संविधानको चीरहरण र चीरदहन

चार वर्षअगाडि सच्चा राष्ट्रवादीको छद्मभेष दिन सफल प्रधानमन्त्री ओलीका एक वर्षयताका कृत्यहरूले छद्मभेष मात्र उदाङ्गिएको छैन मुलुकको भविष्यको सङ्कटोन्मुखता चुलिँदो छ । जनता समाजवादी दलका राजेन्द्र महतोसहितका नयाँ उपप्रधान तथा मन्त्री नियुक्ति गरेर केपी शर्मा ओलीले अर्को नयाँ कीर्तिमान खडा गरे । यसपटकको मन्त्री नियुक्ति र मन्त्रिपरिषद्को पुनर्गठनले मुलुकमा कार्यपालिका र राष्ट्रपति संविधानलाई कतिसम्म लात मार्ने हर्कत गरिरहेका छन् भन्ने छर्लङ्ग भएको छ ।

राष्ट्रै खोक्र्याउने राष्ट्रवाद

संविधान बनाउनेहरूले अङ्गीकृतबाट जन्मसिद्ध हुँदै वंशज नागरिक बन्ने चोर बाटो नागरिकताको प्रावधानमै राखियो । अनि, दुनियाँका आँखामा छारो हाल्नका लागि संविधानको धारा २८९ मा पदाधिकारीसम्बन्धी विशेष व्यवस्था भन्दै अलमल पार्ने व्यवस्था राखे । संविधान निर्माणका बेला यो व्यवस्थालाई भारतले मन नपराएको भन्दै ओलीले त्यो पदाधिकारी वंशज नागरिक हुने व्यवस्थाको वकालतमार्फत खरो राष्ट्रवादी प्रस्तुति दिएका थिए । अहिले नागरिकता अध्यादेश, फौजदारी मुद्दाका कसुरदारलाई छुटकारा दिलाउने र जसपालाई सरकारको साझेदार बनाएको कुराले ओलीको रणनीतिमा हाम्रो राष्ट्रवाद कसरी पिसिएछ भन्ने उदाङ्ग भएको छ ।

भारतपरस्तताको अभिव्यक्ति एमसीसी पारित गर्नुपर्ने, रअका प्रमुखसँगको गोप्य वार्ता, अरुण जलविद्युत भारतीय कम्पनीलाई दिएलगायतका कुराबाट प्रस्ट हुँदै आएकै थिए । अहिले गिटी, बालुवा, रोडाढुङ्गा भारतलाई बेचेर बेपारघाटा कम गर्ने कुरा गरेपछि ओलीको भारतीय भक्तिभाव केकति छ भन्ने कुरा जगजाहेर भएको छ । धेरै नेपालीलाई अल्मल्याउन ओली तीनचार वर्ष सफल रहे । ओली भारतपरस्त हुन् भनेर उनको झिनो आलोचना अन्य दलका अलिक तल्लो तहका थोरै नेताले थोरबहुत प्रसङ्ग त उठाउँथे तर अन्य दलका उच्च पदस्थ नेताचाहिँ ओलीपरस्त भए र हालसम्म परस्त नै रहेका छन् । भारतीय समकक्षीसँग आँखा जुधाएर कुराकानी मनमोहन अधिकारीपछि कसैले गरेका थिएनन् । नाकाबन्दीको बेलामा ओलीले आँखै नजुधाए पनि ठाडो शिर गरेको विरासत स्वरूप नै ओली अहिले नेपालको मूल शक्तिस्थानमा छन् । बितेका तीन महिनायताका उनका पाइला चलाइले उनको त्यसबेलाको ठाडो शिरले अहिले आएर सारा नेपालीको शिर निहुराउने अवस्था सिर्जेको छ । कस्तो राजनीतिक रणनीति रहेछ ओलीको राष्ट्रै खोक्र्याउने राष्ट्रवाद ।

अहिलेको रजाइँः संविधानमाथिको दाइँ

परम्परागत बुझाइमा राज्यका दुई काम हुन्छन् : रजाइँ र कजाइँ । अनि यसका अधिकारी राजा र काजी । रजाइँ भनेको राज्यको शासनशक्तिको आधा पाटो हो जुन कार्यकारी भूमिकाको हुन्छ । कजाइँ भनेको चाहिँ काजी अर्थात् न्यायासनबाट गरिने दण्डप्रशासन हो । मुगलहरूको बादशाह राजाको हैसियतमा हुन्थ्यो भने काजी प्रधान न्यायाधीशको हैसियतमा हुन्थ्यो । राजपाट र न्यायपाट दुइटा यसरी छुटिन्थे । नेपालमा पनि जङ्गबहादुरले आफूलाई प्राइम मिनिस्टर नलेखुन्जेल राजा र काजी दुवै पद कायम थिए । नियालेर हेरिएका खण्डमा श्री ५ ले रजाइँ गर्ने र काजीहरूले देवानी र फौजदारी क्षेत्राधिकार प्रयोग गर्ने हिसाबले श्री ३ हरूसम्मै काजीकै भूमिका खेल्थे । १९१० को मुलुकी ऐन पढे थाहा हुन्छ ज्यानको सजाय दिने अन्तिम निर्णय श्री ३ प्राइम मिनिस्टरबाट मात्र हुन्थ्यो । त्यसअर्थमा शाहहरूले रजाइँ गर्थे भने राणाले कजाइँ नै गरे । २००७ सालको परिवर्तनले स्वतन्त्र न्यायपालिकाको अवधारणा अगाडि बढाएपछि कजाइँ अदालततिर सर्र्यो । प्राइम मिनिस्टर रजाइँपट्टिका उत्तराधिकारी हुँदै आए ।

अहिलेका प्रधान मन्त्रीले रजाइँको चरम दुरुपयोग गरेका छन् । संविधान र कानुनअनुसार चल्नुपर्ने प्रधानमन्त्री र राष्ट्रपतिका कतिपय क्रियाकलाप हेर्दा उनीहरू संविधान र कानुनकै पो दाइँ गरिरहेका छन् र संविधान र कानुनको मानलाई धुस्नु बनाइरहेका छन् । हालै भएको मन्त्रिपरिषद्को पुनर्गठन त्यो दाइँ गराइको ज्वलन्त उदाहरण हो । अदालतमा पुनःस्थापनाका लागि परेको रिट निवेदन र त्यसबाट हुन सक्ने न्यायिक व्याख्याको परिणामलाई बाहेक गरेर भन्ने हो भने अहिलेका प्रधान मन्त्री उनैले राष्ट्रपतिबाट घोषणा गराइएका संविधानको धारा ७६ को उपधारा ७ अनुसार छ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गराउनका लागि कामचलाउ प्रधान मन्त्री हुन् । प्रतिनिधिसभा विघटन भएको अवस्थामा अब उनी धारा ७७ (१) (ग) बमोजिम प्रतिनिधिसभाको सदस्य  छैनन् र अहिले प्रधान मन्त्री पद धारा ७७ (२) (ग) बमोजिम रिक्त छ । यसरी प्रधान मन्त्री पद रिक्त भएको अवस्थामा अर्को मन्त्रिपरिषद् गठन नभएसम्म साबिक मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्छ भनेर धारा ७७ (३) ले किटान गरिरहेको छ ।

अर्को मन्त्रिपरिषद् गठन नभएसम्म भन्नुको तात्पर्य प्रतिनिधिसभाको निर्वाचन भएर अर्को प्रधान मन्त्री चुनिई उसले गठन गर्ने मन्त्रिपरिषद् हो तरहालका प्रधान मन्त्री राष्ट्रपतिले संविधानको त्यो प्रावधानमाथि दाइँ मात्रै गरेनन् पूरै संविधानलाई माटोमा मिलाइदिए जेठ २१ गते राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा प्रधान मन्त्रीले संविधानको कुन धाराअन्तर्गत मन्त्रीपरिषद्को हेरफेर गरेको कुरा उल्लेख छैन खालि शपथ धारा ८० अनुसार भएको उल्लेख कुन धाराअन्तर्गत पुनर्गठन गरेको मन्त्रिपरिषद् र कुन धाराअन्तर्गत अनुमोदन गरिएको राष्ट्रपतिबाट? स्पष्ट छैन त अहिलेको रजाइँ र संविधानको दाइँ ?

सौदाबाजीको दलदलमा फुलेको कमल

नवनियुक्त मन्त्रीहरूको नाम हेर्दा धेरैजसो माफिया नाइके नै रहेभएको पाइन्छ । पञ्चायत कालदेखि मन्त्री पदलाई व्यक्तिगत लाभमा दोहन गराउन सफल रहँदै आएका शरद्सिंह भण्डारीसम्म मन्त्री ओलीले मुलुकलाई दिएका छन् । पत्नी मन्त्रीलाई हटाएर पतिलाई उपप्रधान मन्त्री बनाउने ओलीले आफू व्यक्ति र परिवार र नातावाद विरोधी रहेको सयौँ पटक भाषण दिए होला र अझै कति दिने हुन् ?

अहिले हटाइएका मन्त्री प्रदीप ज्ञवालीले आफ्नो कार्यकालको कमाइ, चुक्ता गरेको कर, पार्टीलाई बुझाएको लेबी र मन्त्री रहँदाको पारिश्रमिकबाट बचत रहेको सञ्चितीको विवरण सार्वजनिक गरे । स्वास्थ्योपकरणमा समेत कमिसनको चलखेल भएको मन्त्रिपरिषदमा रहेका ज्ञवालीले व्यक्तिगत तहमा आफू सदाचारमा रहेको र अन्य बेमनासिब लाभका लागि आफूले पदको दुरुपयोग नगरेको स्पष्ट दृष्टान्त दिएर उनले दलदलमा फुलेको कमलको चमक दिएका छन् ।

अन्त्यमा,

कोभिड १९ को महामारीले आक्रान्त रहेको अवस्थामा आमनेपाली हतास, निराश र क्लान्त मनस्थितिमा छन् । यो महामारी कहिले काबुमा आउला? भुँई मान्छेदेखि अधिकांश उद्योगी व्यापारीको चिन्ताको विषय बिग्रँदो र सम्भावित आर्थिक दुरवस्था बनेको छ । खानै नपाइने अवस्था आउला कि भन्नेसम्म संशयले धेरैका मनमा घर गरेको छ । यसो भए पनि राज्यसञ्चालन गर्ने राजनीतिकर्मी र राज्यका उच्च अधिकारी भने आम जनताको यो मनोदशाभन्दा भिन्न मौकामा चौका हान्ने दाउमा देखिएका छन् । यसको छनक राज्यका अन्य अङ्गमा पनि थोरबहुत् मिलेको छ तर प्रधान मन्त्री र राष्ट्रपतिका अहिले गरेका चरितार्थहरूलाई हेर्दा भने लाग्छ- कोहीलाई केको धन्दा कोहीलाई केको धन्दा घरज्वाइँलाई खानकै धन्दा ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *