सूर्यबहादुर तामाङको अन्तिम भोक (कविता)

ओ सूर्यबहादुर !
घरमा सुत्नुपर्ने मान्छे
कहाँ याँ खुला आकाशमा सुतिबसेको हो ?
बेला भो अब
जाऔँ हिड ।

हजुर‚
हावामात्र खाएको भरमा
दश दिन त उभिहिडेँको हुँ
यताउति गरेर थोपोले
आँत भिजाइहिँडेको हुँ
हिजो कसो झ्याप्प निदाएछु
हजुरले भनेपछि पो था’ भो
यो त खुला आकाश हो ।

यो देश, यो कीर्तिपुर, यो नाम्लो
र, भारी बोकिहिँड्ने यो शरीर
सबै छाडी जानुअघि
यो भोको पेटमा अघाउञ्जेल
खान त पाउनुपर्‍यो नि !

उता स्वर्ग र नर्क छुट्टिने ठाउँसम्म पुगिञ्जेल
यसरी भोकै हिँड्न कहाँ सक्छु म ?
स्वर्ग गइहालेँ भने त ठीकै छ
अप्सराहरुले देलान् फलफूल
तर, कतै नर्क जानुपर्‍यो भने‚
खाना खोजी खान
यहाँजस्तै मुस्किल पर्ला फेरि
होस्… भोकै त म जान्नँ ।

अस्ति
‘कोही भोकले मर्नुपर्दैन’
शासकको घोषणा सुनेकै हो यिनै कानले
साहुजीको टिभीमा
‘असी करोड राहत बाँडियो’
शासकका दाबीहरु देखेको हुँ यिनै आँखाले
त्यो अस्सी करोडमा अस्सी रुपैयाँ मैले नपाए पनि
म भोकै भएको
उनका मान्छेले कस्सो नदेख्लान् र ?

ए यमदूत !
खै एकखिल्ली चुरोट दिनोस् त
एकछिन् भोक मार्दै गरौं
कतै प्रधानमन्त्रीका मान्छे आइपुगिहाल्छन् कि !

अस्ति, प्रधानमन्त्रीले लेखेको कविता कति मर्मस्पर्शी थियो–
‘अब आँसु खसाउनु पर्दैन’
ऊ त्यो क्याम्पस पढ्ने
डेरावाल भाइले सुनाएका थिए
हाम्रा प्रधानमन्त्रीले संसदमा कति डरलाग्दो बोलेको–
‘कडा कोरोना भारतबाट आए’
त्यै भारतको कोरोनाले लैजाला कि भनेर
म त डरले काँपिरहेको थिएँ
तर यी भोकले पो लान खोजिरहेको छ ।

मैले सुनेको छु
प्रधानमन्त्रीले एउटा गीत रचना गर्दैछन्
देश विकासका नारा अब धून बन्दैछन्
ए यमदूत !
जानै परे पनि म
त्यो गीत सुनेर मात्र जान्छु
त्यो धून सुनेर मात्र जान्छु
प्रधानमन्त्रीले भनेकै छन्
यहाँ चुच्चे रेल आउँछ
ए यमदूत !
त्यो रेल हेरेर मात्र जान्छु
तर, यस्तो भोकै त म मरे पनि जान्न।

मलाई भोकभोकै लानलाई
यसरी जबर्जस्ती लानलाई
के यमराज तानाशाह बन्न पाउँछ ?
छैठीमा लेखिएको आयु बाँकी छँदै
मलाई कसरी लान पाउँछ
ताज्जुब लाग्छ‚
के यमराज पनि हाम्रा शासकजस्तै हुन पाउँछ?

अब भो त सुर्यबहादुर
ढिला नगर‚
हामी बालुवाटार हुँदै जानुछ
फेरि भोकभोकै मर्‍यो भनेर
तिम्रो खबर त्यहाँ पुर्‍याइदेलान्
सुन सुर्यबहादुर !
भोकले मरेको हो ? भनेर
उता सोधनी भयो भने
‘भोकले कोही मरेका छैनन्’ भनिदिनू
किनभने
हाम्रा यमराजबाट पनि
‘कोही अब भोकले मर्दैनन्’
भन्ने वाणी व्यक्त भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *