ओलीलाई अवसर !
काठमाडौं । केपी शर्मा ओलीले तेस्रो पटक प्रधानमन्त्री पदको शपथ लिएका छन् । तर, न त खासै उत्साह न त कुनै हर्षोल्लास नै । एकातिर कोरोना कहरले कक्रक्क पारेको अवस्थामा चलाइएको प्रधानमन्त्री छनोटको बेमौसमी हावा अनि अर्कातिर महामारीलाई नजरअन्दाज गर्ने धृष्टताका कारण पनि हुनुपर्छ त्यस्तो उत्साह नागरिकमा कतै देखिएन ।
हुन त ओली तीन दिनअघि मात्रै प्रधानमन्त्रीबाट कामचलाउ भएका थिए । नयाँ सरकार गठनको एक राउण्ड सुमेरु परिक्रमापछि पुनः ओली नै प्रधानमन्त्रीको कुर्सीमा पुगेका छन् । बिहीबार राति प्रधानमन्त्रीमा नियुक्त ओलीले शुक्रवार शपथ लिए, जुन विवादित र व्यङ्ग्यको विषय बनिरहेको छ ।
चैत २७ गते संसदले प्रधानमन्त्रीका रुपमा विश्वासको मत नदिएका उनै ओली त्यसको तीन दिनपछि प्रधानमन्त्री नियुक्त भएका छन् । त्यो पनि संवैधानिक प्रक्रियाबाटै । पटक पटक सार्वजनिक समारोहमै ‘सक्ने भए मलाई हटाएर देखाए भो’ भन्ने चुनौती दिएका प्रधानमन्त्री ओली फेरि एकपटक शासनको सर्वोच्च आशनमा पुगेका हुन् ।
संसद्मा विश्वासको मत लिन नसकेपछि स्वतः पदमुक्त भएका ओली अन्ततोगत्वाः प्रधानमन्त्रीमा पुनःनियुक्त भए । कारण, विपक्षी गठबन्धनका दलहरुले बहुमत पुर्याउन सकेनन् ।
अघिल्लो पटक प्रधानमन्त्री हुँदा ओलीसँग भएको दुईतिहाइ नजिकको बहुमत, अघिल्लो पटकको ९ महिने शासनकालमा थालेका केही काम र देखाएका सपनालगायत नागरिकको उर्लँदो समर्थनको रापताप थियो । तर यसपटक त्यस्तो खास केही देखिएको छैन । नागरिकहरु आक्रोशित छन्, यस्तो बेलामा पनि सत्ताकै चिन्ता भएकोमा उनीहरु शासकप्रति चर्को असन्तुष्टि जनाइरहेका छन् ।
संसद् विघटनदेखि नेकपा एकतापूर्वको अवस्था हुँदै एमालेकै २८ जना सांसदको समर्थन नपाएकोसम्मका घटनााक्रमबाट गुज्रिएका ओलीले पार्टीभित्रको विवाद तत्कालका लागि थामथुम त पारेका छन् । तर, त्यो कतिको दीगो हुने हो भन्न सकिने अवस्था छैन ।
जे होस्, समग्रमा मुलुकमा ओलीप्रति सकारात्मकभन्दा नकारात्मक टिकाटिप्प्णीहरु बढी भइरहेका छन् । जुन देशको नेतृत्वको लागि त्यति सुखद् पक्कै होइन । यसलाई ‘ओलीको तीन वर्षे प्रधानमन्त्रीत्वकालको एक मानक’ नै मान्नुपर्छ ।
प्रधानमन्त्रीत्वकाल शुरु हुनासाथ ओलीसँग एउटा नारा थियो– ‘समृद्ध नेपाल, सुखी नेपाली’ । तर, त्यो नाराले सार्थकता नपाएको आमअनुभूति छ । झनै यसको पुष्ट्याइँ चाहिँ कोरोना भाइरसले गर्यो । जतिबेला कोरोनाको पहिलो लहर शुरु भएको थियो, मृतक र संक्रमित बढ्ने कुरा त एकतिर थियो । तर, स्वास्थ्य सामग्री खरिदमा ठूलो हिस्सामा मन्त्री तथा सत्तानजिकका बिचौलियाहरुले अनुचित लाभ लिएका कुराहरु छताछुल्ल भयो । जसलाई प्रधानमन्त्री ओलीले नै संरक्षण गरेको भनि ट्रान्सपरेन्सी इन्टरनेसनल, नेपालेसमेत भन्यो । तर, अँह ओली चुइँक्क बोलेनन् । बोले पनि ‘भ्रष्टाचार भएको थाहा पाए कारबाही गर्छु’ मात्रै भनिरहे । न मन्त्रीहरु कारबाहीमा परे, न बिचौलियाहरु ठेगान लागे ।
‘भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ’ भन्ने नारालाई दोहोर्याइरहने प्रधानमन्त्री ओलीले अन्य थुप्रै काममा पनि अबगाल सहनुपर्यो ।
अहिले नयाँ प्रजातिको कोरोना भाइरस ‘पीक’ मा पुगेको अग्रपङ्तिका स्वास्थ्यकर्मी तथा विज्ञहरुको विश्लेषण छ । ठाउँ–ठाउँमा बेड, अक्सिजन तथा भेन्टिलेटरको अभावका कारण मृतकको संख्या बढेको बढ्यै छ । यति भेन्टिलेटरहरु भइहालेको ठाउँमा पनि त्यो सञ्चालन गर्न सक्षम जनशक्ति नहुँदा समस्या परेको रिपोर्टिङ्गहरु भइरहेका छन् । तर, सरकारको बागडोर सम्हालेको पार्टी भने आफ्नै आन्तरिक दलदलमा फसिरहेको छ ।
प्रधानमन्त्री ओलीले दिएका धेरैजसो अभिव्यक्ति विवादमा पर्ने गरेका छन् । केही दिन पहिले मात्रै सीएनएनमा दिएको एक अन्तरवार्ताको वाक्यांशको पनि आलोचना भयो । जहाँ ओलीले नेपालमा कोरोना संक्रमण ‘अन्डर कन्ट्रोल’ रहेको बताएका थिए । कहिले कोरोना गारगेल गरेर हटाउनुपर्छ भनेर त कहिले अम्बाका पात र हाच्छ्युँले उडाइदिनुपर्छ भनेर उनी विवादमा तानिइरहे । प्रधानमन्त्री ओलीले भन्ने गरेका पनि छन्, कोरोना नआएको भए ‘समृद्ध नेपाल, सुखी’ नेपालीको मनोकांक्षा पूरा हुन्थ्यो ।
जे होस् प्रधानमन्त्रीले आफ्नो तीन वर्षे प्रधानमन्त्रीत्व काललाई जस्तो बनाए पनि अझै ‘नेपाली सुप्रीम प्राइममिनिस्टर’ बन्ने मौका चाहिँ छ । देशमा यतत्रत समस्या छ, खासगरी कोभिडको तत्कालीन समस्या । यही समस्यालाई अबका समयदेखि ‘चेन ब्रेक’ गरेर ओलीलाई पुनः एकचोटी राजनेताको परिचय बनाउने मौका छ । यो अर्थमा ओलीको लागि कोरोनाको दोस्रो लहर अवसर बन्न सक्छ ।
उसो त प्रधानमन्त्री ओलीले शुक्रवार प्रधानमन्त्रीको पदमा बहाल हुँदै भनेका छन्– ‘अब सरकारका सम्पूर्ण सामर्थ्य कोरोना महामारी नियन्त्रणमा लगाउँछौँ ।’ अब यो बोलीमा मात्रै नभएर व्यवहारमा पनि देखियो भने ओली साँच्चै असल प्रधानमन्त्री हुन् भनेर जनताले पत्याउनेछन् ।
ओलीलाई अर्को प्रधानमन्त्रीत्वकालका लागि शुभकामना ।