देवकोटा–बादल चुनावी मैदानमा, कसको पल्लाभारी ?
काठमाडौं । रामबहादु थापा ‘बादल’ र खिमलाल देवकोटाबीच राष्ट्रिय सभा उपनिर्वाचनमा चुनावी भिडन्त पक्का भएको छ । दुवै नेताले शुक्रवार निर्वाचन आयोग, बागमती प्रदेश कार्यालय पुगेर मनोनयन दर्ता गराएसँगै देवकोटा–बादलबीच चुनावी भिडन्त निश्चित भएको हो ।
सत्तारुढ एमालेको स्थायी कमिटी बैठकले बादललाई उम्मेदवार बनाउने निर्णय गरेलगत्तै उनी हेलिकोप्टरबाट हेटौंडा पुगेर उम्मेदवारी दर्ता गराए । यसअघि पनि एमालेबाट बादललाई नै उम्मेदवार बनाउने मोटामोटी सहमति भए पनि विपक्षी तीन दलले एमालेकै नेपाल–खनाल पक्षका खिमलाल देवकोटालाई उम्मेदवार बनाएपछि सत्तारुढ एमाले झस्केको थियो । यो निर्णयपछि स्वयम् बादल पनि उम्मेदवार बन्न हच्केका थिए ।
त्यसपछि, मत विश्लेषण गरेर मात्रै उम्मेदवार कसलाई बनाउने बताएको सत्तारुढ एमालेले बादललाई नै उम्मेदवार बनाउने निर्णय गरेको हो ।
देवकोटा–बादलबीच चुनावी भिडन्त हुने पक्का भएसँगै चुनाव कसले जित्ला भन्ने चासो बढेको छ ।
राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभाका सांसद, नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष मतदाता हुन्छन् । बागमती प्रदेश सभामा ११० सांसद छन् । यस्तै यो प्रदेशमा ११९ स्थानीय तह छन् । स्थानीय तहका २३८ जना प्रमुख र उपप्रमुख समेतगरी जम्मा मतदाता संख्या ३४८ छ ।
राष्ट्रिय सभाको निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ४८/४८ हुन्छ । तसर्थ ११० जना प्रदेश सभा सदस्यको जम्मा मतभार ५,२८० हुन्छ । त्यस्तै, स्थानीय तहका प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्षको १८/१८ हुन्छ । २३८ जनाको मतभार ४,२८४ हुँदा राष्ट्रिय सभाको निर्वाचनमा बागमती प्रदेशको कूल मतभार ९,५६४ पुग्छ ।
बागमती प्रदेशमा पनि एमाले केन्द्रमा जस्तै दुई फ्याक छ । बागमती प्रदेशमा सग्लो एमालेका ५७ जना सांसद छन् । जसमध्ये ओली पक्षका सभामुखसहित ३५ जना छन् । सभामुख सानुकुमार श्रेष्ठले मतदान गर्न नपाउने भएकाले मतदान गर्ने सांसदको संख्या भने ३४ मात्रै छ ।
यता नेपाल–खनाल पक्षमा २२ सांसद छन् । यस्तै प्रदेशमा माओवादीसँग २३ र कांग्रेससँग २२ सांसद छन् । नेपाल पक्षसहित कांग्रेस र माओवादीका गरी ६७ सांसद हुन्छन् । यो संख्या प्रदेश सभामा स्पष्ट बहुमत हो ।
यस्तै प्रदेशमा विवेकशील साझाका तीन, नेमकिपासँग दुई, राप्रपा तथा राप्रपा संयुक्तसँग एक/एक सांसद छन् । नेमकिपाले कृष्णबहादुर तामाङ्गलाई उम्मेदवार बनाएको छ ।
बाँकी रहेका दलले कसलाई मत दिने भनेर निर्णय गरिसकेका छैनन् । विवेकशील साझा साझाका केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारकाअनुसार साझाले ओलीलाई साथ दिने छैन । ‘सत्तारुढलाई त सघाउने कुरै भएन,’ परियारले भने– ‘के गर्ने भन्नेबारे शनिवारसम्म निष्कर्षमा पुग्छौँ ।’
यदि यी ३ दल पनि विपक्षी गठबन्धनतिर लागे गठबन्धनसँग ३,४५६ मतभार पुग्छ । जुन मतभार ओली पक्षको भन्दा १,८२४ बढी हो । यदि राप्रपा र राप्रपा संयुक्तले सत्तारुढ एमालेलाई समर्थन गर्ने निर्णय गरेको खण्डमा सत्तारुढ एमालेसँग १,७२८ मतभार हुन्छ ।
प्रदेश सभामा यस्तो गणित देखिए पनि प्रदेशअन्तर्गतका १३ जिल्लाका स्थानीय तहमा कस्तो वातावरण छ भन्ने कुराको निर्क्यौल भइसककेको छैन । किन पनि भने एमाले दुई ध्रुवमा विभाजन भएपछि धेरै नेता/कार्यकर्ता तानातानमा छन् । यस्तो अवस्थामा पालिकाका प्रमुख तथा उपप्रमुखको कित्ता क्लियर भइसकेको छैन ।
यद्यपि स्थानीय तहको निर्वाचन हुँदा बागमतीमा एमालेको तर्फबाट प्रमुख तथा उपप्रमुख गरी १३३ जनाले चुनाव जितेका थिए । जसमध्ये ओली र नेपाल–खनाल पक्षमा कति छन् भन्ने यकिन गर्न गर्न सकिन्न । तर उनीहरुमध्ये २८ प्रमुख तथा उपप्रमुख भने नेपाल–खनाल पक्षमा खुलेका छन् ।
प्रदेशअन्तर्गतको जिल्लामा कांग्रेसबाट ६८ जना र माओवादीका ३३ जनाले प्रमुख र उपप्रमुखमा जितेका छन् । यो आँकडाअनुसार २३८ प्रमुख तथा उपप्रमुखमध्ये कांग्रेस, माओवादी र नेपाल–खनाल पक्ष गरी १२९ जना प्रमुख र उपप्रमुख देखिन्छन् । जुन बहुमत संख्या हो ।
कूल ४,२८४ मतभार रहेको प्रदेशअन्तर्गतको स्थानीय तहहरुमा विपक्षी गठबन्धनको बहुमत पुग्नेगरी २,३२२ मतभार देखिन्छ । यो कूल मतभारको १,९६२ ले बढी हो । यसमा साना दलको निर्णयले केही मतभार फरक पार्ने छ ।
यसरी प्रदेश सभा र स्थानीय तहको मतभारको मोटामोटी आकलन गर्दा कूल मतभार ९,५६४ मध्ये विपक्षी गठबन्धनसँग ५,५३८ र विपक्षी गठबन्धनसँग ४,०२६ मतभार देखिन्छ । जुन १,५१२ मतभारले बढी हो ।
मोटामोटी हेर्दा यस्तो मतको गणित यस्तो देखिए पनि एमालेभित्रको तानातानलगायत पछिल्लो समय विकसित राजनीति, साना दलहरुको निर्णय, माओवादीभित्र बादलको प्रभावलगायतका कारण यो गणित फेरिन सक्छ ।