वर्षायाममा विपदबाट बच्न स्थानीय स्तरमा गर्नैपर्ने कामहरु

२०७४ सालको असार १७ गते आफ्नै घरमाथिको कुलो थुनिएर पहिरो जाँदा तेह्रथुमको एउटा परिवारका तीन जनाको निधन भयो । तीनजना घाइते भए । घर-घडेरी नै पहिरोले लग्यो । परिवारको विल्लीबाठ भयो । यही साल इटहरीको खेती खोलाको कलभर्टलाई बगेर आएको परालको कुन्यूले थुन्दा ठूलो क्षेत्र जलमग्न भयो । धेरै घरहरुको एक तला डुब्यो । ठूलो क्षति भयो । नेपालका विभिन्न ठाउँहरुमा प्रत्येक साल यस्ता दुखद् घटनाहरु भइरहन्छन् । विपद्को विभिन्न घटनामा परी प्रत्येक वर्ष ५०० भन्दा बढीले ज्यान नै गुमाउँछन् । अर्बौंको क्षति हुन्छ ।

यस वर्षको मनसुन पनि सँघारमा आएको छ । नेपालमा मनसुनको अवधि प्रायः जेठको अन्तिम सातावाट शुरु भएर तीन महिना वा केही बढीसम्म रहने गरेको छ । यसपटक विगत वर्षहरुमा भएको औषतभन्दा बढी पानी पर्ने पूर्वानुमान मौसमविद्हरुले गरेका छन् । बढी पानी पर्नासाथ बाढी पहिरोको जोखिम पनि बढ्ने सम्भावना बढी हुने नै भयो ।

मनसुन अगाडि नै पनि निक्कै पानी परेर जमिन गल्न थालिसकेको छ । गलेको जमिनले धैरै आकासे पानी सोस्न सक्दैन । त्यस्तै अस्ति हिउँदमा पहाडका धेरै ठाउँमा डढेलो लागेकोले ती वनक्षेत्रमा पानी सोस्ने तथा माटो अड्याएर राख्ने क्षमतामा निक्कै कमी भएको सोझै अनुमान गर्न सकिन्छ । जलवायु परिवर्तनका कारण कुनै ठाउँमा एक्कासी अधिक वर्षा हुने क्रम पनि बढेर गएको छ ।

यसैबीच कोभिड-१९ संक्रमण र विस्तारका कारण पूर्वतयारी तथा प्रतिकार्यका कामहरुलाई नकारात्मक असर गरिरहेको छ । लकडाउनले गर्दा धेरै रोजगारी गुमेका छन् भने कतिपयको उत्पादकत्व घटेर जीविकोपार्जन संकटमा परेको छ । जोखिम वर्ग र समुदायहरुका लागि सामान्य प्रकोपका घटनाहरु पनि विपद्का रुपमा आउन सक्छन् । यिनीहरुको उत्थानशीलता कमजोर हुन्छ ।

यस्ता कारणलले गर्दा यस पटकको मनसुन खतरनाक हुने अनुमान गर्न सकिन्छ ।

यस्तो अवस्थामा अलिकति पूर्वतयारी र सावधानी अपनाउने हो भने केही मानिसलाई बचाउन सकिन्छ । केही धनसम्पत्ति जोगाउन सकिन्छ । एक जनाको मात्रै जीवन जोगाउन सकियो भने त्यो ठूलो पूण्यकर्म हुन्छ । जसका लागि स्थानीय स्तरवाट केही कामहरु मनसुन अगाडि नै गरिहाल्नुपर्नेछ:

क) मनसुनजन्य विपद् जोखिम न्यूनीकरणको तयारीः

  • ढल, कुलो, पैनी, नाला, खोल्सा सफाइ गर्ने । थुनिन सक्ने स्थान खोल्ने । कमजोर स्थानमा मर्मत गर्ने । कुलामाथि धस्केको ढिस्को हटाउने । पानीको निकास सुनिश्चित गर्ने ।
  • बस्ती छेउका खोला नदीको बाँध मर्मत गर्ने । नहरमा पानी बन्द गर्न तयारी रहने ।
  • घर आवास वरपर सफाई गर्ने । चुहिने स्थान मर्मत गर्ने । घर माथिवाट नाली बनाएर पानी सुरक्षित स्थानमा तर्काउने ।
  • पहाडमा घर वा बस्तीमाथि राम्री निरीक्षण गर्ने । धाँजा फाट्ने, ठाडो रुख वा खम्बाहरु ढल्किएको भेटिएमा पहिरोको संकेत जानेर धाँजा टाल्ने, वर्षेपानी तर्काउने तथा पहिरोबाट बच्ने उपायहरु तुरुन्तै अपनाउने ।
  • मनसुनी पूर्वसूचना प्रणालीबाट सूचना लिने र सोहीअनुसार तयारी गर्न जानकारी गराउने।
  • खोला नालामा जथाभावी नपस्न र सुरक्षित रहन समुदायस्तरमा सचेतना फैलाउने ।
  • स्थानीय समुदाय, सहकारीहरु, शिक्षक, विद्यार्थीहरु तथा स्वयंसेवकहरु परिचालन गर्ने ।
  • उच्च जोखिमका बस्ती पहिचान गरि अस्थायी रुपमा भएपनि स्थानान्तरण गर्ने ।

ख) प्रतिकार्यको तयारी:

  • आफ्नो स्थानमा के के प्रकोपको जोखिम कुन हदसम्म छ भन्ने कुराको जानकारी लिने।
  • सम्भावित प्रकोपअनुसार खोज उद्दारका सामग्री जोहो गरी चालू हालतमा राख्ने।
  • आपत्कालीन कार्य सञ्चालनको बन्दोबस्ती मिलाउने।
  • सुरक्षा निकायहरुसँग समन्वय गरी प्रतिकार्य जनशक्ति तयार राख्ने।
  • आपत्कालीन अवस्थामा काम गर्ने जनशक्तिको सूचना सञ्जाल तयार गर्ने।
  • विपद्वाट प्रत्यक्ष प्रभावित हुन सक्ने जनसंख्याको आँकलन गर्ने।
  • खानेकुरा, ओषधी र सरफाइ सामग्री जस्ता अत्यावश्यक राहत तथा उपचार सामग्री र रकम तयार राख्ने।
  • आपत् आईपरेमा कसलाई कसरी सम्पर्क गर्ने र कहाँ जाने भन्ने कुराको विवरण तयार गरी स्थानीय बासिन्दालाई जानकारी गराउने
  • शहरी क्षेत्र र घना बस्तीमा खुलास्थान तथा डुवान क्षेत्रमा उच्च अनि सुरक्षित स्थान पहिचान तथा विकास गरी जनसमुदायमा जानकारी गराउने । ती स्थानहरुमा पहुँच सुनिश्चित गर्ने ।
  • आवश्यक पर्नासाथ प्रयोग हुने गरी आपतकालीन सामग्रीहरुको जोहो गर्ने र आश्रयस्थलमा बासस्थान निर्माण, शौचालय तथा खानेपानी व्यवस्थापन लगायतको तयारी गर्ने।
  • प्रारम्भिक द्रुत लेखाजोखा लगायत तथ्याङ्क संकलन टोली पहिल्यै तयार गर्ने।
  • स्थानीयस्तरमा कार्यरत सम्बन्धित संस्थाहरुलाई विषयगत क्षेत्रमा काम तोकेर परिचालन गर्ने।
  • विपद्को सूचना हुनासाथ परिचालित हुने गरी तयार गर्ने।

ग) पुनःस्थापनाको तयारी:

  • विपद् प्रभावितहरुको वर्गीकृत र सहि तथ्याङ्क सङ्कलन गर्ने।
  • वर्गीकृत प्रभावितहरुका आवश्यकता पहिचान गर्ने।
  • वहाँहरुलाई के सहयोग गर्न सकिन्छ भनेर सहयोगको क्षेत्र पहिचान गर्ने।
  • सहयोगको मात्रा आँकलन गरी साझेदारीको खाका तयार गर्ने।
  • सहकार्यका लागि तथ्य र प्रमाणमा आधारित योजना सहितको प्रस्ताव प्रस्तुत गर्ने।

यी कामका लागि बजेट र जनशक्तिसहितको पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गरेर कार्य गर्दा प्रभावकारी विपद् व्यवस्थापनमा सहयोग मिल्छ । विपद्का सबै कृयाकलापहरुलाई अपाङ्गता भएका व्यक्तिहरु, विपद् प्रभावित व्यक्तिहरु तथा अन्य जोखिम वर्गका व्यक्तहरुलाई सार्थक रुपमा सहभागि गराउनुपर्छ । जसवाट उहाँहरुका समस्याहरु र समाधानका उपायहरुमा काम गर्न सजिलो हुन्छ । सबैलाई समेटेर अगाडि बढ्न सकिन्छ । विपद् जोखिम व्यवस्थापन एक्लैले गरेर वा एक पटक गरेर हुने विषय होइन । यसले निरन्तर र वृहत्तर सहकार्य खोज्दछ ।

सबैभन्दा महत्वपूर्ण कुरा विपद्वाट बच्न आफू सधैं चनाखो र सतर्क हुनुपर्छ । अरुलाई त्यसरी नै सहयोग गर्नुपर्छ ।
अस्तिका हाम्रा दुई न्यूजहरु मनाङको बाढी र धेरै जोखिम छ यो बर्ष भन्ने समाचारको लिंक

(लेखक गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव हुन्।)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *