बारपाकमा जाेखिम बढ्दो, चिकित्सकको टोली जाने
गोरखा । बारपाकमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिने क्रम बढेपछि रोकथाम र नियन्त्रणका लागि सहयोग गर्न बारपाक सुलिकोट गाउँपालिकाले आग्रह गरेको छ ।वडा नं १ र २ समेटिएको बारपाकमा पछिल्लो दुई हप्तामा केहीको परिक्षण गरिएपनि लक्षण भएका सबै बिरामी परिक्षणको दायरामा नआउँदा समस्या भएको पालिकाले जनाएको छ ।
स्थानीय परीक्षणको दायरामा नआएकाले संक्रमितको पहिचान गरी उनीहरुलाई अलग्गै राख्न नसक्दा जोखिम बढ्दै गएको गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले बताए ।
बिहीबार प्रेस विज्ञप्ति निकालेर अध्यक्ष भट्टले गाउँमा देखिएको महामारी नियन्त्रणका लागि जनप्रतिनिधिसहित संघ र प्रदेश सरकारलाई पनि आग्रह गरेका हुन् । उनले बिरामी सबैलाई परिक्षणको दायरामा ल्याउन सहयोग गर्न सबैलाई आग्रह पनि गरेका छन् ।
बारपाकमा महामारी नियन्त्रणका लागि पालिकासँग भएको जनशक्ति र क्षमताले नपुग्ने भएकाले डाक्टरसहितको टोली पठाउन उनले संघ र प्रदेश सरकारलाई आग्रह गरेका छन् ।
महामारी नियन्त्रण गरी स्थिती सामान्य बनाउनका लागि पहल गरिदिन उनले सबैलाई अपीलसमेत गरेका छन् । गएराति मात्रै बारपाकमा ३ जनाको मृत्यु भएको छ । मृत्यु भएका तीनै जनामा केही दिनदेखि रुघाखोकी र ज्वरोको संक्रमण रहेको स्थानीय बासिन्दाले बताएका छन् ।
बारपाकमा हालसम्म ३ चरणमा एक सय १३ जनाको कोरोना परीक्षण गरिएकोमा ६३ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये ३ जनाको मृत्यु भइसकेको गाउँपालिकाको स्वास्थ्य शाखाको विवरणमा उल्लेख छ । तर रुघाखोकी, ज्वरोलगायतका लक्षणसहित जेठयता बारपाकमा मृत्यु हुनेको संख्या १० पुगेको स्थानीयबासिन्दाको भनाइ छ । गाउँमा दुई सातादेखि रुघाखोकी र ज्वरोका बिरामी बढेपनि उनिहरुको परिक्षण नहुँदा समस्या भएको स्वास्थ्यकर्मीले बताएका छन् ।
चिकित्सक टोली बारपाक जाने
यसैबिच, गण्डकी प्रदेश र गोरखा अस्पतालका चिकित्सकको टोली बारपाक जाने भएको छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयबाट ३ डाक्टर, ३ नर्स र ३ ल्याब टेक्निसियनसहितको टोली आउने र टाेलीकाे साथमा जिल्लाबाट पनि स्वास्थ्यकर्मीको टोली पठाउने निर्णय भएकाे जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले जनाएकाे छ । केन्द्रको बैठकले गोरखा अस्पतालका डाक्टर सन्दिप श्रेष्ठको नेतृत्वमा २ जना ल्याब टेक्निसियनसहित चार जनाको टोली खटाउने निर्णय गरेको हो ।