बुढीगण्डकी निर्माणमा जाने, तामाकोसी बैशाखबाटै सञ्चालन: ऊर्जा सचिव घिमिरे

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले बुढी गण्डकी जलविद्युत् आयोजनाको जग्गा अधिग्रहण तथा मुआब्जा वितरणको काम सकिएको बताएका छन् । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको आइतबारको बैठकलमो उनले यस्तो बताएका हुन् ।
‘बुढीगण्डकी जलविद्युत् आयोजनाको जग्गा अधिग्रहणको काम सकिएको छ,’ बैठकमा उनले भने, ‘आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा यो आयोजनालाई प्राथामिकतामा राखेर भौतिक निर्माण चरणका काम पनि सुरु गर्ने भनेर मन्त्रालयले प्रस्ताव पठाएको छ ।’

सचिव घिमिरेले उक्त आयोजनाबाट विस्थापित हुने प्रभावितलाई पुनर्वास तथा पुनस्र्थापना गर्न बनाइएको पुनर्वास नीति मन्त्रिपरिषद्मा पठाइसकिएको छ । तर, अर्थमन्त्रालयले समन्वयन नगर्दा उक्त नीति पारित भएर काम सुरु गर्न भने नसकिएको उनले बताए । आगामी आर्थिक वर्षका लागि ऊर्जा मन्त्रालयले योजना आयोगबाट पाएको बजेट सिलिङअनुसार जलाशययुक्त बुढीगण्डकी, नौमुरे, दुधकोशी, जगदुल्ला, तामाकोसी ५, सुनकोसी ३, त्रिशुली ४ लगायत आयोजनालाई प्राथमिकतामा राखेर बजेट योजना प्रस्ताव तयार पारेको उनले जानकारी दिए ।

उनले चालु आवमा ५७ मेगावाट जलविद्युत् राष्ट्रिय प्रसारणमा थपिएकाे भएको र थप ३ प्रतिशत जनसङ्ख्यामा विद्युत पहुँच पुगेकाे बताए ।

आगामी वर्षको नीति तथा कार्याक्रम तथा बजेटमा विद्युत् उत्पादन भन्दा बढी प्रसारणका आयोजनालाई प्राथमिकता दिनुपर्ने भएको समेत उनले बताए । ९३ प्रतिशत जनतामा विद्युत् पहुँच पुगेको पनि उनले बताए ।

तामाकोसीको उत्पादन वैशाखभित्रै

बैठकमा उनले राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले वैशाखभित्रैबाट विद्युत् उत्पादन सुरु गर्ने बताए । ७६ मेगावाटको पहिलो युनिटबाट वैशाखभित्रै विद्युत् उत्पादन गर्ने गरी काम तीव्र पारिएको उनले बताए । त्यसपछि जेठ, असार, साउन, भदौ महिनामा विद्युत् उत्पादन थप्दै ६ ओटै युनिट सञ्चालनमा ल्याएर ४ सय ५६ मेगावाट उत्पादन गर्ने तयारी रहेको उनले बताए । वैशाख ३१ गतेबाटै पहिलो युनिट सञ्चालनमा ल्याउने गरी काम भइरहेको उनले बताए ।

वैठकमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले तालिकका अनुसार जेठ २ गते पहिलो युनिट सञ्चालनमा ल्याउने लक्ष्य रहेपछि वैशाखको ३१ गते नै सञ्चालनमा ल्याउन सकिने देखिएको छ ।

असार मसान्तसम्म ४ वटा र साउन मसान्तसम्म ६ वटै युनिट सञ्चालनमा ल्याउने तयारी रहेको उनले बताए ।

बैठकमा खानेपानी सचिव माधव बेल्वासेले मन्त्रालयका प्रगति र आगामी आवका मन्त्रालयका प्राथमिकताबारे जानकारी गराए । उनले मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणको लागि खरीद प्रक्रिया पूरा गरी निर्माण कार्य शुरु गर्ने, काठमाडौँ उपत्यका खानेपानी सुधार आयोजना दोस्रो चरणको वितरण प्रणालीको काम शुरु गर्नेलगायत आगामी बजेटको प्राथमिकता रहेको जानकारी गराए ।

प्रतिक्रिया