रहेनन् संस्कृतका अध्येता तथा सदाचारवादी नेता पौडेल

काठमाडौँ । राष्ट्रियसभाका पूर्वसदस्य एवं नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा विदुर पौडेलको मष्तिष्काघातका कारण ७७ वर्षका उमेरमा बिहान निधन भएको छ । यही वैशाख ११ गते कोभिडको पहिलो खोप लगाएपछि उनलाई मष्तिष्काघात भई उपचारका लागि सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजको सघन उपचार कक्षमा भर्ना गरिएको थियो ।

उपचारकै क्रममा उनको मृत्यु भएको हो । नेपाली कांग्रेसको पूर्वकेन्द्रीय सदस्य, अधिकारसम्पन्न वाग्मती ढल व्यवस्थापन आयोजनाका पूर्वअध्यक्ष, पशुपति क्षेत्र विकास कोषका पूर्वसञ्चालक सदस्य पौडेल पछिल्लो समय भतिजा परमेश्वरका साथमा गुह्येश्वरीस्थित आफ्नै निवासमा बस्दै आएका थिए ।

अविवाहित पौडेल ६ दाजुभाइमध्ये जेठा थिए । स्व पौडेलको आजै पशुपति आर्यघाटमा वैदिक विधिअनुसार अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । सदाचारी एवं इमान्दार नेता पौडेलले लामो समय संस्कृत विश्वविद्यालयको वाल्मीकि विद्यापीठमा प्राध्यापन गरेका थिए ।

प्राध्यापनपछि पौडेल राष्ट्रियसभाका सदस्य बने । सांसद हुँदा सुविधाका लागि गाडीका रूपमा प्राडो एवं पजेरो भित्र्याउन दिने सरकारी निर्णयको उनले विरोध गरेका थिए । रासस

प्रतिक्रिया