यसरी बेग्लै थिए उज्वल

लुटतन्त्रविरुद्ध उभिँदा केको लाज ?

राजनीतिमा जे जे भइरहेको देख्थें, सुन्थें र भोग्थें, बडो दिक्दारी लाग्थ्यो । राजनीतिक दलका नेताहरूका पारा र व्यवहार देख्दा घरि दिक्क लाग्थ्यो । उनीहरूप्रति घरि रिस उठ्थ्यो‚ घरि सराप्न मन लाग्थ्यो । न कुनै बोलीको ठेगान छ । न कुनै अडान, न विषयवस्तुप्रतिको गहिरो अध्ययन र विश्लेषण । क्षणिक फाइदा जताबाट हुन्छ त्यसैअनुसारका धारणा बनाइरहेको देख्दा नैतिकता भन्ने कुरा राजनीतिबाटै पलायन भएछन् भन्ने लाग्थ्यो ।

यस्ता कुराहरू बढ्दै जाँदा दिक्दारी पनि बढ्दै गयो । यो कसरी सुधार्ने होला भन्ने हुटहुटी जाग्न थाल्यो । तर कसरी ? कुनै आइडिया थिएन । एक्लै गरेर सम्भव थिएन । फेरि म आफैंलाई त्यसबेला म एक्लै यो अभियानको नेतृत्व गर्न सक्छु भन्ने आँट र अठोट पनि थिएन । म र मजस्ता साथीहरुका विचारलाई समेट्ने, गोलबद्ध बनाउने र थप निखार्ने नेतृत्वको हुन सक्ला भन्ने सोचिरहेकै बेला उज्वल थापाबारे सुनेँ । उहाँलाई पहिलो दिन भेटेको दिन नै यति प्रभावित भएँ कि मैले खोजिरहेको मेरो नेता मैले खोजिरहेको मेरो अगुवा उहाँ नै हो भन्नेमा शंकै रहेन । म खुब खुसी भएर घर फर्किएँ ।

विषय पर्गेल्ने अचम्मको पारा :
विवेकशील नेपाली दलको सडक सन्देशको रूपमा धेरै कार्यक्रमहरू आयोजना गरिए । कैयन पटक त हामी दुई चार जना साथीहरूमात्र उभिएर पनि त्यस्तो सडक सन्देश गर्‍यौँ । करिब ५ वर्ष अगाडि ‘पुनर्निर्माण कहाँ पुग्यो सरकार’ को एक सडक सन्देश कार्यक्रममा उज्वल दाइसहित हामी चार जनामात्र भयौँ माइतीघर मण्डलमा । चार जनामात्र हिँडेर माइतीघरदेखि बानेश्वरसम्म माइकिङ्ग गर्दै गयौँ । चारजनाले मात्र कार्यक्रम सक्कायौं । मलाईचाहिँ हामी चारजना मात्र प्लेकार्ड बोकेर सडकको पेटी पेटी लुखुरलुखर बानेश्वरसम्म जाँदा कता कता लाज पनि लागेको थियो । कार्यक्रमपछि चिया खाँदै गर्दा मैले उज्ज्वल दाइलाई आफूलाई लाज लागेको कुरा बताएँ । दाइले चियामा बिस्कुट चोप्दै भन्नुभयो कि‚ ‘भाइ यहाँ ढाका टोपी, दौरा सुरुवाल लगाएर दिनदिनै देश लुट्नेहरूलाई लाज लागेको छैन, तिमिलाई चाहिँ जायज कामका लागि उभिँदा लाज लाग्यो ? यो लुटतन्त्रको विरुद्ध उभिँदा के लाज ?’ त्यस दिनदेखि सडक सन्देशमा हामी थोरै सङ्ख्यामा भयौँ भन्ने कुराले उत्पन्न हुने हीन भावना हटेर गयो । मैले हरेकजसो उपस्थितीमा दाइको त्यो भनाइ सम्झिरहेँ लुटतन्त्रविरुद्ध उभिँदा के को लाज ?

‘त्यसैले हाम्रो अहिलेको लडाइँ ‘लुटतन्त्र’विरुद्ध हो र यो कुसंस्कारविरुद्धको लडाइँ हो ।’ उहाँले भन्नुभएको थियो । अनि म प्रष्ट भएको थिएँ ।

विवेकशीलमा जोडिएका म र मजस्ता मानिसका लागि उज्वल थापा प्रेरणाका स्रोत हुनुहुन्थ्यो । अहिले उहाँको भौतिक शरीर नभएपनि उहाँको प्रेरणा अझै पनि उस्तै छ । उहाँसँग धरै प्रश्नहरूको यो वा त्यो भन्ने ठ्याक्कै उत्तर हुँदैन थियो । त्यसको विपरीत उहाँका प्रतिप्रश्नहरू हुन्थे । साधारण तर दिमाग घोच्ने खालका । जसले मन घोच्ने, दुखाउने कहिले गरेनन् । लुटतन्त्रविरुद्ध लड्न के गर्नु पर्ला ? के गर्दा ठिक होला ? आफ्नो स्थानबाट के गर्न सक्छौँ ? कसरी धेरैभन्दा धरै नागरिकसम्म पुग्न सकिएला ? हाम्रो प्रयास कस्तो हुनुपर्छ ? किन भएनन् होला ? जस्ता प्रश्नहरू हुन्थे उहाँका । हामीले उत्तरहरू पनि यिनै प्रश्नको वरिपरि बसेर खोज्ने अभ्यास गर्‍यौँ । उज्वल थापाका तिनै साधारण प्रश्नहरूले हामीमध्ये कयौँलाई सामाजिक र राजनीतिक अभियानमा जोड्यो र अभियन्ता बनाइदियो । उज्वल थापासँग कैयन व्यक्तिका कैयन थरि असहमतिहरू थिए र छन् । तर मैले थाहा पाएसम्म उहाँले कसैलाई पनि व्यक्तिगत गाली गर्नुभएन । उहाँ विषयलाई विषयमै राखेर बहस गरौँ भन्नुहुन्थ्यो । उहाँले ‘हामी असहमत हुन सहमत होऔँ’ भन्ने संस्कारको बीजारोपण हाम्रो मनमा गरिदिनुभएको छ ।

उज्वल दाइ प्रायः ‘लुटतन्त्र’ शब्द प्रयोग गरिरहनुहुन्थ्यो । सुन्दा बुझे बुझेजस्तो लाग्थ्यो तर कसैले लुटतन्त्र भनेको के हो भनेर सोध्यो भने चाहिँ ठ्याक्कै उत्तर दिन सक्दिन थिएँ म । एकदिन छलफलकै क्रममा मैले सोधेँ ‘दाइ यो भ्रष्टाचार र लुटतन्त्रमा के फरक हो ?’ ‘भ्रष्टाचारको उन्नत रूप नै लुटतन्त्र हो,’ दाइले जवाफ दिनुभयो । मैले राम्ररी अझै नबुझेको भेउ पाएर होला उहाँले थप बुझाउने प्रयास गर्दै भन्नुभयो, ‘हेर हाम्रो समाजमा भ्रष्टाचार व्यक्तिबाट माथि उठेर अब समूहमा पुग्यो । यो जालोजस्तो बन्यो, एउटा दुष्चक्रजस्तो बन्यो । एउटाले अर्कोलाई लुट्ने, अर्कोले अर्कोलाई लुट्ने गर्दा गर्दै यो एउटा प्रणाली जस्तो, एक तन्त्र जस्तो बन्न पुग्यो । एकजना भ्रष्ट हुँदा ऊ भ्रष्टाचारी बन्छ, तर समाजको ठुलो हिस्सा नै भ्रष्ट हुँदा त्यसले लुटतन्त्रको रूप लियो ।’

‘त्यसैले हाम्रो अहिलेको लडाइँ ‘लुटतन्त्र’विरुद्ध हो र यो कुसंस्कारविरुद्धको लडाइँ हो ।’ उहाँले भन्नुभएको थियो । अनि म प्रष्ट भएको थिएँ ।

सृजनात्मक अभियान र नाराका खानी उज्वल दाइ 
अभियानहरू सिर्जनात्मक र शान्तिपूर्ण बनाउन उहाँको ठूलो देन छ । नाराहरू छोटा र मिठा बनाउन प्रेरित गर्नुहुन्थ्यो । नेपाल बन्दविरुद्ध ‘बन्दले देश बन्दैन, नेपाल खुल्ला छ’, ‘नेपाली भन्ने कि, नेपाली बन्ने’जस्ता नाराहरू र अभियानहरु स्थापित गराउन उहाँकै पहल छ । माइतीघरलाई सिर्जनात्मक र शान्तिपूर्णरुपमा आफ्नो अभिव्यक्ति व्यक्त गर्ने स्थानको रूपमा स्थापित हुनुमा पनि उहाँकै पहल छ । उहाँले ‘सिहदरबार भेर्सेज माइतीघर’ शिर्षकको लेख नै लेख्नुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख लोकमानसिंह कार्कीले डाक्टर गोविन्द केसीलाई पागलको संज्ञा दिएर प्रेस वक्तव्य निकालेपछि चिकित्सा शिक्षा सुधारको पक्षमा र डा. केसीको समर्थनमा ‘लुटतन्त्रविरुद्ध पागल अभियान’को रुपमा सडक अभियान अगाडि बढाउनमा उनको देन छ ।

जनप्रतिनिधिहरूलाई जवाफदेही बनाउन फोन तथा एसएमएसबाट प्रश्न गर्ने अभियान उहाँले नै सुरु गर्नुभएको हो ।

bitly=com/contactyourmps मा अहिले पनि प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरूको फोन नम्बर हेर्न सकिन्छ ।

यी केही उदाहरणमात्र हुन् । तर यसको मतलब उहाँसँग हरेक अभियानको लागि रेडिमेड नवीन जुक्तिहरू थिए भन्ने होइन । उहाँको मृत्युको शोकमा रुहेका बेला उहाँको देवत्वकरण गर्न खोजेको पनि होइन । उहाँले जुनसुकै समस्यामा पनि छुमन्तर गरिदिने अद्भुत क्षमता थियो भन्ने पनि किमार्थ होइन । उहाँ प्रायः मलाई पनि थाहा छैन, सबैले सोचौँ, दिमाग लगाऔँ, छलफल गरौँ, आउट अफ द बक्स सोचौँ, केही न केही राम्रो कुरा पक्का निस्किन्छ भन्ने गर्नुहुन्थ्यो । त्यसैले जुन तरिका र कोणहरूबाट उहाँले प्रश्नहरू र तर्कहरू गर्नुहुन्थ्यो, जसरी थाहा नभएको कुरा सजिलै मलाई थाहा छैन भन्नुहुन्थ्यो, सबैले सोचौँ, छलफल गरौँ भन्ने गर्नुहुन्थ्यो, ती कुराहरूले हामीलाई समूहमा काम गर्न र सिर्जनात्मक हुन प्रेरित गरेको थियो, छ र गरिरहनेछ ।

प्रायः कुनै पनि अभियानहरूमा उहाँ सडकमै गएर ऐक्यबद्धता र सहभागिता जनाउनुहुन्थ्यो । महिला हिंसाविरुद्ध ध्यानाकर्षण गराउन उहाँ महिलाको पहिरनमा प्रधानमन्त्री निवास बालुवाटार बाहिर उभिनुभयो । कहिले नेपाल बन्दका दिन नेपाल खुला छ भनेर माइतीघर मण्डलमा मुस्काउनुभयो । कहिले स्वास्थ्य शिक्षालाई गुणस्तरीय बनाउन माग गर्दै प्लेकार्ड बोकेर मुठ्ठी उचाल्नुभयो ।

उहाँ बृहत् नागरिक आन्दोलन र उखु किसानको आन्दोलनमा पनि हरेक दिन नै सडकमा आउनुभयो । त्यसअघि निर्मलाको न्यायका लागि पनि निरन्तर सडक आन्दोलनहरूमा सहभागी हुनुभयो । ‘सम्पदा बचाऔँ’ मा उहाँ निरन्तर उपस्थित भएर नै ऐक्यबद्धता जनाउनुभएको थियो । डाक्टर गोविन्द केसीको चिकित्सा शिक्षा सुधारको अभियानमा उहाँ पहिलो दिनदेखि सँगै हुनुहुन्छ ।

जनप्रतिनिधिहरूलाई जवाफदेही बनाउन फोन तथा एसएमएसबाट प्रश्न गर्ने अभियान उहाँले नै सुरु गर्नुभएको हो ।

यी अभियानहरूमा प्रायः मलगायत केही साथीहरू सडकमा उहाँसँगै हुन्थ्यौँ । तर उहाँले माइकमा आएर बोल्ने इच्छा कहिले देखाउनुभएन । कहिले त बोल्नुस् भन्दा पनि नयाँ साथीहरू बोल्न मिल्ने माहौल बनाऔँ भन्नुहुन्थ्यो । खासमा उहाँ नयाँ नेतृत्वहरू निस्किनुपर्छ भन्ने सोचमा हुनुहुन्थ्यो र त्यसको लागि मानिसहरूबीच एक अर्कामा जोडिने माध्यम बन्न चाहनुहुन्थ्यो । उहाँकै भाषामा कसरी मिलन बिन्दुहरू बन्न सकिन्छ र एकै प्रक्रारले सोच्ने विवेकी नागरिकहरूको बृहत् एलाइन्स बनाउन सकिन्छ भन्नेबारे सोचिरहनुहुन्थ्यो ।

अन्त्यमा इनफ इज इनफको सानो प्रसङ्ग जोड्न चाहन्छु । इनफ इस इनफ अभियान चलिरहेको थियो । शहिद गेटको प्रदर्शनपछि न्यूरोडको एउटा रेस्टुरेन्टमा गएर अब कसरी अगाडि बढ्ने भनेर छलफल गर्दै थियौँ । विजयबाबु सिवाकोटी, उज्वल दाइ, आलोक सुवेदी, विराजभक्त श्रेष्ठ र अन्य केही साथीहरू थियौँ । सरकारले विषयको गम्भीरता बुझेन र हामीले सरकारलाई झक्झकाउन सकेनौँ भने एउटा यस्तो भयानक स्थिति आउँछ कि यहाँ छलफल गरिरहेका हामीमध्ये कतिजना मरिसकेका हुनेछौँ भनेर उज्वल दाइ भन्दै हुनुहुन्थ्यो । कस्तो कठोर र कटु प्रक्षेपण रहेछ दाइको, आखिर त्यस्तै भयो । कोरोना महामारीलेकै कारण उज्वल दाइ हामीलाई छोडेर जानुभयो । मेरो व्यक्तिगत अनुभव यही रह्यो कि उज्वल दाइले देखाउनुभएको बाटो अलि लामो र केही कठिन अवश्य छ । तर यो दीगो छ । खराब प्रवृत्तिहरू ढाल्न असल संस्कारको स्थापना गर्नुपर्छ र यो प्रक्रियाले लामो समय लिन सक्छ । त्यसैले भोलि भन्ने छुट हामीलाई छैन । असल संस्कार पुनःस्थापनाको अभियानमा जति धेरै सङ्ख्यामा जति चाँडो सहभागी हुनसक्यो त्यही नै छिटो लुटतन्त्रको अन्त्य हुनेछ । कहिलेकाहीँ एक्लै भइएला, तर लुटतन्त्रविरुद्ध उभिन केको लाज ?

(लेखक विवेकशील पार्टीका अभियन्ता हुन्)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *