सुदूरपश्चिममा १७६ संक्रमित थपिँदा ५३० डिस्चार्ज, ९ जनाको मृत्यु
धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणमुक्त भएर घर फर्किनेको संख्या बिस्तारै बढ्दै गइरहेको छ । पछिल्ला दिनहरुमा संक्रमण र मृत्युदर घट्दै गइरहेका बेला निको भएर घर फर्किनेहरुको संख्या बढ्दैछ ।
प्रदेशमा आइतबार १७६ संक्रमित थपिँदा ५३० जना निको भएर घर फर्किएका छन् ।
पछिल्लो २४ घण्टामा प्रदेशका विभिन्न पाँचवटा प्रयोगशालामा पीसीआर विधिबाट गरिएको परीक्षणमा ९१ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ ।
पीसीआर विधिबाट ५०७ र विभिन्न चारवटा नाकामा एन्टिजेन विधिबाट ८ सय ८३ नमूना परीक्षण गरिएको निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ३३७ जनाको नमूना परीक्षण गर्दा ३५ जना, महाकाली अस्पतालमा १६ जनाको नमूना परीक्षण गर्दा ६ जना, बैतडी अस्पतालमा ९५ जनाको नमूना परीक्षण गर्दा २७ जना, बझाङ अस्पतालमा ३४ जनाको नमूना परीक्षण गर्दा ९ जना र अछामको कमलबजार प्रोगशालामा २५ जनाको परिक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो ।
यससंगै प्रदेशमा हालसम्म पीसीआर र ऐन्टिजेन विधिबाट सुदूरपश्चिममा २ लाख ३६ हजार ६१९ नमूना परीक्षण गर्दा ४१ हजार ३०२ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा प्रदेशमा ९ जनाको मृत्यु भएको छ । कैलालीका २, कञ्चनपुर २, डोटीका २ र अछाम, बाजुरा र बैतडीका १/१ जना गरी ९ जनाको मृत्यु भएको हो । हालसम्म प्रदेशभर कोरोना संक्रमणबाट ५३७ जनाको मृत्यु भएको छ ।
यस्तै, संक्रमण पुष्टि भएका ३० हजार ८४२ जनाले कोरोना जितेका छन् ।