महामारीका बेला पनि खुशी हुने काेशिस गराैं- मनाेचिकित्सक ऋषभ काेइराला

कोरोनाको दोस्रो लहरले फेरि हामीलाई आक्रान्त बनाउँदै लगेको छ । मानिसहरूमा डर, चिन्ता, भय, तनाव बढेर गएको छ । विपत्तिको बेला सामान्य डर, चिन्ता, छट्पटी, तनाव हुनु स्वभाविक नै हो । यसलाई असामान्य अवस्थामा मानिसले देखाउने स्वभाविक प्रतिक्रिया भनिन्छ ।

तर, लामो समयसम्मको डर, चिन्ता, भय, तनाव हुनु भने राम्रो होइन । यसले शारीरिक तथा मानसिक रुपमा कमजोर बनाउँदै लैजान्छ । यस्तो बेला कसरी आफूलाई बलियो बनाउने ? यसबारेमा मनोचिकित्सक डा.  ऋषभ काेइरालासँग मकालु खबरकर्मी समिक्षा गाहाले कुराकानी गरेकी  छन्  । 

कोभिड १९ को दोश्रो लहर बढेसँगै मानिसमा त्रास र चिन्ता बढेको छ । यसलाई कसरी कम गर्न सकिएला ?

अहिले जताततै कोभिडकै कुरा हुन्छ । यसको प्रभाव ठूलो छ । अहिले जुन अवस्था छ त्यसले गर्दा मानिस आत्तिने, अत्यास लाग्ने जस्ता कुरा एक किसिमले सामान्य प्रतिक्रिया जस्तै होे । यस्तो बेलामा डर त्रास हुने कुरा अनौठो होइन । यो एउटा रोग नै हो भन्ने होइन । यस्तो प्रतिकृया रोगै मात्र हुनुपर्छ भन्ने छैन । यसरी बुझ्यो मात्र भनेपनि सान्त्वना मिल्छ । हामीहरुले अहिले जुन अवस्था भोगिरहेको छौं, यो कठिन भएपनि यसलाई सामान्य रुपमा पनि लिने प्रयास गर्नुपर्छ । एक हदसम्म यसलाई सामान्य रुपले बुझ्यो भनेपनि आफूलाई सान्त्वना मिल्छ । अहिलेको अवस्थामा हाम्रा अत्यास, चिन्ता कम गर्न हाम्रो जीवन शैलीलगायत केही चिजहरुमा परिवर्तन एकदम जरुरी छ । यसमा चाँही सबैभन्दा पहिले हामीले दैनिक जीवन सामान्य बनाउनुपर्छ । बिहान सबेरै उठ्ने, बेलुका समयमा सुत्ने, यो बानीलाई एकदम नियमित राख्न जरुरी छ । लकडाउनले गर्दा मानिसहरुलाई कतै हिंड्नुपरेको छैन, यसले गर्दा हामीले बढी समय सुत्ने, ढिला उठ्ने गरिरहेको हुनसक्छ । त्यसलाई स्लिप साइकल भनिन्छ । यो नियमित नहुँदा शरीरको रिदम बिग्रन जान्छ । यसले गर्दा मानसिक समस्याहरु आउन सक्ने अझ मनका भावनालाई नियन्त्रण गर्न गाह्रो हुने हुन्छ । यसकारण पनि समयमा नै सुत्ने, उठ्ने र त्यो सँगसँगैं नियमित ब्यायाम गर्ने गर्नुपर्छ । घरभित्रै बसेर गर्नसकिने योगलगायतका कसरत गर्नुपर्छ ।

मनमा नकारात्मक भाव वा तपाईले भनेको जस्तो आत्तिने डराउने अवस्था भएमा आफैले मन बहलाउने उपाय के के हुन सक्छन् ?

अहिलेको अवस्थामा हामीले आफै मन बहलाउन चाहिँ माध्यमहरु खोज्नुपर्छ । हामीहरु सबैको फरक-फरक परिस्थिती हुन्छ कसैको घरमा बगैचाँ होला, कसैको घरमा धेरै मानिस हुनुहुन्छ होला, कसैको घरमा बालबच्चा होलान् । भनेपछि अहिले आफ्नो हातमा जे छ, जुन परिस्थिती छ, त्यसलाई सदुपयोग गरेर मन भुलाउन सक्छौं । बिहान सबेरै उठेर ब्यायाम गर्नाले धेरै मानिसलाई ठिक बनाउँछ । यसले सामान्य खालको रोगको लक्षणसँग जुध्न एकदमै सहयोग पनि गर्छ । दैनिक जीवनमा घरमा ब्यस्त हुने घरमा मिलिजुली खाना बनाउने होस् या बालबच्चासँग खेल्ने या आफ्नो आफ्नो इच्छा आकाँक्षा अनुसारका गतिविधि गर्नुपर्छ ।

सामान्यतया यस्तो महामारीमा देखिने मनोवैज्ञानिक समस्याहरु चाहिँ के कस्ता हुन्छन् ?

अहिले धेरैजनामा देखिने शारीरिक समस्याहरु हुन् । र अर्काे चाहिँ मनको समस्याहरु हुन् । शारीरिक समस्या पनि मनबाटै उत्पति भएका जस्तै अनिद्रा हुने, निन्द्रा नपर्ने, मुटु धेरै ढुकढुक गर्नै, आत्तिएको जस्तो हुने, छटपटी हुने, खुट्टा झमझमाए जस्तो हुने, अझ कति जनामा त कोभिडकै चिन्ता भइरहने, नाक रसाए जस्तो, हाच्छ्यिुँ आएको जस्तो, घाँटीमा केहि अड्किएको जस्तो, चिलाएको जस्तो त्यस्तो अनुभुतिहरु पनि हुने गरेको पाइएको छ । यसबाहेक मनमा कुराहरु खेल्ने, सानो सानो कुरामा पनि आतिहाल्ने, रिस उठ्ने, मन एकाग्र हुन नसक्ने, जागँर नलाग्ने, जस्ता लक्षणहरु पनि देखिने गरेको पाइएको छ ।

महामारीको बेलामा सामान्य मनोवैज्ञानिक समस्या देखिनु ठीकै हो भनेर हेलचेक्र्याई गर्दा गम्भीर खालका समस्यापनि देखिइरहेका खबरहरुपनि आउँछन् । कुन लक्षण वा समस्या गम्भिर र कुन सामान्य भनेर चाहिँ कसरी चिन्ने ?

यस्तो बेलामा अलि अलि समस्या हुनु भनेको सामान्य प्रतिकृया पनि हो, भनेर भन्ने गरिन्छ । कुनै समस्या सामान्य र गम्भीर कुन भनेर छुट्याउन त्यसले हाम्रो जीवनशैलीमा परिवर्तन आएको छ कि छैन ? भनेर हेर्नुपर्छ । भन्न खोजेको कस्तो भन्दा यी समस्याहरुले गर्दाखेरी दैनिक जिवनमा आफ्नो सम्बन्धमा, घरब्यवहारमा कस्तो प्रभाव पारिरहेको छ भन्ने हिसाबले हेर्नुपर्छ । धेरै सुत्ने, आलस्य लागेर उठ्न नसक्ने जस्तो भयो अथवा नकरात्मक सोचहरु आत्तिने, चिटचिटाहाट हुने, रिस बढ्दै जाने भयो भने चाहिँ यसका लागि परामर्शहरु गर्न सकिन्छ । मनोचिकित्सक, मनोपरामर्शकर्ताहरुसँग कुरा गर्न सकिन्छ । भेटेर वा अनलाईनबाट पनि परामर्श लिन सकिन्छ । अर्को के गर्न सकिन्छ भने, आफूमा आएको परिवर्तनहरु आफूले पनि नोटिस गरिरहेको अर्थात आफैंलाई महसुस भइरहेको छ वा परिवारका सदस्यले संधैभन्दा फरक खालको ब्यवहार देखाइरहेको जस्तो लागेको छ भने छलफल गर्नुपर्छ । आफ्ना कुरा र अवस्थाबारे अरुसँग छलफल गर्ने र अरुलाई पनि यसबारेमा सोध्ने गर्यो भने मात्र पनि सजिलो हून्छ । हल्का महसुस पनि हुन्छ । त्यसैले यो कुरामा चाहिँ ध्यान दिनुपर्छ । साह्रै निद्रा ब्रिगेको छ भनेपनि परामर्श गर्नपर्छ । शुरुमै यसलाई नियन्त्रण गर्नुपर्छ ।

यस्तो बेलामा अरु उमेर समुहभन्दा बालबालिका र बृद्धबृद्धालाई थप हेरचाह र सहानुभूति आवश्यक हुन्छ । यो कसरी गर्ने ?

यो समयलाई हामीले मौकाको रुपमा पनि लिनुपर्छ । यो अवसर पनि हो । पहिले हामीले जुन चिज गर्न पाएका थिएनौं, त्यो काम गर्न पाउने समय मिलेको छ । पहिला बालबच्चालाई समय दिन पाएनौं भनेर धेरैजनाको गुनासो हुने गर्दथ्यो । कामको धपेडीले समय नमिलेर । बा-आमा वा परिवारका सदस्यसँग बस्न कुराकानी गर्न पाइएन भन्ने गुनासो रहनेगथ्र्यो । आफैंले पकाएर खान पाइएन भन्ने कसैलाई थियो होला । हामीले यस्ता कामहरु गर्ने अवसरका रुपमा यसलाई लिनुपर्छ । अब यो भएन उ भएन भनेर नभएको चिजको पछाडी लाग्नुभन्दा जे छ त्यसलाई प्रयोगमा ल्याउने गर्नुपर्छ । यसले सबैजनामा आत्मियता पनि बढ्छ । घरपरिवारमा र सम्बन्धमा नयाँ मीठास् पनि थपिन्छ । निकटता बढ्छ । अत्यास र चिन्ताको बाटोबाट पनि मुक्त भइन्छ । परिवारका सबै सदस्यलाई मद्धत हुन्छ । के-के गरेर चाँही खुसी हुन सकिन्छ बालबच्चादेखि बृद्धबृद्धासँग यसरी माया बाँड्न सकिन्छ अनि खसी हुन सकिन्छ । त्यसैले यस्ता कुरामा बढी ध्यान दिउँ । यो अवस्थाको दु:ख यसले पारेको समस्याको कुरा छँदैछ तर, यसमा दुखी भएर त यो अवस्था सकिने होइन । थप आफ्नै स्वास्थ्यलाई र परिवारको स्वास्थ्यलाई समस्या थप्ने मात्र हो । त्यसैले सकारात्मक भाव राख्ने र अहिलेको समयलाई एक अवसरको रुपमा उपयोग गर्नुपर्छ ।

अहिले मानिसहरु घरबाहिर जान नपाउँदा सामाजिक सञ्जालमा बढी समय बिताउने गुरेका छन् । सञ्चार माध्यम पनि धेरै हेर्ने पढ्ने सुन्ने गरिरहेका छन् । कतिपयले सञ्चारमाध्यम र सामाजिक सञ्जालले झनै त्रास फैलाएको भनि भन्ने गरेका छन् । यसबाट कसरी जोगिन सकिएला ?

अहिले कोभिडको त्रास त छँदैछ । यसका साथै गलत सूचनाको, हल्लाको भय पनि उत्तिकै हुन्छ । के भइरहेको छ ? भनेर बुझ्न एकदम आवश्यक पनि छ । र त्यसलाई गलत स्रोतबाट होइन सही र आधिकारिक श्रोतहरुबाट आएका खबरहरुलाई मात्र विश्वास गर्नुपर्छ । मानिसको बानी जथाभावी समाचारहरु जस्ले पायो त्यसले भनेका कुराहरुलाई पनि सत्य मानदिने गम्भिर भईदिने, सही स्रोतहरु खोज्न नलाग्ने, हल्लालाई विश्वास गर्दिहाल्ने गर्नाले पनि समस्या बढाएको छ । अत्यास बढाएको छ । नक्कली फोटाहरु, भिडियोहरु हेर्ने विश्वास गर्ने गर्नालेपनि मानिसहरु आत्तिएका तर्सिएका छन् । नभएको समाचार सुनेर, नभएको उपचार बिधिमा लागेर पनि आफुलाई हानि पुर्याएका छन् । त्यसकारण नेपाल सरकारको, डब्लुएचओको अथवा एकदम विश्वासिलो श्रोतहरुबाट आएका खबरहरु मात्र लिने हो । आधिकारिक वेबसाइट वा विश्वासिलो सञ्चारमाध्यमलाई मात्र विश्वास गर्नुपर्यो । नत्र, हामी आफैंले तनाब बढाइरहेका हु्न्छौं यसबाट हामी आफैंलाई समस्या भइरहेको हुन्छ । मनोवल बढाउन सकारात्मक हुन आफुलाई कसरी बहलाउने, कसरी आफुलाई खुसी बनाउने भन्ने कुरामा ध्यान दिन जरुरी हुन्छ । अहिले यसका धेरै उपाय र श्रोत साधनहरु छन् । घरमै बसिरहँदा परिवारसँग, बालबलिकासँग, आमाबुवासँग परिवारका सदस्यसँग समय बिताउने अवसर छ नि त अहिले । यस्ता कामले मन बहलाउने आफ्नो रुचीका विभिन्न काम गर्ने, जस्तो कि गीत गाउने, खाना पकाउने, अभिनय गर्ने, पुस्तक पढ्ने जस्ता कामहरु यसअघि गर्न नपाइएको होला त्यस्ता काम गरेर खुशी प्राप्त गर्न सकिन्छ ।

यस्तो बेलामा सामाजिक सञ्जाल प्रयोगकर्ता जिम्मेवार हुन किन जरुरी छ ?

एउटा गलत सुचनाको प्रभाव डरलाग्दो हुन्छ । हजारौ लाखौ मानिसलाई त्यसले प्रभाव पार्छ । भ्रम र डर उत्पन्न गराउँछ । यसमा एउटा मात्र मानिसको जीवनको कुरा हुँदैन यहाँ समाजकै देशकै विश्वकै कुराहरु आइरहेका छन् । त्यसकारण पनि सामाजिक सञ्जालमा सबै जना सगज हुनुपर्छ । त्योमात्र होइन त्यो त एउटा कोभिडको सूचना मात्र होइन कि अन्य कुराहरु पनि गलत र भ्रम छर्ने खालका छन् । जस्तो डाक्टरहरुले सेयर गरेको भनेर एकदमै जथाभावी औषधीको लिष्ट शेयर गर्दिने, उपचारका विधी भनेर शेयर गर्दिने गरेको पनि पाइन्छ । जुन त्यो बिधाको मानिस पनि होइन । उसकै कुरा पत्याउनेहरु धेरै छन् । सही भन्दा आधिकारिक कुरा छिटो शेयर गर्ने चलन छ । किनपनि होला भने हल्लाहरु मात्र गर्नलाई त मानिसलाई जे पनि भन्न सकियो, चासो धेरै हुने किसिमले गर्न सकियो । तर सत्य र यथार्थ कुरा त जेसुकै भन्न मिलेन त्यसैले सस्ता कुराको पछि लाग्नुभएन ।

अहिले जताततै कोभिडकै कुरा हुन्छ । यसको प्रभाव ठूलो छ । अहिले जुन अवस्था छ त्यसले गर्दा मानिस आत्तिने, अत्यास लाग्ने जस्ता कुरा एक किसिमले सामान्य प्रतिक्रिया जस्तै होे । यस्तो बेलामा डर त्रास हुने कुरा अनौठो होइन ।

यसले पनि गलत सूचना जान्छ । सबैले गलत नियतले गरिरहेको होइन तर जेसुकै सूचना शेयर गर्नाले त्यसले हजारौँ लाखौ जनालाई नकारात्मक प्रभाव पार्छ । त्यसैले नबुझिकन आफुले के गरीरहेको छु, कसरी सेयर गरीरहेको छु थाहा नपाइकन हचुवाको भरमा सेयर गर्नु हुदैन । बरु डाक्टर वा सम्बन्धित क्षेत्रको विज्ञले कतै गलत सूचना आइरहेको छ भने त्यसलाई रोक्न सत्य कुरा चाहिँ यस्तो हो है भन्ने खालका सूचना र जानकारीहरु आधिकारिक श्रोतबाट लिएर दिनुपर्छ । यस्तो बेलामा सञ्चारमाध्यम पनि जिम्मेवार बन्न जरुरी हुन्छ । हतार नगरि, प्रमाणित भएका कुराहरु मात्र दिनुपर्छ । तथ्य र यथार्थमा आधारित अनि आधिकारिक श्रोतहरुबाट आएका सूचनालाई मात्र समाचार बनाउनुपर्छ । छिटो गर्ने वा लोकप्रिय बन्ने नाममा अस्वस्थ प्रतिस्पर्धा गर्नु हुँँदैन किनभने एउटा सूचना वा जानकारीले हजारौं लाखौं मानिसलाई प्रभाव पारिरहेको हुन्छ ।

प्रतिक्रिया