प्रश्नै प्रश्नले गाँजेको गणतन्त्र
नसुनेझैँ गरेर दिलबहादुर रम्तेलहरूको तोते बोली
खोज्दै नखोजी रामप्रसादहरू
पूर्ण पौडेल, लालकुमार तामाङ र नवीन चाम्लिङहरू
सोच्दै नसोची रक्तिम इतिहासलाई
मिल्काएर दलालहरूको घुर्यानमा
कुन नैतिकताले झुकाउँछौ स्वाभिमानी शिर
कुन श्रद्धाले राख्छौ छातीमा हात
र कुन ओठले बर्बराउँदै भन्छौ
शहीदहरुप्रति गहिरो भावपूर्ण श्रद्धाञ्जली ।
रगतले लत्पतिएको निर्मलाको लेहेङ्गा
किमा बनाइएको भागरथीको छातीमाथि
बेखबर–बेखबरझैँ बनेर किन फर्फराउँछौ चारतारे झन्डा
भेरीले सकिनसकी बगाएको
नवराज विक, टिकाराम सुनारहरूको लास देखि देखि
कसरी गाउँछौ अन्तर्राष्ट्रिय गीत
कसरी भन्छौ –यो मानिस अन्तर्राष्ट्रिय जाति हुनेछ ।
इटाभट्टिमा मजदुरहरू जलाएर
तिमीले भन्न सुहाउँदैन –संसारका मजदुरहरू एक हौँ
जिल्ला प्रशासन कार्यालयको ढोकामा
हप्तौंअघि हिँडेर, केही घण्टा अघिदेखि
नागरिकता कुरि बसेको सर्वसाधारण हेर
र भन मलाई तिम्रो संघीयता हिँडेर कहाँ आइपुग्यो ?
सिन्धुपाल्चोकको चौतारामै बिसाइरहेका लडाकु सपना
सोलुको सल्लेरीमै बरफझैँ जमिरहेको तातो रगत
दाङको घोराहीमा गाउँदा–गाउँदै छुटेको बाँकी देउडा
मकवानपुरको झुर्झुरे, काभ्रेको दाह्रगौडा हुँदै
चितवनको कृष्णभिर चढ्दा हराएका राता मान्छेहरू
रामेछापको बेथान, पाल्पाको तानसेन बजारमा
आँखै अगाडि पुछिएको सिउँदो
भोजपुर र रुम्जाटारमा भोको पेटमा निलेका गोलीहरू
यत्ति चाँडै बिर्सेर कसरी बनाउन सक्यौ–
संघीय नेपालको तस्बिर ?
टिम्बुरबोटेको ओडारका हड्डीहरू भेट्न
कहिले पुग्ला तिम्रो लोकतन्त्र
दुधकोशी किनारामा माछा मारिरहेको माझीदाइले
कहिले पढ्ला बीपीको समाजवाद
राउटे र बादीहरुको बस्तीमा
पुग्यो कि पुगेन तिम्रो राष्ट्रियता
र कसले भत्काइदियो सजिलै
तिमी हिँडिरहेको साम्यवादको बाटो
यी प्रश्नै प्रश्नले थिचेको छ तिमीलाई र मलाई
प्रश्नै प्रश्नले गाँजेको गणतन्त्र ।
त्यसो त
आजकाल निदाउन सकिरहेको छैन
सपनामा आउँछन् र बम बनाउन सिकाउँछन्
त्यो अनुहार मेरै बाबाको हो
जो युद्ध लड्दालड्दै शहीद भएका थिए
सपनामा आउँछिन् र भन्छिन्
‘छोरा म हारेको अनुहार हेर्दिनँ’
त्यो मेरै आमाको आवाज हो
जसलाई बेपत्ता बनाएको थियो निरङ्कुश समयले
अझै खोजिरहेछु म हरेक सेकेन्ड आफैंलाई भुलेर ।