हाम्रा बालबालिकालाई कोभिड महामारीबाट बचाऔं

नयाँ दिल्ली । अहिलेसम्म विश्वभर ३५ लाखभन्दा ज्यादा मानिसको ज्यान लिइसकेको यो कहालीलाग्दो महामारीका बीच ७४औं विश्व स्वास्थ्य सभा भर्चुअल माध्यमबाट सञ्चालन गरियो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को निमन्त्रणामा मैले पनि उक्त सभामार्फत् अमेरिका र बाँकी देशका अगाडि विश्वका आवाजविहीन लाखौं बालबालिकाको आवाज बोल्ने मौका पाएँ । पिछडिएका बालबालिकालाई साथमा नलिई हामीले यो महामारीबाट पार पाउन सक्दैनौं ।

यो महामारीबाट विश्व एकनाशले प्रभावित बनिरहेको छ । महामारीले धनी, गरीब भनेर नछुट्ट्याए पनि यसको असरले लाखौं परिवारलाई गरिबीमा धकेलेको छ । यसबाट प्रताडित कयौं बालबालिकाहरूका लागि स्वास्थ्य समस्यालाई झेलेरै भएपनि श्रम गर्ने र आफ्नो शरीर बेच्नुपर्ने स्थिति बनिरहेको छ । उनीहरू शिक्षाबाट वञ्चित भइरहेका छन् भने स्वच्छ तथा पर्याप्त पानी पिउने पहुँचसमेत उनीहरूमा हुँदैन । विश्वमा कोरोना महामारी सुरु हुँदा कुल १७ करोडभन्दा ज्यादा बालश्रमिक थिए । फेरि महामारीकै कारण लाखौंको संख्यामा बालश्रमिक बढ्ने देखिएको छ ।

यस्तो जोखिमलाई कम गर्न हामीले तुरुन्तै उचित पाइला चालेनौं भने सम्पूर्ण पुस्ताकै लागि यसको असर धेरै ठूलो हुनेछ । यदि हामीले आफ्नो गल्तीबाट पाठ सिकेनौं भने हामीले हाम्रो जिन्दगी नै गुमाउनुपर्ने अवस्था नआउला भन्न सकिँदैन । यस्तो अवस्थामा यसको कारण भाइरसभन्दा पनि यसपछाडिको कारण हाम्रो उदासीनता नै सावित हुनेछ ।

यसका लागि मैले केही सुझावहरू दिएको छु :
प्रथमतः उक्त सभामा मैले राष्ट्र संघलाई एकजुट भएर लाग्न चुनौति दिएको छु । हाम्रा बालबालिकालाई कोभिड-१९ को प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा बचाउनका लागि एक उच्च स्तरीय समूहको स्थापना गर्न जरुरी हुन्छ ।

दोस्रो, कोभिड-१९ विरुद्धको खोपको निर्माण र बौद्धिक सम्पत्तिमा लगाइएको प्रतिबन्ध हटाई सबैका लागि पहुँचयोग्य बनाउनुपर्नेमा मैले जोड दिएँ ।

उक्त सभामा उपस्थित भएका विश्वभरका स्वास्थ्यमन्त्रीलाई संसारभरका सीमान्तकृत र गरीब बालबालिकासम्म पुग्नका लागि यथाशीघ्र बजेटजन्य योजना र संवैधानिक कार्यदल गठन गर्न आग्रह गरेँ । न्यून, मध्यम र उच्च आय भएका मुलुकले बालबालिकामा महामारीको प्रकोप नियन्त्रण गर्नका लागि खोप उपलब्ध गराउन सहकार्य गर्नुपर्ने हुन्छ । त्यसैले यस्तो कोभिड-१९ को महामारीको समयमा स्वास्थ्यमन्त्रीहरूको मुख्य जिम्मेवारी भनेकै रुढीवादी र गलत सूचनाका प्रवाहलाई उचित वैज्ञानिक कारण दिएर रोक्नु हो ।

अन्तमा, कोभ्याक्स अभियान समावेशी, लोकतान्त्रिक र उचित संशाधनले युक्त हुनु जरुरी छ । आफ्नो जिम्मेवारी ठानेर धनी राष्ट्रले गरीब राष्ट्रका लागि आर्थिक रुपमा सहयोग गर्नुपर्ने हुन्छ । यो महामारीले हामीलाई एउटा कुरा चाहिँ सिक्न बाध्य बनाएको छ- जुनबेलासम्म सबैले आफूलाई सुरक्षित महशुस गर्दैनन्, त्योबेला सम्म कोही सुरक्षित छैनन् ।

विभिन्न देशका प्रमुख, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का महानिर्देशक डा टेड्रोस एडनम घेब्रेयेससले पनि उक्त भर्चुअल सभालाई सम्बोधन गरेका थिए । सबैले महामारीबाट पीडितहरूको पक्षमा आवाज उठाएको पाइयो । अब यसको कार्यान्वयन गर्न राष्ट्र कत्तिको प्रतिबद्ध छ त्यसमा पनि धेरै कुरा निर्भर रहन्छ ।

भारतमा ग्रामीण क्षेत्रमा जति जति कोरोना महामारी फैलिँदै गयो, स्वास्थ्य सेवा कमजोर भएकाले उति नै जोखिमपूर्ण हुँदै गयो । त्यसको असर बालबालिकामा देखिन थाल्यो । विद्यालयबाहिर सीमित डिजिटल पहुँच र खाद्य असुरक्षाले गर्दा उनीहरूमा झन् ठूलो खाडल पैदा गरिदियो । यसबाट अब के होला त ? उनीहरू काम गर्नैपर्ने बाध्यताबाट गुज्रन्छन्, सडकमा बास हुन्छ अथवा यस्तै असुरक्षाका कारण कोभिड-१९ को शिकार हुन्छन् र ज्यान नै गुमाउनुपर्ने अवस्था सिर्जना हुन्छ ।

यो महामारीले केवल स्वास्थ्य संकट र आर्थिक संकटमात्रै होइन, न्यायको संकट, सभ्यताको संकट, मानवताको संकट निम्त्याउने जोखिम झन् बढी देखिएको छ ।

भारतमा भरखरै प्रधानमन्त्री र मन्त्रीहरूको सहकार्यमा बालबालिकालाई कोभिड-१९ बाट पर्ने प्रत्यक्ष वा अप्रत्यक्ष प्रभावलाई कम गर्नका लागि राष्ट्रिय स्तरको कार्यदल गठन, खोप लगाउनका लागि जागरुकता, हरेक जिल्लामा बाल चिकित्साको सुविधाहरूको व्यवस्था गर्नेबारे सिफारिस गरिएको छ ।

यदि हामीले बालबालिकाको गम्भीरतालाई नजरअन्दाज गरेर अगाडि बढ्ने कोशिस गर्‍यौं भने यो र अब आउने पुस्ताबीच संकट पैदा गर्नेछ । राजनीति, मुनाफा र सम्पतिले पर्खन सक्छन् (यसलाई पछि पनि प्राप्त गर्न सकिन्छ), तर बालिबालिकाले सक्दैनन् ।

(नाेबेल पुरस्कार विजेता तथा बचपन बचाओ अभियानका अगुवा कैलास सत्यार्थीको यो लेख एनडीटीभीबाट अनुबाद गरिएको हो ।)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *