न कर्म, न धर्म, न शर्म
निर्वाणभन्दा ६ महिनाअघि बुद्ध आफ्ना शिष्य आनन्दलाई लिएर कतै जाँदै थिए । हिँड्दाहिँड्दै बुद्धलाई तिर्खा लाग्यो । उनले आनन्दलाई भने- ‘प्रिय शिष्य, बाटामा एउटा झर्ना देखिएको थियो, त्यहाँ गएर पानी लिएर आऊ ।’
आनन्द त्यहाँ गए र रित्तै फर्किए । उनले भने‚ ‘गुरुजी झर्ना त धमिलो भइसकेको रहेछ ।’ बुद्धले फेरि आनन्दलाई पानी नलिई नआउनू भनेर पठाए । आनन्द दोहोर्याएर त्यहाँ पुग्दा त झरना सङ्लो भइसकेको रहेछ । उनले त्यही पानी ल्याएर बुद्धलाई दिँदै भने‚ ‘गुरुवर ! आज मैले एउटा गहिरो सन्देश पाएँ । जसरी धमिलो झरना केहीछिनपछि कञ्चन र सफा हुनसक्छ, त्यसैगरी मनको धमिलो पनि हटेर जानसक्छ । पानीमा मिसिएका माटाका कणहरु केही छिनपछि थिग्रिँदा रहेछन् । मैले झरना नजिकको तलाउलाई धेरैबेरसम्म नियालिरहें । त्यसलाई मनसँग तुलना गरें । र मन निर्मल बनाउने उपाय सिकेँ ।’
पटमूर्खहरु अनुहारमा पोतिएको कालो देख्दैनन्, तर रातदिन ऐना पुछिरहन्छन् । तिनै ऐना पुछ्नेहरुको खबरदारी अहिलेको आवश्यकता हो । संसारमा सत्यमात्र त्यो शक्ति हो, जो सधैं संग्रहयोग्य हुन्छ ।
यतिबेला देशका अधिकांश मानिसको अवस्था गौतम बुद्धका शिष्य आनन्दको जस्तै छ । सबैको अस्तित्व झल्किने सलादजस्तै समाज बनोस् । राजनीति राजनीतिज्ञहरुले मात्र गर्ने साधन बनिदेओस् भन्ने आम मानिसको प्रार्थना छ । अविश्वासको अन्त्य नै सुशासनको प्राप्ति हो । एउटा सपना भाँचिएसँगै अरु अनन्त सपना जोडिन्छन् । जसले मानिसलाई आशामुखी हुन प्रेरित गर्छ । एउटा सपना टुक्रिने अरु नजोडिने हो भने मानव सभ्यता उहिल्यै डाइनोसर भइसक्ने थियो । सुखद् भविष्यको त्यान्द्रोले मानिसलाई सत्कर्ममा डोर्याउने त हो । धोती लगाउनेभन्दा टोपी र दौरा सुरुवाल लगाउनेहरुबाट देश असुरक्षित छ ।
उनीहरु घाँसभित्रका हरिया सर्पजस्ता हुन् । अशिक्षितभन्दा पढेलेखेका मानिस देशका लागि भाइरस भएका छन् । अरु त अरु सडक दुर्घटनामा मर्नेहरुको तथ्यांक हेर्यो भने थाहा हुन्छ, कति पढे लेखेका पर्छन्, कति नपढेका । किताब पढेका भन्दा जीवन पढेकाहरू साँचो अर्थमा सतिसाल हुन् । बाहिरी आँखा त जसले पनि हेर्छ तर अन्तरचक्षुवालाहरुले किमार्थ धोका पाउँदैनन् । एउटा विशुद्ध नेपाली शासकको आँखाले देश कस्तो देख्छ भन्ने तथ्य केपी ओलीलाई हेरे प्रमाणित हुन्छ ।
नेताहरुको मुखमा झुण्डिएको लोकतन्त्र, गणतन्त्र, समावेशी सबै रंगको उपचार भनेको उनीहरू फाइदामा छन् कि छैनन् भन्ने निष्कर्षले निर्धारित गर्छ । शेरबहादुर देउवा, प्रचण्ड, माधव नेपालका नजरले नेपालमा सिउँडी खेती देख्छ । त्यो भनेको लोकतन्त्रको चीरहरण हुनु हो । केपी ओली र उनका सकल भारदारको नजरले देशमा जताततै हरियो दुबो देख्छ । यी दुवैको तर्क कुतर्कमा बाँकी जनसंख्या समय मिल्काउँछ । ७० वर्षअघि नेताले बोल्ने लोकतन्त्रमाथिको चिन्ता अहिले पनि उही छ । जनता जनताजस्तो छैन । राजनीतिशास्त्रीय मान्यता छ- ‘जनता कहिल्यै गलत हुँदैन ।’ तर २४ घण्टाभित्र धर्म, कर्म, शर्म सिध्याउनेहरू अब्बल नागरिक ठहर्छन् ।
महाभारतमा भनिएको छ- ‘सत्य बोल, प्रिय बोल, प्रिय छैन भने सत्य पनि नबोल । प्रिय छ भनेर असत्य पनि नबोल ।’ सत्य भनेको इच्छा हो । आग्रह भएको ठाउँमा सत्य आउँदैन । आगोले सुनको शुद्धता जाँच्ने क्षमता राखेजस्तै मानिसको कर्मबाट सत्य निसृत हुन्छ । आग्रह भएको ठाउँमा सत्य अटाउँदैन । जिब्रोभरि नून लिएर तिहुन चाख्न तम्सिनेहरुको साम्राज्यले सर्वत्र गिजोलिएको अवस्थामा सत्यको आराधना सजिलो नभएपनि असम्भव पक्कै छैन । सत्य मान्छेपिच्छे फरक हुँदैन ।
पटमूर्खहरु अनुहारमा पोतिएको कालो देख्दैनन्, तर रातदिन ऐना पुछिरहन्छन् । तिनै ऐना पुछ्नेहरुको खबरदारी अहिलेको आवश्यकता हो । संसारमा सत्यमात्र त्यो शक्ति हो, जो सधैं संग्रहयोग्य हुन्छ ।
हनुमान आफैँमा धेरै बलशाली थिए । एकपटक त्यही बलको घमण्डका कारण सूर्य निल्ने दुःसाहस गरे । यो खबर देवलोकमा पुगेपछि देवताहरुको अपर्झट आपत्कालीन बैठक बस्यो । हनुमानले सूर्य नै निले भने त अनिष्ट निम्तिने भो । देवताहरुको बैठकले हनुमानको घमण्ड निस्तेज गर्ने उपाय निकाल्यो । बैठकको निष्कर्ष थियो- ‘आइन्दा हनुमानलाई कसैले उनको शक्तिका बारेमा सम्झाएपछि मात्र आफ्नो शक्तिको ख्याल हुने अवस्था सिर्जना गरिदिने ।’ देवताहरुले हनुमानभित्रको विवेकको ढोका बन्द गरिदिएपछि उनको सामर्थ्य एक प्रकारले निर्देशित बन्न पुगेको थियो । सम्भवतः यो अघोषित श्राप हाम्रा नेताहरुमा पनि परेको छ । जब यो देशमा पञ्चायत थियो, यिनै नेताहरु भन्थे– हातमा नेल ठोकिएका छन् र पो ! पञ्चायत गएर बहुदल आयो । त्यसपछि पनि यिनीहरुको घैंटोमा घाम लागेन । सत्तालाई मापदण्ड बनाएर भुट्भुटिन कहिल्यै छाडेनन् ।
उज्ज्वल थापाको मृत्युमा तुरुक्क आँसु चुहाएर ईश्वर पोखरेललाई चुनाव जिताउने नर्सरीमा पानी हाल्ने त हामी नै त हौं नि ।
राजनीतिका नाममा कांग्रेस र एमालेको दन्तबजानका कारण केही वर्षभित्रै जुन प्रवृत्तिविरुद्ध तीन दशक आन्दोलन गरिएको थियो, तिनै पञ्चहरू राजनीतिको चुलो चौकामा पुर्याइए । सूर्यबहादुर र लोकेन्द्रबहादुरलाई नेता मानेर कांग्रेस, एमाले लाचारीपूर्वक सरकारमा गए । एकातिर यस्तो दृश्य देखिन थाल्यो भने अर्कातिर नेपाली राजनीतिका भीष्म पितामह मानिने गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारीहरु तासको जोक्करजस्तो फाल्टो हुँदै गए । नवप्रवेशी चैतेहरुको पार्टीमा हालीमुहाली बढ्न थाल्यो । यी सबै दृश्य हेरिरहेको माओवादीले जातीय, क्षेत्रीय, शोषण, दमनको मुद्दा उठाएर वितण्डाको विष घोलिदियो । त्यो वितण्डालाई ठीक ठाउँमा ल्याउने नैतिक सामर्थ्य सरकारमा रहेन ।
आखिर ठट्टाठट्टैमा आतंकको ज्वालाले देश तहसनहस भयो । विधिमा चल्नुपर्ने सिंहदरबार त सच्चिएन भने आतंकलाई हतियार बनाउनेहरुबाट विवेकी निर्णयको अपेक्षा गर्नु आफैंमा सुल्टो कर्म नहुने पक्का थियो । हजारौंको बलिदानपछि देशले अनपेक्षित युटर्न लियो । त्यसपछिको राजनीतिक कोर्सले राजाका कारण देश उँभो नलागेको निष्कर्ष निकाल्यो । जनताले पनि होमा हो मिलाइदिए । राजा फालिए । गणतन्त्र आयो । तर यो व्यवस्थाले राजनीति यसरी गिजोलियो कि टाउको र फेद नै नचिनिने अवस्था आयो । यतिले पनि नपुगेपछि देशलाई संघीयताको सुरुङमा लगेर विकासका नाममा हजारौं ठूला मानिस जन्माइएको छ । ती ठूला मानिसको व्यवस्थापन फलामको चिउरा बन्दै गएको छ ।
नीतिहरुको राजा मानिने राजनीतिमा कुखुरा चोर, बाह्रमासे जुवाडे, गाउँका जाली फटाहाहरुको बिगबिगी बढ्यो । मानवीय कर्म नभएर जातजाति, धर्म संस्कृतिलाई राजनीतिको गोटी बनाइयो । हिमालमा बसोबास गर्नेले तराईमा जन्मिएका गौतम बुद्ध र तराईमा रहेकाहरुले हिमालमा रहने महादेवको पूजा अर्चना गर्ने प्राकृतिक सन्तुलनमा धावा बोल्न खोजियो । कार्पेटमाथिको फोहोर मिल्काउने चेष्टा कसैले गरेन, बरु कार्पेटमुनिको फोहोर निकालेर आँखामा हाल्ने दुष्प्रयास गरियो ।
राज्यको गाडी चालकले होइन, खलाँसीले हाँक्न खोजे । देश घाँस, चोक्कर नदिने तर लाम्टामात्र लुछ्ने गौमाताजस्तो बन्दै गयो । देशभरि प्रचण्डमाला बनाएर महेन्द्रमाला विस्थापित गर्छु भन्ने प्रचण्डपथको क्रान्तिकारी चरित्र लोकमानसिंह, रमेशनाथ पाण्डे, अजेय सुमार्गीजस्ता पात्रलाई सल्लाहकार बनाएपछि खरानी भयो । देशका जनता त के ढुंगा माटोसमेत माओवादी भएको घमण्ड पालेका प्रचण्डको नैतिक बल सकिएपछि पछिल्लो समय कुम हल्लाउने, तेल, जेलमा रमाउने बाहेक माथि उठ्न सकेन । उनका हरेक कर्ममा पाखण्ड देखिन थाल्यो ।
जेलमा बसेको एउटा कैदीलाई सिर्कनो र खुर्सानीमध्ये एक रोज्न लगाइएछ । खुर्सानीले राल सिंगान भएपछि ऊ भन्दो रहेछ, योभन्दा त सिर्कनो बेस । अनि सिर्कनोले पाँसुलामा छरछरी रगत आएर पोल्न थालेपछि उसलाई फेरि लाग्दो रहेछ, यो भन्दा त खुर्सानी जाति । हो, कांग्रेस, एमाले, माओवादी रोजाइ पनि यो सत्यभन्दा पर हुने अवस्था अझै छैन ।
सिंहदरबार जनताको हित गर्ने पवित्र भूमि नभएर लुट मच्चाउने अखडा बन्न पुग्यो । माओवादीहरुको शहर प्रवेश स्यालले कुखुरा झम्टिएभन्दा पर हुन सकेन । माओवादी लहैलहैमा लागेर राजनीतिको झिटीगुन्टासमेत उसैलाई बुझाएका कांग्रेस, एमालेका नेता चिमोट्दा पनि ऐय्या भन्न नसक्ने अवस्थामा पुगे । आफ्नो पार्टी के हो र आफू के गर्दैछु भन्ने सामान्य हेक्का पनि उनीहरुलाई भएन । आखिर चित परेपनि पोट परेपनि माओवादी देशैभर भाले भयो । दोस्रो जनआन्दोलनको म्यान्डेट भनेको देश माओवादी र मधेशवादी नामका दुई अवसरवादीलाई जिम्मा लगाउनु र अरुचाहिँ रमिते हुनु हो भन्ने अघोषित बुझाइ समाजमा स्थापित भयो । रुकुम, रोल्पालाई राजनीतिको चारधाम मान्ने तिनै पार्टीका नेताहरू काठमाडौंको रैथानेमा परिणत भएको नाटकका पात्र बनेपछि आफ्नै उद्गमस्थलबाट माओवादी बिरानो बन्दै गयो ।
जेलमा बसेको एउटा कैदीलाई सिर्कनो र खुर्सानीमध्ये एक रोज्न लगाइएछ । खुर्सानीले राल सिंगान भएपछि ऊ भन्दो रहेछ, योभन्दा त सिर्कनो बेस । अनि सिर्कनोले पाँसुलामा छरछरी रगत आएर पोल्न थालेपछि उसलाई फेरि लाग्दो रहेछ, यो भन्दा त खुर्सानी जाति । हो, कांग्रेस, एमाले, माओवादी रोजाइ पनि यो सत्यभन्दा पर हुने अवस्था अझै छैन । उज्ज्वल थापाको मृत्युमा तुरुक्क आँसु चुहाएर ईश्वर पोखरेललाई चुनाव जिताउने नर्सरीमा पानी हाल्ने त हामी नै त हौं नि ।