बरु अस्पतालमा अक्सिजनको कमी होस्, आर्यघाटमा दाउराको कमी नहोस् !
काठमाडौं । ‘पशुपति आर्यघाटमा शव जलाउन दाउराको कमी नहोस्’- नेपाल वन निगम लिमिटेडका महाप्रबन्धक धनञ्जय पौडेललाई मन्त्री प्रेमबहादुर आलेले निर्देशन दिए । त्यसो त सरकारको ध्यान आर्यघाटको दाउराको पर्याप्यततासँग होइन, अस्पतालको अक्सिजनको अपर्याप्ततासँग हुनुपर्ने हो, कमसेकम यो समय । तर मन्त्रीहरु यस्तै निर्देशन दिइरहेका छन् । उसो त आर्यघाटमा दाउराको कमी पनि नहोस् । तर, मरेपछिको शव व्यवस्थापनको विषय सरकारको दोस्रो प्राथमिकताको विषय हुनुपर्छ ।
अक्सिजनले जीवन दिन्छ, दाउराले भौतिक शरीरलाई नै खरानीमा परिणत गरिदिन्छ । जीवनको दाँजोमा मरणपछिको कार्य गौण हो । त्यसैले त सरकारको पहिलो प्राथमिकताको विषय आर्यघाटको दाउरासँग होइन, अस्पतालको अक्सिजन, भेन्टीलेटर र आइसीयूसँग हुनुपर्छ ।
समाचारको शीर्षक ‘दाउराको कमी’ बनेर आएको देखिएको छैन । तर, ‘अक्सिजन अभावका कारण यति-उतिको मृत्यु’ भन्ने समाचारको शीर्षक कैयन् आइसके । यस्ता समाचारलाई बेवास्ता गर्दै आएको सरकार यसको भयावह अवस्थासँग टाढै छ । त्यसैले त यस्तो उल्टो निर्देशन दिएको हुँदो हो ।
अक्सिजनले जीवन दिन्छ, दाउराले भौतिक शरीरलाई नै खरानीमा परिणत गरिदिन्छ । जीवनको दाँजोमा मरणपछिको कार्य गौण हो । त्यसैले त सरकारको पहिलो प्राथमिकताको विषय आर्यघाटको दाउरासँग होइन, अस्पतालको अक्सिजन, भेन्टीलेटर र आइसीयूसँग हुनुपर्छ ।
दिनानुदिन संक्रमित र मृतकको संख्या आकासिँदो छ । नागरिकहरु छाक टार्न नसकेकोमा विलौना गर्छन् । तर, सरकारको साइनो यी यावत् दुःखहरुसँग छैन । छ त केवल सत्तासँग स’मधुर साइनो । अनि त सत्ताको मात लागेका नेता/मन्त्रीहरु दुखीहरुको बस्तीमा पोखिन्छन्, त्यो पनि उही जनताको करबाट बाँचेर । अझै थाहा पाउँदैन सरकार, बरु काविताको शैलीमा भन्दिन्छ- ‘खान नपाएर अनि उपचार नपाएर मर्नु पर्दैन । अब आँसु झार्नु पर्दैन ।’
र, त जनताको दुःख हँसिमजाक सम्झेर सरकार अमर्यादित ठट्टा गर्छ ।
सरकार, संक्रमित आफ्नो परिवारको सदस्य अस्पतालमा भर्ना गरेर अक्सिजन खोज्न भौँतारिएको पीडितलाई देख्दैन । एम्बुलेन्स नपाएर चोला गुमाउँदैगर्दाका सिकिस्तलाई देख्दैन । उनीहरुका परिवारका बिलौनालाई देख्दैन । ऊ सम्झन्छ- सास फेर्न नसकेर मर्यो । सम्झाउँ सरकार- आजभोलि जनता सास फेर्न नसकेर होइन, नपाएर मरिरहेका छन् । यो पनि भनौँ, सास फेर्न नसक्नु र सास फेर्न नपाएर मर्नुको पीडा फरक हुन्छ, कमसेकम बाँच्नेहरुका लागि । अझै एक कदम अगाडि बढेर सरकार निर्देशनात्मक शैलीमा भन्छ- आर्यघाटमा दाउराको कमी नहोस्, जसरी हुन्छ दाउरा पर्याप्त हुनुपर्छ ।’
सरकार, जनताको नाममा सम्बोधन गर्छु भन्छ र आफैंले गरेको सीमित कामको फेहरिस्त सुनाउँछ । सरकार यो पनि जान्दैन कि- कि मेरो जनता मैले सुनाएको फेहरिस्त सुन्ने स्थितिमा पनि छन् कि छैनन् ? सुन्न सक्छन् कि सक्तैनन् ? अँह, ऊ सोच्दै सोच्दैन । तर, जनतालाई थाहा छ सरकारले गरेका कामले बिहान बेलुका हातमुख जोडिँदैन । हातमुख जोड्नका लागि आफैंले काम गर्नुपर्छ भनेर । यति भनौँ सरकार, यो समय जनताले आफ्नै जीवन खोजिरहेका छन् । अहिले बचाउ अनि आफूले गरेको कामको फेहरिस्त सुनाउ ।
यो पनि सम्झाउँ कि-सबै कुरा राजनीतिक हुँदैनन् । कहीँ-कहीँ त भावनाका कुरा पनि हुन्छन् । जहाँतँही राजनीतिक रुपमा मात्र सोच्नाले ‘कता जिली कता गाँठी’ थाहा हुँदैन ।