‘आफूलाई चिनौं र रमाऔं, यो त्रासद समय छिट्टै सकिनेछ’
अहिले विश्वका अधिकांश देशहरू यो महामारीबाट प्रताडित छन्, ग्रसित छन् । भनेपछि यो मेरो या तिम्रो या अरू कोही एकजनाको मात्र समस्या होइन । विश्वकै समस्या हो । हामीमात्रै घरभित्र छैनौँ विश्वभरिकै मानिस घरभित्र छन् । त्यसकारणले यो समस्या मेरोमात्र हो भनेर सोच्नुभन्दा पनि यो समस्यासँग कसरी जुधेर एउटा नयाँ जीवन पाउने भन्नेतिर सोच्नुपर्छ । सोचेरमात्र पनि हुँदैन । त्यसैअनुसार काम पनि गर्नुपर्छ ।
जस्तोसुकै समस्या आइलागे पनि भागेर त समस्याको समाधान हुने होइन । डटेर मुकाबिला गर्ने अनि जित्ने हो नि ! त्यसैले यो समस्याको घडीमा पनि हामी धैर्य गरेर, संयमित भएर, स्वास्थ्य मापदण्ड पालना गरी बँच्ने र बाँच्ने उपायहरू अवलम्बन गरेर कोभिडलाई परास्त गर्नुपर्छ । यो समस्या हामीलाई मात्र परेको होइन भने अर्को कुरा आखिर जतिसुकै कठीन भएपनि समय सधैं त रहिरहँदैन नि ! एक न एक दिन त सकिनेछ । त्यसैले हिम्मत बलियो बनाउनुपर्छ । फेरि समस्या सबैलाई पर्छ । आफूलाई मात्र पर्ने होइन ।
यो महामारीको बेलामा व्यक्तिको आर्थिकलगायत धेरै कामहरू बिग्रिएको अथवा भिडभाडमा जाने वर्षौदेखिको बानी परेका कारणले घरभित्रै बसिरहँदा विभिन्न प्रकारका मानसिक समस्या देखिनसक्छ । तर आँत्तिने, हतास हुने, डराउने गर्नु हुँदैन । हामीले यसो गर्दा महामारीलाई जित्न मुस्किल पर्छ ।
यो बेलामा धेरैले सकारात्मक सोच, नकारात्मक नसोच भन्ने खालका कुराहरू भनिरहेको हामी सुन्छौं । हामीले विभिन्न माध्यममा यस्ता सुझाव र आश्वासनहरू देखिरहेका हुन्छौं । तर सकारात्मक सोच्नेचाहिँ कसरी भन्ने कुराको उपाय दिएको चाहिँ कतै देखिँदैन । सकारात्मक सोच्नुपर्छ भनेर मात्र सोचाइ आउने होइन । हरेक समस्यालाई स्वीकार गर्न सक्ने क्षमता बढाउने र त्यो समस्यासँग जुध्ने हिम्मत मनबाटै बनाउने हो । किनभने
यस्तो अवस्थामा साथिहरूसँग प्रत्यक्ष भेटघाट हुने अवस्था नभए पनि हामीले फोनबाट, सामाजिक सञ्जालबाट भर्चुअल रुपमा उनीहरुसँग कुरा गर्ने, समस्या सुन्ने, बुझ्ने, आफ्ना कुराहरू पनि भन्ने गर्दा धेरै समस्याको हल हुन्छ । हामी कतिपय अवस्थामा कुरै नसुन्दिने गरिरहेका हुन्छौँ । सहयोग भन्नासाथ पैसा नै भन्ने हुँदैन । आँट, भरोसाबाट पनि मानिसले ठूलो राहतको महशुस गरिरहेको हुन्छ । यस्तो बेलामा यो झन् अमूल्य सहयोग हो ।
मनका कुरा अरूलाई भन्नमात्र पाउँदा पनि मन हल्का हुन्छ । फेरि यस्ता कुरा मन मिल्ने मान्छेसँग मात्र शेयर गरिने भएकाले यो उपाय अपनाउँदा पनि मानसिक तनावबाट मुक्त हुन धेरै नै टेवा पुग्छ । मनमा पीर लिएर, डर बोकेर, त्रासमा रहेर सकारात्मक सोच्नमात्र सकिँदैन । यसका लागि पहिले मनबाट पीर, भय, त्रासजस्ता मानसिक विकारलाई हटाउनुपर्छ ।
गतवर्ष पनि महामारीको बेला धेरै घरेलु हिंसा भयो । धेरै मानिस मानसिक रोगको शिकार भए, फलस्वरुप गलत निर्णय लिनाले धेरैले आत्महत्या गरेका खवरहरू बाहिर आए । आत्महत्या समाधान होइन, किनकी जीवन रहे हामी हरेक कुरालाई सुधार्न सक्छौँ । जीवनै नरहे के गर्ने ?
मलाई लाग्छ घरेलु हिंसा भएको बेलामा झन् एकअर्काको सहयोगको धेरै महत्व हुनेगर्छ । घरकै मान्छेले भन्न सकेन भने पनि छिमेकीले त्यो हिंसा गर्नेलाई कारबाहीका लागि सम्बन्धित निकायलाई खबर गर्न सक्छ ।
महामारीले हरेक क्षेत्र समस्यामा छ । दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्नुपर्ने दाजुभाइ/दिदिबहिनीहरुको रोजिरोटी खोसिएको छ । खोसेको व्यक्तिले होइन, प्रकृतिले हो । भोलि फेरि हामी सबैजना मिलेर उठ्न सक्छौँ । त्यसैले यो समयमा सकेसम्म आफूलाई बचाउने कोशिस गर्ने हो । एकअर्कालाई सकेको सहयोग गर्ने हो । हाम्रो सानो सहयोगले कसैलाई ठूलो काम गरिरहेको हुनसक्छ । कसैलाई आश्वासनमात्र दिँदा उसको जीवन बच्छ भने त्यस्तो सहयोग गर्न पछि हट्नु हुँदैन । कतिपय मान्छेहरू महामारीअघि सासै नफेरी काममा मात्र दौडधुप गरिरहेका देखिन्थे । तर यो महामारीले जिन्दगी, एक्लोपन र आफूभित्र आफैँलाई खोज्ने अवसर दिएको छ । यो समयमा आफूभित्र आफैलाई खोजी हेरौं ।
जिन्दगी कति सुन्दर छ भन्ने अनुभुति गराउनेछ । यस्तो दिव्य ज्ञान अरू समयमा हामीले चाहेर पनि पाउन कठीन थियो । यो समयले एउटा मानिस अर्को मान्छेसँग मात्रै खुसी हुन्छु भन्ने भ्रम तोडिदिएको छ । किनकी आफैसँग खुसी हुन नसक्ने मान्छे अर्को मान्छेसँग खुसी हुनै सक्दैन । आफैँलाई नियालेर, आफैँलाई चिन्ने अवसर पनि हो यो ।
हरेक समस्याको समाधान आफैँले गर्ने हो । अर्को व्यक्तिले त सम्झाउने बुझाउनेमात्र हो ।
अब रोइकराई गरेर तनाव लिएर भयमा भड्किएर कुनै समाधान छैन । उल्टै परिवारलाई तनावमात्र थपिने हो भने किन त्यस्तो आत्मघाती काम गर्ने ? त्यसैले यो सबैलाई परेको समस्या हो । यसको सामना गर्ने हो । सतर्कता अपनाउने हो । आफूभित्र आफैँलाई खोज्ने र आफैँसँग खुशी हुने बेला हो यो । भोलि सामान्य समय आएपछि फेरि उही दौडधुप भागाभाग शुरु भइहाल्छ, त्यसैले यो समयमा डराउने, तनाव लिने नगरी आफैँलाई खोज्ने कोशिस गरौँ । यत्ति बुझौँ कि यो सबैलाई परेको समस्या हो र यो त्रासद समय अवश्य हटेर जानेछ । छिट्टै सकिनेछ ।