धेरैको जीवनमा चन्द्र बनिरहेका चन्द्रबहादुर
भनिन्छ- नमरी स्वर्ग देखिँदैन । त्यस्तै हुन् जीवनमा आईपर्ने दुःख र समस्या पनि, जुन आफूले नभोग्दासम्म थाहै हुँदैन । जसले दुःख पाएको हुन्छ उसले मात्रै अरुको दुःख बुझ्न सक्छ ।
काठमाडौंको तारकेश्वर नगरपालिकाको पैयाँटारको सन फ्लवार स्कुलको पूर्वतिर सानो गल्लीभित्र अपाङ्ग सेवा केन्द्र छ । जहाँ पुग्दा २०/२२ जना जति अपाङ्गता भएका व्यक्तिहरु देखिन्छन् । उनीहरू कोही ह्वीलचियरमा, त कोही कुर्सीमा बसेर काममा व्यस्त देखिन्छन् ।
हामी अपाङ्गता भएका व्यक्ति हौं, हामी मरे पनि बाँचे पनि, हामीले खाए पनि नखाए पनि कसैलाई चासो हुँदैन, हामी बाटोमा निस्कियौँ भने पनि हेलाकै रुपमा हेर्छन्, कोही-कोही भने फरक पनि भेटिन्छन् तर आम रुपमा यहि हो ।
केही गरेर कति कमाउलान् ? यो अर्को र गौँण पाटो हो । मुख्य पाटो हो- उनीहरु आफ्ना लागि आफैं केही गर्न प्रयासरत छन् । ठाउँ-ठाउँबाट अपहेलित भएर आएका धेरै जिल्लाका उनीहरूको साझा ध्याउन्न छ- हामी सक्षम छौं । फरक रुपमा सक्षम ।
उनीहरूलाई हेरिरहँदा यस्तो लाग्छ, आफ्नो आफ्नै दुनियाँ छ । शरीरले साथ नदिँदा पनि उनीहरू आफ्ना लागि आफैँ केही गरिरहेका छन् ।
चन्द्रबहादुर खत्री उमेरले धेरै पाका होइनन् । संघमा रहेकाहरु उमेरले पाका भएपनि खत्री उनीहरुका अभिभावक हुन् । उनका कारण अपाङगता भएपछि समाजमा हुने अपहेलना र तिरस्कार चिरेर बस्ने ठाउँ जो मिलेको छ । त्यसैले चन्द्रबहादुर उनीहरूलाई भगवानसरह लाग्छन् ।
संस्थाका व्यक्तिहरू स्वयम्भु, कोटेश्वर-बानेश्वर, सुन्धारा, विशाल बजार अगाडि आफूले बनाएका सामग्री बेच्न बस्छन् । त्यहीँबाट आएको पैसाले संस्थामा रहेकाको लालनपालनदेखि औषधीमुलोसम्मको गर्जो टारेको छ । उनीहरु मागेर होइन गरेर खाने सोच राख्छन् । सञ्चालक चन्द्रबहादुरका अनुसार कहिलेकहीँ आक्कलझुक्कल कसैको जन्मदिनको अवसरमा अनि कसैको आमा बुबाको तिथिलागयतमा कसैले गर्ने सहयोग बाहेक बाँकी उनीहरु आफैँ व्यवस्था गर्छन् ।
केही महिनायता महिनामा एक कट्ठा दाल र तेल आउन थालेको उनले जानकारी दिए । अपाङग सेवा केन्द्रमा सीप सिक्न आउनेहरूलाई निःशुल्क सीप सिकाउने गरिन्छ ताकि उनीहरू सीप सिकेर आत्मनिर्भर बन्न सकुन् । अपाङ्गता भएकै कारण मागेर खान नपरोस् ।
अपाङ्गता भएकै कारण भोग्नुपरेका दुःख अनि छिःछिः र दुरदुर सबैले भोगेको पीडा लगभग समान छ । ‘हामी अपाङ्गता भएका व्यक्ति हौं, हामी मरे पनि बाँचे पनि, हामीले खाए पनि नखाए पनि कसैलाई चासो हुँदैन, हामी बाटोमा निस्कियौँ भने पनि हेलाकै रुपमा हेर्छन्, कोही-कोही भने फरक पनि भेटिन्छन् तर आम रुपमा यहि हो,’ चन्द्रबहादुर भन्छन् ।
‘बाटो काट्न लाग्दा कसैले सहयोग गरिदिए हुन्थ्यो भन्ने लाग्छ । हात उठाउँदा सार्वजनिक गाडीले रोकिदिउन् भन्ने लाग्छ, गाडीमा चढ्न अनि सिटमा बस्न सहयोग गरिदिउन् जस्तो लाग्छ तर धेरैले देखेको नदेख्यै गर्छन् । यस्ता त कति हो कति समस्या भोग्नुपर्छ,’ चन्द्रबहादुर सुनाउँछन् ।
अपांगता भएका व्यक्तिलाई हेला होइन, सहयोग हौसला र ढाडस भए उनीहरुको जीवन नै अर्कै हुने उनको अनुभव छ । चन्द्रबहादुर भन्छन्, ‘खुट्टामात्रै नलागेको हो, दिमाग र हात त चल्छ । त्यति भए जसो तसो जीवन चल्छ, वस् कसैले हेला नगरोस् ।’
उनले औपचारिक शिक्षा धेरै लिएका छैनन् तर पढेर भन्दा धेरै कुरा परेर बुझेका छन् । विद्यालय वा कुनै पाठ्यपुस्तकबाट होइन, आफ्नै जीवनबाट । जीवन उनको सबैभन्दा ठूलो विश्वविद्यालय हो, अनि भोगाइ त्यहाँ पढाइ हुने थरिथरिका सिद्धान्तहरू । ठाउँ ठाउँमा अपहेलित र तिरस्ककृत हुनुको पिडाले सिकाएको कुरा कुनै विश्वविद्यालयमा पढाइ हुने कुनै दर्शन वा सिद्धान्तको व्याख्यामा कहाँ अट्न सकोस्… ।
ठुलो शहर पनि साँघुरो हुँदाको पीडा, बग्रेल्ती मानिसका बिचमा पनि एक्लो हुनुपर्दाको पीडा… पढेर कहाँ बुझियोस्… । घरिघरि त यस्तो लाग्छ यी र यस्तै भोगाइ नै त हुन्, जसले अगाडि बढ्ने प्रेरणा मिल्यो, मिलिरहेको छ ।
०४३ सालमा दोलखाको जिरीमा जन्मिएका हुन् चन्द्रबहादुर । आफूमा अपाङ्गता हुनुको पीडा एकातिर अनि यसकै कारण पाएका दुःख र खाएका हन्डरका कारण आफूजस्तै अपाङ्गता भएकाहरुको अभिभावक बन्ने अवसर मिलेको छ ।
३ वर्ष पुग्दानपुग्दै चन्द्रबहादुर एक्कासी बिरामी परे । केहीपछि खुटटा सुन्नियो । उपचार गर्दा पनि ठिक नभएपछि परिवारका सदस्य आँत्तिन थाले । बिस्तारै कम्मरको जोर्नी खुस्केर त्यहाँ मासु पलायो । उनी वैशाखीको सहारामा मात्र हिँड्डुल गर्न सक्ने भए ।
लामो समयसम्म उपचार गर्दा पनि ठीक नभएपछि परिवारले मन मार्न थाले । घरमा आमा-बा अनि दुई बहिनी थिए । घरको एक्लो छोराको अवस्था त्यस्तो भएपछि परिवारमा चिन्ता बढ्ने नै भयो । तर आइपरेको कुरा स्वीकार्नुको विकल्प थिएन ।
उनलाई आमाले स्याहारसुसार गर्थिन् । तर आमाको त्यो साथ पनि लामो समय पाएनन् उनले । उनी ६ वर्षको पुग्दा नपुग्दै आमाको निधन भयो । आमा नहुनुको पीडा त छँदैछ, अब हिँडडुलमा कसले सहयोग गर्छ भन्ने समस्या थपियो ।
कान्छी बहिनी ६ महिनाकी थिइन् । बहिनीलाई गाईको दूध खुवाएर हुर्काउनुपर्यो । बुवा रोजगारीका लागि कहिले भारत त कहिले काठमाडौं आउँथे । बेला बखत घरमा जान्थे । घरमा दुई बहिनीहरू र चन्द्रबहादुरमात्र । एउटा हातले बैशाखी टेकेर उनी बहिनीहरुको हेरचाहदेखि लिएर घरका सबै काम गर्थे । प्रोत्साहन गर्नभन्दा दुरुत्साहन गर्नेहरू धेरै थिए ।
यो कुराले उनलाई दुःखी बनायो । तर, सधैं दुःखी भएर मात्र कहाँ हुन्थ्यो । उनलाई अब इख पलाउन थाल्यो । केही गरी छाड्छु भन्ने अठोट गरे । यो अठोट पूरा गर्न सीप सिक्ने हिम्मत गरे । जसका लागि गाउँ बसेर हुने थिएन । खुट्टा नचलेपनि चल्ने हात र दिमाग चलाएर केही गरेर देखाउँछु भन्दै उनी शहर पसे । करिब १७ वर्ष पहिले हो उनी दोलखाबाट काठमाडौं आएको ।
ठूलो शहर पनि साँघुरो हुँदाको पीडा, बग्रेल्ती मानिसका बिचमा पनि एक्लो हुनुपर्दाको पीडा… पढेर कहाँ बुझियोस्… । घरिघरि त यस्तो लाग्छ यी र यस्तै भोगाइ नै त हुन्, जसले अगाडि बढ्ने प्रेरणा मिल्यो, मिलिरहेको छ ।
तर, केही गर्छु भन्ने अठोट पूरा गर्न सजिलो कहाँ थियो र ? न पर्याप्त पूँजी, न त सग्लो शरीर, न धेरै पढाइ, न त आँट भरोसा दिने आफन्त नै । उनी नाङ्लोमा सामान र पानी बेच्न थाले । आफूलाई बाँच्न पुग्ने कमाइ हुन थालेपछि उनलाई अब म कसैको बोझ बन्नुपरेन भन्ने खुशी लाग्न थाल्यो ।
साथीहरुको सल्लाहअनुसार उनी सीप सिक्न थाले । यतिञ्जेल उनी आफन्तकोमा बस्दै आएका थिए । त्यसपछि एकजना साथीको सहयोगमा उनी अपाङग सरोकार सेवा केन्द्र नामक संस्थामा बालाजुमा बस्न थाले । चार पाँच वर्ष केन्द्रमा बस्ने क्रममा उनको बिहे भयो ।
संस्थामा बसेर काम गर्दै उनले केही पैसा जोहो गरेका थिए । त्यसपछि आफूजस्तै अपाङ्गता भएकाका लागि आफैँ केही गर्ने सोचे र संस्था खोले । शुरुमा उनीहरु १० जना थिए । तर अनेकौ झमेला भोग्नुपर्यो । संस्थाका लागि भाडा तिरेर ठिक्क पारेको कोठा पनि अपाँगता भएका व्यक्तिहरुका लागि हो भन्ने बुझेपछि घरबेटीले दिएनन् ।
२०७० सालमा तारकेश्वर नगरपालिकाको गोलढुङ्गा १ को खोलाछेउमा संस्था सञ्चालनमा आयो । भाडामा कोठा नपाएपछि खोला छेउमा गाई पालेको छाप्रोमा उनीहरुको दुई वर्ष कष्टकर तरिकाले बित्यो । २०७२ साल वैशाख १२ गते भूकम्पमा दुःखीको जीवनमा अझै दुःख थपिदियो । यसै पनि अपाङ्गता भएकाहरुलाई हिँड्डुललगायत शारीरिक कामका लागि समस्या हुने, त्यसैमाथि भूकम्पले झन् बिचल्ली बनायो ।
साँझ बिहानको गाँस नै रोकिन थालेपछि चन्द्रबहादुर सहयोगका लागि विभिन्न संघ संस्थामा धाए । उनको काँधमा आफ्नोमात्र होइन, आफूजस्तै साथीहरुको पनि जिम्मेवारीको भारी थियो । तर, कसैले सहयोग गर्न नसकिने बताए कसैले आफ्नो संस्था हुँदाहुँदै नाटक गरेको पनि भन्न भ्याए ।
तर, संकट जति नै कष्टकर किन नहोस्, त्यो सकिन्छ भनेजस्तै, भूकम्पपछिको समय भने उनीहरुका लागि उज्यालो लिएर आयो । संस्थाले भवन बनाउन सहयोग पाउने भयो । उनको खुसीले उचाइ चुम्यो ।
लायन्स क्लब र आइसो नेपाल नामक संस्था र अन्य व्यक्तिको सहयोगमा संस्थाको घर बन्ने भयो । अरुको जग्गामा नै भएपनि संस्थाको आफ्नै भवन बन्ने भएपछि उनी फुरुङ्ग भए । भवन बनेपछि उनको मनमा खुशीको घाम लाग्यो र त्यसले मन पारिलो बनायो ।