सत्य हार्‍यो, सिद्धान्त जित्यो

राजा जनकले ठूलाठूला विद्वानहरू बोलाएर तत्वज्ञानमा शास्त्रार्थ आयोजना गरे । जसले यस शास्त्रार्थमा बाजी मार्छ, उसलाई सिङ्मा सुनका पाता बाँधिएका सय गाई उपहार दिने घोषणा गरिएको थियो । अष्टावक्रका पिता पनि शास्त्रार्थका प्रतिस्पर्धी थिए । अष्टावक्रले आफ्नो बाबु बाजी हार्दै गएको सुने । बुबाकै श्रापबाट आठ ठाउँ भाँचिएको शरीर खोल्च्याउँदै उनी त्यो सभामा पुगे । अष्टावक्रको रुप, शरीर र चालढाल देखेर सभासद्हरु हाँस्न थाले । केही समय अलमलिएका अष्टावक्र पनि ती सभासद्तर्फ हेरेर मुर्छा परी परी हाँस्न थाले । यो दृश्य देखेर राजा जनकभित्र खुल्दुली पैदा भयो । उनले अष्टावक्रलाई सोधे‚ ‘पुत्र ! यी विद्वानहरू किन हाँसे भन्ने मैले बुझेँ । तर तिमी किन हाँस्यौ, मैले यो रहस्य बुझ्न सकिनँ ।’ अष्टावक्र साहसपूर्वक प्रस्तुत भए‚ ‘महाराज, यत्रो गम्भीर विषयमा शास्त्रार्थ चलिरहेको यो पावनभूमिमा यस्ता चर्मकारहरुको गरीब बुद्धि देखेर मलाई हाँसो उठिरहेको छ । यी पटमूर्खहरुको अविवेकी क्रियाकलाप देख्दा टिठ लाग्यो ।’

अष्टावक्रको उद्घोषले सभामा सन्नाटा छायो । राजा जनकले महापण्डितको उपमा दिएर बोलाएका ज्ञानीहरुलाई एउटा फुच्चेले चर्मकारको उपाधि दिनु राजा जनकको पनि अपमान थियो । राजा जनकले स्थिति सम्हाल्दै बालकसँग जिज्ञासा राखे‚ ‘वत्स ! तिम्रो भनाइको तात्पर्य के हो मैले बुझ्न सकिनँ ।’ अष्टावक्रले जवाफ दिए‚ ‘एकदम सपाट छ कि चर्मकारहरू छालाका पारखी हुन्छन् । तिनीहरुले ज्ञान के हो बुझ्दैनन् । ज्ञानीले ज्ञान देख्छ, छाला देख्दैन । यी विद्वानहरुले मेरो छाला र शरीरमात्र देखे । जसलाई देखेर यिनीहरू खिलखिलाउँदै हाँसे । ज्ञानवानले आत्मदृष्टि राख्छ, उसले आत्मा नै देख्छ । अज्ञानीले चर्मदृष्टि राख्छ‚ चर्म नै देख्छ ।’ अष्टावक्रको वचन सुनेर राजा जनक अत्यन्त प्रभावित भए । अष्टावक्रको चरणमा साष्टाङ्ग दण्डवत गर्दै आफूलाई आत्मज्ञान दिन आग्रह गरे । जनकभित्रको पवित्रता बुझेका अष्टावक्रले उनलाई ज्ञान दिए । यी दुई पात्रबीचको आत्मसंवाद कालान्तरमा अष्टावक्र गीता कहलिन पुग्यो ।

नेपालको संसदीय इतिहासमा भारतीय राजनीतिको प्रभाव यस्तै गीता बन्ने गरेको छ । सरकारको वार्षिक नीति तथा कार्यक्रम आउँदा समेत टीभी हेर्न, रेडियो सुन्न जाँगर नचलाउनेहरू राजा ज्ञानेन्द्र भारतबाट नेपाल फर्कंदा बहालवाला राजाको तमासा देखिन्छ । कम्युनिस्टहरुको बाहुल्य नेपालको राजनीतिमा धर्म, संस्कृति र परम्पराका नाममा प्रहसन भइरहन्छन् ।

संसदमा अध्यात्म र विज्ञानबीचको रसायनबाट निकालिएको मोदी डक्ट्रिनले माओको रेडबुकलाई उछिनेको देख्न पाइन्छ ।
यसबाट ढुंगा, माटो र पानीमा ढोंगी राष्ट्रियता देख्नेहरु पानी पानी भएका छन् । उताको लाइन यस्तो छ भनेर वर्षौंदेखि खुराफातको खेती गर्नेहरु यहाँका सिद्धहस्त राजनीतिक सितारा ठहरिन्छन् ।

नेता भनेको जेलनेल, उमेर नभएर परिपक्वता हो । दृष्टिकोण हो । आखिर यही प्रमाणित भयो । बुद्ध नेपालमा जन्मिएको भनेर फेवातालको पानीभन्दा बढी मसी खेर फालियो होला । टनकपुर र महाकालीका सन्धिको भुत्भुतेले कति मारिए, कति भौतिक संरचना नष्ट भयो, कति अंगभंग भए त्यसको तथ्यांक छैन । १९५० को सन्धिविरुद्ध १६ वर्ष ठिटो भएदेखि झण्डा उठाएका मोहन वैद्यहरू अहिले चाउरिसकेका छन् तर घिउ नलाग्ने त्यो जार्गन बोकेर थाकेका छैनन् । त्यही सन्धिमा दस्तखत गर्ने भारत आर्थिक विकासमा फड्को मारेर विश्वकै समृद्धशाली देश हुन लाग्दा हामी ढिँडो खाने कोदो र व्रतमा फलाहार खाने फापरमा समेत भारतमै भर पर्नुपरेको छ ।

स्वतन्त्र भारतका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरुले हिमाललाई आफ्नो देशको सीमा भनेर नेपालको अस्तित्वमा धावा बोलिदिँदाको तुष आजसम्म मेटिन सकेको छैन । सबैथोक भारतको स्वीकार्ने अनि सबैभन्दा बढी घृणा उसैलाई गर्ने नेपाली समाजको मनोविज्ञान आफैँमा बुझिनसक्नु दृश्य हो । राजनीतिमा कृत्रिमता घट्यो भने निःसन्देह इमान्दारीको वटवृक्ष मौलाउँछ । एउटा खैरे देख्नेबित्तिक्कै नेपांग्रेजी बोल्ने नेताहरुले आफ्नै भाषा बोलेर पनि लोकप्रिय हुन सकिन्छ भन्ने पाठ पूर्वराजा ज्ञानेन्द्रबाट सिक्नुपर्छ । त्यतिमात्र होइन, आफूले टेकेको जमिनमा गौरव गर्न सक्यो भने त्यसबाट प्राप्त हुने ऊर्जाबाट विश्वविजय असम्भव छैन । बाराक ओबामा राष्ट्रपति हुँदा अमेरिकीभन्दा केन्याली जनताले खुसी मनाए ।

सौतेनी बासँग बाल्यकाल बिताउँदाको क्षण उनले पीडा होइन, शिक्षाको रुपमा ग्रहण गरे । बाल्यकालमा चिया बेचेकोमा भारतीय प्रधानमन्त्री मोदी गौरव गर्छन् । नेपालका खुर्सानी माइला, रुवाखोले, चुके बाहुन, मुतुवा कान्छाहरु त्यो इतिहासमा रफ्फू भर्न बाँकी जीवन नै झूटको पुलिन्दामा अनुवाद गर्छन् । हुलाकी, पियन, किसानको छोरो भएको परिचय नजोडियोस् भन्ने उनीहरुको भित्री चाहना हुन्छ । बरु आफ्नो प्रतापमा डाक्टर, इन्जिनीयर, पाइलट या युरोप अमेरिकाको पीआर होल्डर सन्तानको पिता भएकोमा उनीहरुलाई गौरव छ ।

डा. सर्वपल्ली राधाकृष्णन्ले भारतीय राजदूतका हैसियतमा पूर्वसोभियत संघमा रहँदा त्यहाँका राष्ट्रपति जोसेफ स्टालिनलाई आख्यान यसरी सुनाएका थिए‚ ‘हाम्रो देशमा एकजना सम्राट जीवनभर भयंकर खुंखार लडाइँ लडेर वृद्धावस्थामा पुगेपछि सारा राजपाट त्यागी भिक्षु बनेका थिए । राष्ट्रपति महोदय ! तपाईं पनि रक्तपथको लामो यात्राबाट प्रभुताको यो महान सिंहासनमा आइपुग्नुभएको छ । भोलिका दिनमा यहाँ पनि हाम्रै देशको उक्त सम्राटजस्तो बन्न सक्नुहुन्न भनेर अहिल्यै कसले ग्यारेन्टी गर्न सक्छ ?’ डा. राधाकृष्णन्को कुरा सुनेर स्टालिन जीवनमा पहिलोपल्ट दिल खोलेर मुस्कुराएका थिए ।

एउटा मात्र राम्रो कुरा देखिँदा छनौटमा कठिनता आइपर्छ । उत्तिक्कै राम्रा सिद्धान्त र भावनाबीच टक्कर हुन्छ । सिद्धान्तको आधारमा सत्य नभई, सत्यको आधारमा सिद्धान्त हेरिनुपर्छ ।

उनले उत्साहित हुँदै भनेका थिए‚ ‘हो‚ कहिलेकाहीं चमत्कार सिर्जना हुनसक्छ । म पनि ५ वर्षसम्म धर्मशास्त्र पढाइ हुने विद्यालयमा बसेको छु ।’ स्टालिनसँग बिदाइको अंकमाल गरेर उनको पिठ्यूँ सुम्सुम्याउँदा स्टालिनको आँखामा आँसुको सागर उर्लिएको थियो । उनको अनुहार मलीन थियो र कण्ठ पनि अवरुद्ध । उनले आफ्ना सजल नेत्र उचालेर भनेका थिए‚ ‘तपाईं पहिलो व्यक्ति हो‚ जसले मलाई मनुष्य सम्झिएर मप्रति मानवीय व्यवहार गर्नुभयो । मलाई कहिल्यै पनि दानव ठान्नुभएन । तपाईं हामी सबैलाई छाडेर जाँदै हुनुहुन्छ । म चाहन्छु कि तपाईं दीर्घजीवी रहनुहोस् । अब म धेरै दिन बाँच्दिनँ ।’ स्टालिन रोएको यस घटनालाई सारा विश्वले इस्पातको मानिस रोएको भन्दै टिप्पणी गरेका थिए ।

कुनैबेला स्टालिनकै झल्को दिने नेपाली राजनीतिका तिलस्मी र रहस्यमयी पात्र पुष्पकमल दाहाल हेर्दाहेर्दै अहिले सिल्भरको ताप्केजस्तो रन्की नसकी थन्किने नेतामा परिणत भएका छन् । नेपालको राजनीतिमा आएको पछिल्लो अनपेक्षित परिणामले अब यहाँ वर्षौंदेखि चल्दै आएको पान, चना र खादीको बनारसी राजनीतिलाई बाईबाईको संकेत गरेको छ । भारतीय जनता पार्टीको आगमनसँगै नेहरू विश्वविद्यालयबाट दीक्षित हुनेहरुले देखाउने तिकड्मपूर्ण राजनीतिमा पनि पूर्णविराम लागेको छ ।
राजनीतिमा पेन्टियम वानबाट टूसम्म पनि जान जाँगर नलगाउनेहरुका लागि अबको राजनीतिक कोर्स तेल सकिएको जहाजका यात्रुजस्तो सकसपूर्ण हुने पक्का छ । नेपालका अधिकांश नेताहरुको अवस्था महाभारतका लाचार पात्र भीष्मको उत्तरार्द्धजस्तै भएको छ । न पाण्डवको जितमा हाँस्न सक्छन्, न प्रतिरोधमा उत्रन ।

क्रान्तिका लागि मात्र होइन, देशको अखण्डता जोगाउन पनि संसारमा लाखौं मानिस मारिएका छन् । अब्राहम लिंकनका पालामा हजारौं अमेरिकी मारिए तर उनीहरुले दक्षिण अमेरिकी राज्य चोइटिन दिएनन् । यही राष्ट्रप्रेमले लिंकनलाई पूज्य बनायो ।

एउटा मात्र राम्रो कुरा देखिँदा छनौटमा कठिनता आइपर्छ । उत्तिक्कै राम्रा सिद्धान्त र भावनाबीच टक्कर हुन्छ । सिद्धान्तको आधारमा सत्य नभई, सत्यको आधारमा सिद्धान्त हेरिनुपर्छ ।

बंगलादेश, पाकिस्तान, भुटान देखाएर राजनीतिक परिवर्तनको वकालत गर्नु भनेको आफ्नो कमजोरी लुकाउनु हो । अरुले भनेको बाटोमा अहिलेसम्म श्रीलंका हिँडेको भए के हुन्थ्यो ? आजभन्दा ६२ वर्षअघि राष्ट्रसंघमा भाषण गरेर काश्मिरीको आत्मनिर्णयको अधिकार स्वीकार्ने नेहरुको संकल्प हावामा हानेको बन्दुकभन्दा माथि उठ्न सकेन । काश्मिरमा स्वतन्त्रता चाहनेहरू अहिले पनि शिकार भइरहेका छन् ।

कृष्णलाल अधिकारी मकैको खेती पुस्तक लेखेको अभियोगमा मारिए । कृष्णलाल मारिएपनि उनको लेखनी सत्यबाट डगमगाएको छैन । मकैको खेती पुस्तकको भूमिकामा भनिएको छ‚ ‘…. सरकारले आफ्ना देशका कुकुरहरूभन्दा विदेशी कुकुरहरुको बढ्ता मान गर्छ तर चोर डाकाहरुबाट हाम्रो रक्षा गर्ने बखत गद्दामा सुत्ने विदेशी कुकुरहरू काम लाग्दैनन् । स्वदेशी कुकुरहरू नै काम लाग्छन् ।’

निर्धन ब्राह्मण चाणक्य विद्वान विशाल भारतीय साम्राज्यका प्रधानमन्त्री बने । चाणक्य नीति, कौटिल्यको अर्थशास्त्र आज अकाट्य नीति विज्ञान बनेका छन् । प्रधानमन्त्री भएर पनि कुटीमा बस्थे । उनले कुटीबाटै सत्ता सम्हाले । चाणक्यको स्वाभिमानी जीवनबाट प्रभावित भएर चिनियाँ यात्री फारहानले उनको स्वभावलाई यसरी लेखेका छन‚ ‘जहाँका प्रधानमन्त्री साधारण कुटीमा आफ्नो जीवनको इहलीला समाप्त गर्छन्, त्यहाँका जनता भव्य महलमा ऐयासीसाथ आफ्नो जीवन भोग गर्छन् । जहाँका प्रधानमन्त्री राजदरबारमा नानाथरी सुखभोगका सामग्रीसाथ जीवन गुजारा गर्नमा तल्लीन हुन्छन्, त्यहाँका जनता साधारण झुपडीमा दुःखसाथ आफ्नो जीवन गुजारा गरिरहेका हुन्छन् ।’ निर्देशन पालन गर्नेहरुलाई यस्ता नीति आत्मसात् गर्न के ले छेकेको छ ?

संसारको कुनै मानिस शतप्रतिशत ठीक र शतप्रतिशत गलत हुँदैन । यदि शंकालु नजरले हेरियो भने आफ्नै बालाई पनि ढेडूजस्तै देखिन्छ रे ! तथ्य वस्तुनिष्ठ हुन्छ तर सत्य जहाँ गएपनि एउटै हुन्छ । सूर्य निश्चित समयमा उदाउँछ, अस्ताउँछ भनेर मान्नु एउटा मान्यता हो । साँचो अर्थमा सूर्य न कहिल्यै उदाउँछ, न अस्ताउँछ । एकातिर रहेका बेला अर्कातिर केही घण्टा अनुपस्थित हुनेमात्र हो । घोडा जतिसुकै पाइनदार भएपनि जोत्न त सिङ नभएको पुँडे गोरु नै काम लाग्छ नि ।

प्रतिक्रिया