झरी..एक गतिशीलता !

कति धेरै गतिशीलता ? उफ्फ…चिच्याइदिऊँ झैँ लाग्ने । दर्किरहेको झरीले मलाई किन किन आज एकाबिहानै बगूँ बगूँ बनाइदिएको छ । कहाँसम्म पुग्ने होला म ?… यही कल्पनामा हराएर कति समयसम्म पो हो तुवाँलोभित्र लुकेका धुमिल डाँडाहरूको आङ कोट्याइरहेछु । डाँडाहरूका आङमा विराजमान धुलो जमेका मयलहरू माडिरहेछु । धुलोहरू…सीमाहीन स्वतन्त्रताको । धुलोहरू…लावारिस उद्देश्य र उडानहरूका । कहाँसम्म पुग्ने होला म ?… उफ्फ… कति धेरै गतिशील मनस्थिति आज मेरो ? म किन आज यसरी बगेको ? म किन अहिले यसरी पोखिएको ? म कसरी पो हुबहु झरीजस्तै भएको ? झरी जस्तै झरीरहेको ? झरीजस्तै पोखिइरहेको ?

जेठको मध्य दिन हो आज । रातभर झरी पर्‍यो । झिसमिसेभर झरी पर्‍यो । बिहानी लालित्य देखिएन । घाम देखिएन तर उज्यालो भयो । क्षितिज देखिएन तर हलुका न्यानो भयो । तर, झरी.. ? झरी झरी रहेको छ । अनवरत रूपमा झरी रहेको छ । आहार खोज्न कुनै घाम चर्को मध्यान्हमा निस्किएका कमिला ताँतीहरू झैँ । जाडो छल्न खर्कदेखि मध्य पहाडी क्षेत्रतर्फ ओर्लिरहेका भेडाको बथान झैँ । निरन्तरता सिवाय अर्को थोक केही छैन । गतिशीलतामात्रै छ । बस् ! गतिशिलता… ।

…झरी रोकिएला ? म यो कल्पना पनि गर्न सक्दिनँ । मलाई यतिखेर यहीमात्रै लागिरहेछ… झरी अझ झर्नेछ… अझ बर्सिनेछ । …अझ बग्नेछ… । अझ झर..झर..आवाज निकालेर मलाई यसैगरी वशीभूत पारिरहेनछ… मोहनी लगाइरहेनछ ।

झरी परिरहेछ, के रोकिएला पनि ?
प्रश्न प्रेमिल छ, जवाफ किन चाहियो ?

वर्ष दिनअघि यस्तै कुनै दिनमा आफूले लेखेका यी हरफहरू जोडजोडले सुसेल्दै हत्केलाभरि पानीका बुँदहरू उठाउँछु अनि आफ्नो मुखको सम्पूर्ण भूभागलाई निथ्रुक्क भिजाइदिन्छु । जिब्रोले चाट्छु । ओठभर लतपत पार्छु । प्रेमिकाको ओठ चाटेझैँ… बच्चोले आइसक्रिम चाटेझैं… अचार मुछेपछि औंलाऔंलाको काँप चाटेझैं । उफ्फ… कति जोगाउन मन लागेको मलाई यो प्रहर… यो क्षण ? कसरी भरौँ सम्पूर्णतः आफूलाई अनि कसरी निखारौँ छताछुल्ल बनाएर आफूलाई ? के गरौँ… कसरी गरौँ ? कसरी बटुलौँ यो सर्वकालीनताजस्तो खुसी ? कसरी अँगालौँ पूर्णताजस्तो सन्तोष ? मलाई यतिखेर खुसी र सन्तोषको वैचारिक गन्थनमा उत्रनु नै छैन । जे हो, त्यो त्यही हो । मलाई यतिखेर लागिरहेछ सर्वाकालीनता नै खुसी हो, पूर्णता हो । नभए पनि के… झरिरहेको झरीको ‘झर.. झर..’ले त यही भनिरहेछ । यही बताइरहेछ ।)

उफ्फ..यो समयलाई ग्वामल्याङ्ग अँगालो मारेर बस्न मन छ । यसलाई कुनै पनि हालतमा, कुनै पनि सर्तमा छोड्न मन छैन । कुनै बुढ्यौली कायाले बडो जतनसाथ सँगालेको यौवनको लालित्यजस्तो, आफ्नो पुरानो भित्री वस्त्रजस्तो । ..डम्म फुलेका र फैलिएका आफ्ना गोला-डोला स्तनलाई अंगालिरहने भित्री वस्त्रजस्तो, जसले आफ्नो सुगठित र कसिएको जीउको असीमित सम्झना दिलाउँछ ।…अनि त्यसमा डाम छाडेर अलप भएको आफ्नो प्रीचिन लुखुरे तर बौद्धिक अन्दाज-ए-बयाँको पहिलो प्रेमीको अनगिन्ती म्वाइँ र चुम्बनका डोबहरू जस्तो । सक्दो सामर्थ्यले हृदयले टासौँ जस्तो । सक्दो बलले अँगालोमा कसरीरहूँ जस्तो… ।

म यतिखेर हुबहु सोही बुढ्यौली कायाको भावनात्मक बौद्धिकतालाई चकमा दिने गरी पागल भएको छु । लागिरहेछ, मानौँ यो दिन/यो प्रहर मेरो सम्झनामा रहिबस्ने… मलाई हरबखत लखेटिरहने भूतपूर्व प्रेमिकाज्यूको सोही तातो हत्केला हो, चिसो परेली र न्यानो हृदय हो । यसैमा लडीबुडी खेलौँ… यसैमा मुर्छा परौँ । यसैमा पुल्टुङबाजी मारौं ।

यसबाट किञ्चित् पर नजाऊ… यहाँमा कदाचित् पैताला नउठाऔँ । बस्… यो दर्के झरीलाई समाइरह्यौँ । यसलाई आफ्नो औँलाका हरेक काँप-काँपमा खस्न दिऊँ । आफ्ना हत्केलाबाट बारबार खस्न दिऊँ र कत्ति पनि जोड नगरौँ कि यसलाई हत्केलाले समाइरहोस् । बस… मेरो हत्केलामा झरीले चुमिरहोस् अनि मेरो रापले रापिएर पग्लिएर भुईँको दुबोमा खसिरहोस् । …म यसो बेलामौकामा भुँइको दुबोलाई पनि आँखा मारिदिन्छु ! ऊ खिस्स खिस्काउँछ । ..एक बेसोमत हर्कत..! पटक्कै लाज नभएको मोरो..! शायद सो दुबो झरीले आफूलाई भन्दा पहिले मलाई चुमेको रीसले चुर चुर छ..आक्रोशले पुरापुर छ.. । सक्दो हो- ऊ उठ्ने थियो र, अजङ्गको रुखको स्वरूप धारण गरी, आफ्ना लामा-लामा लहराले मलाई बेर्ने थियो । र, मलाई निलेर सन्तोषको श्वास लिने थियो । हाय ! कति डरलाग्दो तर मोहक कल्पना ?..कति सार्थक कल्पना ? म आफ्नै कल्पनाशक्तिसँग पोइला गइदिन्छु यतिखेर । चाहे जे सुकै हो… जस्तो सुकै होस्… आफ्नै कल्पनाशक्तिको पागलप्रेमी होइदिन्छु । …कल्पनाशक्तिको हात समातेर क्षितिज नाघौँ… आकाश च्यातौँ र जूनताराहरूको कान-कानमा साउती भरौँ ।

‘अरे ! तिमिहरूलाई थाहा छ… म मेरो कल्पनाशक्तिसँग पोइला हिँडेको नि !’

‘अरे, तिमिहरूलाई थाहा छ…मलाई मेरो कल्पानाशक्तिले एलीयनहरूसँग भेट गराउँछु भनेको छ नि !’

हाहा..मलाई आज यो के भएको ?…आफ्नै कल्पनाशक्तिसँग को पोइला हिँड्छ बे ? तर, अहँ… मलाई यो प्रश्नको जवाफ दिनै मन छैन । यो एक असम्भव सोचाइको क्षितिज हो । बहुलठ्ठी हो । दिवानापन हो । फकिराना अन्दाज हो । दिल्लगीबाज हो । शतप्रतिशत उडन्ते… शतप्रतिशत बतासे मन्त्रमुग्धता । शतप्रतिशत उरन्ठ्यौलो हर्कत ।

सम्भावनाको लेसमात्रै छैन तर यो मलाई के भएको हो ? म यो सम्भव देखिरहेछु । सार्थकताको क्षितिज मात्रै देखिरहेछु हरक्षण । जहातहीँ… जसोगरी पनि । आफ्नै कल्पनाको बाहूपासमा बेरिरहेछु… आफ्नै मनचिन्ते झोलामा लुसुक्क पसेर खुसुक्क… खुसुक्क… मुसुक्क… मुसुक्क… खित्खिताइरहेछु… मुस्कुराइरहेछु ।

झरी झरिरहँदा समय साह्रो गतिशील हुन्छ । म अनुभूत गर्न सक्छु… खोल्सा र खोल्सीले गति समातेका होलान् । म अनुभूत गर्न सक्छु, खेत खलियानमा खेतीबाली र वनस्पतिहरू हलक्क… हलक्क बढ्दै होलान् । किसानहरू खेतबारीतर्फ दौडिरहेका होलान् । चरा-चुरुंगी सुरक्षित वासस्थानको खातिर दौडादौड गरिरहेका होलान् । होलान्- कोही झरीसँग रिसाइरहेका होलान्, कोही झरीसँग ठुस्किरहेका होलान् । कसैले रेनकोट बिर्सिएका होलान् । कसैले छत्री घरमै छोडेका होलान् । कोही हिलाम्मे सडकमा लडेर झरीलाई सरापिरहेका होलान् । तर कोहि स्थिर छैनन् । हरेक अस्थिर छन्… गतिशील छन् । यतिबेला स्थिर रहेर काम पनि छैन..यो गर्भधारणको समय हो ।

खुसीको गर्भधारण, सन्तोषको गर्भधारण । अन्नबाली लगाउने समय पनि यहि हो । कान्ले घाँस डोका-थुन्सेमा भर्ने समय पनि यहि हो । बाख्रा र भैंसी दाम्लो बाधिएर भए पनि हरियो घाँसका गाँज निल्न आँतुर छन् । यसैले त भनेको हो, हरेक जीव-वनस्पति-वस्तुले गतिशीलता समातेका छन् । पुसको ठिहिरोभाँती लुगलुग काम्दै हरकोही घामको मुख ताकिरहेका छैनन् । …घामलाई पर्खिएर लामो लामो पट्यारलाग्दो हाइ ओकलिरहेका छैनन् । आङ कन्याइरहेका छैनन् । दिक्दारी र विरक्तिको लपेटोमा लपेटिएका छैनन् । सबको काम बित्दो छ… सबको मन उत्ताउलिँदो छ । हरेक आ-आफ्ना काम, आफ्ना कर्म र उपजहरू सक्न लागिपरेका छन् । कतै कोही विश्रामलीन अवस्थामा छैनन् । कतै कोही थकाइ अनुभूत गरिरहेका छैनन् । बादल पोखीरहेको छ । माटो पग्लिरहेको छ । ढुङ्गा चोइइरहेको छ । खोलानाल समुन्द्रतर्फ हानिएका छन् । किम्बु र खर्सेतोमा पालुवा फिरेको छ, जोवन पलाएको छ । अन्नबाली हुर्कँदै छन् । जीवजन्तु जिउ फट्कार्दै आहाराको खोजीमा निस्केका छन् । आ-आफ्ना रुचीका र स्वादका भोजन अन्वेषण, संरक्षण गरिरहेका छन् ।

र, म ?

म बस्, बार्दलीमा बसेर घरी आफ्नो कल्पनाशक्तिसँग पोइला हिँडिरहेको छु, घरी प्रेमिकाज्यूको सम्झनामा भौँतारिरहेको छु । त्यसभन्दा बढी आधा गिलास तातो चिया एक चुस्कीमात्रै पिएर सेलाइरहेछु । सो चियाको गिलासलाई हेरेर हाँसिरहेछु । अनि हाँसोको खित्का ओकल्दै झरीलाई छामिरहेछु… उसलाई कहिले टाउकोतिर, कहिले छातीतिर दलिरहेको छु । एक आर्द्रताले भरिपूर्ण चिस्यानलाई आफ्नो शरिरमा लेपन गरिरहेछु । म फेरि फर्किएर… सामुन्ने रहेको चियाको गिलासतर्फ हेर्छु । हेर्दाहेर्दै गिलास भरिँदै जान्छ । म छक्क पर्दिनँ… मलाई थाहा छ, बाँकी चिया होइन झरी हो । चिया त आधा गिलासमात्रै थियो । बाँकी त झरी हो । म जान्दिनँ, यो गिलासको तरललाई अब के नाम दिने हो ? झरी भन्न पनि नमिल्ने, चिया भन्न पनि नमिल्ने । …न तातो, न चिसो । न चिनी लागेको, न खल्लो । चियापत्तीको पनि स्वाद, झरीको पनि स्वाद ।

…म चुपचाप गिलास उठाउँछु र सो तरल चुपचाप घुट्काइदिन्छु ! तनतनी पिइदिन्छु । हाय ! एक मनतातो अनुभूति..एक मनतातो सुखानुभूति । …एक आकारविहीन हर्षातिरेक क्षण । एक रुप-रंगविहीन भावुकता छाएको समय चौतारी… देउराली । बस्, यहीँ बसिरहूँ । यसैलाई निलिरहूँ । यसैलाई घुट्काइरहूँ ।

यार… कति हो कति असीमित तृप्ति र सन्तुष्टिले म आजको यो दिनलाई जोगाउन चाहन्छु । बस ! जोगाउन चाहन्छु । यसपछि गरुँला पूर्णताका कुरा… यसपछि गरुँला सर्वकालीनता कुरा… यसपछि गरुँला जीवन-मृत्युका कुरा । यसपछि गरुँला तथाकथित बौद्धिकता र रेडिमेट साध्य-सिद्दान्तका कुराहरू । …यतिबेला त बस् ! म आफूलाई गतिशील बनाइराख्न चाहन्छु । झरीलाई आफ्नो हत्केलामा भरिरहन चाहन्छु र औंलाऔंलाको काँपबाट पोखिरहन दिन चाहन्छु । आफूलाई सबैप्रकारले झरी बनाउन चाहन्छु ।

म आकाशदेखि धर्तितर्फ हाम्फालेको हूँ

यार… म आफ्नै पैतलादेखि उम्रिएको हूँ ।

अस्तु !

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *