आजै सर्वोच्च जाने तयारी, नागरिकतासहित भेला हुँदै सांसदहरु
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको कदमविरुद्ध विपक्षी दलका नेताहरु आजै सर्वोच्च अदालत जाने तयारीमा जुटेका छन् । माओवादी केन्द्रका सचेतक देव गुरुङले आजै सर्वोच्च जानेगरी आफूहरु तयारीमा जुटेको मकालु खबरलाई जानकारी दिए । भने— ‘भ्याएसम्म आजै जानेछौँ । नभएपनि भोलिसम्ममा जसरी भएपनि जाने नै छौँ । हामी त्यसकै तयारीमा जुटिरहेका छौँ । तयारी पूरा हुनासाथ हामी जान्छौँ ।’
त्यसका लागि सबै दलका सांसदहरुलाई नागरिकतासहित संसद् भवन नयाँ बानेश्वरमा उपस्थित हुन निर्देशन दिइएको कांग्रेस सचेतक पुष्पा भुसालले बताइन् । मकालु खबरसँग सचेतक भुसालले भनिन्— ‘हामी तयारीमा छौँ, त्यसका लागि सबै दलका सांसदज्यूहरुलाई नागरिकतासहित उपस्थित हुनु भनेर भनिएको छ ।’
यसअघि शनिवार (हिजो) नेपाली कांग्रेस, माओवादी केन्द्र, विपक्षी एमाले, डा. बाबुराम भट्टराई—उपेन्द्र यादवपक्षीय जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको सर्वदलीय बैठकले कानुनी लडाइँका लागि सर्वोच्चसम्म जाने निर्णय गरेको थियो । यस्तै बैठकले प्रधानमन्त्री ओलीको कदमविरुद्ध स्थानीय तहसम्म नै राजनीतिक विरोध जनाउने निर्णय गरेको छ । सोअनुरुप हिजैबाट देशका ठाउँठाउँमा राँके जुलुशदेखि शान्तिपूर्ण प्रदर्शन शुरु भएको छ ।
विपक्षी गठबन्धनका १४९ सांसदहरुको समर्थन रहेको दाबीसहित कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदको दाबी गरेका थिए । तर दाबी नपुगेको भन्दै सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार मध्यराति संसद् विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते नयाँ निर्वाचनको मिति घोषणा गरेकी थिइन् ।
प्रधानमन्त्री ओलीले यसअघि गत वर्षको पुस ५ गते पनि संसद् विघटन गरेका थिए । त्यसपछि सर्वोच्च अदालतले फागुन ११ मा पुनःस्थापित गरिदिएको थियो । तर, प्रधानमन्त्री ओलीले पुनः विघटन गरेका हुन् ।
यता कानुनविद्हरुले भने एक पटक विघटन भइरहेको संसद् निःसर्त पुनःस्थापना हुने तर्क गर्छन् । वरिष्ठ अधिवक्ता शम्भु थापाले मकालु खबरसँग भने— ‘राजनीतिक फण्डाहरु के के मच्चाइन्छ त्यो फरक पाटो भयो । तर, कानुनी आधारमा मात्रै हो भने त संसद् निःसर्त रुपमा पुनःस्थापना हुन्छ ।’