परिचय पुञ्जका रुपमा चेतन कार्की
गीतकार, लेखक, चलचित्र निर्देशक, कवि, उपन्यासकार, कथाकार चेतन कार्कीका धेरैलाई थाहा भएका परिचय हुन् । गएको जेठ २ गते निधन भएका कार्कीका यस्ता अरु पनि धेरै चिनारी छन् । १९९५ साल कात्तिक २२ गते स्याङ्जामा जन्मिएका कार्कीका यस्ता धेरै परिचयहरु छन्‚ जसबारे संक्षेपमा चर्चा गरौं
फुटबल खेलाडी
धेरैलाई थाहा नहुन सक्छ चेतन कार्की फुटबल खेलाडी पनि हुन् । उनी भारतको देहरादूनमा हुँदै फुटबल खेल्थे । देहरादुनमा ‘स्टेट प्लेयर’ का रूपमा चिनिएका कार्कीले नेपाल आएपछि २०१७ सालमा ठमेलको खेलाडीका रूपमा खेल्न सुरु गरेका थिए । ठमेल र सङ्कटाबीच चर्चित खेल हुने उक्त समयमा उनले ठमेलको प्रतिनिधित्व गर्थे । अहिलेको थ्री स्टार र जावलाखेल क्लबको खेल भनेजस्तै उक्त समय सङ्कटा र ठमेल टिमको खेल हुने गर्थ्यो ।
चेतन ठमेल र फुटबल साइनो
चेतनका बुबा भारतीय सेनामा थिए । सरस्वती क्याम्पस नजिकै ठमेलमा भारतीय पेन्सन क्याम्प थियो, जुन अहिले पनि छ । बुबाले त्यहीँ पैसा पठाउँथे । सोही पैसा बुझ्न जाँदा उनको ठमेलका रैथानेसँग घुलमिल हुन थाल्यो । पैसा लिन जाने, चिया खाने, गफ गर्ने गर्दा गर्दै ठमेलमा उनको ठुलै सर्कल बन्यो । सँगै उनले ठमेलमा नै डेरा लिएर बस्न थाले । र खेलमा सहभागी भइरहे ।
मुआब्जा दिने पहिलो अधिकृत
उनी २०१७ सालमा मत्स्य विकास विभागमा अधिकृत भएर पोखरा गए । मत्स्य विकास अधिकृतको हैसियतले कार्कीले २०१७ सालमा सर्वसाधारणलाई फेवाताल र बेगनास ताल वरपरको जग्गामा माछा पालनका लागि जग्गाको मुआब्जा दिएका थिए । यसरी उनी मुआब्जाको सुरुवात गर्ने पहिलो सरकारी अधिकृतका रुपमा पनि चिनिन्छन् ।
सेतो घोडासँगको निकटता
पोखरामा रहँदा उनलाई एउटा सेतो घोडा र स्याहार गर्ने एक व्यक्तिसहितको सेवा सरकारको तर्फबाट दिइएको थियो । सरकारी सवारीको रूपमा उनलाई घोडासँगै क्वाटर पनि दिइएको थियो ।
उक्त सेतो घोडाको किस्सा पोखरा र आसपासका क्षेत्रमा अहिले पनि प्रख्यात छ । उनी सरकारी कामकाज सकेर रमाउन ‘आँटीघर’ जाने गर्थे । त्यहाँको रमाइलो माहौलमा उनी तीन दिन तीन रातसम्म गाउने, रमाउने गर्थे । लगातार तीन दिनको रमझम, गायन र खानपानका कारण उनी शिथिल बन्थे । लगातारको मदिरा सेवनले उनी पुरै होसमा समेत रहँदैन थिए । थकाली, गुरुङसेनीहरुको नृत्य हेर्दै उनी गाइरहन्थे । लगातार तीन दिनको बसाइ र मादक पदार्थका कारण उनको अवस्था असामान्य हुन्थ्यो । उनी तीन दिनपछि बल्ल त्यहाँबाट निस्किन्थे ।
त्यस्तो अवस्थाका कार्कीलाई घोडाले गर्ने व्यवहार अचम्मको हितैषी थियो । उनी घोडामा बस्ने स्थितिमा हुँदैन थिए । साँझ परेपछि लमतन्न घोडामा सुत्ने उनलाई सेतो घोडाले बिस्तारै बिस्तारै गन्तव्यमा पुर्याउने गर्थ्यो । सरकारी क्वाटर अगाडि पुगेर घोडाले बिस्तारै खाली भुईंमा कार्कीलाई सुताइदिन्थ्यो र जान्थ्यो । केही समयमा भुईंको चिसो र नसाले छाडेपछि उनी उठेर आफ्नो दैनिकीमा फर्किन्थे ।
अञ्चलाधीसको हस्तक्षेप
देहरादूनमा हुँदा उनले ‘आत्मा बेचेको छैन’ उपन्यास लेखेका थिए । २०१७ सालमा सरकारी अधिकृत बनेर पोखरा गएपछि उनले पोखरा मल्टिपल स्कुलको आयोजनामा सोही उपन्यासलाई नाट्य रुपान्तरण गरेर प्रदर्शन गर्न थाले । त्यो नाटक रोक्न तत्कालीन अञ्चालाधीस स्वयम् लाग्न थाले । राजसंस्था निकट व्यक्ति आउँदा कार्कीले रत्न मन्दिर वरपर पालिएका माछा मार्न अनुमति दिन्थे । त्यो देखेका र सुनेका अञ्चालाधीसले आफू र आफ्ना साथीभाइलाई समेत सोही सुविधा दिनुपर्ने सोच्थे । अझ, गायनमा रुचि भएका कार्कीले अन्चालाधीसका निकट व्यक्तिलाई मनोरञ्जन समेत दिनुपर्ने उनको चाहना थियो । कार्कीले यी सबै कुरा मानेनन् । राजाको सम्पत्तिको दुरुपयोग नगर्ने र अरू कसैको व्यक्तिगत मनोरञ्जनको साधन आफू नबन्ने भएपछि अञ्चलाधीस कार्कीको नाटक रोक्न लागिपरे ।
अहिलेको झैँ स्थिति थिएन । नाटकको एकप्रति हस्तलिखित कपिमात्रै हुन्थ्यो । त्यो स्क्रिप्ट नै अञ्चालाधीसले उठाएर लागे । कण्ठ भएको नाटक उनले र उनको टिमले बिनास्क्रिप्ट नै चलाउन थाले । बत्तीको चलन थिएन । रातमा १२ वटा पेट्रोम्याक्स बालेर नाटक प्रदर्शन गरिन्थ्यो । त्यो नाटक हेर्ने व्यक्तिमा साहित्यकार उषा शेरचन र नवराज कार्की पनि थिए । अझै पनि उक्त नाटक र समय उनीहरूको स्मरणमा छ ।
‘आत्मा बेचेक छैन’ मा उनले जताजतै पाएको धोकाको प्रतिबिम्ब
आत्मा बेचेको छैन नाटकमा गोर्खाली फौजमा रहेको नाटकको मुख्य पात्र रामबहादुर दिलोज्यान लगाएर काम गर्छ । तर जब बढुवाको समय आउँछ‚ नेपाली मूलको भएकै कारण उसले पल्टनमा बढुवा पाउँदैन । उसको ठाउँमा सामान्य भारतीयको पदोन्नति हुन्छ । ऊ दिक्क हुन्छ । र, ‘गोर्खालीले आत्मा बेचेको छैन, शरीर बेचेको हो । त्यसबापत तलब र रासन खाएको छु । तर अब म तिमीहरूको लागि सेवा गर्दिनँ‚ आफ्नै देशको सेवामा लाग्छु’ भनेर नेपाल फर्किन्छ । नेपालमा पञ्चयती व्यवस्था सुरु भएको हुन्छ । देश फर्किएर ऊ आफ्नो देशका लागि सेवा सुरु गर्छ । तर आफ्नै ठाउँमा समेत अन्चालाधीसदेखि मुखियासम्मले उसलाई हेय भावले हेर्छन् । काममा अवरोध गर्छन् । ऊ अझ विक्षिप्त हुन्छ ।
नाटकको मुख्य पात्र रामबहादुरमा लेखक कार्कीकै प्रतिबिम्ब पाइन्छ । देहरादूनमा अध्यापन गरिरहेका उनको योग्यता पुग्दा समेत पदोन्नति भएको हुँदैन । त्यस्तै नेपाल आएर काम गर्न समेत उनलाई धेरै कठिनाइ आइपर्छ । योग्यता भएर पनि उनको काममा पटक पटक अवरोध हुने गर्छ । त्यसबेला औंलामा गन्न सकिने स्नातकोत्तर गरेकाहरूमध्येका एक चेतनले योग्यताअनुसारको अवसर पाउँदैनन् ।
नेपाल प्रहरीले उनलाई डिएसपी पद दिन्छु भनेर फुटबल खेल्न बोलाउँछ । तर दिँदैन, धोका दिन्छ । त्रिचन्द्र क्याम्पसले अङ्ग्रेजी साहित्यको प्राध्यापक बनाउने भनेर बोलाउँछ तर योग्यता पुग्दा पुग्दै पनि उनलाई त्यो अवसर दिइँदैन । रेडियोमा अङ्ग्रेजी कार्यक्रम चलाउने, समाचार वाचन गर्ने कुरा समेत कुरैमा सीमित हुन्छ । जताजतै धोका पाएपछि उनी दिक्क भए । अन्ततः, उनी मत्स्य विकास विभागमा अधिकृत भएर पोखरा गए । नाटकको दृष्यमा उनले नै भोगेको जीवनको यथार्थको प्रतिबिम्ब पाइन्छ ।
चलचित्र ‘परिवर्तन’ सँगको सहकार्य
पोखराको जागिर छोडेर उनी २०२५ सालमा काठमाडौं आए । उक्त समय चलचित्र ‘परिवर्तन’ बन्ने तयारी चल्दै थियो । चलचित्र भारतको देहरादुनका तर बम्बईमा बसेर काम गरिरहेका हिरासिंह खत्रीले निर्देशन गर्दै थिए । देहरादुनकै भएकाले यी दुईबिच काका-भतिजको साइनो थियो । हिराले सहायक निर्देशक र संवाद लेखकको रूपमा कार्कीलाई लिए । त्यसैमा उनले चलचित्रका लागि पहिलो गीत ‘आँखाको भाका आँखैले’ लेखे । नारायणगोपालले गाएको चलचित्रको पहिलो गीत थियो, यो । त्यही चलचित्रमा ‘बहिनीको दया छ भने रोदी घर दाइ नाच्यो नभने…’ बोलको गीतमा नारायणगोपाल र मिरा राणाको युगल स्वर रहेको छ‚ जसको शब्दसमेत उनै चेतन कार्कीले लेखेका थिए ।
नीर शाहलाई कलाकार बनाउन दरबारमा निवेदन
नीर शाहलाई कलाकार बनाउन कार्कीले दरबारमा राजा महेन्द्रसामु निवेदन हालेका थिए । दरबार निकट शाहलाई अभिनयमा रुचि थियो । तर उक्त समय दरबारियाले नाचगानमा लागेको (नौटङ्की गरेको) मन पराउँदैन थियो । कार्कीको पहल र महेन्द्रको अनुमतिमा नीर शाहको अभिनय यात्रा ‘परिवर्तन’ चलचित्रमार्फत् सुरु भएको थियो । यस चलचित्रमा उनी संवाद लेखक, सहायक निर्देशक र गीतकारका रूपमा छन् ।
पोखरा सानो गाउँबाट ठुलो शहर बनेको देख्ने साक्षी
सानो एउटा गाउँ ठुलो सहर बन्न सक्छ भन्ने उदाहरण पोखरा भएको उनी आफ्नो जीवनकालमा पटक पटक भनिरहन्थे । प्राकृतिक रूपमा सुन्दर पोखरा उनी पुग्दासम्म अत्यन्त सानो गाउँ थियो । २०१७ सालमा उनी पुग्दा त्यहाँ थकाली, गुरुङ र काठमाडौं उपत्यकाबाट व्यापार गर्न गएका नेवारहरूमात्रै थिए । विस्तार हुँदै जाँदा पोखरा एक विशाल सहर भएको छ । छोटो समयमा भएको विकासको उदाहरणका रूपमा यो सहरलाई उनले आफ्नै आँखाले नियालेका थिए ।
नेपाल बुझ्न पश्चिमाञ्चल पुग्नुपर्छ भन्ने मान्यता
नेपालको प्राकृतिक सुन्दरता हेर्न, नेपाललाई बुझ्न, कला संस्कृति नियाल्न पश्चिमाञ्चल, गण्डकी क्षेत्र र पोखरा पुग्न पर्छ भन्ने उनलाई लाग्थ्यो । प्रकृति, संस्कृति र सौहार्दताको भावनाका लागि यो क्षेत्र जानैपर्ने उनी पटक पटक बताउने गर्थे । यो क्षेत्रमा जातीय विविधतामा एकता रहेकोमा उनी जोड दिने गर्थे ।
पोखरा बसेरै मदननाथ खनाल र चेतन कार्कीको जोडीले प्रत्यक्ष गीत गाउने गर्थे । रेकर्ड गर्ने प्रचलन नभएको उक्त समयमा उनीहरूले पोखराबाट लोकदोहोरी लोकसुसेली कार्यक्रममार्फत् प्रत्यक्ष गीत गाउने गर्थे । कार्यक्रम सञ्चालन भने धर्मराज थापाले गर्थे । यसरी लोकगीत, दोहोरी र सङ्कलनमा उनको रुचि बढ्यो ।
यसरी चेतन कार्कीको परिचय कुनै एक कुरामा मात्र सीमित थिएन । उनी बहुमुखी प्रतिभा थिए भन्ने यसले पुष्टि गर्छ । खासमा उनी परिचयका पुञ्ज थिए । खेलदेखि गीत लेखनसम्म‚ उच्च अध्ययनदेखि चलचित्र निर्देशनसम्म, सरकारी जागिरेदेखि लोकगीत संकलक र गायकसम्म उनको परिचय छ । परिचयमात्र होइन‚ उनले आफूलाई यी सबै क्षेत्रमा एक सिद्धहस्त कलाकारका रुपमा आफूलाई उभ्याएका छन् । उनी अब हामीसँग छैनन् तर उनका कालजयी सिर्जना र साहित्यका कृति तथा चलचित्रहरुमार्फत् हामी उनको उपस्थिति पाइरहेछौं । उनी हाम्रो आँखैमा रहनेछन् जुगजुगसम्म ।
(चेतन कार्कीसँग लामो समय संगत गरेका र अहिले कार्कीको बायोग्राफी प्रकाशनको तयारी गरिरहेका सिग्देलसँग मकालु खबरकर्मी दिक्षा कट्टेलले गरेको कुराकानीमा आधारित)