१० महिनामा २२ प्रतिशतले बढ्यो आयात
काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को १० महिनामा विदेशबाट हुने गरेको वस्तु तथा सेवाको आयात २२.३४ प्रतिशतले बढेको छ । चालु वर्षको साउनदेखि वैशाखसम्ममा १२ खर्ब ५४ अर्ब ११ करोड रुपैयाँको आयात भइसकेको भन्सार विभागको तथ्यांक छ । जबकी गत आर्थिक वर्ष २०७६/७७ को यही अवधीमा १० खर्ब २५ अर्ब १३ लाख रुपैयाँको आयात भएको थियो ।
त्यस्तै, चालु आर्थिक वर्षमा वस्तु तथा सेवा निर्यात पनि बढेको छ । चालु वर्षको पहिलो १० महिनामा ३२.१९ प्रतिशतले निर्यात बढेको छ । यस अवधिमा १ खर्ब ८ अर्ब ४७ कराेड ९७ लाख रुपैयाँको निर्यात भएको छ । गत आर्थिक वर्षको यही अवधिमा ८२ अर्ब ६ करोड ४७ लाख रुपैयाँको आयात भएको थियो ।
त्यस्तै, व्यापार घाटा २१.४८ प्रतिशतले बढेको छ । चालू वर्षको १० महिनामा ११ खर्ब ४५ अर्ब ६३ करोड ४ लाख रुपैयाँ व्यापार घाटा रहेको छ । गत आर्थिक वर्षको १० महिनामा यस्तो घाटा ९ खर्ब ४३ अर्ब ७ करोड ३० लाख रुपैयाँ रहेको थियो ।
सबैभन्दा बढी वीरगन्ज भन्सारबाट हुने गरेको आयात बढेको छ । वीरगन्ज भन्सार नाकाबाट हुने आयात ३३ प्रतिशतले बढेको छ । यो नाकाबाट मात्रै ४ खर्ब १३ अर्ब ८३ करोड रुपैयाँको आयात भएको छ । त्यस्तै, यो नाकाबाट हुने निर्यात पनि ३५ प्रतिशतले बढेको छ । यो नाकाबाट ३७ अर्ब ९६ करोड ९६ लाख रुपैयाँको निर्यात भएको छ ।
त्यस्तै, विराटनगरबाट हुने आयात १२ प्रतिशतले, निर्यात २५ प्रतिशतले बढेको छ । सुख्खा बन्दरगाह वीरगन्जबाट हुने आयात १२ प्रतिशतले बढेको छ । त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार नाकाबाट हुने आयात ८ प्रतिशतले र निर्यात १९ प्रतिशतले बढेको छ ।
नेपालका सानाठूला गरी २४ नाकाबाट अयात–निर्यात अन्तर्राष्ट्रिय व्यापार हुने गरेको छ ।
यस्ताे छ १० महिनाकाे व्यापार अवस्था–
स्राेत : भन्सार विभाग