लमजुङमा फेरि भूकम्प, भत्किए घर [तस्बिरहरू]
काठमाडौँ । लमजुङमा बिहान ३ घण्टाको अन्तरालमा दुई पटक भूकम्प गएको छ । बिहान ५ बजेर ४२ मिनेटमा ५.८ म्याग्निच्युडको भूकम्प गएको लमजुङमै ८ बजेर २६ मिनेटमा ५.३ म्याग्निच्युडको भूकम्प गएको हो ।
दुवै पटकको भूकम्पको धक्का लमजुङ, गोरखा, तनहुँ, कास्की, मनाङ, चितवन, धादिङ र काठमाडौँ उपत्यकामा समेत महसुस गरिएको थियो । भूकम्पले घर भत्किँदा विभिन्न स्थानका चार जना घाइते भएका छन् । घाइते हुनेमा बेँसीशहर नगरपालिका-६ का ३६ वर्षीय उमा गुरुङ, वडा नं ११ चितीका ८३ वर्षीय खकाकुमारी पाण्डे, वडा नं ८ का २९ वर्षीय खुशीमाया गुरुङ र मस्र्याङ्दी गाउँपलिका-६ ठुलीबेँसीका २२ वर्षीय गोविन्द्र अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
घाइतेहरुको जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको छ । उनीहरुको टाउको, हातखुट्टालगायतका शरीरमा चोट लागेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश मिश्रले बताए । उनका अनुसार भूकम्पले धेरै घरमा क्षति पुगेको छ । अहिले क्षतिको विवरण संकलनको कार्य भइरहेको पनि उनले बताए ।
हेर्नुस् तस्बिरहरू :-
- सबै तस्बिर : जिबी घिमिरे प्रदीपबाट