कोरोनाकालमा भाइरस र भीडको दोहोरो मारमा स्वास्थ्यकर्मी

‘भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमण । एक तल्लामाथि झ्यालबाट हाम फालेर ज्यान जोगाए ।’

एकाबिहानै उठ्नासाथ मोबाइल स्क्रीनमा यो समाचार देख्नुपर्दा कसको मन पो हतप्रभ नहोला ? म त झनै स्वास्थ्यकर्मी !

समाचारअनुसार भेन्टिलेटरमा रहेका आफ्ना बिरामीको ज्यान गएपछि हिजो बेलुका हुलहुज्जत गर्न पुगेका रहेछन् आफन्त(?)हरू । उपचारमा संलग्न नर्सको घाँटी अँठ्याइएछ । चिकित्सक–नर्सहरुको भागाभाग भएछ । कोही बाथरुममा लुक्न पुगेछन् । कोही भने झ्यालबाट हाम फालेर ज्यान बचाउनतिर लागेछन् ।

हरे शिव ! कस्तो देश यो ? महामारीको समय छ । करीब सात हजार नेपालीले यसैका कारण ज्यान गुमाइसके । डर, त्रास, मृत्यु सबैतिर व्याप्त छ । देशका ७७ मध्ये ७४ जिल्ला निषेधाज्ञाका कारण ठप्प छन् । राजधानीमा नै कडा बन्दाबन्दी लागेको छ । अफिस, पसल, यातायात सबै बन्द भएर प्रायः सबै पेशाकर्मीहरु ‘वर्क फ्रम होम’ भनेर आफ्नो घरमा अनि आफ्नै परिवारसँग बसिरहँदा मनभित्रको डर, माया, प्रेम, ममता सबैलाई ‘मुटुभित्रै ढुंगाले थिचेर’ अस्पतालका वार्ड, बेड आदिकै सेरोफेरोमा आधा पेट अनि अनिँदो समय काट्न विवश छन् स्वास्थ्यकर्मीहरू । तर पनि ती स्वास्थ्यकर्मीहरुले आफ्नो धर्म छाडेका छैनन् । स्वेच्छाले बिरामीको उपचार सेवामा दत्तचित्त भएर लागिरहेका छन् । तर तिनले नै कुटाइ, धम्की खानुपर्ने ? भाइरस संक्रमणको डर त सकभर पचाएरै काममा लागिरहेका छन् ती, अब ‘कसले कुट्ने हो?’ भन्ने भयमा नै बाँच्नुपर्ने तिनले ? थरथर काँपेरै काम गर्नुपर्ने ?

हिजो भेरीमा घट्यो यो घटना । गत हप्ता कोशी (विराटनगर) मा यस्तै भयो । अझ अघि जनकपुरमा त्यस्तै नै भएको थियो । के स्वास्थ्यकर्मीहरुको नियति नै हो यो ? यहाँ स्वास्थ्यकर्मी भन्नाले डाक्टरहरूमात्र होइनन्, नर्स, हेल्थ असिष्टेन्ट, ल्याब टेक्निसियन, रेडियोग्राफर, अनमी, सिएमए, सफाइकर्मी आदि अस्पतालमा कार्यरत सबै नै पर्दछन् ।

वास्तवमा अहिले त राज्य संयन्त्र सबै नै स्वास्थ्यकर्मीहरुको मनोबल उकास्न, तिनलाई उत्साहित बनाएर कार्यक्षेत्रमा सतत प्रेरित गरिनुपर्ने थियो । विदेशतिर त्यस्तै नै भइराखेको पनि छ । तर हाम्रोमा ? तिनै डाक्टर, तिनै नर्स पिटिने ! अनि तिनैबाट पिटिने, जसको ज्यान जोगाउन आफ्नो परिवार, सुखसुविधा त्यागेर तिनीहरु लागिरहेछन् । भोकतिर्खा, प्राकृतिक दैनिकी (दिसापिसाब, महिनावारी), सरसफाइबिना, पटुका कसेर, डाइपर लगाएर, गह्रुंगो पिपिई (कतै कतै बिनापिपिई) मा निस्ससिएर कर्मक्षेत्रमा लागेका ती बिनाबर्दीका सिपाही ! हरे ! यस्तो समयमा तिनलाई पिट्न तम्सने‚ कस्तो आपराधिक मानसिकता ? गुणवेत्ता त हुन नपर्ला नै तर निर्गुणी नै समाज भएको ठाउँमा के भन्ने ?

कवि शीरोमणि लेखनाथ पौडेलले त भनेकै छन् नि:

‘गुणग्राही जहाँ छैन, बेकम्मा छन् त्यहाँ गुणी ।
कौडीमा पनि मिल्कन्छन् भिल्लका देशमा मणि ॥’

हो, साँच्चै नै यो समाज गुणग्राही नभएकै अनि निर्गुणी नै समाज हो ।

सम्झन्छु, महामारीको समय, स्वास्थ्यकर्मीहरुबाट गुणस्तरीय रुपमा काम लिन तिनको तलबभत्तामा वृद्धि गर्नुपर्ने थियो निःशर्त । तर अस्पताल, मेडिकल कलेज तिनकै ५०–७५ प्रतिशतसम्म तलबकट्टी गर्न हिच्किचाउँदैनन् । म नै पनि त्यसैको भुक्तभोगी हुँ‚ विगत डेढ वर्षयता । जोखिम भत्ता, अतिरिक्त भत्ता, बीमा आदिका कुरा भाषणमा आउँछन् , पत्रपत्रिकाका हेडलाइनमा आउँछन् तर स्वास्थ्यकर्मीको खाता या गोजीमा कहिल्यै देखा पर्दैनन् । अरुले अनलाइन, ‘वर्क फ्रम होम’ गरेरै नियमित पाउने तलब सधैं फ्रण्टलाइनमा अनि सधैं नै फिल्डमा काम गर्ने स्वास्थ्यकर्मीहरुको हातमा महिना मरेर अर्को महिनाको अन्त्य आइपुग्दासम्म पर्दैन । यस्तो छ विडम्बना ! तर पनि मानवीयता, नैतिकता, ईथिक्स, व्यावसायिकता आदि भनेरै स्वास्थ्यकर्मीहरुले आफ्नो काम छोड्न सक्दैनन् । तर अब त मुक्का-लात्तीकै कुरा आइसक्यो, भौतिक आक्रमण अनि ज्यानमा नै खतरा हुने भइसक्यो । कसरी सहने ? अनि कहिलेसम्म सहने ?

ट्याक्सीको मिटररिडिङ्गमा कडाइ गर्ने प्रस्ताव आउँदा सबै ट्याक्सीवालाहरु आफ्ना सबै ट्याक्सी खुल्लामञ्च अनि बाटोमा नै तेर्स्याएर सरकारलाई झुकाउन सफल हुन्छन् । ट्याङ्करहरुको तेल घोटालाको मुद्दामा ट्याङ्करवालाको युनियनले त्यसै गर्दछन् । यातायात व्यवसायी त्यही गर्छन्, कर्मचारी संगठन त्यस्तै कदम चाल्दछन् । तर हामी स्वास्थ्यकर्मीले आफ्नो सुरक्षाका विषयमा एक स्वरमात्र उठाउन खोज्दा उपभोक्ता संघ, मानव अधिकारवादीहरुको ज्यादा विरोध रहन्छ । मेडिकल काउन्सिलहरू ईथिक्सको हतियार उचाल्छन् । फेरि हामी स्वास्थ्यकर्मीहरु स्वभावैले कोमल छौं, नैतिकताविहीन बन्द र हड्ताल त हामी गर्न पनि सक्दैनौं । तर हाम्रो ज्यानको सुरक्षाको चिन्ता पनि हामीले गर्न नसक्ने/नपाउने ? ‘अन्याय सहनेहरू पनि दोषी हुन्छन्’ भनेर हाम्रै श्रीमद्भगवद्गीता अनि नीतिशास्त्रहरुले पनि भन्छन् । हामी कतिन्जेल सहने ?

अरु केही नभए पनि, हामीमाथि लापरवाहीको अनाहक आरोप लगाउने, बिनापरीक्षण अनि न्यायिक पुनरावलोकनबिना कानुन हातमा लिएर आक्रमण नै गरी ज्यानकै धम्की दिनेहरुबाट त जोगाऊ । कसलाई भन्ने ? सरकार ? मेडिकल/प्रोफेसनल काउन्सिल/एसोशिएसन ? कमसेकम हामीले वर्षौंदेखि माग्दै आएको बिनाधरौटी कारागार (जेल विथाउट बेल) को प्रावधान त लगाइयोस् ।

स्वास्थ्य सेवा विशिष्टिकृत अनि अत्यावश्यकीय सेवा होइन र ? झनै महामारीमा त यो नै अत्यावश्यक सेवा होइन र ? अरु जे पायो त्यहीमा अध्यादेश ल्याउन सक्ने सरकारले यो महामारीको समयमा विशिष्ट सेवा अध्यादेश ल्याउन सक्दैन र भन्या ? कसले रोक्छ उसलाई ? यसमा पहलकदमी लिन ढिलो भइसक्यो । ‘कानमा तेन हालेर’ नबस न हो‚ सम्बन्धित पक्ष ।

तर कसले सुन्ने यो ?

सुन्नेलाई सुनको माला !!!

(धुलिखेल अस्पतालका मानसिक रोग विशेषज्ञ डा रिसाल काठमाडौं विश्वविद्यालयका सह–प्राध्यापक हुन्)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *