काकुको ‘अनुभव-अनुभूति २०५८ जेठ १९’

बिहानै करिब साढे पाँच बजे सिरानी छेउमा रहेको टेलिफोनको घण्टी (फोन गर्न नमिल्ने तर उठाउन मात्र मिल्ने फोन जुन मलाई घरबेटी सुनिल दाइले दिनु भएको थियो) सँगै निन्द्रा खुल्यो र फोन उठाएँ, हेलो… निकै हताश स्वरमा उताबाट जवाफ आयो, ‘दीपक, राजदरबार त उड्यो अरे त ! भक्तपुरबाट साथी रङ्गकर्मी  किरण राज ढुङ्गेल (जो त्यही वर्ष धादिङमा मोटरसाइकल दुर्घटनामा बित्नुभयो) को फोन रहेछ त्यो । म जुरुक्क उठेँ, अचानक धेरै कुरा मनमा उठ्यो र अत्तालिँदै भने‚ ‘कसले के गर्‍यो ? जवाफमा ‘खै राजदरबारका सबै जना मारिए रे !’ केही सोच्नै नसकी मैले प्रश्न गरेँ – कसले ? माओवादीले हो ? उताबाट जवाफ आयो, ‘खै कसले हो‚ थाहा छैन ।’

पुरै शरीर काँपेजस्तो महसुस भयो, टिसर्ट र एउटा ट्राउजर भिरेर म घर तल झरेँ। बडो अत्यास लाग्दो माहौल थियो, मानिसहरू सानो सानो समूहमा भेला भएका थिए, उनीहरू कुरा गरिरहेका थिए तर भयभीत देखिन्थे । अरूले नसुन्नेगरी कानेखुसी गरिरहेको भान हुन्थ्यो । एकै क्षणमा कोठामा फर्केर समाचार सुन्न टिभी खोलेँ । टिभीमा अचम्म लाग्ने धुनमात्र बजिरहेको थियो । दीपेन्द्र दाइ (दीपेन्द्र पाठक‚ जो मेरो गुरु र अभिभावक हुनुहुन्थ्यो । पछि किरणसँगै बाइक दुर्घटनामा बित्नुभयो) लाई फोन लगाउन खोजेँ (फोन उठाउनमात्र मिल्ने भए पनि चोरी दाउले फोन गर्न एउटा साथीले सिकाएको थियो) तर फोन लागेन ।  सबै फोनहरूको लाइन काटिएको रहेछ ।

केही सोच्नै नसकी निकै बेर कोठामा बसेर करिब ८ बजेतिर नारायण गोपाल चोकतिर निस्किएँ, बाटोमा सवारी  साधनहरू करिब बन्दजस्तै थिए । नारायण गोपाल चोकमा पुलिसको एउटा जत्था बसेको रहेछ । लाजिम्पाटतर्फ जान निषेध गरिएको रहेछ । खासमा के भएको ? सबैमा कौतुहलतासँगै डर र पिडा झल्किन्थ्यो । वीरेन्द्र, ऐश्वर्यालगायत सबैलाई छाउनी अस्पताल लगिएको छ रे, दीपेन्द्र जीवितै छन् रे ! भन्ने हल्ला थियो । विश्वासै लागिरहेको थिएन, के साँच्ची अब हाम्रा राजा-रानी हामीमाझ छैनन् त ? अब के हुन्छ ? कसले गर्‍यो यो सबै ? चारैतिर आर्मी, पुलिस, माहौल यस्तो भयवित देखिन्थ्यो कि कसैले कसैसँग केही सोध्नेसमेत हिम्मत गर्दैन थियो । जति प्रश्न छन् मन मनै आफैँले आफैँलाई सोध्नुमात्र विकल्प थियो ।

त्यही दिन दीपेन्द्रको पनि अन्त्यष्टि गरिने भयो । तर दीपेन्द्रको शव यात्रामा कर्फ्यू लगाइयो । कोही जनता बाहिर निस्कन नपाउने भए । त्यो बेला दीपेन्द्र देशका राजा थिए र शायद विश्वमा यो पहिलो घटना होला‚ जहाँ देशको राजाको शवयात्रामा कर्फ्यू लगाइएको थियो ।

पत्रिकाहरूका फ्रन्टलाइनमा समाचारहरू छापिएका थिए । तर कसले घटना घटायो भन्नेबारे बोल्ने हिम्मत कसैले गरेको थिएन । अचानक विभिन्न खालका अफवाहहरू फैलन थाले । कसैले पारसले मारेको भन्न थाले त कसैले भारतबाट मखुन्डो लगाएका मान्छेहरू दरबार छिरेर हत्या गरेको भन्न थाले । दरबारमा त्यो राति रात्रि भोज थियो भन्ने कुरा जानकारीमा आयो । सोही क्रममा दरबारमा वीरेन्द्रका परिवारमात्र हैन रात्रीभोजमा सहभागी दीपेन्द्र बाहेक अन्य व्यक्तिहरू कुमार गोरख शमशेर (श्रुतिका श्रीमान्)‚ कुमार खड्ग विक्रम (निर शाहका दाजु) लगायत १० जनाको मृत्यु भइसकेको थियो । दीपेन्द्रको भने उपचार भइरहेको भन्ने समाचार आएको थियो । जसबाट केही आशा जागेको थियो, कमसेकम के भएको हो ? कसले घटना घटाएको हो ? दीपेन्द्र सरकारले बताउनुहुनेछ भन्ने भरोसा थियो । केहिबेरपछि राजा-रानीको अन्त्यष्टि आजै गर्ने भन्ने समाचार आयो । म हिँडेर सामाखुसी दीपेन्द्र दाइकोमा गएँ । सबै परिवार भयवित हुनुहुन्थ्यो । त्यो बेलासम्ममा फोन चालु भइसकेको थियो र विभिन्न ठाउँमा फोन गरेर  सूचना लिइरहनुभएको थियो, दीपेन्द्र दाइ । ४ बजे सोह्र खुट्टेको बाटो हुँदै शव यात्रा राखिएको कुरा जानकारी भएसँगै हामीले पनि भारी मन लिएर शवयात्रामा सहभागी हुने निर्णय गर्‍यौँ ।

यसरी एउटा अध्याय समाप्त पारियो । तर ममा उठेका झैं धेरै अनुत्तरित प्रश्नहरू बोकेर अहिले पनि नेपालीहरू बाँचिरहेका छन् । शायद, यी प्रश्नहरूको जवाफ कहिले पनि पाइने छैन ।

कपाल खौरनुपर्छ भनेर दीपेन्द्र दाइले नजिकैको सैलुनमा लैजानु भयो । हामी दुवैले कपाल खौरियौँ । त्यो बेलासम्म हामीलगायत थोरै व्यक्तिले मात्र कपाल खौरिएका थिए । तर त्यसको केही दिनभित्र काठमाडौँमा यस्तो लहर चल्यो कि टाउकोमा कपाल भएको व्यक्ति १- २ जनामात्र देखिन्थे । सैलुनले पनि निःशुल्क कपाल खौरने अभियान नै चलाएको थियो ।

करिब ३ बजेदेखि हामी सोह्रखुट्टेमा प्रतीक्षा गरेर बस्यौँ । मानिसहरू यति धेरै जम्मा भएका थिए कि मानौँ, छाउनी अस्पतालदेखि पशुपतिसम्म मान्छेहरूको भीड थियो ।

करिब साढे ४-५ बजेतिर होला‚ राजा वीरेन्द्रलगायत रानी ऐश्वर्या, श्रुति, नीराजनलगायत राजपरिवारका सदस्यहरूको शवयात्रा हामी भए ठाउँमा आइपुग्यो, त्यति शालीन, सबैका मन मुटुमा बस्न सफल राजाको त्यो निरीह अनुहार देख्दा थाहै नपाई आँखाबाट आँसु झरेछन् । त्यहाँ नरुने मान्छे प्रायः विरलै देखिन्थे। हामी त्यो भीड छिचोल्न नसकेर कहिबेर पछि फर्कियौँ र टिभीमा प्रत्यक्ष प्रसारण हेर्न थाल्यौँ । मैले जिन्दगीमा त्यतिको भावुक माहौल कहिले अनुभव गरेको थिइनँ ।

त्यसपछि देशको राजनीतिक घटनाक्रम नाटकीय हुन थाल्यो । छाउनीमा उपचाररत दीपेन्द्रलाई राजा घोषणा गरियो, त्यसको तीन दिनपछि दीपेन्द्रलाई पनि मृत  घोषित गरियो । त्यही दिन दीपेन्द्रको पनि अन्त्यष्टि गरिने भयो । तर दीपेन्द्रको शव यात्रामा कर्फ्यू लगाइयो । कोही जनता बाहिर निस्कन नपाउने भए । त्यो बेला दीपेन्द्र देशका राजा थिए र शायद विश्वमा यो पहिलो घटना होला‚ जहाँ देशको राजाको शवयात्रामा कर्फ्यू लगाइएको थियो ।

यसरी एउटा अध्याय समाप्त पारियो । तर ममा उठेका झैं धेरै अनुत्तरित प्रश्नहरू बोकेर अहिले पनि नेपालीहरू बाँचिरहेका छन् । शायद, यी प्रश्नहरूको जवाफ कहिले पनि पाइने छैन ।

– कसले  घटायो त्यो घटना ?

– दीपेन्द्रले मारेको भनियो तर मरिसकेका दीपेन्द्रलाई किन जीवितै छन् भनेर राजा घोषित गरियो ?

– दीपेन्द्रको शव किन सार्वजनिक गरिएन, शव यात्रामा समेत किन कर्फ्यू लगाइयो ?

– वीरेन्द्रलगायत उनको परिवारको अन्त्यष्टि किन त्यति हतारमा गरियो ? काठमाडौं बाहिरका जनतालाई आफ्ना प्यारा राजाको शवयात्रामा सहभागी हुने समय किन दिइएन ?

– त्यो रात्रिभोजमा राजाका सबै भारदार सहभागी हुँदा राजाका आफ्नै माइला भाइ ज्ञानेन्द्र किन सहभागी भएनन् ?

– राजदरबारमा अवश्य सीसी क्यामेरा थियो, त्यो फुटेज किन सार्वजनिक गरिएन ?

– तारानाथ रानाभाटले भनेजस्तै दीपेन्द्रले र्याटाटाटा – भ्याटाटाटाटा बनाएर सबैलाई मारेर आफू पनि मरेको भए दीपेन्द्र सुसाइड सुट गर्दा कहाँ गोली लागेको थियो किन सार्वजनिक गरिएन ?

हजारौँ अनुत्तरित प्रश्नहरू लिएर मनभरि पिडा बोकेर बसेका नेपालीले यसको उत्तर कहिले पाउलान् ?

प्यारा राजा रानीप्रति हार्दिक श्रद्धाञ्जली।
(निर्देशक कलाकार दीपक प्रसाद आचार्य ‘काकु’ ले सामाजिकसंजाल फेसबुकमा सेयर गरेको अनुभव जस्ताको त्यस्तै)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *