स्वास्थ्य नीतिमा समस्या कि नियतमा खोट ?

काठमाडौं महानगरपालिकाले मंगलबार जिल्लाभित्र भएका डेडिकेटेड कोभिड अस्पतालका प्रमुखसँग गरेको छलफलमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी, काठमाडौंका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले नेपालको ‘हेल्थ सिस्टम नै कोल्याप्स’ भएको तीतो सत्य बोलेपछि उहाँलाई सार्वजनिक रुपमै धन्यवाद नदिइरहन सकिनँ ।

सरकारले कोभिड उपचारका लागि तोकेका अस्पतालले संक्रमितको उपचारको जिम्मा लिन नसकेको, अस्पतालमा बेड संख्या बढाउने कार्य भाषणमा मात्रै सीमित भएको र जिम्मेवार निकायले दायित्व पूरा गर्न नसकेका कारण कोभिड संक्रमितलगायत समग्र स्वास्थ्य उपचारको स्थिति जटिल बनेको विषयलाई तपाईंले साहसका साथ उठाउनु भएको छ । सोमबार संसदको रोस्ट्रममै उभिएर स्वयम् प्रधानमन्त्री केपी ओलीले समेत २८ हजार बेड मौजुदा रहेको बताउनुभएको थियो ।

नेपालको सबैभन्दा पुरानो सरकारको पूर्ण लगानीको अस्पतालको हविगतका बारेमा डा. अधिकारीले भन्नुभएको कुरा निकै पीडादायी, मर्मस्पर्शी छ, ‘वीर अस्पताल पाँच सय शय्याको छ, तर अहिलेसम्म सञ्चालन गर्न नसक्नु भनेको लाजमर्दो अवस्था हो । हामी के हेरेर बसिरहेका छौं ? हाम्रा बिरामी इमर्जेन्सीबाहिर बसिरहेका छन् । पाँच सय शय्याको वीर अस्पताल टुलुटुलु हेरेर बस्नुपर्ने ! यसको जिम्मा कसले लिने ?’

हामीले यो कुरा धेरै पहिलादेखि नै उठाउँदै आएका हौं । हामीले उठाएका यी कुरालाई नकारात्मक रुपमा लिइयो । हो, हामीले राज्यको नीतिको परिधिमा रहेर व्यवसाय गरेका छौं । व्यवसाय गर्नु अपराधकर्म हो र ? पहिलो त हामी यो देशका सचेत र जिम्मेवार नागरिक हौं, त्यसपछि मात्र हामी अरू हौं । यो देश राम्रो बन्दा त्यसको लाभ हामीले पनि पाउँछौं । देश बिग्रँदा हामी पनि बिग्रन्छौँ । यो कहालीलाग्दो अवस्थामा जोखिम मोलेर निजी अस्पतालहरुले गरेको सकारात्मक भूमिकाको यथेष्ट कदर भएको छैन । बरू उल्टो नकारात्मक टिप्पणीहरू भएका छन् ।

उपचारका लागि नीति परिर्वतन गर्नुपर्ने आवश्यकता औंल्याउँदै तपाईंले ७० वर्षभन्दा माथिका संक्रमितलाई भेन्टिलेटरमा नराख्ने भन्ने निर्णय लिनुपर्ने अवस्थाका बारेमा बताउनुभएको छ । यो कति गम्भीर छ ? तपाईं, हामी नै त्यो उमेरमा पुग्न अझै धेरै वर्ष लाग्ने भएकाले हामी संवेदनशील नबनौंला तर हाम्रै आँखा अगाडि तपाईं हाम्रै ७० वर्ष नाघेका आमा, बा छट्पटाइरहेका बेलामा, जसलाई भेन्टिलेटरमा लगे बाँच्छन् कि भनेर आशा गर्दागर्दै उमेरको सीमाका कारण बचाउने अन्तिम प्रयास नगरी आर्यघाटतिर लैजाने ?

सबै अस्पतालमा भेन्टिलेटर, इन्टेन्सिभ केयर युनिट (आईसीयू), हाई डिपेन्डेन्सी युनिट (एचडीयू) बिरामीले भरिएको अवस्था रहेकाले तत्काल अन्य कोभिडका बिरामीको उपचार गर्न सक्ने अवस्था नरहेको यथार्थ बताउनुभएको छ । र, अझ तपाईंले नेतृत्व गर्नुभएको मुटुको उपचार गर्नुपर्ने मुख्य दायित्व रहेको गंगालालमा मुटुको उपचार नै गर्न नसक्ने कहालीलाग्दो कुरा गर्नुभएको छ, ‘हाम्रो अस्पताल कोभिड अस्पताल भइसकेको, २१ वटा नयाँ आईसीयू थप्दा पनि मुटुसम्बन्धी रोग लागेको एक जना बिरामीलाई पनि उपचार गर्न सक्ने अवस्था छैन ।’

श्रद्देय कार्यकारी निर्देशकज्यू, समग्र स्वास्थ्य प्रणाली कोभिडको यो महामारीका कारणले मात्र कोल्याप्स भएको होइन । यसले त यतिबेला हाम्रो यथार्थ अवस्थालाई सर्वसाधारणले समेत बुझ्ने गरी सतहमा ल्याएको मात्र हो । राज्यको नीतिमा टेकेर अन्य क्षेत्रमा जसरी कामहरू भएका छन्, स्वास्थ्य क्षेत्रमा नीति निर्माण गर्ने, कार्यान्वयन गर्ने ठाउँबाट नै सहयोग भएन, किन ? बरु उल्टो छेकवार भयो । स्वास्थ्य क्षेत्रका बिचौलिया, सिन्डिकेटधारीहरुले अनेक बहानामा बखेडा झिक्ने, राज्यले तिनीहरुसँग नै झुकेर ठूलो आर्थिक लगानी गरेका व्यवसायीहरुलाई ‘अपराधी’, ‘माफिया’ को पगरी गुथाएर लखेटिरहने ? स्वस्थ प्रतिस्पर्धाबाट राज्यको नीति, नियमलाई मानेर काठमाडौंसहित देशभरि नै स्वास्थ्य क्षेत्रमा लगानी बढाएको भए के बिग्रिन्थ्यो ? वीर अस्पतालसहित सरकारी अस्पतालको दुरावस्थाका बारेमा मात्र कुरा उठाउनुभएको छैन, तपाईंले सिङ्गो नेपालको ‘हेल्थ सिस्टम नै कोल्याप्स’ भएको स्वीकार्नुभएको छ ।

स्वास्थ्य नीति परिवर्तन गर्नुपर्ने कुरा गर्नुभएको छ । स्वास्थ्य क्षेत्रको अहिलेको कहालीलाग्दो अवस्थाको तपाईंको चित्रणले धेरैलाई गम्भीर नै बनाएको हुनुपर्छ ।

तपाईंजस्तो जिम्मेवार निकायमा रहेको व्यक्तिले उठाएका सकारात्मक विषयले आगामी दिनमा स्वास्थ्य प्रणालीलाई परिवर्तन गर्न सहयोगी भूमिका खेल्ने विश्वास मैले लिएको छु । नीति निर्माण र कार्यान्वयन गर्नेहरुले ‘घरमा आगो लागिसकेपछि इनार खन्ने’ प्रवृत्तिलाई व्यवहारमा सच्याउनैपर्छ ।

लेखक काठमाडौं मेडिकल कलेज, सिनामंगल काठमाडौंका कार्यकारी अध्यक्ष तथा नोबेल मेडिकल कलेज विराटनगरका सञ्चालक हुन् ।

प्रतिक्रिया