आत्महत्याको मुख्य कारण : मानसिक स्वास्थ्यमा लापर्बाही

काठमाडौं । पछिल्लो समय आत्महत्याका घटना बढेको तथ्याङ्कले देखाएको छ । महामारीको समयमा पढाइ, व्यापार, जागिर सबैलाई थाँती राखेर अप्ट्यारो परिस्थितिसँग जुध्नुपर्ने समस्याले गर्दा यस्ता घटना बढेको मनोविद्ले बताउँदै आएका छन् ।

मानसिक स्वास्थ्यको हेरचाहमा सबैजनाले ध्यान पुर्‍याउनुपर्ने मनोचिकित्सक डा. अनन्त अधिकारी बताउँछन् । उनी भन्छन्, ‘मानसिक रोग पहिले पनि थियो, अहिले पनि छ र पछिसम्म पनि रहिरहनेछ । तर मानसिक समस्याबारे खुल्न चाहने, लक्षण बताउने र उपचार गर्न आउने चलन भने कम छ । मानसिक स्वास्थ्यसम्बन्धि सेवा सुविधा नै कम भएको कुरालाई पनि नकार्न सकिँदैन । अरुले के भन्ला भनेर लाजले वा डरले उपचारको पहुँचमा नै नपुग्ने अवस्था छ ।’

जागिर र राम्रो पढाइका लागि हुने पारिवारिक बिछोड, विदेशको बसाइ, उच्च आर्थिक महत्वकांक्षाले गर्दा पनि मानसिक रोग बढ्दै गएको छ । मानसिक समस्याका धेरै कारणमध्ये परिस्थितिजन्य र वातावरणीय कारणहरु धेरै हुने गर्छन् । अहिले विश्वमा कोभिडको महामारी छ । जसले गर्दा धेरैको परिस्थिति सामान्य हुन नसकेकाले मानसिक अवस्थामा परिवर्तन हुने मनोविद्हरू बताउँछन् । अहिलेको परिस्थितिले गर्दा मानिसमा मानसिक र मनोवैज्ञानिक समस्याहरु बढेको विभिन्न अनुसन्धानले देखाएका छन् ।

जागिर र राम्रो पढाइका लागि हुने पारिवारिक बिछोड, विदेशको बसाइ, उच्च आर्थिक महत्वकांक्षाले गर्दा पनि मानसिक रोग बढ्दै गएको छ ।

८० प्रतिशतभन्दा बढी आत्महत्याको कारण मानसिक रोग नै हुने गरेको मनोचिकित्सक र मनोविद्हरू बताउँछन् । त्यसैले यो समयमा आफ्नो मानसिक अवस्था र स्वास्थ्यप्रति बढी सजक हुनुपर्ने डा. अधिकारीको भनाइ छ । महामारीको समयलाई आधार मान्दा अहिले धेरैजनामा आत्तिने, एन्जाइटी हुनेलगायतका मनोसमस्याहरु देखिएका छन् । यसको प्रमुख कारणचाहिँ सञ्चार माध्यममा आइरहेका त्रासदीपूर्ण समाचार रहेको उनको भनाइ छ । घण्टा घण्टामा समाचारसँग अपडेट हुने, सामाजिक सञ्जालको बढी प्रयोग गर्ने गर्दा मृत्युदर बढ्दै गएको समाचार देखिन्छ । त्यस्ता समचार र सूचनाले मान्छेलाई विचलित गराउँछ । त्यसैले सामाजिक सञ्जाल र समाचारलाई पछ्याउने कामलाई सीमित गर्नुपर्ने उनी बताउँछन् ।

मनोविद् डा. करुणा कुँवर मानसिक स्वास्थ्यमा नकारात्मक असरका घटना बढ्नुको मुख्य कारण महामारी नै भएको बताउँछिन् । ‘यो शोकको समय सबैको लागि धेरै नै जटिल छ । यस्तो अवस्थामा भावनात्मक रुपमा विक्षिप्त हुनु, दुःख लाग्नु भनेको स्वभाविक नै हो,’ उनी भन्छिन् ।

घरमा लामो समयसम्म केही नगरी बस्दा आफूलाई कमजोर सोच्ने, केही गर्न सकिएन भन्ने वैराग्य महशुस हुनेजस्ता समस्याहरू देखापर्छन् । अझ नियमित आम्दानी र काम नहुँदा पनि यस्तो भाव आउँछ भने अर्कातर्फ घरपरिवारको जिम्मेवारीलगायत नियमित दायित्व पूरा गर्न समस्या हुनाले यसले व्यक्तिलाई झनै विचलित गराउन सक्छ ।

यस्तो हुन नदिन डिजिटल प्लेटफर्मबाट नै साथीभाइ, आफन्त, प्रियजन र आत्मीय व्यक्तिसँग कुरा गर्ने, छलफल गर्ने र समय बिताउने गर्न सकिने डा. अधिकारीको सुझाव छ । त्योबाहेक घरमा बाँकी रहेका काम गरिसक्ने, परिवारसँग राम्रो समय बिताउने र केही रचनात्मक काम गर्न सकिने डा. अधिकारी बताउँछन् ।

डा. कुँवर मानसिक स्वास्थ्य र मनोविज्ञानको ख्याल गर्ने क्रममा आफूले एक दिनभरीमा के-के काम गरिरहेको छु भनेर विश्लेषण गर्ने गर्नाले पनि सहज हुने बताउँछिन् ।

अरु विभिन्न रोगको औषधि खाइरहेकाहरुलाई पनि यो महामारीले ठूलो असर पुर्‍याएको छ । नियमित जाँचका लागि अस्पताल जान नसक्ने अवस्था छ । यस्तो अवस्थामा सकेसम्म औषधि छोड्नु नहुने डाक्टरहरूको सुझाव छ ।

यस्तो बेलामा ध्यान, कसरत र योगलाई निरन्तरता दिनुपर्ने सुझाव दिन्छन् मनोचिकित्सक डा. अधिकारी र मनोविद् डा. कुँवर । ‘यसले मानिसलाई सकारात्मक र स्वस्थ राख्न सघाउँछ । सबैभन्दा ठूलो कुरा भनेको मनोवल हो । जुनसुकै समस्या पनि चिरस्थायी हुँदैन । यो घटेर जान्छ र सकिन्छ भन्ने हिसाबले सोच्नुपर्छ’ डा. अधिकारी सुझाउँछन् । यसरी सोच्दा डर भाग्छ । मनोवल उच्च राखेमा रोगसँग लड्ने क्षमता पनि उच्च नै हुन्छ ।

मानसिक स्वास्थ्य र मनोविज्ञानको ख्याल गर्ने क्रममा आफूले एक दिनभरीमा के-के काम गरिरहेको छु भनेर विश्लेषण गर्ने गर्नाले पनि सहज हुन्छ ।

अहिलेको अवस्थामा मानिसको जीवनशैली, खानपान नै फेरिँदै गएको छ । घरमा बसिरहँदा धुमपान, मद्यपानको लत बस्ने वा मात्रा बढ्ने जोखिम पनि रहन्छ । यसले गर्दा महामारीलाई पछाडि नै राखेर हेर्दा पनि मानसिक समस्या देखिएको व्यक्तिहरू बढ्दै गएका छन् ।

मनोविद् डा. कुँवर घरमा बसिरहँदा वा काम गर्दा पनि आफ्नो शरीर तन्किरहेको छ कि छैन भन्ने याद गर्नुपर्ने र नभए प्रत्येक घण्टा शरीर चलायमान बनाउन जरुरी हुने बताउँछिन् । खेल्ने, उफ्रिनेजस्ता काममा सहभागी हुने, नियमित खाना खाने, खाने कुरामा ध्यान दिने तर अण्डा अथवा फलफूल नै मात्रै खानुपर्छ भन्ने नभएको उनको भनाइ छ । ‘अहिले हामीसँग जे उपलब्ध छ त्यसलाई मिलाएर खानुपर्छ‚’ उनी भन्छिन् ।

उनको सुझाव छ- निद्रामा कुनै परिवर्तन छ, छैन ध्यान दिनुपर्ने र वयस्क व्यक्ति रातमा ८ घण्टा र बालबालिका तथा किशोर किशोरी लगभग १२ घण्टाको निन्द्रा आवश्यकता पर्ने उनी बताउँछिन् । मानसिक रुपमा स्वस्थ रहन कम्तिमा पनि दिनको एक पटक छत, कौशी, बार्दली, चौर वा खुल्ला ठाउँमा गएर स्वच्छ हावा लिन लिने आकाश, बादल, बोटबिरुवा, चराचुरुङ्गी हेर्ने र प्रकृतिसँग निकट हुन खोज्ने गर्नुपर्छ । आफूलाई खुसी बनाउने र मनोरञ्जन लिन सकिने काममा सरिक हुनुपर्छ ।

परिवारबीच माया, ममता र करुणा बढाउनु अतिमहत्वपूर्ण छ । यो समयमा धेरैलाई माया र सहानुभूतिको खाँचो पर्ने भएकाले त्यस्तै व्यवहार गर्ने गर्नुपर्छ ।

बालबालिका अनुशासन र डर अनि दबाबका कारण पनि समस्यामा परेका हुन सक्छन् । उनीहरूले यस्तो दबाब महसुस गरेका छन् कि भनेर अभिभावकले विचार गर्नुपर्छ । बालबालिकासँग साथीको जस्तो व्यवहार गर्नुपर्ने मनोविद डा. कुँवर बताउँछिन् । अभिभावक आफैँ ग्याजेटमा व्यस्त हुने कारणले बच्चालाई पनि त्यसमै व्यस्त राख्ने बानी र प्रवृत्ति बढ्दै गएको छ । यसका लागि अभिभावककै भूमिका ठूलो हुने उनको भनाइ छ । भन्छिन्, ‘घरीघरी आफ्नो आँखा ग्याजेटबाट हटेको समयमा मात्र नभएर अरुबेलामा पनि बालबालिकासँग प्रशस्त समय बिताउनुपर्ने उनी बताउँछिन् । घरका सबै सदस्य सकेसम्म सँगे बस्ने, सँगै खाना खाने, कुराकानी गर्नेजस्ता कुरामात्र गर्न सकेपनि स्वस्थ मनोविज्ञान र मानसिक स्वाथ्यलाई स्वस्थ राख्न सकिन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *