महाव्याधिमा माैन बाैद्धिक थलाे

विश्वव्यापी कोभिड-१९ को महाव्याधिका कारण देशका सबै क्षेत्रहरु प्रभावित भइरहँदा उच्च शिक्षाको क्षेत्रमा अहिले ठुलो क्षति भइरहेको छ । देशकै पुरानो त्रिभुवन विश्वविद्यालय पनि यसबाट अछुतो रहेन । कोरोना महामारीको दोस्रो लहर चलेको एक महिनाभित्र त्रिविमा कार्यरत दुई दर्जनभन्दा बढी शिक्षक तथा कर्मचारी र निजहरुका आफन्त समेतले ज्यान गुमाएका छन् । त्रिविका पदाधिकारीहरुसहित सयौं शिक्षक कर्मचारी कोरोना संक्रमित भई होम क्वारेन्टाइन, आइसोलेसन हुँदै आईसीयू तथा भेन्टिलेटरसम्म भर्ना हुने र कोभिडमाथि विजय प्राप्त गरी फर्कने क्रम जारी छ । यस विषम परिस्थितिमा त्रिभुवन विश्वविद्यालयको नेतृत्वसामु के कस्ता अवसर र चुनौती छन् भन्ने कुराको सानो समीक्षा यो लेखमार्फत गर्न खोजिएको छ ।

विश्वविद्यालयभित्रका अवसर
विश्वमा कोरोना महाव्याधि डरलाग्दो गरी फैलिरहँदा विकसित मुलुकहरुमा विश्वविद्यालयहरू कोरोनाविरुद्धको भ्याक्सिन उत्पादन गर्न र आफ्नो पेटेन्ट अधिकार दर्ता गर्न प्रतिष्पर्धा गरिरहे । तर नेपालका स्थापित एक दर्जन विश्वविद्यालयहरू विश्वविद्यालयको ढोका बन्द गरेर आईसोलेसनमा गए । यत्रो महाव्याधीको समयमा विश्वविद्यालयहरुले आफ्नै इनिसिएसनमा स्वतःस्फुर्त केहि अध्ययन, अनुसन्धान गरेको देखिएन । न त राज्यले विश्वविद्यालयहरुलाई प्राज्ञिक एवम् बौद्धिक योगदान गर्न नै अनुरोध गरेको सुनिन्छ, न त विश्वविद्यालयहरू नै अग्रसक्रिय भएर राज्यलाई पृष्ठपोषण प्रदान गर्न तत्परता देखाउँछन् । यसले विश्वविद्यालयहरुलाई महाव्याधिले सिर्जना गरेको योगदान गर्ने अवसर गुमाउँदै गएको आभाष होला कि नहोला ?

त्रिविले विश्वविद्यालयको नामबाट त्रिवि शिक्षण अस्पताल, अन्य सम्बन्धनप्राप्त मेडिकल कलेज र आयुर्वेद अस्पताललगायत पूर्वाधारको उपयोग गर्दै स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण वैज्ञानिक खोज अनुसन्धानको कार्य गर्ने ठुलो अवसर छ नि ! नेतृत्वले नीतिगत निर्णय गरेर ठोस कुनै पहल कदमी गरेको छ ? अनुसन्धान सहयोगको लागि नेतृत्वले सरकारसँग गम्भीर भएर सम्वाद, छलफल, बैठक गरेको खोई ?

पूर्वाधारको हिसाबले हेर्ने हो भने त्रिवि अन्तरगतका चिकित्साशास्त्र अध्ययन संस्थान, विज्ञान प्रविधि अध्ययन संस्थानहरू नेपालमै नमूना छन् । विज्ञान तथा प्रविधि अध्ययन संस्थान र यस अन्तर्गतका विभागहरुलाई त्रिविले वैज्ञानिक अनुसन्धानको लागि संलग्न गराउन सक्छ । विश्वमा नाम चलेका विश्वविद्यालयहरू‚ जुन विश्वविद्यालयहरुमा हाम्रा प्राध्यापकहरुले पिएच.डी. अध्ययन गरेर फर्कनुभएको छ, ती संस्थाहरुसँग अन्तर्राष्ट्रिय सम्बन्धन केन्द्रमार्फत् वा प्राध्यापकहरुले सिधै सम्पर्क गरेर विद्वान प्राध्यापकहरुसँग मिलेर अनुसन्धानमा संलग्न हुन, गराउन पहल गर्न सकिन्छ । त्रिविले विगतमा १६०भन्दा बढी विश्वविद्यालयसँग सहकार्यको एमओयु गरेको यस्तै परिस्थितिमा सहकार्य गर्नको लागि होइन र ? अन्तर्राष्ट्रिय सम्बन्धन केन्द्रले के पहल गरिरहेको छ ?

अझ त्रिभुवन विश्वविद्यालयमा त सूचना प्रवाहका लागि के कस्ता संयन्त्र छन् ? ती परिचालित छन् कि छैनन् ? भन्ने कुरा कसैलाई थाहै छैन । मिडियामा कुनै पनि सूचना सार्वजनिक नहुँदा आम मानिसको बुझाइमा विश्वविद्यालयका सबै संयन्त्रहरू महाव्याधिबारेको अनुसन्धानको मामलामा प्रायः निष्क्रिय छन् भन्ने धारणा बन्दै गएको छ । यसले गर्दा विश्वविद्यालयहरूले देशभित्र नै ठोस अनुसन्धान गरेर नतिजा सार्वजनिक गरी राज्यलाई दिशानिर्देश गर्न सक्ने अवसरबाट विश्वविद्यालय नेतृत्व चुक्दै गएको देखिन्छ ।

‘अवसर आउँछ तर पर्खंदैन’ भन्ने पुरानो नेपाली भनाइलाई विश्वविद्यालय नेतृत्वमा आसीन सबैले मनन गर्न सकेका छैनन् । विश्वविद्यालयको नेतृत्व गरिसक्नुभएका पूर्वउपकूलपतिहरूले राजनीतिक विषयहरुमा सामुहिक रुपमा प्रेस विज्ञप्ति निकालेर सरकारलाई निरन्तर खबरदारी गरिरहेका छन् तर विश्वविद्यालयहरुको सुधारको क्षेत्रमा पदाधिकारीहरू, शिक्षक कर्मचारी र विद्यार्थीहरूलाई पक्षमा कहिल्यै सामुहिक आवाज उठाएको सुन्न पाइएको छैन ।

त्रिभुवन विश्वविद्यालयलाई मार्गदर्शन गरेर अगाडि बढाउन पूर्वउपकुलपतिहरूले पनि अवसरको सदुपयोग गरिरहेका छैनन् । पूर्वपदाधिकारीहरुमध्ये महत्वपूर्ण पदाधिकारीहरू शिक्षाध्यक्ष र रजिष्ट्रार पदमा आसीन भइसकेकाहरु‚ जसले विश्वविद्यालयको नेतृत्व गरिसकेका छन्, उनीहरूले संगठित रुपमा विश्वविद्यालयलाई मार्गदर्शनको लागि पहल कदमी गर्न सक्नुपर्ने हो । तर यस्तो बौद्धिक समुदाय विश्वविद्यालयको सम्पर्कमा नभएर हो कि किन होला ? सबै आफ्नो बौद्धिकतालाई सिरानीमा राखेर निषेधाज्ञाको सोझो पालना गरेर घरभित्र थुनिएका छन् । आवश्यक परेको बेला उपयोग हुन नसकेको बौद्धिकताको महत्व कहिले होला ? बहालवाला पदाधिकारीहरुले पनि अग्रजहरुसँगको निरन्तर सम्पर्क, समन्वय, सहकार्य र सहयोगका लागि पर्याप्त प्रयासहरू नगरेर स्वयं अवसर गुमाउँदै गएकाे देखिन्छ । अग्रजहरुलाई समेटेर संगठित गर्ने र संस्थाप्रति सकारात्मक योगदान दिनुपर्ने त्रिवि एलुम्नाई एसोसिएशनको निष्क्रियता पनि वर्तमान पदाधिकारीहरुको बेवास्ताकै एउटा परिणाम हो भन्दा फरक नपर्ला ।

यतिबेलामा कोभिडको कारण सिर्जित जनस्वास्थ्यका सवालमा मात्र होइन, सामाजिक, सांस्कृतिक, मानवीय, धार्मिक, राजनीतिक, शासकीय समस्याहरू धेरै छन् । यस्ता सवालमा विश्वविद्यालयमा निरन्तर अनुसन्धान गरी त्यसको निष्कर्षको आधारमा राज्यलाई सुझाव दिनुपर्ने हो । यसमा न त राज्य चलाउनेलाई चासो छ‚ न त विश्वविद्यालयलाई नै आफ्नो जिम्मेवारी, दायित्व र अवसरको बारेमा जानकारी छ । यत्रो महाव्याधिले देश थिलथिलो हुँदै गएको छ तर विश्वविद्यालय सरकारी निर्देशनलाई पालना गरेर कार्यालयमा भोटे ताल्चा झुण्ड्याएर आदेश पालक बनेको छ । विश्वविद्यालयको नेतृत्वले समयलाई चिनेर त्यसको सदुपयोग गर्नुपर्ने हो, त्यो गर्न सकिरहेको छैन ।

निदाइरहेका विश्वविद्यालयका पदाधिकारीलाई झक्झक्याउने काम पेशागत तथा वर्गीय संघसंगठनहरूको पनि हो । तर त्रिविमा कार्यरत शिक्षक कर्मचारीका वर्गीय संघ संगठनहरू अहिले के गरेर बसिरहेका छन् ? विश्वविद्यालयलाई घच्घच्याउनुपर्ने आधिकारिक त्रिवि प्राध्यापक संघ र त्रिवि कर्मचारी संघको भूमिकालाई पदाधिकारीहरुले किन उपयोग गर्न सकेका छैनन् ?

राजनीतिक दलहरुसँग आबद्ध भई त्रिविमा सक्रिय वर्गीय संघ संगठनहरु प्रजातन्त्रवादी कर्मचारी संघ, प्रगतिशील कर्मचारी संगठनलगायत अरु संघ संगठनहरुको भुमिका आधिकारिक संघ संगठनहरूका नेतृत्वलाई खबरदारी गर्ने होइन ? खोई उनीहरुले देख्न सकिने गरी भुमिका निर्वाह गरेकाे ? यी निकायहरू निष्क्रिय हुँदा महाव्याधिको संकटपूर्ण समयमा पनि विश्वविद्यालयले आपसी सहकार्य गर्ने अवसर गुमाउँदै गएको देखिन्छ ।

कोभिडको महाव्याधिले विद्यालय शिक्षा र उच्च शिक्षा दुवै तहमा अनलाइन शिक्षालाई अनिवार्य आधारभूत आवश्यकतामा परिणत गरिदिएको छ । यो विश्वविद्यालयहरुका लागि सूचना सञ्चार प्रविधिलाई अझ सशक्त रुपमा उपयोग गर्न, व्यवहारिक कार्यान्वयनमा लैजान ठुलो अवसर प्रदान गरिरहेको छ तर त्रिविले थुप्रै प्रयासहरू गरेको सुनिए पनि त्यसको नतिजा के कस्तो आइरहेको छ ? त्यो समीक्षा गरेर सार्वजनिक गरेको देखिएको छैन ।

विश्वविद्यालयभित्रका चुनौती
विश्वविद्यालयले गति लिएको देख्न र सुन्न नपाउनुमा पक्कै पनि धेरै चुनौतीहरुको सामना गरिरहेको हुनुपर्दछ । पदाधिकारीहरुले चाहेर पनि विश्वविद्यालयलाई गति दिन नसकेको पनि हुनसक्छ । आखिर विश्वविद्यालयले महत्वपूर्ण योगदान गर्न सक्ने अवस्थाका चुनौतीहरू के के हुन् त ? पदाधिकारीहरूले आम सरोकारवालालाई सार्वजनिक रुपमा जानकारी दिनुपर्दैन ?

अहिलेको परिस्थितिले निम्त्याएको प्रमुख चुनौती भनेको कोरोनाको महाव्याधिबाट शिक्षक कर्मचारीहरूको जीवन रक्षा नै हो ।

आजको दिनमा कोरोनाविरुद्धको खोपमा सबै शिक्षक कर्मचारीको पहुँच दिलाउनु वर्तमान पदाधिकारीहरुको प्रमुख दायित्व र चुनौती हो । विश्वविद्यालयभित्र हुने मानवीय जनशक्तिको क्षति अपूरणीय हुन सक्छ । त्यसैले प्रमुख सावधानी यसतर्फ हुन जरुरी छ । यसका लागि सरकारी संयन्त्रसँग आवश्यक समन्वय र सहकार्य पक्कै पनि गरेको हुनुपर्दछ । अहिलेको महामारीको समयमा आफ्ना भएका संस्थागत संयन्त्रहरू परिचालन गरेर सूचना प्रवाहलाई व्यवस्थित गरेको पाइँदैन ।

कर्मचारीहरू ढुक्कले घरमा बस्नुपर्ने बाध्यतामा छन् । के कर्मचारीहरुको ज्ञान, सीप, क्षमतालाई पहिचान गरेर न्यूनतम कार्यको जिम्मेवारी दिएर ‘वर्क फ्रम होम’को अवधारणा लागू गर्न सकिँदैनथ्यो ? ‘खाली दिमाग सैतानको घर’ भनेझैँ त्रिविका आम कर्मचारीहरुको दिमागलाई निषेधाज्ञाले सैतानको घर झैं निष्कृय त बनाइरहेको छैन ? अहिले पदाधिकारीहरुका एकदमै वरिपरी रहेका केहि सीमित व्यक्तिहरू परिचालन भइरहेका होलान् तर सिंगो विश्वविद्यालयको संस्थागत संयन्त्र परिचालन भएर काम भइरहेको छ भन्ने आम सरोकारवालाले अनुभूति गरिरहेका छन् जस्तो लाग्दैन ।

त्रिविको कर्मचारी प्रशासन संयन्त्रलाई अहिलेको अवस्थामा सबै अनलाइन प्रविधिमा परिणत गर्न सकिँदैनथ्यो ? अझैं पनि भोलिका दिनमा सामान्य परिस्थिति होला र कार्यालयको झ्यालबाट परम्परागत ढंगले सेवा दिने कल्पनामा नेतृत्व डुबिरहने हो र ? अहिलेको असहज परिस्थितिको सामना गर्दै घरैबाट जोडिने गरी विद्युतीय शासन र कागजरहित प्रशासनको अवधारणाबाट आम कर्मचारीहरुलाई प्रशिक्षित गरेर कर्मचारीहरुको ज्ञान, सीप र क्षमतालाई प्रविधिसँग जोडेर क्षमता विकास गराउँदा संस्थालाई के घाटा हुन्थ्यो ? पुराना कर्मचारी छन्, कम्प्युटर जान्दैनन्, काममा लगाउन सकिएन भनेर विश्वविद्यालय प्रविधिमैत्री बन्नबाट कहिलेसम्म रोकेर राख्ने ? त्रिविको सेवा प्रवाहलाई प्रशासनिक तवरले सूचना प्रविधिमैत्री बनाउने यो एउटा अवसर पनि हो र सँगसँगै चुनौती पनि । यसतर्फ विश्वविद्यालय नेतृत्वले के सोचेको छ ?

विश्वविद्यालयको महत्वपूर्ण उद्देश्य र पुरा गर्नुपर्ने दायित्वको पाटो भनेको शिक्षण नै हो । शिक्षकहरुलाई वैकल्पिक माध्यमबाट शिक्षण सिकाई क्रियाकलापमा संलग्न गराइए पनि विद्यार्थीहरुको पहुँच पर्याप्त नहुँदा विश्वविद्यालयको ठूलो चुनौती बनिरहेको छ । सीमित विद्यार्थीको मात्र पहुँचमा सञ्चालन भइरहेको अनलाइन कक्षाहरुबाट समग्रमा उपलब्धि कति आउने हो, यकीन गर्न कठिन भइरहेको छ । विद्यार्थीहरू वैकल्पिक विधिबाट परीक्षामा सहभागी हुने अपेक्षामा बसिरहेका छन् भने त्रिविले भरपर्दो व्यवस्थापन गर्न सकिरहेको देखिँदैन । अहिलेको सन्दर्भमा विश्वविद्यालयले वैकल्पिक अनलाइन विधिको पठनपाठनलाई पुरै व्यवस्थित बनाइसकेको हुनुपर्दथ्यो ।

वैकल्पिक व्यवस्थाबाट परीक्षा सञ्चालन भइसकेको हुनुपर्दथ्यो । तर यथार्थमा विश्वविद्यालयहरुभित्र उच्च शिक्षाको अवस्था अहिले भद्रगोलको स्थितिमा परिणत भएको पाइन्छ । विश्वविद्यालय नेतृत्वले यो महाव्याधिको विषम परिस्थितिलाई कुशलतापूर्वक नेतृत्व दिन नसक्ने हो भने यसको समाप्तिपछिको परिस्थिति सामान्य भइसक्दा विश्वविद्यालयहरू समयको गतिभन्दा वर्षौं पछाडि परिसकेका हुनेछन् । महाव्याधिसँग जुधेर अगाडि बढ्नुपर्ने समयमा ठोस कदम चालेर प्रविधिको प्रयोगमा बढावा नदिने हो भने आगामी दिनमा विश्वविद्यालयको सेवा प्रवाहको गुणस्तर नराम्रो गरी खस्किने निश्चित छ ।

विश्वविद्यालयको अबको बाटो के ?
त्रिविले मात्र होइन, सबै विश्वविद्यालयका सबै शिक्षक कर्मचारीलाई कोरोनाविरुद्धको खोपमा पहुँच दिई खोप दिलाउन विश्वविद्यालय नेतृत्वले प्रमुख प्राथमिकता दिनुपर्दछ । त्यसपछि केन्द्रदेखि तलसम्म सुधारका लागि के कस्ता रणनीति अवलम्बन गर्न सकिन्छ भनेर बृहत छलफल जरुरी छ । त्रिविको वर्तमान नेतृत्वबाट पक्कै पनि भित्रभित्रै धेरै प्रयासहरु भएका होलान्, तर संयन्त्रमार्फत पर्याप्त सूचना बाहिर नआउँदा त्रिविमा भएका भनिएका राम्रा र अनुकरणीय कामहरू पनि ओझेलमा पर्ने देखिन्छ । यो महाव्याधि शुरु भएयता के के नीतिगत निर्णयहरू भए र के कस्ता निर्णयहरू कतिको कार्यान्वयनमा आए भनेर कहिँ कतै जानकारीहरू सार्वजनिक भएको देखिँदैन । यी वास्तविकताहरू समीक्षा गरेर सञ्चारमाध्यमहरूमा र संस्थाको आफ्नै वेवसाइटमार्फत सार्वजनिक गर्न आवश्यक छ ।

यसैगरी परम्परागत रुपमा कागजी ढड्डामा रहेका त्रिविको केन्द्रीय कार्यालय अन्तर्गतका सबै सेवा प्रवाहहरुलाई डिजिटलाइज गर्न सकिन्छ । ढड्डा पल्टाएर रेकर्ड हेर्नुपर्ने केन्द्रीय कार्यालयको हविगत अब प्रविधिमैत्री हुनुपर्दछ । महिनौं लाग्ने काम छिनभरमा हुने प्रविधिको उपयोग गर्नुपर्ने अहिलको आवश्यकता र समयको माग हो । त्रिविको कर्मचारी प्रशासन महाशाखामा रहेका सोह्र हजार बढी शिक्षक कर्मचारीहरुको व्यक्तिगत विवरणहरुलाई सफ्टवेयरमा हालेर आम सरोकारवालाहरुको लागि पहुँचयोग्य बनाउन सकिन्छ । त्रिविभित्रको शिक्षक कर्मचारीहरुको सरुवा बढुवा र अवकासजस्ता सूचना विवरणहरु घरैमा बसी बसी अध्यावधिक जानकारी लिन पाउने शिक्षक कर्मचारीको हक सुनिश्चितका लागि यो एउटा महत्वपूर्ण अवसर हुन सक्छ ।

शिक्षक कर्मचारीहरुले पदाधिकारी कार्यालयहरुमा टाढा टाढाबाट धाउनुपर्ने, सोर्सफोर्समा मात्र काम हुने, व्यक्ति पछि नलागेसम्म एउटा टेबलबाट अर्को टेबलमा फायलहरू अगाडि नबढ्ने झन्झटिलो अवस्थाको अन्त्य यो महाव्याधिसँगै हुनुपर्दछ । त्रिविभित्रका विकृति, विसंगति र ढिलासुस्ती हटाउने महत्वपूर्ण अवसर हुन सक्छ यो विषम परिस्थिति पनि ।

त्रिविका सारा योजनाहरू कार्यान्वयन गर्ने निकायको रुपमा योजना निर्देशनालयका गतिविधिहरू र निर्णयहरू वेबसाइटबाटै हेर्न र देख्न पाउने व्यवस्था गर्न सकिन्छ । त्रिवि कार्यकारी परिषद् र प्राज्ञिक परिषद्का महत्वपूर्ण निर्णयहरू प्रवक्तामार्फत सार्वजनिक गरेर वेबसाइटमा अर्काइभ गर्न सकिन्छ । सूचना अधिकारीमार्फत तीन तीन महिनामा विवरण सार्वजनिक गर्नुपर्ने दायित्वलाई पुरा गरी कानुनको कार्यान्वयन एवम् परिपालना गर्न गराउन सकिन्छ । त्रिविको आर्थिक क्रियाकलापहरुलाई पारदर्शी बनाउन आर्थिक प्रशासन महाशाखामार्फत अनलाइन कारोबारको एकद्वार नीति अवलम्बन गर्न सकिन्छ । दैनिक विश्वविद्यालयको खाताबाट कति आम्दानी र कति खर्च भइरहेको हुन्छ भन्ने कुरा स्वचालित रुपमा रिपोर्ट अद्यावधिक हुने सफ्टवेयर प्रयोग गर्न सकिन्छ ।

डीन कार्यालयहरूबाट हुने निर्णयहरू डीन कार्यालय र केन्द्रीय कार्यालयको वेबसाइटमार्फत नियमित सार्वजनिक गर्ने संयन्त्र खडा गर्न सकिन्छ । दैनिक पदाधिकारीहरू र निकाय प्रमुखहरू प्रविधिमार्फत भर्चुअल बैठक गरेर परिस्थितिको समीक्षा गर्न सकिन्छ ।

आजको दिनसम्म आइपुग्दा त्रिविमा के यी प्रयासहरु भइरहेका छन् त? कोरोना महाब्याधि अवधिभरको लागि त्रिविमा कार्यरत शिक्षक कर्मचारीहरुको स्वास्थ्य अवस्था के कस्तो रहेको छ? त्रिविको अनुगमन निर्देशनालयमार्फत कोरोना हटलाइन सम्पर्क स्थापित गर्ने व्यवस्था गरी विवरण संकलन गरेर दैनिक अवस्था अद्यावधिक गरी वेबसाइटमार्फत् विवरणहरू अद्यावधि गर्ने व्यवस्था गर्न सकिन्छ । यसको लागि त्रिविका सबै आंगिक क्याम्पस, विभाग, स्कूल, अनुसन्धान केन्द्रहरुमा नियुक्त सूचना अधिकारीहरुलाई थप जिम्मेवारी दिएर आफ्नो निकायका सूचनाहरू केन्द्रीय कार्यालयको सूचना अधिकारीसँग प्रवाह गर्ने व्यवस्था मिलाउन सकिन्छ । यसका लागि संस्थाले प्रोत्साहन गरे सूचना अधिकारीहरुले घरैमा बसेर पनि वास्तविक सूचना प्रवाह गर्न सक्छन् । विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सबै क्याम्पसहरुमा रहेका विद्यार्थी कल्याण प्रमुखहरुलाई परिचालन गरेर विद्यार्थीहरुको अवस्थासम्बन्धी विवरण संकलन गर्ने र नियमित सार्वजनिक गर्ने व्यवस्था मिलाउन सकिन्छ । अहिलेको परिस्थितिमा विश्वविद्यालयका शिक्षक कर्मचारीहरु घरैमा बसेर पनि केहि न केहि संस्थाप्रतिको उत्तरदायित्व निर्वाह गर्न सक्षम छन्, यदि नेतृत्वले उनीहरुलाई परिचालन गर्न नीति र संयन्त्र निर्माण गरेर कार्यान्वयन गर्ने इच्छाशक्ति देखाउन सक्यो भने ।

कोभिड महाव्याधिले नराम्रोसँग प्रभावित भएको विश्वविद्यालयको अर्को महत्वपूर्ण पाटो परीक्षा सञ्चालन र नतिजा प्रकाशनसम्बन्धी व्यवस्थाको चुस्तता हो । परीक्षासम्बन्धी सबै खालका गुनासाहरू नेतृत्वले सुनिसकेको हुनुपर्छ । अहिले परीक्षासम्बन्धी सम्पूर्ण काम कारबाही अनलाइनमार्फत गर्न गराउन परीक्षा व्यवस्थापन सूचना प्रणालीलाई पहुँचयोग्य बनाउन सकिन्छ । अब प्रविधिको प्रयोगबाटै परीक्षासम्बन्धी सम्पूर्ण काम कारवाहीको लागि परीक्षा नियन्त्रण कार्यालय, बल्खु धाउनुपर्ने बाध्यताको अन्त्य हुन जरुरी छ । परीक्षासम्बन्धी सेवा पाउन आम विद्यार्थीहरुले भोग्नु परिरहेको सास्ती र उनीहरुको पीडालाई सम्बोधन गर्ने यो अर्को महत्वपूर्ण अवसर पनि हो र चुनौती पनि त्यति नै छ ।

त्रिविका चारवटा अनुसन्धान केन्द्रहरुमार्फत् त्रिविले देशैभरको कोरोना महाव्याधिको प्रभाव अनुसन्धान गर्न गराउन सक्छ ।

अहिले आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी भइरहेको बेला अनुसन्धानबाट निकालिएको निष्कर्षलाई समावेश गरी महाव्याधिको रोकथाम सन्दर्भमा राज्यलाई तत्काल उपयोगी सुझावहरू प्रदान गर्न सक्छ । एक वर्षदेखि त्रिविका यी अनुसन्धान केन्द्रहरुबाट के के अनुसन्धानमुलक कार्यहरु भए? के कस्ता निष्कर्ष र सुझावहरु निकालियो ? यसको सूचना सार्वजनिक गर्न त्रिवि पदाधिकारीहरुलाई पक्कै पनि कसैले छेकेको छैन होला । यस्तै महत्वपूर्ण अनुसन्धानका नतिजाहरु सार्वजनिक गर्न, त्रिविका समग्र गतिविधिहरुको सूचना प्रवाह गर्नकै लागि त्रिवि प्रवक्ता र सूचना अधिकारीको व्यवस्था गरिएको होइन र ? तर खोई यी संयन्त्रहरुको प्रभावकारी भुमिका ?

त्रिविमा प्रवक्ता र सूचना अधिकारीलाई सक्रिय नपार्नु र उपकुलपति स्वयंले हस्ताक्षर गरी अपिल सार्वजनिक गर्नू, सूचना अधिकारी र प्रवक्तालाई भूमिका नदिई शिक्षाध्यक्षले सूचनामा हस्ताक्षर गरी निर्देशनात्मक आदेश जारी गर्नु प्राज्ञिक निकायमा सुहाउने कुरा होइन । यो त पदाधिकारीहरुले संस्थागत संयन्त्रलाई उचित भूमिका दिन नसकेको प्रमाण होइन र ? अन्त्यमा, पुरानो नेपाली उखान छ नि – ‘मौका आउँछ पर्खंदैन‚ बगेको खोला फर्कंदैन ।’ त्यसैले त्रिवि सुधारको अभियान चलाउनको लागि अझै मौका छ, यसलाई खेर नफालौँ । अहिले नगरे कहिले गर्ने ? हामीले नगरे कसले गर्ने ? भन्ने कुरा नेतृत्वबाटै सोचौं ।

प्रतिक्रिया

10 thoughts on “महाव्याधिमा माैन बाैद्धिक थलाे

  1. अति सान्दर्भिक विषय हाम्रो विश्व बिदालय्को यो दयनीय र नाजुक अवस्थाले देश कहाँ माथी उठ्छ त …..

  2. अत्यन्त सान्दर्भिक / गहन लेख ! हार्दिक बधाई छ नोदनाथ सर ! निश्चतरूपमा त्रि.वि. जस्तो सरकारी विश्वविद्यालयले अग्रसरता एवम् नेतृत्व लिन अब ढिलो गर्नु हुदैन । यो चुनौती र अवसरमा बौद्धिकताको सदुपयोग हुन सकोस् यही कामना गर्दछु ।

    1. सान्दर्भिक लेख सर। कार्यन्वयनमा ल्याउन सक्ने नेतृत्व आवश्यक।

  3. Wow very relevant and timely issues. Truly thought provoking. Pls share this message to TU officials and so called student leaders

  4. राम्रो सूचनामूलक खारिएको लेख | राम्रो छ तर यो सम्बन्धित पदाधिकारीहरुले पढ़लान र ? कदापी पढ्दैनन् | योग्य व्यक्तिको नियुक्ति, योग्यता अनुसारको पदभार, समयानुकूल तालिम, ५-५ बर्षमा सरुवा, अनि ३ थरिका भात्री संगठनहरूको खारेजी नै आजको आवश्यकता देखेको छु | यो मेरो त्रिविमा गरेको लामो अनुभवको निचोड हो | धन्यवाद !

  5. तर्कसंगत लेख। तर विश्वविद्यालयको आमूल पुनर्संरचना र सो अनुकुलको नेतृत्व छनोट नगरी सुधार सम्भव हुने देख्दिन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *