नेपालका कम्युनिष्ट : बेलाबेला जुट्ने, बारम्बार फुट्ने

काठमाडौं । नेकपा एमाले फुटको सन्निकट छ । धेरै भएको छैन, सग्लो नेकपा एमाले र माओवादी केन्द्र बनेको । नेकपा विग्रहको कारण अदालतलाई भनिए पनि अन्तर्यमा यसको कारण दुई कम्युनिष्ट पार्टी मिल्न नसक्नु नै थियो । नेपाली कम्युनिष्ट पार्टीमा जुट्नेभन्दा टुट्ने क्रम नै बढी छ । मानौं कि— यो उनीहरुको सौन्दर्य नै बनिसक्यो । यस्तो लाग्छ— नाम र आदर्शमा माओ, लेनिन, मार्क्स स्टालिन ज—जसलाई राखे पनि फुट नेपालका सबै कम्युनिष्ट पार्टीको मार्गदर्शक सिद्धान्त नै बनिसक्यो ।

चुनावबाट झन्डै दुईतिहाइ बहुमत ल्याएको कम्युनिष्ट पार्टी तीन वर्ष नबित्दै तीन चिरा बनेको छ । दुई ठूला कम्युनिष्ट दल मिलेर बनेको नेकपाले ल्याएको दुईतिहाइ निकटको बहुमतको भारी र जिम्मेवारी उनीहरुले वहन गर्न सकेनन् । अन्ततः मिल्नुअघिको एमाले र माओवादीको कित्ताकाट त भयो नै एमाले पनि सग्लै रहन सकेन ।

उसो त नेपालको राजनीतिक इतिहासमा दलहरुबीचको एकता र फुट नौलो त होइन, त्यसमा पनि कम्युनिष्ट पार्टीबीचको विभाजनमा कम्युनिष्ट पार्टीले कीर्तिमान नै राखेका छन् । शान्ति प्रक्रियामा आएपछि नेकपा माओवादी पटक—पटक फुट्ने, जुट्ने र फेरि जुट्ने क्रम चलिरह्यो । यो अझै सकिएको छैन । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको माओवादी केन्द्र, मोहन बैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी), विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी अस्तित्वमा छँदैछन् । यता डा. बाबुराम भट्टराईलगायतले जसपा गठन गरेका छन् । माओवादीका रामबहादुर थापा ‘बादलल’गायतका नेताहरुले आफूलाई एमालेमा विलय गराएका छन् ।

यस्तै, नेकपा एमालेमा पार्टी विभाजनको आधिकारिकता मात्र कुरिरहेको अवस्था छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल—झलनाथ खनाल पक्षबीच कसले जस अपजस लिने भन्ने दाउपेच मात्र चलिरहेको देखिन्छ ।

नेपाली कम्युनिष्ट पार्टीको स्थापना विसं २००६ सालमा भयो । भारतको कोलकात्तामा गठन भएको यो पार्टीमा पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्यलगायत पाँचजना संस्थापक सदस्य थिए । २०१७ सालमा राजा महेन्द्रले सत्ता आफ्नो हातमा लिएपछि पुष्पलाल, मनमोहन अधिकारी, केशरजङ रायमाझीबीच विवाद भएर पार्टी फुट्यो । २०२८ सालमा सीपी मैनालीले झापा जिल्ला कमिटी र मोहनविक्रम सिंहले केन्द्रीय न्युक्लियस पार्टी बनाए । यसबेला केपी शर्मा ओली मैनालीतिर र पुष्पकमल दाहाल प्रचण्ड सिंहको कित्तामा उभिएका थिए ।

तेस्रो महाधिवेशनपछि २०२५ सालमा फेरि विभाजन हुँदा तुलसीलाल अमात्य र पुष्पलाल छुट्टिए । २०३५ सालमा पुष्पलालको निधन भयो । त्यसपछि साहना प्रधानले पार्टी सञ्चालन गरिन् । सीपी मैनालीले माले गठन गरे । विसं २०३५ सालमा मनमोहन अधिकारीले नेकपा मनमोहन भन्ने आफ्नै नामको दल खोले । जनमत संग्रह मैनालीले बहिष्कार गरे भने अधिकारीले कांग्रेसलाई साथ दिए ।

२०४३ सालमा मनमोहन र साहनाबीच पार्टी एकता गर्ने सहमति भएपछि नेकपा मार्स्कवादी बन्यो । २०४६ सालमा जनआन्दोलन गर्न मार्क्सवादी र माले मिलेर संयुक्त वाममोर्चा बन्यो र संसदीय अभ्यास जबज लिएर आयो । महाकालीको विषयमा विवाद हुँदा माधवकुमार नेपाल र केपी शर्मा ओली एकातिर र बामदेव गौतम अर्कोतिर हुँदा पार्टी विभाजन भयो । गौतम एमालेमा पाँच वर्षपछि फर्किए भने मैनालीसँग अझै नेकपा माले नामको आफ्नै पार्टी छँदैछ ।

२०३६ सालको जनमत संग्रह मोहनविक्रमले बहिष्कार गरे भने, नेता निर्मल लामा भाग लिन चाहन्थे । २०४० सालमा पार्टी फुटेपछि लामाले नेकपा चौंथो स्थापना गरे । मोहनविक्रमले नेकपा मसाल स्थापना गरे । मसालको पाँचौं महाधिवेशनले मोहनविक्रमलाई यौन दुराचारको आरोपमा बहुमतले कारबाही गर्यो । त्यसपछि यसको नेतृत्व प्रचण्डले गरे ।

२०४१ सालमा मसालको महामन्त्रीमा मोहन वैद्य निर्वाचित भए । यता मोहनविक्रमलाई कारबाही गरेपछि हालका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसहितको सहभागितामा नयाँ पार्टी नेकपा मसाल स्थापना भयो । यो दलबीच पनि विभाजनको क्रम चल्यो अनि मशाल कि मसाल अर्थात् मोटो मशाल कि पातलो मसाल आधिकारिक भन्ने विवाद लामो समय रहिरह्यो ।

सबैभन्दा पहिलो कुरा त आफूलाई कम्युनिष्ट कहलाउन खोज्नेहरु वास्तविक कम्युनिष्ट हुन् कि होइनन् भन्ने बुझ्नुपर्छ ।

२०४६ सालमा वाममोर्चाबाट सहभागी नभएर मोटो मशाल, पातलो मसाल, नेपाल मजदुर तथा किसान पार्टी, नेकपा चौंथो, नेकपा संयुक्त मिलेर संयुक्त जनआन्दोलन संयुक्त समिति बनाए । बहुदलपछि सबै एक भएर नेकपा एकता केन्द्र बन्यो दुई वर्षपछि । प्रचण्ड माओवादीको नाममा सशस्त्र विद्रोहतिर लागे भने नारायणकाजी श्रेष्ठ, अमिक शेरचनलगायतका नेताहरु नेकपा एकता केन्द्रमै रहे । २०५९ सालमा मोहनविक्रमको मसाल र नारायणकाजी श्रेष्ठको एकता केन्द्रबीच एकता भयो । प्रकारान्तरमा शेरचन र श्रेष्ठ माओवादीमा मिसिए भने सिंह र केसी राष्ट्रिय जनमोर्चामै रहे । केही वर्षमा राष्ट्रिय जनमोर्चाबाट परी थापाहरु अलग भए र अर्को कम्युनिष्ट पार्टी खोले ।

निष्कर्षमा कहिले सिद्धान्तको नाममा, कहिले विचारका नाममा, कहिले कुन कुरालाई मार्गदर्शक सिद्धान्त मान्ने भन्ने विषयमा त कहिले देश विदेशको राजनीति र नेताका व्यवहारलाई के भन्ने ? भन्ने विषयमासमेत विभाजन भएका छन् । कहिले नीति/विधान, कहिले पद, कहिले पैसा त कहिले यौन दुराचारका विषयले पनि पार्टी फुटाएको छ ।

कम्युनिष्टहरु किन मिल्दैनन् ?
त्यसो त सबै नागरिक समान हुन्, मानिसको एकै अन्तर्राष्ट्रिय जात मात्र हुन्छ भन्ने मान्यता राख्छौं भन्ने कम्युनिष्ट पार्टीका नेता आफू भने अर्कोभन्दा ठूलो, बढी क्रान्तिकारी, बढी योग्य र बढी कम्युनिष्ट भएको दाबी गर्न पछि पर्दैनन् ।

उनीहरु किन मिल्दैनन् वा मिल्न सक्दैनन् भन्ने प्रश्नको जवाफ खोज्न कम्युनिष्ट नाम राखेका दल तथा नेताहरुको राजनीतिक वास्तविकता बुझ्नुपर्ने पुराना वामपन्थी नेता चित्रबहादुर केसीको भनाइ छ । उनी भन्छन्— ‘सबैभन्दा पहिलो कुरा त आफूलाई कम्युनिष्ट कहलाउन खोज्नेहरु वास्तविक कम्युनिष्ट हुन् कि होइनन् भन्ने बुझ्नुपर्छ ।’

माओत्सेतुङले चलाएको पार्टी नै पनि ११ पटक विभाजन भएको दृष्टान्त सुनाउँदै केसीले कम्युनिष्ट मात्रै नभएर जुनसुकै राजनीतिक दलमा एकता र विभाजन हुने बताउँछन् । ‘राजनीतिक दल हो । सबै प्रकृत्तिका सबै समाजबाट प्रतिनिधित्व गर्ने अनि फरक धारणा राख्ने व्यक्तिहरु हुन्छन् । यसले गर्दा कहिलेकाहीँ पार्टीमा दरार आउँछ । यसलाई स्वाभाविक रुपमा लिनुपर्छ । तर, नेपाली कम्युनिष्ट भनाउँदाजस्ता राजनीतिक संस्कारबाटै पतन हुनु चाहिँ हुँदैन ।’

नेपालका कम्युनिष्टहरुले नै कम्युनिज्मको धज्जी उडाएको केसीको टिप्पणी छ । ‘यिनीहरु बाटो हिँड्ने बटुवा, सबै मेरो माइतीजस्तो गरिरहेका छन् । यिनीहरु सबै नक्कली कम्युनिष्ट हुन् ।’ चित्रबहादुर थप्छन्— ‘जो कम्युनिष्ट नै हुँदैनन् उनीहरुसँग जोडेर कम्युनिज्मको कुरा के गर्नु ?’

कुनै दल कम्युनिष्ट नाम राख्दैमा कम्युनिष्ट नहुने बताउँछन् केसी । यहाँ नामअनुसारको राजनीतिक संस्कार नभएको उनको ठम्याइ छ ।

अर्का पुराना कम्युनिष्ट नेता ऋषि कट्टेल नेपाली कम्युनिष्ट दलको स्थापना नै विभाजनकारी ढङ्गले भएको ठान्छन् । उनी भन्छन्— ‘अब नेपाली कम्युनिष्टहरुको इतिहास नै पनि अलिक विभाजनकारी र विभेदपूर्ण ढङ्गबाट शुरु भयो । २००८ सालमा पुष्पलाल श्रेष्ठजीलाई हटाउँदादेखि नै कम्युनिष्ट आन्दोलनमा यो नजिर स्थापित हुँदै आयो । यसपछि यसपछि हरेक कालखण्डमा यो नजिर झनै दरिलो हिसाबबाट स्थापित हुँदै गयो । अहिलेसम्म आइपुग्दाखेरि त के भए भए, भनिसाध्यै छैन ।’

नेपाली कम्युनिष्ट आन्दोलन क्रान्तिकारी नभइ सुधारवादी भएर पनि कम्युनिष्टहरु टुक्रा–टुक्रा भएको विश्लेषण कट्टेलको छ । ‘नेपालका जो—जो कम्युनिष्ट आन्दोलनमा लागे भनेर भनियो, ती मान्छेहरु क्रान्तिकारी नभएर रिफर्निस्ट् आन्दोलनमा लागेका हुन् । अनि उनीहरुले खाली अवसर खोज्न थाले । अन्ततः अवसरकै मामलामा नमिलेर यो समस्या आउँछ । उनीहरु छुट्छन्, एकता गर्छन्,’ कट्टेलले भनेका छन् ।

नेपाली कम्युनिष्ट नेताहरु सर्वहाराकृत हुन नसकेको आरोप पनि कट्टेलको छ । त्यसको प्रमुख तीन कारण रहेको उनी औंल्याउँछन् । कम्युनिष्ट पार्टी निर्माण मध्यमवर्गीय हुनु, नेपाली कम्युनिष्टहरुमाझ बढी नै घूसपैठ हुनु र नेताहरु सुधारवादी भएकाले उनीहरु क्रान्तिकारी नभएको कट्टेलको विश्लेषण छ ।

निष्कर्षमा कम्युनिष्टहरु बढी अवसरवादी भएकाले घरी एकतामा बाँधिने र घरी छुट्टिने गरिरहेको उनले सुनाए ।

कम्युनिष्ट नमिल्दाको परिणाम
नेपालमा कम्युनिष्ट जनमत राम्रो छ । तर उनीहरु नमिल्दा बहुमतमा बेलाबेला मात्र पुग्ने गरेका छन् । बरु घरी गृहयुद्ध त घरी राजनीतिक संकट यसै कारण ब्यहोर्नुपरिरहेको छ । यो अस्थिर प्रवृत्तिले गर्दा नेपालमा कम्युनिष्ट पार्टीहरुले सरकार चलाउने ढंग पुर्याउने रहेनछन् भनेर चर्को आलोचना पनि हुने गरेको छ । सरकार चलाउने ढंग नपुग्नु भनेको नागरिकको आशा भरोसा पूरा नहुनु हो ।

भन्नलाई सिद्धान्त वा विचार भनेपनि विभाजको मुख्य कारण नेताहरुको व्यक्तिगत रिसइबी र को शक्ति र सत्तामा पुग्ने भन्ने नै हो । यसको पछिल्लो उदाहरण हो नेकपा, उसले प्राप्त गरेको जनमत, विभाजन र पटक—पटक गरिइरहेको संसद् विघटन ।

दुई अध्यक्ष प्रचण्ड–ओलीबीचको दुष्टता बढ्दै जाँदा एक पार्टी तीनवटा हुने अवस्था आइपर्यो । चित्रबहादुर केसीले भनेझैँ— ‘शेरैशेर, रहँदैनन् धेरैबेर’ भयो ।

समानता र साम्यवाद मुख्य नारा हुन् भन्ने नेपालका कम्युनिष्ट नेताका विलासी जीवनशैली, गैरकानुनी आर्जन, भ्रष्टाचार र यौन दुराचारसम्मका काण्डहरुले कम्युनिष्ट आन्दोलनलाई नै प्रदूुषित गरिरहेको छ ।

एक नेताविरुद्ध अर्को नेताले साँध्ने रिसइबी र प्रतिशोध अनि बदलाको भावनाका कारण पार्टी विभाजन हुने क्रम रोकिएको छैन । इगोका कारण पटक—पटक फुट्ने, फेरि स्वार्थ पूरा गर्न जुट्ने, अनि त्यसैलाई सिद्धान्तको लेप लगाउने वर्षौंदेखिको बानी अहिले पनि उस्तै देखिन्छ । यसले एकातिर राजनीतिको नाममा कलंक थपिरहेको छ भने अर्को कुरा देशलाई पनि अस्थिरताको दलदलमा फसाइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *