बागी समाज (कविता)
युगौँदेखिका
हाम्रा जीवनका अजस्र नदीहरू
तिम्रा कथनलाई ठानेर साँचो
मान्दै आयौँ आफैँलाई अछुत ।
इतिहासको कठघरामा उभिएर
सोध्नु छ अब मैले
श्रममा रम्ने शिल्पकारहरू
अछुत हुन्छन् कसरी ?
शिल्पकारीका विरुद्ध
घृणाका मन्द विष फैलाएर
नयाँ पुस्तामा
कोरेका हौ तिमीले नै
विभेदका समानान्तर रेखाहरू ।
उभिएर जीवनको मझधारमा
हेरेपछि तिमी हिँडेका गोरेटाहरू
सशङ्कित छ मेरो चेत
र आभाष हुँदैछ अहिले
पसिनाको गन्ध‚ घृणा गर्नेहरुले
कोर्छन् कसरी मुक्तिको चित्र ?
चेतनाको कुरो गर्छौ तिमी
तर म भोकको कुरा गर्छु
पेट भरिएपछि शायद
जाग्दो हो ज्ञानको भोक ।
हजारौँ वर्षदेखि
श्रममा रमाएर
बाँचिरहेछु म सारङ्गी पेट
बसेर हेर निर्लाम दुई दिन
बुझ्ने छौ अनि
कस्तो हुन्छ भोकको वेदना ?
सावधान !
चाहिँदैन मलाई
भोक नमेट्ने तिम्रा ज्ञानहरू
बरु आऊ हाम्रा भोका शिविरमा
र, सिक जीवनका सङ्गीतहरू ।
भोकको ज्यावल लिएर
सफेद पोशभित्र उजेलिएका
कथित चेतनाका तिम्रा बर्लिनहरू भत्काउन
बनाउँदैछु बागी समाज ।
(आफर कवितासंग्रहबाट)
अजस्रको अर्थ बुझिएन। झकास कविता। चेतना खोल्यो।