किरा टिप्ने याम : फोटो कथा
बझाङ । बझाङलगायत सुदूरपश्चिमका पहाडी जिल्लामा यार्सा संकलन गर्ने याम शुरु भएको छ । जसलाई बोलीचालीमा ‘किरा टिप्ने’ भन्ने गरिन्छ । खासमा यार्सा आधा जीव र आधा बनस्पति हो ।
यसका लागि घर छोडेर धेरै टाढाका पाटनहरुसम्म पुग्नुपर्छ । जान र फर्केर आउँदासम्मका लागि खाजाचामलको जोहो गरेर जानुपर्छ । कतिपय त स–साना बच्चाबच्ची पनि सँगै लिएर जान्छन् । पाटनमै अस्थायी पाल टाँगेर बस्नुपर्छ । यार्सा एक दिनमा यति नै भेट्टाइन्छ भन्ने कुनै निधो हुँदैन । कहिले २०/३० वटा भेट्टाउन सकिन्छ भने कहिले ४/५ वटा मात्रैमा चित्त बुझाउनुपर्छ ।
अझ, कहिलेकाहीँ त दिनभरी खोजेको खोज्यै अर्थात् हातै खाली पनि हुनसक्छ ।
कहिले २०/३० वटा भेट्टाउन सकिन्छ भने कहिले ४/५ वटा मात्रैमा चित्त बुझाउनुपर्छ ।
वैशाखको अन्तिम हप्तादेखि बझाङको औलागाड क्षेत्रमा पनि यार्सा संकलन गर्नेहरु पुगेका छन् । उनीहरु त्यहीँ अस्थायी पाल टाँगेर बसेका छन् ।
अहिले यहाँका पाटनमा मानिसै मानिस र उनीहरुले बनाएका अस्थायी पालहरु मात्र देखिन्छन् । यार्सा व्यापारीहरुले गाउँलेलाई पहिल्यै पेस्की बाँडिसकेका हुन्छन् । त्यसैअनुसार गाउँलेहरु यार्सा टिप्छन् र व्यापारीलाई दिन्छन् । जति हुन्छ हिसाबकिताब गर्छन् र बढी भए थप पैसा लिन्छन् ।
कोरोनाका कारण अघिल्लो वर्ष स्थानीय प्रशासनले यार्सा टिप्न रोक लगाएपनि यसपटक रोक लगाएको छैन । कोरोनाको जोखिम मोलेर उनीहरु किरा टिपिरहेका छन् । यसवर्ष पोहोर र अहिलेको पेस्की भएकाले धेरै ‘किरा’ चाहिने उनीहरु बताउँछन् । कोरोनाको जोखिम भएपनि यसअघि जीविकाका लागि लिएको पेश्कीबापत् ‘किरा’ टिपेर दिनैपर्ने भएकाले जोखिम मोलेरै पनि पाटन पुगेको र किरा खोजिरहेको उनीहरुको भनाइ छ ।