कोरोनाबाट सुदूरपश्चिममा एकैदिन ९ जनाको मृत्यु
धनगढी । सुदूरपश्चिममा बिहीबार एकैदिन कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ । त्यसमध्ये कैलालीमा मात्रै पाँच जनाको मृत्यु भएको छ भने कञ्चनपुरमा तीन र बझाङमा एक जनाको मृत्यु भएको छ ।
कैलालीमा जिल्लाको घोडाघोडी नगरपालिका–१२ का २८ वर्षीय युवक, धनगढी उपमहानगरपालिका–३ की ४५ वर्षीया महिला, लम्कीचुहा–२ का ३३ वर्षीय पुरुष र घोडाघोडी–१० का ६० वर्षीय पुरुषको मृत्यु भएको छ ।
उनीहरू सबैको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
यस्तै, गोदावरी नगरपालिकाकी ८७ वर्षीया एक महिलाको घरमै मृत्यु भएको छ । केहिदिन अघि कोरोना संक्रमण पुष्टि भएकी ती महिलाको होम आइशोलेसनमा मृत्यु भएको हो ।
यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ का २१ वर्षीय युवकको बिहिवार बिहान १ बजे, दोधारा चाँदनी नगरपालिकाका ३० वर्षीय युवकको बुधबार राति १२ बजे र भीमदत्त नगरपालिका १८ की ३६ वर्षीया एक महिलाको बिहीबार बिहान ७ बजे मृत्यु भएको महाकाली अस्पतालले जनाएको छ ।
भीमदत्त नगरपालिका–१९ का २१ वर्षीय युवकको कुनैपनि ट्राभल हिस्ट्री नभएको र उनीमा ब्लड क्यान्सरको समस्या रहेको बताइएको छ।
उनको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । यसैगरी कोरोना भाइरसको संक्रमणबाट बझाङमा पनि एक पुरुषको मृत्यु भएको छ ।
जिल्ला अस्पतालमा उपचाररत मष्टा गाउँपालिका–५ का ५५ वर्षीय पुरुषको बिहीबार दिउँसो मृत्यु भएको स्वास्थ्य कार्यालय बझाङका काभिड सम्पर्क व्यक्ति नारायण जोशीले बताए ।
स्वास्थ्यमा समस्या भइ उपचारका लागि बुधबार अस्पताल पुगेका ती पुरुषमा ऐन्टिजेन विधिबाट परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।