[कथा] यादहरुलाई श्रद्धाञ्जली !

‘आजबाट हाम्रो सम्बन्ध समाप्त भयो’ हात कमाउँदै लेखेको यो शब्दमा घरीघरी मन घोरिन्थ्यो । हामीले मित्रताबाट सुरु गरेको त्यो यात्रा सदा उस्तै भइरहला भन्ने आस थियो । तर आज उसका यादहरुलाई पनि श्रद्धाञ्जली समर्पण गर्न तयार भएकी छु । एक समयको प्रिय मान्छे ! आजबाट तिमी सदाका लागि अतीत बन्दैछौँ ।

थाहा छैन, समयले कोल्टे फेरेको हो या तिम्रा सम्झनाले विश्राम मागेका । मलाई तिम्रो माया नभएको होइन तर, यति समयसम्म तिमीलाई, तिम्रो भावनालाई, तिम्रो जोवन र जीवनलाई बुझ्न नसक्नु मेरो कमजोरी हो । म आज एउटा यादको अर्थात् अतीतको गह्रुँगो भारी बोकेर हिड्दैछु । पत्तो छैन, कुन चौतारीमा अडेस लाग्दा लाग्दै सदाका लागि निदाउने हुँ ।

खै कुन्नी ! के जादु गर्यौ वा टुना लगायौ, यो मनमा, जीवनमा । अन्धविश्वासलाई जमानामै त्यागिसकेकी हुँ भन्ठान्ने म अहिले जादु वा टुनामुनामा पनि विश्वास खोज्न थालेकी छु । शायद, यो पनि तिमीसँगको सङ्गतको करामत होला । वा भनौं मेरो तिमीप्रतिको सम्मोहनले पो यस्तो गराएको हो कि !

एक समयको प्रिय मान्छे ! कता कता मन कुँडिएको छ । अध्यारो भित्ताका कुनामा राखिएका ती तस्बिर अझै पनि चम्किरहेका छन् तर, म तिम्रा यादका ज्योतिलाई निभाउँदै छु । यो कस्तो विडम्बना ? वा मेरो चाहना ? कसैले भन्न सक्दैन । म आफैं भन्न सक्दिन  भने अरु कसले कसरी सकोस् ?

मैले बारम्बार गरेको विश्वासलाई हरबार तोडेपछि मैले तिमिमाथी विश्वास गर्नुको कुनै औचित्य देखिन । खासमा तिमि शारीरिक सम्बन्धका लागि मसँग नजिकिएको ननिको लाग्यो मलाई । यदि म पनि वासनाकै कारण तिमिसँग नजिकिएको हुन्थेँ भने ठीकै लाग्थ्यो होला तर, मैले त तिमिलाई विश्वास गरेकी थिएँ । माया गरेकी थिएँ । अझ् मत यो जुनीलाई मात्र नभएर जुनी-जुनी चोखो प्रेम गरिरहन प्रतिवद्ध भएर पो लागेकी थिएँ त ! तिमिले मलाई मात्र होइन, मेरो इमानलाई मेरो विश्वासलाई धोका दियौ अब तिमि नै भन मसँग के नै विकल्प छ र ?

बिचरा मेरा बा आमा ! गरिबीले कक्रक्क पारेको, नियतिले निमोठेको झुप्रोमा मेरा लागि कति सपना सजाउँदै होलान् । घर जाँदा लक्ष्मी मानेर पुज्ने गर्छन् । संस्कारी यस्तो परिवारमा जन्मेको म तिम्रो क्षणिक शारीरिक सम्बन्धको आग्रह कसरी मान्न सक्छु र ? तिमिले प्रेमको नाटकमा कुमारीत्व हरण गर्न खोज्यौ । प्रेमको कुरा हर कोहीले गर्छन् तर, यसलाई बुझ्ने विरलै भेटिन्छन् भन्ने कुरा पुष्टि गर्यौ तिमिले ।

प्रेम अनन्त हुन्छ । जुन प्रेम आकर्षणबाट सुरु हुन्छ, त्यो क्षणिक हुन्छ । प्रेम जीवनको भावनात्मक अवधारणा हो । यो अमूर्त छ र त यसलाई परिभाषित गर्न असम्भव छ । मैले तिमिलाई प्रेम गरे तर, तिमिले प्रेमको प्रलोभनमा पारेछौँ । जिन्दगीको केही पलमा साथ दिएकोमा चाहिँ तिमिलाई धन्यवाद । तर बैँशालु वर्तमानको फाइदाका लागि कसैको मन मुटु हडप्नु ठिक होइन । कहिलेकाहीँ अचम्म लाग्छ त अहिले उदासीले गाँज्छ ।

एक समयको प्रिय मान्छे म अहिलेको तिमिलाई घृणा गर्छु तर, मैले कञ्चन प्रेम गर्दाताकाको अर्थात् तिमिभित्रको स्वार्थी पुरुष हाबी नहुँदासम्मको तिमिलाई त सँधै प्रेम गर्नेछु । यो भावबाट निर्देशित भएका बेला म हिजोका दिनमा जति खुसी थियौ त्यति नै खुसी भएर फेरि तिम्रो सामु पर्न मिल्दैन र ?

फेरि झसङ्ग हुन्छु । जे होस् एक समयको प्रिय मान्छे तिम्रा यादहरुलाई आँखा चिम्लिएर श्रद्धाञ्जली अर्पण गर्दैछु । हार्दिक श्रद्धाञ्जली !!

प्रतिक्रिया