एमाले विवाद

कार्यदल सदस्य तय गर्ने जिम्मा ओली-नेपाललाई

२०७५ जेठ २ लाई आधार मानेर सहमति हुन्छ : भीम रावल

काठमाडौं । नेकपा (एमाले)का शीर्ष नेताहरुले दलभित्र देखिएको विवाद समाधान कार्यदल गठन गर्ने सहमति गरेका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का नेता माधवकुमार नेपाल पक्षबीच भएका छलफलमा दलमा देखिएको विवाद समाधान गर्नका लागि कार्यदल गठन गर्ने सहमति भएको हो ।

बैठकपछि पत्रकारसंँग कुरा गर्दै एमालेका नेता भीमबहादुर रावलले एकता कायम राखी दललाई अगाडि बढाउन गम्भीर छलफल भएको बताए । ‘२०७५ जेठ ३ गतेभन्दा अगाडिको एमालेको स्थितिलाई आधार मानेर अगाडि बढ्ने कुरा भयो,’ नेता रावलले भने, ‘त्यसका लागि कार्यदल बनाइने छ, कार्यदलका सदस्यको नाम अध्यक्ष ओली र नेता नेपालले तय गर्नुहुने छ ।’

उनका अनुसार छलफल फेरि अगाडि बढाइने छ । शुक्रबारको छलफलमा पार्टी अध्यक्ष ओली, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, नेता रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघुजीपन्तलगायतको सहभागिता थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *