आँसुको अग्निपरीक्षा
महाभारतको एउटा प्रसङ्ग छ । पाण्डवहरुसँगको कुराकानीको क्रममा भगवान श्रीकृष्णले दानवीर कर्णको खुलेर प्रशंसा गरे । कर्णको यत्ति धेरै प्रशंसा गरेको अर्जुनलाई रत्तिभर मन परेन । उनले एकान्तको अवसर जुटाएर कृष्णलाई भने‚ ‘भगवान, हाम्रा दाजु युधिष्ठिर पनि धर्मात्मा र दानवीर हुनुहुन्छ, तर हजुर किन यसरी कर्णको मात्र मुक्तकण्ठले प्रशंसा गर्नुहुन्छ ?’
कृष्णले मुस्कुराउँदै समय आएपछि सबै कुरा बताउने इशारा गरे । केही दिनपछि ब्राह्मणको भेष बनाएर कृष्ण अर्जुनलाई साथमा लिई युधिष्ठिरको द्वारमा पुगेर एक भारी सुकेको चन्दनको काठ मागे । युधिष्ठिरले आफ्ना सेवकहरुलाई आज्ञा दिए । तर बाहिर घनघोर वृष्टि भएको कारण सुकेको चन्दन उपलब्ध हुन सकेन ।
ब्राह्मण भेषधारी कृष्णसमक्ष क्षमा याचना गरी युधिष्ठिरले अरू सामान माग्न आग्रह गर्दै चन्दन काठ उपलब्ध गराउन असमर्थता जनाए । यसपछि कृष्ण सिधै कर्णको आँगनमा पुगे । ब्राह्मणको भेषधारी कृष्णलाई कर्णले चिन्न सकेनन् । तापनि ब्राह्मण देवतालाई सत्कारसाथ आसनमा बसाई इच्छा भएको वस्तु माग्न आग्रह गरे । ब्राह्मणले भने‚ ‘मलाई एक भारी सुख्खा चन्दनको काठ चाहिएको छ ।’ कर्णले तुरुन्त वाण उठाई आफ्नो घरका ढोका, पलङ्ग, दराज आदि तोडेर काठको थुप्रो लगाइदिए । उनले हात जोड्दै बाहिर पानी परेकाले घरभित्रकै सामान भएपनि स्वीकार्न ब्राह्मणसँग अनुरोध गरे ।
आफ्नो साथमा आएका अर्जुनलाई हेर्दै कृष्णले भने‚ ‘देख्यौ अर्जुन‚ चन्दनका ढोका, दराज आदि त युधिष्ठिरसँग पनि थिए तर हेर, कर्णको उदारता । सानोसानो कुरामा उदार हुनसकेमा मात्र ठूलाठूला कार्य गर्न सजिलो हुन्छ । समय आएपछि म पनि उदार, त्याग आदिको भावना बढाउँछु भनेर बेलामा बुद्धि आउन सक्दैन । उदार नीतिले नै कार्यमा सफलता प्राप्त हुन्छ ।’ कृष्णका यी भनाइपछि अर्जुन चुप भए ।
पट्यारलाग्दो चुक घोप्ट्याएजस्तो रात च्यात्न हिम्मत गर्नेले सुभबिहानी प्राप्त गर्ने हो । प्रकृतिको विचित्र नियम छ, सबैथोक सकिए पनि भविष्य बाँकी रहन्छ । त्यसैले त रानीपोखरीमा डुबेको मानिस शिवपुरीमा बलेको बत्ती हेरेर बाँच्ने हिम्मत बटुल्छ ।
आस्थाबिनाको जीवनले आफ्नो मूल्यबोध गर्न सक्दैन । मूल्यवोध नभएको जीवन निरर्थक हुन्छ । आस्था हृदयभित्र पाक्ने बाली हो । यसलाई आफैंले भित्र्याउन सक्नुपर्छ । आस्थाबिनाको हृदय पत्रे चट्टानको अर्को रुप हो । यस्तो हृदयमा न कसैसित प्रेम हुन्छ, न ममता हुन्छ, न दया हुन्छ, न कसैप्रति श्रद्धा नै । आस्था नै प्रेमको मूल हो विवेकको जननी । आखिर ढुंगालाई ईश्वरको कोटीमा पुर्याउने त्यही आस्था होइन र ? सम्पूर्ण मानवजीवन भाव, भक्ति र समर्पणको एउटा खेती हो । समय नामको लगाममा हामीले यी तमाम कर्तव्यलाई मंसिरे खलो रित्याए झैं रित्याएका हुन्छौं । पारखीहरू रेलको यात्रा र मानवजीवनलाई एउटा सिक्काको दुई पाटा ठान्छन् । जसरी रेल चढ्दा धेरै पोका पन्तेरा बोक्यो भने सकस हुन्छ, त्यसरी नै जीवनमा धेरै इच्छा, आकांक्षा साँच्यो भने पीडा हुन्छ ।
जताततै मृत्युको भयावह दृश्य छ । मृत्युका खबरले मानिस मनलाई हल्लाएका छन् । मृत्युवरण गरेका एक पटक मरेका छन् । मृत्युका खबर पढ्नेहरू पटक पटक मरेका छन् । सामाजिक सञ्जालका राम्रा फोटोले तान्नु साटो झस्काउँछ । घमण्ड गर्नुको के अर्थ रह्यो र, लासको दर्शन पनि दुर्लभ भइसक्यो । मर्ने बेलामा मुखमा हाल्ने गंगाजल मिथक भयो । मलामीको परिभाषा शब्दकोषमै सीमित होला जस्तो भइसक्यो । परिस्थिति जस्तो भएपनि मनस्थिति सवल बनाउनु यतिबेलाको कर्तव्य हो । दुईवटा खुट्टाको लय हेर्नुस् त, एउटा अगाडि हुँदा अर्को पछाडि हुन्छ । न अगाडि हुनेले घमण्ड गर्छ न पछि हुनेलाई पश्चाताप छ । उनीहरुलाई थाहा छ कि केही समयपछि यो बद्लिने वाला छ । हो, जिन्दगीको चक्र भनेकै यत्ति हो ।
पट्यारलाग्दो चुट घोप्ट्याएजस्तो रात च्यात्न हिम्मत गर्नेले सुभबिहानी प्राप्त गर्ने हो । प्रकृतिको विचित्र नियम छ, सबैथोक सकिए पनि भविष्य बाँकी रहन्छ । त्यसैले त रानीपोखरीमा डुबेको मानिस शिवपुरीमा बलेको बत्ती हेरेर बाँच्ने हिम्मत बटुल्छ ।
दुःखको सबैभन्दा मूल कारण आजको मानिस आफूले पाएको दुःखबाट कम, अरुको दुःख देखेर बढी चिन्तित छ । जहाँ इर्ष्या हुन्छ, त्यहाँ मानवताको बीउ भेटिँदैन । हामी सत्य चाहन्छौं । तर असत्य छ । जीवन चाहन्छौं‚ मरण छ । संयोग चाहन्छौ, वियोग छ ।
त्यसैले पढ्नुको मतलब बुझ्नुमात्र होइन, जान्नु पनि हो । आदेश दिनुमात्र नभएर मान्नु पनि हो । त्योभन्दा महत्वपूर्ण सत्य, असत्य छान्नु पनि हो । अवस्था पनि कस्तो भने देश छ‚ अभिभावक छैनन्, घर छ‚ बाबुआमा छैनन्, पार्टी छ एकता छैन, नेता छन्‚ नैतिकता छैन, धर्म संस्कृति छ‚ विश्वास छैन, कानुन छ‚ कार्यान्वयन छैन, देशभक्त पछारिएका छन्, देशद्रोही पुजारी बनेका छन । हो यतिबेला एकापसको प्रेमपूर्ण हार्दिकता सार्थक जीवनको मानक बन्न सक्छ । संस्कृतिको संरक्षण कोरा भाषणले होइन, माया प्रेम अनि सद्भावले गर्छ । पैसा हैन, प्रेम रामवाण बन्न सक्छ । आफ्ना लागि मात्र होइन अरुका लागि थोरै मात्र भएपनि सोचिदिने परम्परा बसिदिए सम्भवतः सृष्टिको रुप बदलिन्थ्यो । तर इर्ष्याले हामीलाई संकुचित बनाएको छ ।
इर्ष्या एकप्रकारको आगो हो । जुन देखिँदैन, यसको धुवाँ पनि हुँदैन । त्यसैले त यो आगो निभाउन कठिन छ । दुःखको सबैभन्दा मूल कारण आजको मानिस आफूले पाएको दुःखबाट कम, अरुको दुःख देखेर बढी चिन्तित छ । जहाँ इर्ष्या हुन्छ, त्यहाँ मानवताको बीउ भेटिँदैन । हामी सत्य चाहन्छौं । तर असत्य छ । जीवन चाहन्छौं‚ मरण छ । संयोग चाहन्छौ, वियोग छ । काम, क्रोध, लोभ, मोह त्यस्ता भाइरस हुन्, जसले श्रद्धा, प्रेम र विश्वासलाई सखाप पारिदिन्छन् । आफू कमाएर आफैं खानु मानव स्वभाव हो । आफू नकमाई अरुको खोसेर खानु विकृत हो । आफू कमाएर अरुलाई ख्वाउनु नै असल संस्कृति हो । सभ्यता हो । यसैले भनिन्छ- ‘मन कर्मी हो, बुद्धि ज्ञानी हो, आत्मा प्रेमी हो र प्रेम मुक्ति हो ।’
जिन्दगीको यो रजतपटमा हामी कोर्रा र खोर्सानीलाई पालैपालो आफ्नो रोजाइको विषय बनाउन बाध्य छौं । कोर्राको निलडामले पोल्न थालेपछि खुर्सानी बिसेक लाग्छ भने खुर्सानीले राल सिंगान भएपछि कोर्रा नै प्यारो लाग्छ । प्रकृतिको नियम नै संसारको अकाट्य संविधान हो । तपाईं एकपल्ट घोत्लिनुस त मौरीलाई मह संग्रह गर्न कसले सिकायो ? लामखुट्टे र उडुसले टोकेर भाग्ने ज्ञान कहाँबाट पाए ? तिनीहरुको कुनै स्कुल कलेज छ ? हो हामी झन् झन् सतही भएका छौं । खाएर गर्ने वा गरेर खानेमा अल्मलिएका छौं । समग्रमा हामी त्यही बिरालोजस्तो भएका छौं, जसले दूध चोरेर खाएको कसैले देख्दैन, कुटाइ खाएको सबैले देख्छ । नेपालको धरामा पनि कर्णजस्तै एउटा उदात्त पात्रको खाँचो छ । यो विषाद्पूर्ण समय इतिहासको सबक बनोस् । मान्छे साँच्चै विवेकशील मान्छे बनून । मान्छेजस्ता मान्छेको भीडबाट यो धराले मुक्ति पाओस् ।