स्वास्थ्यकर्मीमाथिको आक्रमण खेदजनकः हेल्प फर हेप्पीनेस
काठमाडौं । हेल्प फर हेप्पीनेस सुदूरपश्चिम प्रदेशले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने व्यक्तिहरुलाई कारबाहीको माग गरेको छ । नेपालगञ्जस्थित भेरी अस्पतालका डाक्टर र नर्सहरूमाथि आक्रमण हुनु निकै खेदजनक कार्य भएको हेल्प फर हेप्पीनेसले उक्त आक्रमणमा संलग्नहरूलाई कारबाहीको माग गरेको हो ।
प्रदेश संयोजक धनश्याम भण्डारीले विज्ञप्ति जारी गर्दै यसले चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोबल घटाउन काम भएको बताएका छन् । ‘सुदूरपश्चिम, कर्णाली र लुम्बिनीको कोभिड संक्रमितको उपचार केन्द्रका रुपमा रहेको अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र नर्समाथि भएको आक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सांघातिक आक्रमण र तोडफोड गर्ने जस्तो कार्य अपराधिक मानसिकताको उपज भएको हाम्रो ठहर छ ।’
महामारीका बेला ठूलो जोखिम लिएर स्वास्थ्यकर्मीहरु बिरामीको उपचारमा दिनरात खटेका भन्दै हेल्प फर हेप्पीनेसले स्वास्थ्यकर्मीमाथि भएको घटनाको तत्काल छानविन गरी आक्रमणमा संलग्नमाथि कडा कारबाही गर्न माग गरेको हो । साथै स्वास्थ्यकर्मीलाई सुरक्षाको प्रत्याभूति दिलाएर काममा फर्किने वातावरण मिलाउन सरकारसँग आग्रह पनि गरिएको छ ।