेछ । सर्सर्ती हेर्दा केही नयाँ र पुरानोबिच यस्तै केही भिन्नता र समानता छन् । यद्यपि भाइरस सधैं भाइरस नै हो । कहिलेकाहीँ यसले आफ्नो स्वरुप परिवर्तन गर्नुलाई स्वाभाविक रुपमा लिनुपर्दछ ।
यो यसअघिको कोरोनाभन्दा बढी जोखिमपूर्ण र संक्रामक हो ?
एकदमै । यो बढी संक्रामक नै हो भनेर वैज्ञानिक तथ्यले नै देखाएको छ । योचाहिँ पुरानोभन्दा झण्डै ६४ प्रतिशत बढी घातक हो भनेर भनिएको छ । थप जोखिम त हुने भइ नै हाल्यो । किनपनि भने यसले नयाँ खाले आफ्नो क्षमता लिएर आयो र नै त नयाँ भेरियन्ट भनियो । तर, सर्सर्ती हेर्दाखेरि नै यस्तो देखिएको भने होइन । तर, स्वभाविक रुपमा मिल्दोजुल्दो समस्या लिएर अस्पताल भर्ना हुनेहरुको संख्या भने पक्कै बढेको छ । यो नयाँ भेरियन्टले खासगरी दीर्घरोगी, बालबालिका र जेष्ठ नागरिकलाई बढी नै आक्रमण गर्छ । यस अर्थमा हामीले पहिल्यै जानिसकिएको स्वास्थ्य मापदण्डलगायतलाई बढीभन्दा बढी ध्यान दियौँ भने त्यसबाट पनि बच्न सकिन्छ भन्ने सन्देश दिन सकिन्छ ।
यसअघि कोभिड १९ संक्रमण भएर निको भएकाहरुलाई नयाँ कोभिड लाग्ने सम्भावना हुन्छ किन हुँदैन ?
यो अहिले हामीसामु प्रश्नवाचक कुरा नै हो । यदि कुनै पनि भाइरस हाम्रो शरीरमा पहिल्यै छिरेको छ भने त्यहाँ एन्टीबडी बनेको हुन्छ । कोरोना भाइरसको सन्दर्भमा यसको परीक्षणस्वरुप दक्षिण अफ्रिकी भेरियन्टलाई हेरिएको छ । यसबारे अहिल्यै यही नै हो भनेर भन्न त सकिँदैन । र, अहिलेसम्म देखिएको पनि छैन । यो मानेमा यो अझै परीक्षणकै क्रममा छ । त्यसो भन्दैमा यसलाई पूरै बेवास्ता गर्न मिलेन । तर, कहीँकहीँ परीक्षणहरुमा देखिएअनुसार यो पुनः छिर्न भने सक्छ ।
अनि, कोभिडको खोप लगाइसकेकाहरुलाई यो भाइरस सर्ने सम्भावनाचाहिँ हुन्छ कि हुँदैन त ?
सम्भावना नै हुँदैन भन्ने कुरा त भन्न नसकिएला र सर्छ भन्ने पनि भएन । अहिलेसम्म त्यस्तो खाले केसहरु पनि खासै नदेखिएको हुँदा यो पनि परीक्षणकालजस्तै छ । तर, अनुसन्धानहरुमा देखिएअनुसार छिटफुट छिर्नसक्ने सम्भावना पनि छ ।
अहिले उपलब्ध खोपले नयाँ भेरियन्टको कोरोनाका लागि काम गर्दै गर्दैन भन्ने त आएको छैन । तर, भाइरसले निरन्तर रुपमा आफ्नो स्वरुप परिवर्तन गर्ने भएकोले कहिलेकाहीँ खोपलाई चुनौती अवश्य दिन्छ । र, मलाई जहाँसम्म लाग्छ– यी खोपहरुलाई अद्यावधिक गरेपछि काम गर्नेछ ।
नयाँ स्वरुपको भाइरसबाट बालबालिका बढी जोखिममा छन् भन्ने खबर पनि आइरहेका छन् । उनीहरुलाई कसरि जोगाउने ?
पोहोर त कोरोना शुरु भएसँगै विद्यालयहरू बन्द भएका थिए । त्यसैले पनि बालबालिका सुरक्षित रहे भन्न सकिन । खासगरी बालबालिकालाई जोखिम हुने भनेको पनि उही स्कूलबाटै हो । त्यसो त अभिभावकहरु पनि संक्रमित बने । तर, बढीभन्दा बढी जोखिम चाहिँ जहाँ ग्यादरिङ्ग हुन्छ त्यहीँ हुने हो । किनकी, भीडभाड हुनु भनेको चाहिँ कोरोनाको लागि फैलिनसक्ने एउटा राम्रो वातावरण बन्नु हो । त्यसैले पनि यसपाली चाहिँ कतिपय बालबालिका असुरक्षित हुन्छन् कि भन्ने डर पनि छ । विद्यालयमा बालबालिका भेला हुँदा उनीहरू एक अर्कासँग धेरै नै नजिकिने, घुलमिल हुने हुँदा संक्रमणको जोखिम धेरै हुन्छ । अर्कोतिर, उनीहरु घरमा गएर पनि बुबाआमा अझ हजुरबुबा हजुरआमासँग झ्याम्मिन्छन् । जसले गर्दा उनीहरुले यसलाई सार्ने सम्भावना पनि धेरै हुने भयो । यसकारण वालवालिका जोखिममा छन् ।
यसअघि अपनाइएको स्वास्थ्य मापदण्डले नयाँ भाइरस रोक्न काम गर्छ कि गर्दैन ?
धेरै हदसम्म त्यहि मापदण्ड नै हो । किनकी, भाइरस त आखिर भाइरस हो र त्यसले केही हदसम्म आफ्नो स्वरूप परिवर्तन गरेको मात्रै हो । यसो हुँदा स्वास्थ्य मापदण्ड उही पालना गरेको खण्डमा धेरै हदसम्म भाइरसबाट जोगिने सम्भावना हुन्छ । भिडभाडमा नजाने, मास्क लगाउने, साबुनपानीले हात धुने, स्यानिटाइजर लगाउनेजस्ता मापदण्ड पालना गरेको खण्डमा यो भाइरसबाट पनि जोगिन सकिन्छ । यसले पूरै शून्य नै बनाउने त होइन तर यसको वेभलाई स्थिर बनाउन चाहिँ सकिन्छ । यसका लागि चाहिँ स्वास्थ्य मापदण्ड पालना गर्नैपर्छ ।
नयाँ स्वरूपको कोभिडबाट जोगिनका लागि सरकारले अझैपनि गर्नुपर्ने जति काम गर्न नसकेको भनेर आलोचना भइरहेको छ, एक विज्ञका रुपमा तपाईँ के सुझाव दिनुहुन्छ ?
अब मैले सुझाव नै दिनेभन्दा पनि खाली आफूले देखेको, भागेको र आफू पनि यहि क्षेत्रमा संलग्न भएकाले जानेअनुसारको कुुरा भन्नेमात्रै हो । तर, सिनारियो चाहिँ हेर्नुपर्छ । जोखिम छ र योचाहिँ पक्कै बढ्नेवाला छ ।
यसलाई चाहिँ सबैले बुझ्न आवश्यक छ । यो लहर बढ्दै गयो भने सरकार आफैँलाई पनि गाह्रो हुन्छ । सरकारले यसमा चाहिँ भोलि पर्सि नभनीकन आजैदेखि तयारी शुरु गर्नुपर्छ । र, कतिपय समयमा कतिपय अफवाहहरु पनि आइरहेका हुन्छन् । यसप्रति पनि सरकार जिम्मेवार बन्नुपर्छ । र सँगसँगै हामी आम नागरिकले पनि स्वास्थ्य मापदण्ड पालना गर्नुपर्यो र यो जोखिम गम्भीर खालको भएकाले हेलचक्र्याइँ गर्नु भएन ।