मोटरसाइकल दुर्घटनामा आमाको मृत्यु, छोरा घाइते
चितवन । पूर्वी चितवनको कालिका नगरपालिकामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उपरदाङ्गगढीबाट शक्तिखोरतर्फ आउँदै गरेको ना ३६ प २१९९ नम्बरको मोटरसाइकल कालिका-९ सुनखानीमा आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो । मोटरसाइकल मङ्गलबार राति १०ः१० बजे सडकबाट ५० मिटर तल खसेको कार्यालयले जनाएको छ ।
दुर्घटनामा परी मृत्यु हुनेमा इच्छाकामना गाउँपालिका-२ बस्ने ६० वर्षीया हस्तमाया मगर रहेको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । मगरको घटनास्थलमै मृत्यु भएको हो । मोटरसाइकल चालक रत्ननगर नगरपालिका-११ बस्ने ३५ वर्षीय फत्तेबहादुर मगर घाइते भएका छन् ।
घाइते मगरको दुवै खुट्टा, हात र ढाडमा चोट लागेको छ र चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । मृतक र घाइते आमा छोरा रहेको थापाले जानकारी दिए ।