आफ्नैसँग विवाद, आफ्नैसँग वार्ता !

काठमाडौं । भनाइ छ– राजनीतिमा असम्भव केही छैन । राजनीतिमा जो जसको जतिबेला पनि ‘मित्रु’ वा ‘शत्रु’ हुन सक्छ । तर, यसो भन्दैमा राजनीति आफ्नो राजनीतिक दायराभित्र त रहनुपर्दो हो ।

नेपालको राजनीति आन्तरिक खिचातानीको उत्कृष्ट नमूना हो । पछिल्लो समय एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेदेखिको किचलो हेर्ने हो भने पनि यो कुरा पुष्टि हुन्छ । यो दलले बनाएको करिब दुईतिहाइ बहुमतको सरकार बनेको केही समयदेखि शुरु भएको किचलोले अन्ततः दल एकता खारेज हुने मात्र होइन एमाले नै झन्डै—झन्डै फुटको अवस्थामा पुर्यायो ।

कुनैबेला नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दिनमै दुई/तीन पटकसम्म बालुवाटार पुग्थे, अर्का अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्ने प्रयोजनसहित । जबकि, उनीहरु दुवै एउटै दलका अध्यक्षहरु थिए । कहिले कार्यदल बनाइन्थ्यो त कहिले दोश्रो पुस्ताका नेताहरु सक्रिय हुन्थे । उनीहरु भेट्नुको कुनै ठूलो उद्देश्य हुन्थेन । भेटको एउटै प्रयोजन किटान हुन्थ्यो— ‘पार्टी एकतालाई कायम राख्नू ।’ यसरी नै ओली–दाहालले महिनौँ बिताए । सञ्चारमाध्यमलाई खुराक बनाए । तर, अहँ उनीहरु मिल्न चाहिँ सकेनन् । बरु सार्वजनिक समारोहमा पाखुरा सुर्कासुर्कीमै झरे । राजनीतिक मात्र होइन व्यक्तिगत तहकै गालीगलौच र आरोप—प्रत्यारोपमा उत्रिए ।

अन्ततः नेकपा साबिककै दुई दल एमाले र माओवादी केन्द्रकै रुपमा छुट्टियो ।

नागरिकले विश्वास गरेर दिएको दुईतिहाइ नजिकको जनमतलाई सम्मान गर्दै कसरी आम नागरिकको पक्षमा निर्णय गर्ने ? भुईँमान्छेहरुलई कसरी देशमा ‘कम्युनिष्ट सरकार’ रहेको आभाष गराउने ? वर्षौं दलहरुको आन्तरिक द्वन्द्व र गृहयुद्धमा अल्मलिएको देशलाई कसरी विकासको नयाँ बाटोमा हिँडाउने र नयाँ गन्तव्यमा पुर्याउने आशा जगाउने भन्नेबारे उनीहरुले विरलै छलफल गरे होलान् । दल मिलाउने छलफल अनि भागबण्डा मिलाउने बैठक गर्दा गर्दैै उनीहरुलाई फुर्सदै मिलेन सायद ।

राजनीतिमा मतान्तर हुनु, सैद्धान्तिक र राजनीतिक रुपमा फरक धारणा बन्नु/बनाउनु र बहस/विमर्शपछि अघि बढ्नु सामान्य कुरा नै हो । तर, खाली एउटै एजेण्डामा आफ्नैसँग कलह गर्नु र त्यसलाई मिलाउने नाममा भेटिरहनु र यो क्रमले लामो समय लिनु कुनै पनि हिसाबले राम्रो थिएन/होइन । त्यो पनि कुनै पनि राष्ट्रहितमा भए त एउटा कुरा हुन्थ्यो । खाली आफैंसँग चिढिएको कुनै आफ्नै दलको व्यक्तिसँग ।

आज पनि त्यो शृङ्खला चलिरहेकै छ । एउटै दलभित्र फरक धारणा र अडान राख्ने अनि वार्ताका लागि भन्दै महिनौं, वर्षौं बिताउने क्रम नेपालको विशेषताझैँ भइसक्यो ।

आजैको कुरा गर्ने हो भन्ने पनि एमालेका दुई नेताहरु वार्तामै व्यस्त छन् । उनीहरुको एजेण्डा उही ‘मिलौँ’, ‘मिलेर जाऔं’ भन्ने नै हो । कुनै राष्ट्रिय सन्दर्भ होइन । कोरोनाको दोश्रो लहरले कक्रक्क पारेका नागरिकलाई अलि सुविस्ताको कुनै खबर सुनाउन होइन । पार्टी एउटै, सिद्धान्त एउटै, विधान एउटै, घोषणापत्र एउटै बर्षौँदेखिको सहयात्रा पनि एउटै तर बाझ्ने बाझिरहने के ले बनायो ? यसमा राजनीतिक प्रवृत्ति नभएर व्यक्तिगत प्रवृत्ति हाबी भएर हो भन्न हिच्किचाउनु पर्ने कुनै कारण छैन ।

हिजो लामो–लामो घोषणापत्र बनाएर जनतालाई लोभ्याएर उनीहरुकै मतको खुड्किलो टेक्दै सत्ता र शक्तिको मैदान छिरेका नेताहरु आज कुर्सीको रवाफिलो खेलमा व्यस्त छन् ।

हिजो लामो–लामो घोषणापत्र बनाएर जनतालाई लोभ्याएर उनीहरुकै मतको खुड्किलो टेक्दै सत्ता र शक्तिको मैदान छिरेका नेताहरु आज कुर्सीको रवाफिलो खेलमा व्यस्त छन् । उनीहरुलाई त खास चिन्ता छ कि छैन तर, आमनागरिकलाई भने यसले वाक्कदिक्क बनाएको छ ।  यता जनता समाजवादी पार्टीको हालत पनि उस्तै छ । दुई दल मिलेर एक बनेको बताएपनि एकले अर्कोभन्दा विपरीत निर्णय गर्दै जग हँसाइरहेका दुई अध्यक्ष आइतबार आपसी वार्तामा बसे । आपसमा वार्ता गर्न तम्सिएका दुई अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव पनि मिल्ने र सहमति गर्ने छाटकाँटमा देखिँदैनन् । यसो भनेर र गरेर उनीहरुले अझै कति दिन बिताउँछन् हेरौँ ।

कांग्रेसभित्रको किचलोको कुरा गरिराख्नै पर्दैन । सत्तामा जाने मेसो मिलिनसकेकाले अहिले चुपचाप रहेका कांग्रेसभित्रका गुट उपगुटहरु अब महाधिवेशनका बेला जर्याकजुरुक हुने निश्चित छ ।

यी यावत् सन्दर्भलाई हेर्दैगर्दा नेपाली राजनीतिज्ञहरु राजनीतिक प्रवृत्तिबाट होइन, व्यक्तिगत प्रवृत्तिबाट निर्देशित छन् भन्ने देखिन्छ । अझ सोझो लयमा भन्ने हो भने, सबै नेता आफ्नै लागि नेता हुन् । जनताका लागि त उनीहरु दुःखको साथी बन्न सकेका छैनन् ।

यसरी खाली व्यक्तिगत स्वार्थपूर्तिका लागि मात्रै लाग्ने राजनीतिज्ञहरुसँग नेपाली जनताको दुःखमनाउ छ । के यसरी आफ्नै दलका नेताहरुसँग पटक–पटक वार्ता गर्न नपरेको भए त्यो वार्तामा खर्च हुने समयमा नयाँ र रचनात्मक काम गर्न सकिँदैनथ्यो र ? खाली एकले अर्कोलाई ‘कसरी तनाव दिने र काम गर्न नदिने’ वा ‘कसरी थाङ्नामा सुताउने’ भन्ने कुरामा खर्च हुने दिमाग ‘कसरी देश विकाशको खाका बनाउनमा लगाउने’ भन्नेमा खर्च गर्न पाए त्यसको परिणाम पक्कै राम्रो आउँदो हो । यदि आफ्नै सहयोद्धाप्रति तिक्तता साँध्न नपरेको भए यस्ता राम्रा काम गर्न पक्कै सकिँदो हो ।

अक्सर, नेपाली नेताहरुले समयको सदुपयोग ‘टाइम् यूटिलाइज् होइन, टाइम् पास्’ गरिरहेका छन् । नेताहरुको पारा हेर्दा सोध्न मन लाग्छ– नेताहरु ‘टाइम् पास्’ गर्न छोडेर ‘टाइम् यूटिलाइज्’ गर्न कहिले थाल्लान् ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *