एफएनसीसीआइद्वारा चेम्वरका नवनिर्वाचित पदाधिकारीलाई स्वागत
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्वर अफ कमर्सका पदाधिकारीले निजी क्षेत्रका प्रतिनिधि संस्थाबीच कार्यगत एकता आवश्यक भएको छन् । निजी क्षेत्र एक ढिक्का भएर जान सके मात्र उद्योग व्यवसाय क्षेत्र बलियो हुने उनीहरुको धारणा छ । निजी क्षेत्रले उठाएका मुद्दा कार्यान्वयन गर्न, आर्थिक विकास बलियो उपस्थिति जनाउन संस्थागत सहकार्य र कार्यगत एकता आवश्यक रहेको उनीहरुको भनाइ छ ।
नेपाल उद्योग वाणिज्य महासंघले नेपाल चेम्वर अफ कमर्सका नवनिर्वाचित अध्यक्षसहित पदाधिकारीको स्वागतमा आइतबार महासंघ सचिवालयमा आयोजित कार्यक्रममा व्यवसायीहरुले यस्तो धारणा व्यक्त गरेका हुन् ।
संस्थागत सहकार्य र कार्यगत एकताकै कारण पछिल्लो पटक कोभिड पश्चात अर्थतन्त्रको पुनरूत्थान लगायत उद्योग व्यवसाय क्षेत्रलाई राहतका प्याकेज ल्याइनुपर्ने विषय, राजनीतिक दलबाट आह्वान भएको बन्द लगायतका विरोधका कार्यक्रम, कृषिमा विदेशी लगानी खुला गर्ने लगायतका विषयमा प्रतिनिधि संस्थाको संयुक्त धारणाबाट निकै बलियो संदेश गएको सो अवसरमा स्मरण गरिएको थियो ।
‘एकता नै बल हो भन्ने कुरालाई हामी तीनै वटा संस्थाहरूले मनन गरेर अगाडी बढ्नु पर्छ,’ महासंघका अध्यक्ष शेखर गोल्छाले चेम्वरका पदाधिकारीलाई स्वागत गर्दै भने, ‘हामी प्रतिस्पर्धी होइन एक अर्काका परिपूरक हौं ।’
अध्यक्ष शेखर गोल्छाले महासंघले सार्वजनिक गरेको राष्ट्रिय आर्थिक रूपान्तरण २०३० सम्पूर्ण निजी क्षेत्रको दस्तावेजको रूपमा रहेकाले यसको सफल कार्यान्वयनबाट सिंगो निजी क्षेत्रको सम्मान बढ्ने पनि उहांले स्पष्ट पारे ।
सो अवसरमा चेम्वरका नवनिर्वाचित अध्यक्ष राजेन्द्र मल्लले महासंघले चेम्वरका निर्वाचित पदाधिकारीहरूलाई स्वागत गरेकोमा खुशी व्यक्त गर्दै आफ्नो टिमले महासंघसंग संस्थागत सहकार्य गर्दै जाने प्रतिवद्धता जनाए ।
कार्यक्रममा महासंघका उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ, रामचन्द्र संघई, कोषाध्यक्ष सुकुन्तलाल हिराचन, कार्यकारिणी समितिका सदस्यहरू, चेम्वरका तर्फबाट वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल, उपाध्यक्ष दिपकुमार मल्होत्रा, उपाध्यक्ष दिपक श्रेष्ठ, उपाध्यक्ष उर्मिला श्रेष्ठ, उपाध्यक्ष सुरेन्द्र कुमार श्रेष्ठ, उपाध्यक्ष त्रिभुवनधर तुलाधरको सहभागिता रहेको थियो ।