ओलीको भाषण न रासन, न कासन
दुई दाजुभाइ नदी किनारामा घुम्न गएछन् । घुम्दै जाँदा झुक्किएर भाइले दाइको खुट्टा कुल्चिएछ । दुखेर छट्पटाएको दाइले भाइलाई एक झापू मारेछ । दाजुको मुक्काको कुनै प्रतिवाद नगरी भाइले बालुवामा लेख्यो, ‘…खुट्टामा कुल्चिएकाले मलाई दाइले आज एक थप्पड हिर्काउनुभयो ।’
भोलिपल्ट ती दाजुभाइ नदीमा नुहाउन गएछन् । नुहाउने क्रममा भाइलाई नदीको भेलले बगायो । त्यतिबेलै पानीमा हाम्फालेर दाइले भाइको उद्धार गर्यो । सामान्य अवस्थामा पुगेपछि भाइले नजिकैको ढुंगामा लेख्यो, ‘…नुहाउने क्रममा नदीले बगाउँदा दाइले मलाई बचाउनुभयो ।’
भाइको व्यवहारले चकित बनेको दाइले सोध्यो, ‘होइन, हिजो मैले थप्पड हान्दा तिमीले बालुवामा लेख्यौ । तर आज मैले बचाउँदा किन ढुंगामा लेखेको ?’ दाजुको प्रश्नमा भाइको उत्तर थियो, ‘आमाले सिकाउनु भएको थियो, जिन्दगीमा नराम्रा कुरा सधैं बालुवामा लेख्नुपर्छ, जसबाट ती कुरा छिटो मेटिएर जाओस् । अनि राम्रा कुरा ढुंगामा लिपिवद्ध गर्नुपर्छ ताकि ती कुरा सधैँ अजर अमर रहिरहून् ।’ भाइको कुरा सुनेर दाजुले भाइलाई हेरिरह्यो । दाजुले मनमनै सोचिरहेको थियो, ‘साँच्चै कति छिटो ठूलो भएछ मेरो फुच्चे भाइ ।’
देशमा यत्रो महामारी छ । प्रधानमन्त्री आफ्नो लहडलाई देशको कानुन भन्ठान्छन् । सास अड्किएर मरौं कि बाँचौं भएका जनतालाई अम्बाको पात, बेसार, गुर्जो खान हौस्याउँछन् प्रधानमन्त्री । जब घरलौरी मान्छेको लास तेर्सिएर मलामी नपाउने अवस्था आउँछ, त्यसबेला प्रधानमन्त्री आफ्नो अन्दाज गलत भएको बताउँछन् ।
केपी ओली र प्रचण्डबीच गल्ती सच्याउने यस्तै प्रयास संस्कृति बनिदिएको भए यतिबेला समृद्धिको गाडी धेरै अघि बढिसक्थ्यो । देश उकालो लाग्न तथ्यांक, मिथ्यांक नभएर जनताको आत्मविश्वास पहिलो र अन्तिम उपलब्धि हो । राष्ट्रियता जमिन, जंगल, जलमा नभएर मनमा फुल्छ । ‘…म’बाट ‘…हामी’ भावको प्रवेश नै राष्ट्रियताको मूल बिन्दु हो । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीका भाषण कागजी फूल हुन् ।
न त्यसमा कुनै पराग हुन्छ, न जनताको आकर्षण नै । दुई तिहाईको सरकार भनेर फूर्ति लगाउँदा लगाउँदै आखिर अल्पमतमा पुगेर खेल खत्तम भयो । देशमा यत्रो महामारी छ । प्रधानमन्त्री आफ्नो लहडलाई देशको कानुन भन्ठान्छन् । सास अड्किएर मरौं कि बाँचौं भएका जनतालाई अम्बाको पात, बेसार, गुर्जो खान हौस्याउँछन् प्रधानमन्त्री । जब घरलौरी मान्छेको लास तेर्सिएर मलामी नपाउने अवस्था आउँछ, त्यसबेला प्रधानमन्त्री आफ्नो अन्दाज गलत भएको बताउँछन् ।
अर्थमन्त्री आफ्नो बहालीको पहिलो निर्णय बागमतीमा लास पोल्नेलाई प्रोत्साहन भत्ता उपलब्ध गराएर गर्छन् । वनमन्त्री लास पोल्ने दाउरा अभाव हुन नदिन निर्देश जारी गर्छन् । उपप्रधानमन्त्रीको सचिवालय व्यापारीले ल्याएको अक्सिजन सिलिन्डरलाई सरकारले ल्याएको भनेर प्रचार गर्छ । सहयोगमा आएको सिलिन्डर राजनीतिक पहुँचका आधारमा भित्रभित्रै पँजनी हुन्छ । जनता एकमुठी सास मागेर तड्पिरहँदा राजनीति मनोरञ्जनको साधन बन्छ । शासकहरू रोम जल्दा बाँसुरी बजाउने निरोको अवतार भएर प्रकट हुन्छन् ।
जब एक व्यक्ति भ्रमले ग्रस्त हुन्छ, उसलाई पागल भनिन्छ । जब धेरै मानिस भ्रमले ग्रस्त हुन्छन्, त्यसलाई धर्म भनिन्छ । अहिले जताततै झूटलाई धर्म मान्ने संस्कृति हावी भएको छ । निःसन्देह राजनीतिक स्वतन्त्रताले संसारमा भोकाहरुको पेट भरिएको उदाहरण छैन ।
सरकारका समर्थक अन्धभक्त दासहरु जताततै समृद्धि देख्छन् । हुँदा हुँदा उल्कापात यति बढ्यो कि केपी ओलीलाई विश्वकै डाइनामिक लिडरको उपमा दिएर फेसबुक रंगाएको देख्न थालियो । यो उडाएको कि प्रशंसा गरेको बुझ्न कठिन बन्दै गएको छ । समृद्धिको उज्यालो प्रधानमन्त्री नामको रोबर्ट बाहेक कसैले त्यो रंग देख्दैन । तीन वर्षअघि उडेको समृद्धि नामक जहाजका एकल क्याप्टेन यति कमजोर छन् कि सामाजिक सञ्जालमा एउटा सानो प्रतिक्रियाको कुहिरो देख्नेबित्तिक्कै आत्तिएर जहाज मोडिहाल्छन् । सहचालकबाट हुत्याइएका प्रचण्डसँग त अहिले टेम्पो चालक हुने जमिनसम्म बाँकी छैन ।
हाम्रो राजनीतिक संस्कृति अध्ययन र प्राज्ञिक धरातलबाट निर्देशित छैन । बरु राणाले घोडा चढ्न नदिएको आक्रोशमा कांग्रेस बनेकाहरू क्रान्तिका भीष्म पितामह बनेका छन् । पढाइमा भुस भएकाहरू बुर्जुवा शिक्षाको विरोध गर्दै राजनीतिमा होमिएका कथित क्रान्तिकारी कम्युनिष्ट बनेका छन् । काम गरेर खान जाँगर नलागेपछि बन्दुक देखाएर सित्तैमा खान पल्केकाहरू गणतन्त्रका महानायकमा रातारात दरिए । देश केक बनाउन पाए छोटे महाराज बन्ने सपना देख्नेहरू मधेशवादी, जातिवादी र धर्मभीरू बनेर देखापरेका छन् । राजनीतिको यही विरुप बाछिटाका कारण गरी खाने मानिसका लागि यो देश सिउँडी बन्दै गएको छ ।
सरकारले गरेको निर्णय दलालले एक सेकेण्डमा एक सय असी डिग्री परिवर्तन गरिदिन्छन् । किनेकोका अगाडि चिनेको धर्मराउँदै गएको छ । एमाले, माओवादी जमिनबाट माथि उठेका नेताहरूका लागि कार्यकर्ता बिझाउन थालेका छन् । बहुदल आएपछि तीन दशकयता एउटै पात्र र प्रवृत्तिले क्रान्तिकारीका धार भुत्ते बनाइदिएका छन् । ज्ञानेन्द्र, गिरिजाका भाइरसहरू गणतन्त्रमा झन् मौलाएका छन् । गणतन्त्र त कलमी बिरुवाबाट उत्पादित बालीजस्तै भएको छ । नेपालमा देखिएका बहुरुपी चरित्र र अराजनीतिक परिवर्तन हिन्दी फिल्मीको तीन घन्टे अविश्वसनीय परिवर्तनभन्दा पनि आक्रामक देखिने गरेको छ ।
सरकारका मन्त्रीहरुलाई लाग्दो हो– सृष्टिको शुरुवात उनीहरूले शपथ लिएपछि बल्ल शुरु भएको हो । उनीहरुले बोलेको शब्द ब्रह्मवाक्य हो । जहाँ पुगेपछि कालिदासहरू रातारात चाणक्य हुन्छन् । साइलकहरू सरस्वतीका वरद्पुत्र ठहरिन्छन् । पानीमरूवाहरू वीर हनुमान कहलाइन्छन् । गाउँका कुखुरा चोरहरू मन्त्री हुनासाथ विदुर नीतिका व्याख्याता हुन पुग्छन् । अनि तीन करोड जनतालाई उल्लू बनाइन्छ– यही हो प्रजातन्त्रको सुन्दर अभ्यास । अहिले त झन् अराजकतालाई संघीय र समावेशी गणतन्त्रको पदवी भिराइने अभ्यास तीव्र गतिमा भएका छन् । प्रधानमन्त्री ओलीको बारम्बारको दलील हुने गर्छ– राजनीतिक पात्र र प्रवृत्तिको विरोध गर्नु संघीय गणतन्त्रको खिलाफमा उत्रनु हो । जनताको सरकार कस्तो हुनुपर्छ ? रामायणमा एउटा धोवीले शंका गर्दा अयोध्याका राजा रामले आफ्नी पत्नीलाई अग्निपरीक्षामा होमेका थिए ।
लबेदा सुरुवालमा चटक्क भएर निस्किने मन्त्रीहरुको पोज, प्रधानमन्त्री कार्यालयका दर्तावाल उपप्रधानमन्त्रीको कर्कश आवाज बाहेक सरकारको उपस्थिति शून्य छ । आफ्नै देशका एक चौथाइ भागमा नाम नसुनिएका मन्त्रीहरुको अर्ती, मुलुकको आर्थिक विकासमा २.६ प्रतिशत योगदानमा सीमित निजीक्षेत्रको फूर्ति कसैलाई पचेको छैन ।
जब एक व्यक्ति भ्रमले ग्रस्त हुन्छ, उसलाई पागल भनिन्छ । जब धेरै मानिस भ्रमले ग्रस्त हुन्छन्, त्यसलाई धर्म भनिन्छ । अहिले जताततै झूटलाई धर्म मान्ने संस्कृति हावी भएको छ । निःसन्देह राजनीतिक स्वतन्त्रताले संसारमा भोकाहरुको पेट भरिएको उदाहरण छैन ।
२०१५ सालमा प्रधानमन्त्री हुँदा बीपी कोइरालाले मन्त्रिपरिषद्को पहिलो बैठकमा प्रधानमन्त्रीले पाउने तलब सुविधाबाट एक हजार कट्टी गरेर जनताप्रति ममता देखाएका थिए । पृथ्वीनारायण शाहले बिसे नगर्चीबाट एक रुपियाँ चन्दा लिएर एकीकरणको महाभियान शुरु गरेका थिए । भलै यसले देश विकास त नहोला रे तर नेतालाई राजनेता बनाउने भनेकै यस्तै क्रियाकलापले हो । ठूलो भएर के गर्नु, कैंचीले छुट्याउने काम गर्छ तर हेपिएको त्यही सानो सियोले हरदम जोड्छ । त्यसैले मानिसले जोडिने कर्म गर्नुपर्छ । फाटेको त बादलमात्र राम्रो हो नि ! सिक्न टाढा जानै पर्दैन । मानिसले किन दुःख पाउँदो रहेछ भन्ने उत्तर खोज्न निस्कँदा सिद्धार्थ राजकुमार भगवान गौतम बुद्ध भएर प्रकट भए । कार्पेन्टरको छोरो यशुक्रिष्ट भएर उदाउलान् भनेर कसले विश्वास गरेको थियो ? हामीले प्रजातन्त्रको जननी बेलायतलाई मान्यौं तर हामी त्यस्तो पावन भूमिका नागरिक हौं, जनकपुरका राजा जनकले आफ्नी छोरी सीताको विवाह गर्दा समेत प्रजातान्त्रिक प्रक्रिया अपनाएर वरको छनौट गरे । धनु उठाउने प्रतिस्पर्धामा अब्बल ठहरिएपछि अयोध्याका राजकुमार रामले सीताको हात थाम्ने अवसर पाए । धार्मिक ग्रन्थबाट नै लोकअभ्यास गरिएको त्यो भूमि अहिले जमिनका लागि काटाकाट र मारामारको अवस्थामा छ । सबैको अस्तित्व देखिने सलादजस्तो लोकतन्त्र छोडेर हामी जसको लाठी, उसको भैंसीतर्फ उन्मुख छौं ।
माओत्सेतुङले भनेका थिए, ‘जो देश र जनताका लागि मर्छ, उसको मृत्यु पहाडजस्तै गह्रौ हुन्छ । आफ्नानिम्ति मात्र मर्नेको मृत्यु प्वाँख जत्तिकै हलुका हुन्छ ।’ उनैका चेलालाई प्रश्न- ‘कस्तो मृत्यु रोज्ने कमरेडहरू ?’
श्रीलंकाबाट प्रेरित लिक्वानले सिंगापुरे जनतालाई यस्तो हिरा बनाइदिए, जुन देशका नागरिकले विश्वका कुनै मुलुक टेक्दा पनि कुनै तगारो लाग्दैन । उनले विदेशीको रेडिमेड माछा कहिल्यै स्वीकारेनन् । बरु बल्छी मागेर जनतालाई माछा मार्न सिकाए । पाउरोटीको साटो पाउरोटी बनाउने सीपको अभियान छेडे । हाम्रा नेताहरू भने आफ्ना युवालाई मलेशिया पठाउन हौसिए । तर त्यहाँका मोहम्मद महाथिरले देश बनाउन गरेको योगदान चटक्कै बिर्सिए । केही वर्षअघि भेनेजुयलाका राष्ट्रपति ह्युगो चाभेज मर्दा तेह्रदिने दाजुभाइ बितेजसरी अनुहार बिगार्ने नेताहरू चाभेजले जस्तो जनतालाई समृद्ध बनाउने काममा नौ नारी गलाएर बसे । आफ्ना जनतालाई ५० पैसा लिटर तेल उपलब्ध गराउने चाभेजको लोकप्रियता कति होला ? अनुमानमात्र गर्न सकिन्छ । जो मानिस एक्लो उभिन्छ, उही महान हो । चाभेजले बाचुन्जेल अमेरिकाजस्तो देशलाई च्यालेन्ज गरिरहे । अन्तिम अवस्थामा पनि छिमेकी देश ब्राजिलमा उपचार गरे तर युरोप, अमेरिका टेकेनन् । घुर्की वा सस्तो लोकप्रयिताका लागि छिमेकीलाई मनपरी भन्ने अनि आङ्मा सुके लुतो निस्कियो भने उसैले पठाइदिएको एयर एम्बुलेन्स चढेर राष्ट्रियताको पाखण्डी गीतमा शायदै अरु देशका नेता रमाउँछन् । गुलियो वचन बोल्ने त बोल्ने भइगो, कलबिख तीतो बोल्ने पनि अन्ततः प्रायोजित विज्ञापनको कलाकार रहेको भेद खुल्ने गरेको छ । मान्छे होइन, रोबर्ट मान्छे बोल्ने गरेको छ । गाई विभिन्न रंगका भएपनि दूध सेतै हुन्छ । अलग अलग धर्मको शैली अलग भएपनि आखिर त्यसको निष्कर्ष एउटै हुन्छ– मानिसले शुभ कर्म गर्नुपर्छ ।
नीति भन्छ– अन्यायपूर्वक आर्जन गरेको धनबाट महान फल दिने ठूला ठूला यज्ञ गर्नाले त्यति धर्म हुँदैन जति न्यायोपार्जित थोरै भएपनि श्रद्धापूर्वक दान दिनाले हुन्छ । न्यायपूर्वक उपार्जन गरेको धनबाट जीवन निर्वाह गर्ने तथा दानको महत्व थाहा पाउने व्यक्तिले दान र तपस्याबाट स्वर्गलोक प्राप्त गर्दछ । शिक्षाको शुरुवात किताबबाट होइन, कोक्रोबाट हुनुपर्छ । ज्ञानका हकदार शिक्षक नभएर गुरु हुन् । शिक्षकले सूचना दिन्छन् भने गुरुले ज्ञान ।
ज्ञानले बाँच्ने कला सिकाउँछ । तर सूचनाले फन्टुस गफ गर्न । यसैको परिणाम पपकर्न भनेपछि मरिहत्ते गर्ने तर हाँडीमा भुटेको मकैलाई घृणा गर्ने पुस्ता हावी बन्दै गइरहेको छ । कानमा लगाइएको सुनले आफ्नो विज्ञापन गर्दैन । त्यसको सौन्दर्यको वर्णन मानिसले बाहिरबाटै हेरेर गर्न सक्छ । जीवन असन्तोष हो, जोसँग जे छ त्यसले हुँदैन/पुग्दैन, जे हुँदैन त्यो चाहिन्छ । नभई हुँदैन । जे छ, जे छैन त्यसैको सन्तुलन मिलाउनु र रमाउनु सुख हो । सन्तोष पनि त्यही हो । मलाई कसैले माया गर्छ भन्ने विश्वास नै त सुख हो नि ।
माओत्सेतुङले भनेका थिए, ‘जो देश र जनताका लागि मर्छ, उसको मृत्यु पहाडजस्तै गह्रौ हुन्छ । आफ्नानिम्ति मात्र मर्नेको मृत्यु प्वाँख जत्तिकै हलुका हुन्छ ।’ उनैका चेलालाई प्रश्न- ‘कस्तो मृत्यु रोज्ने कमरेडहरू ?’
Dherai ramro lekh,