[कविता] म पढ्दिनँ त्यो किताब…
- संकेत दाहाल
म पढ्दिनँ त्यो किताब, जुन किताबले
मलाई नेपालको नक्सा बनाउन मात्र सिकाउँछ,
सिकाउँछ सगरमाथा कहाँ पर्छ
सिकाउँछ लुम्बिनी कहाँ पर्छ
तर, सिमानामा मेरो भूमि मिचिँदा
टुलुटुलु हेरेर बस्न बाध्य बनाउँछ ।
म पढ्दिनँ त्यो किताब, जुन किताबले
मलाई नेपालको नक्सा बनाउन मात्र सिकाउँछ ।
मेरो किताबले मलाई मेरी आमा
भगवान् हुन भन्न सिकाउँछ ,
जननी जन्मभूमिश्च… घोक्न लगाउँछ
तर यो कुरा मलाई किन सिकाउँदैन कि सन्तानले आमालाई
बृद्धआश्रम किन पठाउँछन् ?
मैले विज्ञानका हजारौं आविष्कारहरु पढेको छु,
मलाई जर्नल, क्यासफ्लो र ब्यालेन्स सिटका नियमहरु आउछन्,
मैलै अर्थशास्त्रका सयौं सिद्धान्तहरु घोकेको छु,
तर यो कुरा मलाई किन सिकाउँदैन ?
पचास डिग्रीको घाममा पसिना चुहाएर देशको
अर्थतन्त्र धान्ने काइँला दाइकी भाउजू किन
अर्कैको अँगालोमा रमाउँछे ?
मलाई मेरो किताबले भीमसेन थापाको इतिहास पढायो,
पृथ्वीनारायणको कहानी बुझायो,
तर मलाई किन छाती फुलाएर
भीमसेन बन्न सिकाएन ?
पृथ्वीनारायण बन्न किन सिकाएन ?
मैलै किताब बोक्ने झोलामा कक्षागत विषयका
किताबहरु भेटिँदैनन् अचेल,
किनकी, म समाज बुझ्न चाहान्छु,
म क्रान्ति बुझ्न चाहान्छु,
मलाई चन्द्रशमशेरले प्रथा अन्त्य
गरे भनेर सिकाइयो,
तर आधुनिक शमशेरहरुले बगाएको
छुवाछुतको रगतको खोला रोक्न सक्ने
मलाई किन बनाएन ?
म पढ्दिनँ त्यो किताब,
जुन किताबले मलाई इतिहासको
ब्याज खाएर मात्र बाँच्न सिकाउँछ ।
रोमियो र जुलियटको कथा पढायो,
ब्रोदर एण्ड सिस्टरको स्टोरी पढायो,
मुना र मदनको प्रेम कहानी पढायो,
तर अस्ति भर्खर बनाएकी प्रियसीले
मलाई छोडेर जाँदा आँखाभरी आँसु
बनाएर रुने किन बनायो ?
म पढ्दिनँ त्यो किताब,
जुन किताबले मलाई विज्ञान पढाउँछ ,
व्यवहार पढाउँदैन ।