प्रतिज्ञाबिनाको कस्तो शपथ ?

काठमाडौं । सार्वजनिक पदमा पुग्ने र जिम्मेवारी सम्हाल्ने व्यक्तिले पदवहालीअघि शपथ ग्रहण गर्ने चलन छ । यस्तो चलन कानुनतः नै तय गरिएको हुन्छ । धेरै पश्चिमा देशमा त धर्मग्रन्थमाथि हात राखेर वा धर्मग्रन्थलाई छोएरै शपथ लिने गरिन्छ ।

यसको अर्थ सम्बन्धित व्यक्तिलाई एउटा नैतिक बन्धनमा बाँध्न सकियोस् भन्ने नै हो । अथवा, ऊ कुनै दैवी शक्ति वा आफूभन्दा माथिको केही न केहीसँग डराओस् र गलत काम नगरोस् भनेर बन्धनमा राख्न शपथ लिन लगाइन्छ भन्दा फरक पर्दैन ।

धेरैजसो शपथको व्यहोरामा ‘ईश्वर’को नाम उल्लेख गरिएको हुन्छ । यसलाई सार्वजनिक पदमा गएर इमान्दारिता र निष्ठाका साथ गर्ने प्रतिबद्धता र त्यसप्रतिको जवाफदेहिताको प्रतिबद्धताका रुपमा पनि लिने गरिन्छ ।

अधिवक्ता तथा पूर्वीय दर्शनका अध्येता रवीन्द्र भट्टराई पश्चिमा देशहरुमा शपथमा क्रिश्चियन धर्मको पक्षधरता बढी देखिएपनि चीनमा कन्फ्युसियसले यसलाई नागरिकप्रतिको जवाफदेहिताकै रुपमा अघि सारेको बताउँछन् ।

कुनै पनि पदको बहाली गर्नुअघि म कसै न कसैप्रति जवाफदेही हुन्छु र पदमा रहुन्जेल गर्ने निर्णयहरुप्रति जिम्मेवार रहन्छु भन्ने सार्वजनिक प्रतिवद्धताकै रुपमा शपथलाई बुझ्नुपर्ने उनको भनाइ छ ।

शपथलाई नैतिक बन्धनका रुपमा पनि लिइन्छ । कुनै निर्णय गर्नुअघि नैतिक रुपमा यसो गर्छु र त्यसो गर्दिनँ भनेर कसम खाएको कुरालाई सम्झिन र त्यसले गलत वा कानुनविपरीतको काम गर्न नदेओस् भन्ने नैतिकताको कसिले बाँध्न खोजेको देखिन्छ ।

आस्तिक मानिसहरू पाप, धर्म, ईश्वरलगायतका कुराप्रति विश्वास गर्दछन् । जे जे गरेपनि झुट बोले पनि‚ कसैलाई आरोप लगाए पनि‚ ‘ईश्वर’प्रति त इमान्दार बनौं । त्यसैले त कसैले कुनै काम गरेको हो कि होइन भन्ने विश्वास दिलाउन कसम खाने चलन हुन्छ । समाज विकासकै क्रमलाई हेर्ने हो भने देउताको थानमा लगेर भकाउने, तामा तुलसी गर्ने, वर पिपलका रुख छुवाउनेजस्ता चलनहरू पाइन्छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते प्रतिनिधिसभाको बैठकमा भने पनि ‘… खै अहिले त पाप धर्म भन्ने कुरा पनि हरायो…।’

शुक्रबार तेस्रोपटक प्रधानमन्त्रीका रुपमा शपथ ग्रहण गरेका ओलीको शपथ अहिले चर्चामा छ । चर्चामा भन्दा पनि आलोचनाको तारो बनेको छ ।

No description available.

प्रधानमन्त्री ओलीले शपथ ग्रहणको व्यहोरामा उल्लेख गरिएअनुसार ‘…ईश्वरको नाममा…’ नभनी ‘देश र जनताको नाममा’ शपथ लिए । लगत्तै उनले अर्को वाक्यांश उच्चारण गरेनन् । त्यो हो ‘…प्रतिज्ञा गर्छु ।’ जबकि शपथको मर्म भनेकै यहि प्रतिज्ञा हो । सार्वजनिक रुपमा नै ‘म यो-यो आदर्शमा रहेर काम गर्नेछु’ भनेर आम नागरिकलाई आश्वस्त पार्न गरिने प्रतिबद्धतामा ‘प्रतिज्ञा गर्छु’ भन्ने कुराले नै त्यसको सार बोकेको हुन्छ । अब प्रतिज्ञा नै नगर्ने हो भने शपथ गर्नुको के अर्थ ?

अधिवक्ता भट्टराई प्रतिज्ञा नगर्ने हो भने त्यो शपथ गर्नु र नगर्नुको अर्थै नहुने ठान्छन् । ‘अब यो भनेको धार्मिक कुरामात्र होइन, धार्मिक कार्यहरुको हिसाबले हेर्ने हो भनेपनि संकल्प गर्ने भन्ने हुन्छ, कम्युनिस्टहरुकै कुरा गर्ने हो भनेपनि त कसम खाने त चलनै हुन्छ त !’ उनी भन्छन्‚ ‘त्यसको सार भनेकै प्रतिज्ञा वा कमिटमेन्ट नै हो, त्यहि नभएपछि त्यो कसरी शपथ भयो र ?’

No description available.

शपथ गराइरहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री झुक्किएका हुन् कि भन्ठानेरै हुनुपर्छ फेरि दोहोर्‍याइन् ‘…प्रतिज्ञा गर्दछु कि’ । तर प्रधानमन्त्रीले तात्तातै जवाफ दिए‚ ‘त्यो पर्दैन ।’ राष्ट्रपति खित्का छाडेर हाँसिन् । एकातिर ‘त्यो पर्दैन’ भन्ने प्रधानमन्त्रीको आदेश र अर्कातिर शपथ गराइरहेकी राष्ट्रपतिको हाँसो शपथ ग्रहण कार्यक्रम नै खेलाँची हो कि औपचारिक भनेजस्तो हुन गयो ।

No description available.

यसबारे सामाजिक सञ्जालमा पनि चर्को आलोचना र व्यंग्य भइरहेको छ ।

अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामाले भूलले सपथको एक बाक्याँश वाचन गर्दा दोहोर्याएर शपथ लिएका थिए । यस्तै उपराष्ट्रपति परमानन्द झाले हिन्दी भाषामा लिएको सपथ त सर्वोच्च अदालतले नै सच्याउन आदेश दिएको थियो । त्यसपछि शपथको ढाँचा नै तयार गरि कानूनी रुपमा नै उल्लेख गरिएको हो । प्रधानमन्त्री ओलीले त्यो ढाँचा बिपरित कतै शब्द फेर्दै त कतै बाक्यांश नै त्यो पर्दैन भन्दै हेलचेक्र्याईँ र ख्यालठट्टा गरेको भन्दै कतिपयले पुनः शपथ लिनुपर्ने माग गरेका छन् । विवेकशिल साझा पार्टीका नेता मिलन पाण्डे, नेपाल बार एशोसिएसनका पूर्वमहासचि शुनिल पोखरेललगायतले शपथमा फेरि लिनुपर्ने माग गरेका छन् ।

यो सबै संवेदनामा आएको गिरावट र आत्माधिपत्यताको नमूना भएको भट्टराईको बुझाइ छ । हुन पनि प्रतिज्ञा गर्नै नमानेपछि जे पनि गरे भयो भन्ने र अर्कोतिर आफैँले जुन व्यहोराको शपथ हुवहु गरिएको छैन‚ उसले अरुलाई शपथ गर भन्ने वा गराउने नैतिक र कानुनी हैसियत राख्ला ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *