‘म खैरेनीमा उत्रेँ र बाँचेँ, मदन-आश्रित…’
हामी त्यहाँ पोखरा कास्कीको जिल्ला अधिवेशनको लागि जम्मा भएका थियौँ । मदनजी महासचिव, जीवराजजी संगठन विभाग प्रमुख हुनुहुन्थ्यो । अनि म चाहिँ त्यतिबेलाको गण्डकी अञ्चल समन्वय समितिमा रहेको र गोरखाको प्रमुख भएको नाताले कार्यक्रमस्थल पुगेको थिएँ । त्यसैले हामी सबै जम्मा भएका थियौँ । अब खासगरी कास्कीको अधिवेशन राम्रैगरी चाहिँ सफल बनाऔँ भनेर पनि हामी जम्मा भएको थियौँ ।
त्यतिबेला तनहुँको दमौलीमा पनि पार्टीकै कार्यक्रम थियो । जेठ २९ गते हुने भनेर भनिएको त्यो कार्यक्रममा सहभागी हुनेगरी नै त्यतिबेला काठमाडौंबाट हिँड्नुभएको थियो मदनजी र जीवराजजी । त्यहाँको उद्घाटन सकिएपछि भोलिपल्ट बन्द सत्र शुरु हुने थियो । म पनि एकछिन पुगेर फेरि फर्कन्छु भनेर त्यहाँ पुगेँ र काठमाडौं फर्किनुपर्ने थियो मलाई । त्यहाँ एकदिन बसियो । अनि मलाई चाहिँ बिहान हिँड्नु थियो । म हिँड्ने खाजेँ । मदनजीले ‘होइन, सँगै निस्कौँ, हामी पनि चितवनतिर लाग्ने हो’ भनेर भन्नुभयो । अनि मैले पनि हुन्छ नि त भनेर भनेँ । र, बिहान बसियो । र दिउँसो हिँड्ने कुरा भयो । फेरि जीवराजजीले पनि थप्नुभयो— ‘हामीलाई पनि सजिलो, तपाईंलाई पनि सजिला ऋषिजी सँगै जाऔं भन्नुभयो ।’
त्यहाँबाट हिँड्दासम्ममा केही असामान्य थिएन । ड्राइभरको अँध्यारो मुख र त्यो अपरिचित व्यक्तिको जिज्ञासाबाहेक खासै केही पनि अप्ठ्यारो महसुस भएको थिएन ।
पछि पनि हिँड्ने भनेको समयमा गाडी आउन सकेन । किन भन्दाखेरि त्यहाँबाट निस्कने बेलामा त्यहाँका एकजना गुरुङ क्याप्टेनले एमाले बन्ने इच्छा व्यक्त गरेका रहेछन् । उनलाई मदनजीले नै भेट्नुपर्ने भयो । मदनजी र जीवराजजी त्यता लाग्नुभयो । म चाहिँ गइनँ, बाहिर बसिरहेँ । फेरि त्यहाँबाट हिँड्दाखेरि पनि ड्राइभरले नै ढिलो गरे । पछि सोध्दा पो पेट दुखिरहेको छ । शौच गर्न गएको भनेर भन्थे । त्यहीँ नै दिउँसो भइसकेको थियो । पेट दुख्यो भन्दै ड्राइभरले मुख निन्याउरो लगाउँदै थियो । एकदमै सिरियस मूडमा देखिन्थ्यो । जतिबेला मदनजी र जीवराजजी गुरुङकोमा जानुभएको थियो । त्यतिबेला बाहिर बसेको मलाई एक जना अपरिचित व्यक्तिले तीन/चार पटक भेट्यो र सोध्यो— ‘मदनजीहरुको जानेबेला कतिबेला हो ?’ यसैगरी उसले करिब चार पटकजति होला आउँछ सोध्छ, आउँछ सोध्छ ।
अनि चाहिँ मैले पनि सोधेँ— ‘किन खासमा ? आउनुस् न चिनजान गरौँ’ भनेर भन्दा तीन मान्छे यत्तिकै हिँडे । थप बोल्नै मानेन् । मनमनै को होला भनेर सोचेँ । अब त्यतिबेला त्यो मान्छे को थियो, थाहा भएन । सोचेँ— सायद सरकारी सीआइडी होला ।
पछि गाडी हिँड्न लाग्यो । सबैजना हामीलाई बिदाई गर्नलाई ठिक्क परेका छन् । तर, ड्राइभर ढिलोगरी आयो । हमी हिँड्यौँ । त्यहाँबाट हिँड्दासम्ममा केही असामान्य थिएन । ड्राइभरको अँध्यारो मुख र त्यो अपरिचित व्यक्तिको जिज्ञासाबाहेक खासै केही पनि अप्ठ्यारो महसुस भएको थिएन । स्थिति सामान्य नै थियो ।
अलिक वर आइसकेपछि ड्राइभरले खै कहाँबाट टेप बजायो । टेपमा चाहिँ एउटा क्रान्तिकारी गीत बज्यो । ड्राइभरले मदनजीलाई सिटबेल्ट बाँध्नु भन्यो । मदनजीले बाटो ठिकै छ किन बाँध्नु भन्दापनि ड्राइभर आफैंले बेल्ट थुतेर बाँधिदियो । जतिबेला मदन अगाडि थिए । जीवराजजी र म पछाडि थियौँ । अनि फेरि ड्राइभरले गाडीमा झण्डा लगायो, विजयपुर कटेपछि । झण्डा पनि ठूलै थियो । किन लगाएको हावाले चलाउँछ भन्दा पनि बाँधौँ न भनेर भने । तर, त्यतिबेला पनि साह्रै सिरियस देखिन्थ्यो त्यो मान्छे । चुपचाप ड्राइभ मात्रै गरिरहेको थियो । अनि टेपमा बजेको त्यो क्रान्तिकारी गीतबाट हाम्रो छलफल शुरु भयो । जीवराजजीले मलाई जिस्क्याए । जीवराजजीलाई पनि के थाहा थियो भने मलाई मदनजीनको जबज खासै मन परेको थिएन । तर, जीवराजी आफैंलाई पनि त्यति धेरै नै मन परेको पनि थिएन । तर, अब सँगैं बस्ने र सँगै हिँड्ने भएकाले पनि मदनजी र जीवराजजीबीच चाहिँ एकखाले भावना थियो ।
टेपको गीत सुनेर जीवराजजीले भन्नुभयो— ‘देख्नुभयो त ऋषिजी, टेपले क्रान्तिको ट्रडिसनल गीत बजायो’ । त्यतिबेला हामी जो—जो चाहिँ जनवादी क्रान्तिको पक्षधर थियौँ । जबजका पक्षधरहरुले हामीलाई ट्रडिसनल भन्थे । उनीहरु आफूलाई चाहिँ रचनात्मक भन्थे । त्यहीबाट सामान्य विवादजस्तो छलफल शुरु भयो । अनि हामी त्यहाँबाट पनि सौहार्दपूर्ण वातावरणमै छलफल गर्दै आयौँ । यतिकै दमौली आइपुगेछौँ । त्यहाँ पुगेपछि चाहिँ यो विषय अहिल्यै टुङ्गोमा पुग्ने विषय होइन भन्ठानेर म आफैंले नै बिट मार्दै भने— ‘ल मदनजी यो भनेको पुँजीवाद नै हो तपाईं जेसुकै भन्नुस् ।’ अनि मदनजीले पनि ‘होइन ऋषिजी, ड्राइभर हामी नै हौँ । अहिलेलाई यही सिद्धान्तअनुसार जाऔँ । पछि साह्रै भएन भने फर्कौँला नि ! ’ भन्नुभयो । त्यतिबेला जबज त पार्टीले निर्णय गरेको कुरा थियो । पार्टीमा रहने सबैले नै मान्नुपर्ने नै थियो । त्योभन्दा पहिले मदनजीले भन्नुभयो कि— ‘कति यो जनतालाई नानाथरी भनेर अल्मल्याउनु, यो जबजमार्फत अगाडि सारौँ अनि पनि भएन भने देखाजायगा ।’ अनि त्यो कुरा स्थगित गर्यौँ र गोरखा पार्टी संगठनकै बारेमा कुराकानी गर्दै आयौँ, किनकी केही समस्याहरु पनि थिए ।
एक जना किसानले पो ‘भाइ तिमीले थाहा पायौ मदन भण्डारी चढेको गाडी त्रिशूलीमा खस्यो’ भनेर भन्नुभयो । मलाई पत्यार लागिरहेको थिएन । तत्पश्चात् गोरखा पुलिसले पनि हो भन्यो ।
यतिकैमा खैरेनी आइपुगिहालियो । मेरो चाहिँ बिहान त्यतै काम भएकाले त्यही झर्ने भनेँ । उहाँहरुले चितवन नै जाऔँ अनि तपाईं फेरि बिहान आउनुस् भनेर भन्दै हुनुहुन्थ्यो । मैले बिहान भ्याउँदिनँ भनेर झरेँ । उहाँहरु त्यहाँबाट जानुभयो । जब उहाँहरु त्यहाँबाट हिँड्नुभयो । तब बेस्सरी हुरी-बताससँगै पानी पनि दर्किएको थियो । बेलुकी केही अत्तोपत्तो पनि भएन । म त सुतेँ । अनि बिहानै उठेर हिँड्दा पो एकजना किसान हुनुहुँदो रहेछ । मलाई खबर सुनाउनुभयो । गाउँतिरको किसान बिहानै उठ्छन्, म पनि चारै बजे उठेर हिँडेको थिएँ । उहाँले पो ‘भाइ तिमीले थाहा पायौ मदन भण्डारी चढेको गाडी त्रिशूलीमा खस्यो’ भनेर भन्नुभयो । मलाई पत्यार लागिरहेको थिएन । तत्पश्चात् गोरखा पुलिसकहाँ सोधेँ । पुलिसले पनि हो भन्यो । अनि चाहिँ म गएँ । खैरेनीबाट घटनास्थलतर्फ । कुनै यातायातको साधन पाउने पाउने स्थिति थिएन, ट्रकलाई नै रोकेर गएँ । म पुग्दाखेरि त नदीबाट क्रेनले जीप झिक्दै रहेछ । यसो हेरेको जीवराजीको शवमात्रै देखेँ । मदन छैनन् । जीवराजजीको शव पनि मैले छोड्दाजसरी थिए, त्यसैगरी नै छन् । अलिकति तेर्सो परेका छन् । यसो हेर्दा पनि केही चोटहरु पनि छैनन् । मदन चाहिँ गाडीमै छैनन् ।
यसो पछि सुनियो, मुग्लिनमा चिया खान कुनै होटल छिरेका थिए रे मदनजी र जीवराजजी । बाटो पनि सुनसान थियो भनेर भने पछि गाउँलेहरुले । थियो पनि होला किनकी, हुरीबतास जोडले चलेको थियो । अनि घटनास्थल पुगियो र मज्जैले हेरियो । गाडी पनि एकपट्टि अलिकति कुच्चिएकोबाहेक केही भएको पनि छैन । अगाडिको अलिकति सिसा फुटेको छ । अरु ठिकै छ । मदनतिरको ढोका चाहिँ लक छ, तर मदन छैनन् । अनि खोजी कार्य शुरु भयो । पार्टीका सबै नेताहरु आए । कोही अगाडि नै पुगिसकेका रहेछन् । कोही पछि आए ।
अनि मदनजीको बडी जसरी भएपनि खोज्नुपर्ने थियो । हामी त्यतिबेला सीपीजीको नेतृत्वका हामी त्यहीँ दुई/तीन दिन बस्यौँ । मदनजी खोज्यौँ । तर, भेटाएनौँ । अनि तीन दिनपछि पो हामी बसेको ठाउँभन्दा करिब ३२ किलोमिटर तल खोलाको किनारमा एउटा शव भेटिएको समाचार आयो यसो गएर हेरेको शव त मदनजीकै रहेछ । त्यहाँ स्थानीयहरुले निकालेर डुङ्गामा राखेका रहेछन् । गइयो हेरेको केही चोटपटक नै केही छैन । जम्माजम्मी आँखामाथि अलिकति निलो डाम थियो । पेट अलिक ठूलो थियो मदनजीको अनि पेटी बेस्सरी कस्सेर लगाउँथे । त्यति धेरै कसेको पाइन्ट छैन । हातको घडी ठिकै छ । एलास्टिकवाला अन्डरवेयर चाहिँ केही भएकै छैन । त्योबाहेक अन्य घाउसाउ केही पनि छैन । अब ३२ किलोमिटर माथिबाट खोलाले बगाएर झारेको मान्छे त्यस्तै रहन्छ त ? मनमा प्रश्न उब्जियो । अनि शंका लागिहाल्यो । यो दुर्घटना हुँदै होइन भनेर । सायद बाटैमा कहीँ अपहरण परे होला अनि मारेर दुर्घटनाजस्तो देखाए कसैले भनेर ।
त्यसपछि त शव व्यवस्थापनको कुरादेखि लिएर सबै कुरा पार्टीले गर्यो । यसरी एउटै गाडी चढेका हामीहरुमा म चाहिँ भाग्यवस् बाँचेँ । उहाँहरु बितेर जानुभयो ।
यो एउटा रहस्यमय घटना हो । आज उही पार्टी नेतृत्वमा हुँदा पनि यसको पार नलाग्नु, दोषी पत्ता नलाग्नु भनेको पनि अर्को रहस्यमय कुरा हो । पार्टीगत रुपमा जे—जस्तो विचारधारा अनि सिद्धान्त बनाइएपनि मदनजी साह्रै सहज हुनुहुन्थ्यो ।
(मकालु खबरकर्मी धनबल राईसँगको कुराकानीमा आधारित)