अबिच्युरी

बेग्लै थिए बेग्लै भएरै गए…

वैकल्पिक राजनीतिका अगुवा उज्वल थापाको काया अब हामीमाझ रहेन । तर उनका कर्म उनकै अनुहार जस्तै सँधै उज्यालो आभा बोकेर हामीमाझ रहिरहनेछन् । हुन पनि, काया त कस्को पो सँधै रहिरहन्छ र ? रहने त उसका कर्महरु न हुन् ।

भनिन्छ परिचय र पहिचान मानिस स्वयमले बनाउने हो । उज्वलले आफ्नै परिचय बनाएका छन्, जसमा जोडिएका छन् इमान, स्वाभिमान, सादापन… अर्थात् आमभन्दा बेग्लै !

‘मूलधारे’ राजनीतिको विद्रुप रस्साकस्सी वाक्कदिक्क बनाउने गरि चलिरहेका बेला वैकल्पिक राजनीतिका अगुवा मनुवा उज्वल अस्ताए । उनी र उनको बेग्लै पाराको राजनीतिक सोच र चेत हाम्रा लागि अझ धेरै चाहिएको औचित्य पुष्टि भइरहेको बेला थियो यो । तर यही बेला कोभिडले ४४ वर्षका उज्वललाई हामीबाट चुँडेर लगेको छ । उज्वलको भौतिक अनुपस्थिती त्यसकारण झन् बढी दुखद् र कहिल्यै पुर्ति नहुने खतिको खबर हो ।

अस्पताल भर्ना भएको खबर सार्वजनिक भएलगत्तैदेखि उर्लिएको सद्भावले उनी अझै हाम्रा लागि चाहिएका नेता थिए भन्ने पुष्ट्याईँ गरेको हो । याे सद्भावलाई मापन गर्न सकिने एक सानो उदाहरण उनको उपचारका लागि २४ घण्टामा ५० लाख रुपैया हाराहारी रकम संकलन हुनु पनि हो । बाँकी स्नेह, सद्भाव र प्रार्थना त कसरि मापन गर्न सकियोस् ?

यो पनि : गुरु राष्ट्र नेपाल

भनिन्छ मानिसका परिचय र पहिचान उसले स्वयम् बनाउने हो । कस्तो बनाउने भन्ने तय ऊ स्वयम्ले गर्ने हो । उज्वलले पनि आफ्नै परिचय बनाएका छन्, जसमा जोडिएका छन् इमान, स्वाभिमान, सादापन… अर्थात् आमभन्दा बेग्लै !

उज्वल बास्तबमै बेग्लै खालका मानिस थिए । बेग्लै तरिकाले सोच्थे । बेग्लै कुरा कल्पिन्थे जसले आमभित्र उनलाई अलग देखाउँथ्यो । त्यसैको बलमा उज्वलले आम नेताको मानक भत्काएका थिए । उज्वलसँग खास केही थियो जुन हाम्रा आम नेताहरुसँग थिएन/छैन । जस्ताे कि- आम राजनीतिकर्मीसँग अभाव देखिने सादापन, इमान, स्वाभिमान, इच्छाशक्ति, आफैं केही गरौं भन्ने अन्तरआत्माको आवाज अनि त्यसलाई पुरा गराईछोड्छु भन्ने अठोट । उनले राजनीतिबाट जिविकोपार्जन मात्र होइन पुस्तौसम्मलाई पुग्ने आर्जन गर्ने मनसुवा कहिल्यै राखेनन् ।

उज्वलकाे तरिका पनि बेग्लै थियो । आफ्ना माग पूरा गराउन ‘मूलधारे’ दलहरु बन्द हड्ताल गर्छन् । टायर, पेट्रोल, आगजनी, जुलुस, चक्काजाम, नागरिकलाई सास्ती उनीहरुका मूख्य हतियार हुन् । आम राजनीतिक दल र नेताले नेपाल बन्द आह्वान गर्दा उज्वल नेपाल खुला छ भन्ने प्लेकार्ड बोकेर माइतीघरमा मुस्कुराईरहेका हुन्थे । अरुहरु चर्का श्वरमा अशिष्ट नाराबाजी गर्दा उनी शान्त र प्रतिकात्मक रुपमा विरोध जनाइरहेका भेटिन्थे । उज्वलले विरोध प्रदर्शनको शैली बदलिदिए । यो विवेकशिल शैली र संस्कार कहिले डा. गोविन्द केशीले उठाएका मागको समर्थनमा त कहिले भ्रष्टाचार विरोधी अकुपाई बालुवाटारको आन्दोलनमा देखिन्थ्योे । बर्षाैंदेखि रकम नपाएपछि सरकारलाई दबाब दिन काठमाडाैं आएका उखु किसानका आन्दाेलनमा एकछिन सहभागी भएर फाेटाे खिचाएर फर्किने उनले गरेनन् । हरेक दिन उनीहरुकाे आन्दाेलनमा एेक्येवद्धता जनाउन धर्नास्थल गएर किसानसँगै धर्ना बसे । शहरी युवाहरुलाई राजनीतिप्रतिको चासो र संलग्नता, रचनात्मक, जीवन्त र अर्थपूर्ण नाराहरु सिर्जना अनि विरोधका फरक फरक शैलीले आम मानिसमा राजनीतिलाई हेर्ने दृष्टिकोण धेरथोर बदलिरहेको थियो ।

‘नेपाल खुला छ’ नारा होस् वा ‘ज्याला पूरा लियौ अब काम पनि गर’ जस्ता अभियान आम मानिसका मनका कुरा थिए । जुन कुरा नेतृत्वका रुपमा उनले आफ्नो मुखबाट सार्वजनिक गरेका थिए । खासमा नेताले आमरुपमा, आम मानिसका कुरा मुखरित गर्ने नै त हो ।

भलै हाम्रा मूलधारे दलका नेताले जुन तहमा राजनीतिलाई प्रदुषित बनाइरहेका छन् त्यसको सफाइ गर्न सजिलो कहाँ छ र ?

उज्वल कहिले सबैलाई गुणस्तरीय शिक्षा र स्वास्थ्यको प्रवन्ध होस् भनेर हातमा प्लेकार्ड बोकेर उभिइरहेका हुन्थे त कहिले महिलामाथि हुने हिंसा बन्द गर्न आग्रह गर्दै प्रधानमन्त्रीको सरकारी निवास बाहिरपट्टि महिलाकै पहिरनमा सबैको ध्यान आकृष्ट गरिरहेका हुन्थे । कुरा सुनुवाई गराउने माध्यम चर्को आक्रोश, दाह्रा किटरे दिइने चेतावनी, उग्र र अशिष्ट नारा, र अराजक अभिब्यक्ति मात्र होइन रहेछ भन्ने कुरा  उज्वलले स्थापित गराउँदै थिए ।

सिर्जनसिल तरिकाले झन् बलशाली तरिकाले दबाब दिन सकिन्छ भन्ने उनको बेग्लै पाराले नै हो युवाहरुलाई उनीतिर आकर्षित गरेको । नागरिकलाई सूचनाको हकका लागि उनी सत्तालाई झक्झकाइरहन्थे । विधीको शासन र पारदर्शिताका पक्षमा सदैव खबरदारी गरिरहन्थे । सामाजिक सञ्जालबाटै भएपनि  शासकसँग जवाफ मागिरहेका हुन्थे ।

चुनाबमा अरु महँगा गाडी चढेर कार्यकर्ताका लावालस्कर लाएर भोट माग्न हिंड्थे । उज्वल सफा टेम्पू चढेर एकैसाथ आफ्नो सादगीपन, सफा पर्यावरणप्रतिको चेत र भूईँमान्छे हुनुको दशी दिइरहेका हुन्थे । विवेकशिल नेपाली दलको अध्यक्षका रुपमा दुई कार्यकाल पूरा गरेपछि नेतृत्व छोड्ने घोषणा गरे । पार्टी एकता पछिको अधिवेशनमा पनि विवेकशिल साझाको अध्यक्ष हुने मोह राखेनन् । बरु आफुपछिका नेतालाई अध्यक्ष पद विधिवत रुपमा हस्तान्तरण गरे । नेता भएर पनि काम गर्ने भन्ने कुराको विरुद्धमा थिए  । ब्यवहारमै त्यसको पुष्टि गरे । वेब डेभलपमेन्टसँग सम्बन्धित कम्पनी खोले र चलाए त कहिले कफी खेतीमा कस्सिए ।

थप पढ्नुस् : को हुन् उज्वल थापा ?

अस्पताल भर्ना भएको खबर सार्वजनिक भएलगत्तैदेखि उनीप्रति उर्लिएको सद्भावले उनी अझै हाम्रा लागि चाहिएका नेता थिए भन्ने पुष्ट्याईँ गरेको हो ।

उनी बिरामी हुँदा उर्लिएको देखिएको सुभेच्छाले पनि यो कुरा दर्शायो कि उनीप्रति आम नागरिकको भरोसा कति थियो । सामान्यतया ‘उपचारका लागि विदेश जाने र राज्यकोषबाट लाखौ रुपैया सहयोग लिने’ आम नेताहरुको पाराभन्दा उज्वल बेग्लै भए । महंगो प्रविधि ईसीएमओबाट उपचार गर्न कम्तिमा २५-३० लाख रुपैया लाग्ने बताएपछि उनका साथी र शुभचिन्तकले परिवारको अनुमतिमा रकम संकलन आह्वान गरेको २४ घण्टा नबित्दै ५० लाखको हाराहारी रकम संकलन भएको थियो ।

उज्वल एकपटक आम चुनाबमा उम्मेदवार बने । चुनाब जितेनन् । तर ठूलाे दल धेरै कार्यकर्ता र बर्षाै‌काे संगठन बिनै ७ हजार हाराहारी मत ल्याउनु चानचुने कुरा थिएन । उनी कहिले मेची महाकालीका मानिसलाई भेट्दै र सोध्दै सपनाको भाँडो भर्दै पैदलै हिंड्थे । नेपाल गुरु राष्ट्र हो त्यसकारण दूई भीमकाय देशका बिचमा पनि सँधै दर्बिलो गरि रहन्छ । उग्र र चर्का भाषण गरेनन् । सँधै शान्त र सौम्य रहे । कहिल्यै कसैलाई लान्छना लगाएर आफु पानीमाथिको ओभानो बन्न खोजेनन् । सँधै आफ्नो जरोकिलोसँगै जोडिएर हिंडिरहे । उनका यी र यस्तै कुराहरुले गर्दा उनले आम नेता र राजनीतिको मानक भत्काउँदै थिए । तर, युवालाई प्रश्न गर्ने प्रेरणा दिँदादिँदै आफुजस्तै अलि बेग्लै बन्न र बेग्लै तरिकाले सोच्न बल गराउँदा गराउँदै उज्वल अस्ताएका छन् ।

उज्वलप्रति श्रद्धाञ्जली दिने क्रममा धेरैले उनको बाटो पछ्याउने र उनले देखेको देखाएको सपना पूरा गर्ने पनि बताएका छन् अब हेर्नुछ- टुलुटुलु हेरेर मात्र हुँदैन बोल्नुपर्छ, बोलेर मात्र पनि हुँदैन आफैं गर्नुपर्छ भन्ने उज्वलले अपनाएको ‘अलि बेग्लै पारा’ को राजनीति अब कसले गर्ला ?

आफ्नो बारेमा उनले आफ्नै ब्लगमा उल्लेख गरेका छन्, जसको अन्तिममा उनले लेखेका छन् :-

‘त्यसैले म राजनीतिबाटै नेपाललाई असफल राष्ट्रबाट जोगाउन अघि सर्दैछु। यो मेरो जिन्दगीको अर्को मोड हो । नेपालभित्र र बाहिर सन्जालहरु बनाइरहेको छु र नेपालीहरुलाई घोचिरहेको छु। अब बोल्ने दिन गए, गर्ने दिन आए नेपालमा। त्यही अनुरुप म अगाडि बढ्दैछु आफू ‘नेपाली भन्नलाई होइन, नेपाली बन्नलाई ।’ आउनुहोस् ‘एक्लै हिँडे चाँडो गइएला तर सँगै हिडेँ टाढा पुगिन्छ ।’

-अलविदा उज्वल 

र, यो पनि : पशुपतिमा उज्वलको अन्त्येष्टि (तस्बिरहरू)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *