बिचौलियाहरु !
राज्यमा भ्रष्टता मौलाएपछि ‘मानवता’भन्दा कैयन् ठूलो विषय हुने रहेछ ‘कमिसनखोर’, अनि यसलाई सघाउने रहेछ प्रशासनिक संयन्त्रले । यसरी पुँजीवादी व्यवस्था र प्रशासनिक संयन्त्रले ‘कमिसनखोर’लाई अपरिहार्यताको परिधिभित्र बाँधेका हुने रहेछन् । यसले गर्दा कमिसनखोरीहरु निस्फिक्री चल्छन् । पुँजीवादी व्यवस्था/समाज कमिसनखोरलाई ‘सेवा’को रुपमा बुझ्दो रहेछ । यसले समस्यामा पार्ने चाहिँ सर्वसाधारणलाई रहेछ । समस्या मात्र होइन ज्यानै गुमाउनुपर्ने अवस्था आउने रहेछ ।
मन्त्री उम्मेदवार बन्न हेलिकोप्टरमा उड्ने हाम्रो देशमा नागरिक अक्सिजन नपाएर मरिरहनुपरेको छ । अस्पतालका पेटीमा बिरामी बस्नुपरिरहेको छ । मन्त्रीहरु हाकाहाकी भन्छन्– ‘कमिसनका कारण खोप ल्याउन सकिएन’ भनेर । त्यो पनि महामारीले गाँजेपछि बल्ल बक फुटाएका उनीहरु यो भन्दैनन् कि,– ‘अनि खोप ल्याउन त्यही बेला प्रयत्न चाहिँ किन नगरेको त ?’
यसरी विकसित संस्कारले बिचौलिया र उनीहरुका ठेकेदारलाई कति फाइदा हुन्छ, जनतालाई त्यतिकै अनुपातमा समस्या पर्छ । सरकार बिचौलियालाई चिनेर पनि नचिनेझैँ गर्छ । कहिलेकाहीँ कमिसनबारे बाझो पर्यो भने मात्रै सरकारले बिचौलियालाई गाली गर्छ । नकचरो भन्छ, भूतप्रेत भन्छ । तर, भित्रभित्रै कुराकानी मिल्यो भने चाहिँ निस्फिक्री छाडिदिन्छन् । नत्र त सरकार आफैंले पनि यी सबै यथार्थलाई गुमनाम गर्न तत्पर रहन्छ ।
जतिबेला पहिलो लहरको कोरोना बढी संक्रामक बन्दै थियो, बिचौलियाहरु पनि उत्तिकै सक्रिय हुँदै थिए । उनीहरुका लागि संकट भन्नु नै धनदौलत जोर्ने ठूलो अवसर मात्र रहेछ । कोरोनाकालको सामना गर्न चीनबाट स्वास्थ्यसामग्री खरिद गर्दा सत्ता नजिकका बिचौलिया मोटाए । तत्कालीन कृषिमन्त्रीले मल आयात गर्ने योजना बनाउँदा पनि बिचौलियाकै कारण किसानले समयमा मल पाउन सकेनन् भनेर उनैले भनेको सुनेको हो । अहिले कोरोनाको दोस्रो लहर फैलिँदो छ । भारतबाट खोप ल्याउने कुरामा बाधा ल्याउने पनि उनै बिचौलियाहरु नै भए । अन्य धेरै घटनाहरु छन्, जसले कतिलाई सत्ताले नै पनि लुकाउन खोज्छ त कति भित्रभित्रै गुमनाम राखिन्छन् । सतहमा बिचौलिया देखिए पनि भित्रभित्रै उनीहरुको मात्र यत्रो ल्याकत कहाँ होस् जसले सिंगो देशलाई आफ्नो मुठ्ठीमा राख्न सकोस् । अबगाल जति उनीहरुका भागमा परेपनि यो प्रवृत्तिलाई पाल्ने र पोस्ने काम त अरुले नै गरेका छन् । कसले गरेका छन् भनेर नाम नै किन लिनुपर्यो र भलिभाँती हामी जानकार नै छौं ।
नेपालमा बिचौलियाले सबै क्षेत्रमा प्रभाव र प्रभुत्व जमाइसकेका छन् । आफ्नै सम्पत्ति किनबेच गर्न पनि बिचौलियाबिना सम्भव हुँदैन । बाँकी क्षेत्रको कुरा त के मात्र पो गर्नु ? समाजले नै पनि बिचौलियालाई सेवकको रुपमा बुझ्न थालेको देखिन्छ । यसरी बिचौलियाहरु मुलुकका हरेक क्षेत्रमा छिरिसके । छिरेनन् मात्रै प्रभुत्व जमाइसके । यसको असर चाहिँ फेरि पनि जनतालाई नै पर्ने हो ।
मार्क्सले भनेका छन्– ‘पुँजीवादीहरु नाफाका लागि आफैंलाई झुन्ड्याउनसमेत पछि पदैनन् ।’ दुखद् त यो छ कि तिनै मार्क्सका खाँटी अनुयायी हुँ भन्ने जिकिर गर्नेहरु नाफाका लागि आफ्नो इमानलाई, आफ्नो विवेकलाई समग्रमा आफैंलाई ‘झुन्ड्याइरहेका’ छन् ।
अहिलेको अवस्थामा शासकहरु बिचौलियाको टाउकोमा दोष खन्याएर आफू पानीमाथिको ओभानो हुने प्रयत्नमा छन् । तर, वास्तवमा बिचौलियाको ‘पृष्ठपोषक’को रुपमा उनीहरु नै छन् । अब त छ्याङ्गै भइसक्यो कि उनीहरुले जति जति बिचौलियालाई दोष लगाउँदै चोरऔंलो बिचौलियातिर देखाउँछन् उनीहरु कै बाँकी चार औँलाले उनीहरुलाई नै औँल्याएर कुरीकुरी भनिरहेको हुन्छ ।