महामारी : शासकीय प्रबन्धमा विचलन र राष्ट्रवादको दम्भ

अहिले कोरोना भाइरसको महामारीले विश्वलाई नै आक्रान्त पारेको छ । चीनको वुहानबाट सुरु भएको यस भाइरसबाट विश्वमा करोडौं मानिसहरु संक्रमित भएका छन् भने लाखौंको ज्यान गएको छ । भारत र नेपाललगायतका देशमा यसको दोश्रो लहर झन् आक्रमक तवरले बढेको कारण संक्रमण र मृत्यु दर डरलाग्दो अवस्थामा छ । केही मुलुक बाहेक विकसित देशहरुले समेत सुरुका दिनमा यस महामारीको उचित तवरले ब्यवस्थापन गर्न सकेनन् । विश्वमा चिकित्सा विज्ञान क्षेत्रमा निकै ठुलो प्रगति भएको र सरकारहरुसमेत लोककल्याणकारी तथा लोकतान्त्रिक भएको अवस्थामा समेत कोरोना भाइरसका कारण ठुलो संख्यामा मानिसको ज्यान जाने क्रम नरोकिनुले शासकीय प्रवन्धको त्रुटी नै प्रमुख कारण हो भन्नु अतिशयोक्ति नहोला । विश्व शासकीय प्रवन्धको बारेमा बिश्लेषण गर्नु पर्दा मानव समाजले हालसम्म सामना गरेको महामारीको पृष्ठभूमि र सरकारको भूमिकाको बारेमा समेत चर्चा गर्नु उपयुक्त हुन्छ ।

मानव इतिहासमा विश्वमा समय-समयमा हुने गरेको महामारीले धेरै मानिसको ज्यान लिएको पाइन्छ । मुख्यतया बिसौं शताब्दीमा तीन ठुला महामारीले करौडौँ मानिसको ज्यान लियो । सन् १९१८ देखि १९२० सम्मको स्पेनिस फ्लु, सन् १९५७ देखि १९५८ सम्मको एसियन फ्लु र १९६८ देखि १९६९ सम्मको हङकङ्ग फ्लु बिसौँ शताब्दीका घातक महामारी हुन् । जसमध्ये स्पेनिस फ्लुले झण्डै पचास करोड, एसियन फ्लुले दुई लाख र हङकङ फ्लुले एक लाख मानिसको ज्यान लिएका थिए । स्पेनिस फ्लु त्यस्तो समयमा भएको थियो जुन बेला विश्वका महाशक्ति राष्ट्रहरु पहिलो विश्वयुद्धको युद्ध मैदानबाट भर्खर घर फर्किदै थिए । विश्वयुद्धले विश्व नै तहसनहस बनेको थियो । त्यही समयमा अमेरिकी सेनाको क्याम्पबाट यो फ्लु सुरु भएको थियो । सन् १८१८ को मार्च ४ तारिखमा अमेरिकाको केनजस राज्यमा रहेको फुस्टन सैंनिक क्याम्पमा एकजना खाना पकाउने क्यक्तिलाई ज्वरो आउने र टाउको दुख्‍ने लक्षण सहितको रोग देखा पर्यो । त्यसपछि हजारौँ सैनिक संक्रमित भए र तीन हप्ताको अन्तरालमा ११ सय सैनिक अस्पताल भर्ना हुन पुगे र चालिस सैंनिकको मृत्यु भयो । त्यसपछि यो रोग स्पेन, फ्रान्स, ब्रिटेन, इटली र रसिया हुदै विश्वभर फैलिन पुग्यो। सन् १८२० सम्ममा यो महामारी तेश्रो लहरसम्म चलेको थियो ।

यसरी शासकहरुको हतास मानसिकता, अहंकार र आफुलाई नै सर्वज्ञाताको रुपमा प्रस्तुत गर्ने कार्यशैलीका कारण कोरोना व्यवस्थापनको कार्य प्रभावकारी नहुदा पनि धेरै मानिसहरुले ज्यान गुमाउनु परेको अवस्थालाई नकार्न सकिदैन ।

२१औँ शताब्दीलाई विज्ञान र प्रविधिको युग भनिए पनि आजसम्म आइपुग्दा विभिन्न महामारीले मानिसको ज्यान लिने क्रम भने रोकिएको छैन । कोलम्बियाबाट सुरु भएको एचवान एनवान २००९ इनफ्लुएन्जा यो शताब्दीको पहिलो ठुलो महामारी हो । यसको प्रभाव पनि विश्वका धेरै देशमा पर्न गएको थियो । यस भाइरसका कारण विश्वमा १८ हजार मानिसले ज्यान गुमाएका थिए । त्यसपछि सुरु भएको इबोला भाइरसले विश्वमा ११ हजार मानिसको ज्यान लियो । त्यस्तै सन् २०१५ सम्म प्रकोपको रुपमा फैलिएको जिका र सार्स भाइरसले पनि धेरै देशलाई आक्रान्त पार्यो र हजारौँको ज्यान लियो ।

सन् २०१९ को डिसेम्बरदेखि चीनको बुहानबाट सुरु भई विश्वभर फैलिएको कोरोना भाइरसको कारण आजको मिति सम्म विश्वमा ३५ लाखभन्दा बढीले ज्यान गुमाइसकेका छन् भने झण्डै १७ करोड मानिसहरु संक्रमित भएका छन् । यो क्रम दिनहुँ बढ्दो छ । यो भाइरस एक व्यक्तिदेखि अर्कोमा मात्र सर्दैन कि भाइरस भएको कुनै भौतिक वस्तुको माध्यमबाट समेत सर्ने गर्दछ । त्यसैले यातायातको आधुनिक विकास, मानिसको सघन आवतजावत, मालसामानको सीमापार व्यापक सारनतारनका कारण यो महामारी निकै तिब्र गतिमा फैलिएको देखिन्छ । भोतिक दुरी कायम गर्ने, मास्क लगाउने र बेलाबेला सावुनपानीले हात धुने लगायत यस रोगबाट बच्ने प्रमुख सुरक्षा मापदण्ड हुन् । चीनजस्तो विकसित देश भएको तथा सुरक्षाका मापदण्ड लगायतका विषयमा छोटो समयमा नै पत्ता लगाएकोले चीनले सुरुदेखि नै सुरक्षा सतर्कता अपनाउन केही सजिलो भयो । संक्रमित भएका र नभएकालाई छुट्याएर राख्‍ने, संक्रमितको सम्पर्क विवरण लिने, जाँच व्यापक गर्ने, भिडभाड कम गर्न बन्दाबन्दी गर्ने कार्य धेरै देशले रोग लाग्नबाट जोगिन अपनाएका सुरक्षा सावधानीका तरिकाहरु हुन् ।

यसका साथै संक्रमितको उपचारका लागि थप अस्पतालहरुको निर्माण गर्ने, औषधि, स्वास्थ्य सामग्री तथा स्वास्थ्यकर्मीहरुको व्यवस्थापन गर्ने र संक्रमितको उपचार गर्ने आदि कार्यहरु रोग नियन्त्रणका लागि चालिने कदमहरु हुन् । यद्यपि, यस महामारीको व्यवस्थापन तथा नियन्त्रणमा मुलुकको शासन व्यवस्था, राज्यको क्षमता, नेतृत्वको प्रतिवद्धता, सामाजिक संस्कार प्रतिबिम्बित भएको देखिन्छ । चीन, दक्षिण कोरिया, सिंगापुर र भुटानले यस महामारीको व्यवस्थापन सहज तवरले गरेको देखिन्छ भने डोनाल्ड ट्रम्प अवधिको अमेरिका, ब्राजिल र भारत जस्ता विकसित देशमा महामारी ब्यवस्थापनको कार्य निकै भयाबह देखियो । यही अवधिमा शासकीय शैली र नेतृत्वकर्ताका अनेक प्रवृत्ति समेत छताछुल्ल भए । जतिसुकै लोकतान्त्रिक, समावेशी र जिम्मेवार सरकार भएको विकसित भनिएका देशहरुमा समेत महामारी व्यवस्थापन प्रभावकारी हुन नसक्नु शासकहरुको हतास मानसिकता, अहंकारिता र देखावटी राष्ट्रवाद नै मुख्य कारण रहेको देखिन्छ ।

हतास शासकीय मानसिकता
कुनै पनि विपद आकस्मिक हुन्छ र मौजुदा स्रोत, साधन र ज्ञान अपूर्ण हुन सक्छ । यस्तो अवस्थामा सरकारले सावधानीपूर्वक स्रोत साधनको परिचालन गर्नुपर्ने हु न्छ। यसका लागि सम्बन्धित क्षेत्रका विज्ञ तथा विशेषज्ञहरुको सल्लाह बमोजिम नीति तथा कार्यक्रम तर्जुमा गरी लागू गर्नु सरकारको दायित्व हो । तर सरकारको यस प्रकारको जिम्मेवारपूर्ण कार्यशैली थोरै मात्र देशहरुमा देखिएको छ ।

कोरोना महामारी नियन्त्रणको महत्वपूर्ण औजारको रुपमा धेरै देशहरुले बन्दाबन्दी गरिरहेको अवस्थामा निवर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बन्दाबन्दीले मुलुकको अर्थतन्त्र बर्बाद पार्ने भन्दै अस्वीकार मात्र गरेनन् बन्दाबन्दीको विरुद्धमा भएको प्रदर्शनलाई समेत समर्थन गरे । त्यस्तै ब्रजिलका राष्ट्रपति जाइर बोल्सोनारोले देशमा पुरा लकडाउन गर्ने कुरालाई इन्कार गरिदिए । त्यतिमात्र हैन उनले विज्ञहरुले दिएको स्वास्थ्य सल्लाहलाई समेत परिवर्तन गर्न दबाव दिएर सरकारी सूचनाको विश्वसनीयतालाई कमजोर बनाउने प्रयास गरेका थिए । उता प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा भारतमा चार घण्टाको अवधिमा बन्दाबन्दी घोषणा भएको कारण हजारौ नागरिक बाटोमा नै बिचल्लीमा परेका थि ए। सरकार प्रमुखले बिज्ञको सल्लाह बमोजिम नीति तथा कार्यक्रम बनाउनु पर्नेमा विज्ञको सुझावलाई बेवास्ता गर्दै सरकार प्रमुख आफै विज्ञ हुने अहंकार कोरोना महामारी नियन्त्रणको कार्यमा निकै व्याप्त रुपमा देखिएको  छ।

ब्रिटेनका प्रधानमन्त्री बोरिस् जोनसनले कसैसँग पनि हात नमिलाउनु र अंगालो नमार्नु भन्ने वैज्ञानिक निर्देशक समूहको सुझावलाई वेवास्ता गर्दै अस्पतालहरुमा कोरोना संक्रमितसँग समेत हात मिलाउने र अंगालो मार्ने काम गरे । सञ्चार माध्यममा उक्त कार्यको चर्को आलोचना हुदा समेत आफुले निरन्तर हात मिलाउने अभिक्यक्ति दिए । अन्ततस् उनी आफै संक्रमित भए । त्यति मात्र हैन बिषेशज्ञ चिकित्सकहरुले सिफारिस गरेको औषधीसमेतलाई बेवास्ता गर्दै आफै औषधी सिफारिस गर्नेसम्मको हर्कत पनि नौलो रहेन । जस्तै नेपालका प्रधानमन्त्रीले समेत कोरोना बेसार पानी र अम्बाको पातले ठिक हुन्छ भनेर सार्वजनिक रुपमा दिएको अभिब्यक्ति निकै विवादित बन्न पुगेको थियो । अझ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त स्यानिटाइजर नै खादा पनि हुन्छ भनेर सार्वजनिक कार्यक्रमा नै भनिदिए । यि त प्रतिनिधि घटना मात्र हुन् । विश्वका कयौ देशमा सरकारको प्रमुख ओहदामा बस्नेहरुले यस प्रकारका अशोभनीय व्यवहार प्रस्तुत गरे ।

यसरी शासकहरुको हतास मानसिकता, अहंकार र आफुलाई नै सर्वज्ञाताको रुपमा प्रस्तुत गर्ने कार्यशैलीका कारण कोरोना व्यवस्थापनको कार्य प्रभावकारी नहुदा पनि धेरै मानिसहरुले ज्यान गुमाउनु परेको अवस्थालाई नकार्न सकिदैन ।

महामारीमा राष्ट्रवादको दम्भ
महामारीले सीमाबिहिन प्रभाव परिरहेको हुन्छ तर देशका शासकहरुमा महामारीकै बिषयमा राष्ट्रवादको टकराव र अहंकार बढ्ने गर्छ । यो क्रम इतिहासदेखि नै चल्दै आएको पाइन्छ। मुलत: महामारीको उत्पतिको बिषयलाई लिएर एक राष्ट्रले अर्कोलाई दोषारोपण तिब्र रुपमा गर्ने गरेका छन् ।

जतिसुकै लोकतान्त्रिक, समावेशी र जिम्मेवार सरकार भएको विकसित भनिएका देशहरुमा समेत महामारी व्यवस्थापन प्रभावकारी हुन नसक्नु शासकहरुको हतास मानसिकता, अहंकारिता र देखावटी राष्ट्रवाद नै मुख्य कारण रहेको देखिन्छ ।

यसै सन्दर्भमा स्पेनिस फ्लुको प्रसंग यहाँ उल्लेख गर्नु सान्दर्मिक हुन्छ । बिसौँ शताब्दीमा फैलिएको स्पेनिस फ्लु अमेरिकाबाट सुरु भएको थियो । तर प्रथम बिश्वयुद्धमा तटस्थ भएको स्पेनले आफ्नो देशमा उक्त फ्लुका कारण मृत्यु हुनेको संख्या नलुकाएको र महामारी सम्बन्धी समाचारलाई निर्वाधरुपमा प्रसारण गर्न दिएकोले अमेरिकी र केही पश्चिमा सञ्चारमाध्यमहरुले स्पेनिस फ्लुु नामाकरण गरेका कारण हालसम्म पनि सोहि नामले चिनिने गरेको छ । त्यो समयमा स्पेनले भने जर्मनीले जैविक हतियार बनाउने क्रममा उक्त भाइरस बनाएको आरोप लगाएको थियो । त्यस्तै हालै महामारीको रुपमा रहेको कोरोना भइरसको उत्पतिको विषयलाई लिएर समेत अमेरिका र चीनबीच वाकयुद्ध चल्यो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस हैन चाइनिज भाइरस भन्नुपर्ने बताएपछि चीनले पनि कोरोना भाइरस अमेरिकी सेना तालिमको शिलसिलामा बुहानमा आउदा नै फैलाएको प्रतिउत्तर दिएको थि यो। अझ केही देशहरुमा त चाइनिज नागरिकमाथि कोरोना फैलाएको आरोपमा हमला समेत भयो । हालै मात्र भारत सरकारले कोरोना भाइसरको भारतीय भेरियन्ट लेखिएका र यसप्रति संकेत गरिएको सबै पोष्टहरु सामाजिक सञ्जालबाट हटाउन सम्बन्धित कम्पनीलाई निर्देशन दिएको छ । यता नेपालका प्रधानमन्त्री के पि शर्मा ओलीले चीनबाट आएकोभन्दा भारतबाट आएको भाइरस बढी खतरनाक भएको भनिदिएको अभिव्यक्ति पनि कोरोनालाई राष्ट्रिय सम्बन्धसँग तुलना गरेको भन्दै बिवादित बनेको थि यो। यसबारेमा अमेरिका र चीनबिच पछिल्ला दिनमा फेरि बिबाद बढेको छ ।

महामारीलाई जित्‍न कुन देशसँग कस्तो ज्ञान-शीप र क्षमता छ भन्ने विषयमा समेत राष्ट्रबादको दम्भ हुने गरेको छ । पश्चिमा देशहरुमा कोरोनाको पहिलो लहरले आक्रान्त पारेको र दक्षिण एसियाका देशहरुमा कम प्रभाव देखिएको अवस्थामा पूर्वीय सभ्यताको कारण दक्षिण एसियामा कोरोना फैलिदैन भनेर नेपाल र भारतमा निकै हल्ला फिजाइयो । नेपालका प्रधानमन्त्रीले नेपालीको भान्सामा नै औषधी हुने गरेको साथै नेपालीको रोग प्रतिरोधात्मक क्षमता विश्वमा नै बढी हुने गरेकोले कोरोनाले धेरै असर नगर्ने भनेर संसद वैठकमा बोलेको बिषय निकै आलोचित बन्यो । त्यस्तै भारतमा गाईको गोबर र गहुँतले कोरोना उपचार हुने भन्ने हल्लाले समेत निकै चर्चा पायो ।

हिन्दु धर्मलाई राष्ट्रिय गौरवको रुपमा लिएको भारतले कोरोना महामारी कै बीच करोडौ मानिस जम्मा हुने कुम्भमेला आयोजना गर्‍यो । उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिं रावतले हरिद्धार महाकुम्भ प्रतिकात्मक रुपमा मात्र मनाउनुपर्ने अडान लिएकै कारण उनलाई मुख्यमन्त्री पदबाट बरखास्त गरेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले साधु सन्त र तान्त्रिकहरुको उक्साहटमा महाकुम्भको आयोजना गरेर हिन्दु राष्ट्रवादको उदण्डता प्रस्तुत गरेको आरोप लागेको छ । कोरोना भाइरसको दोश्रो लहर उत्पतिको केन्द्र नै उक्त महाकुम्भ मेला हो भन्ने गरिएको छ जसले हाल नेपाल र भारतलाई नराम्ररी प्रभावित पारेको तर्क बितर्क पनि भइरहेका छन् ।

कोरोना महमारी एउटा विश्वव्यापी समस्या हो । सरकारले तथ्यमा आधारित नीति तथा कार्यक्रम तर्जुमा गरी सबै पक्षको समन्वयमा एकाग्र तवरले सबैको समन्वयमा अगाडि बढ्ने हो भने मात्र यो समस्याबाट मुक्त हुन सकिन्छ । यस्तो अवस्थामा सरकार पनि गम्भिर नबन्ने र आन्तरिक राजनीतिक प्रतिस्पर्धा र राष्ट्रवादको दम्भमा आफ्नो बिरासतमात्र रक्षा गर्न लाग्ने हो भने महामारीको बहुआयामिक प्रभावले मुलुकको आर्थिक तथा सामाजिक लगायत सबै पक्ष तहसनहस बन्न सक्छ । त्यसैले प्रभावकारी सरकारी संयन्त्र, सरकारप्रति नागरिकको विश्वास, नागरिक तथा विज्ञको सुझावहरुको सुनुवाई र सक्षम नेतृत्व नै आजको आवश्यकता हो ।

  • मेघ राज शंकर, नेपाल सरकारका शाखा अधिकृत हुन् ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *